सभामुखले कार्यसूचीलाई उछिनेर सांसद रहबर अन्सारीलाई बोल्न दिएको सोनल समर्थित दलहरुले जिकिर गरेका हुन् ।
जनकपुरधाम — मधेश प्रदेशसभा बाहिर सभामुख रामचन्द्र मण्डलको विरुद्धमा नाराबाजी भएको छ । सभामुख मण्डलले पूर्वाग्रही भएर प्रदेशसभा सञ्चालन गरेको आरोप लगाउँदै पाँच दलका नेता/सांसदहरुले नाराबाजी गरेको हो ।
आज मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले विश्वासको मत प्रस्ताव गरेका थिए । तर, नेकपा माओवादी केन्द्रका दुई जना सांसदले विद्रोह गर्ने उद्घोष गरेपछि सोनलले विश्वासको मत नपाउने निश्चित भएको थियो । सभामुखले कार्यसूचीलाई उछिनेर सांसद रहबर अन्सारीलाई बोल्न दिएको सोनल समर्थित दलहरुले जिकिर गरिरहेका छन् ।
त्यही कारण सभामुखको कारण राजीनामा दिएको र सम्पूर्ण जिम्मेवारी सभामुखले लिनुपर्ने सोनलले बताएका थिए । उनको कारण संघीयता नै धरापमा परेको सोनलको दाबी छ । सोनल समर्थित दलहरुले सभामुख मण्डलसँग केहीबेर विश्वासको मतमाथिको निर्वाचन स्थगित गर्दिन अनुरोध गरेका थिए । तर, सभामुख मण्डलले प्रदेशसभा कार्य सञ्चालन नियामवली अनुसार सञ्चालन हुने भन्दै मतदानमा जान निर्देशन दिएका थिए ।
