२५ दिनमै ढल्यो मधेश सरकार

संविधानअनुसार धारा १६८ (२) अन्तर्गतको नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि संसद्‍को ठूलो दलको हैसियतले अब एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनेछन् ।

कार्तिक २२, २०८२

कुलचन्द्र न्यौपाने

Madhesh government collapsed in 25 days

काठमाडौँ — मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका छन् । कांग्रेस र एमालेलाई पाखा लगाएर मुख्यमन्त्री बनेका सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको हो । सोनलले शनिबार मधेस प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम थियो ।

मुख्यमन्त्री बनाउन समर्थन गरेका सांसद विपक्षी कित्तामा उभिएपछि सोनलले विश्वासको मत नपाउने सुनिश्चित भएको थियो । आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि विश्वासको मतका लागि प्रक्रिया नै सुरु नहुँदै उनले राजीनामा दिएका हुन् ।

सोनल संविधानको धारा १६८ (२ ) बमोजिम असोज २९ गते मुख्यमन्त्री नियुक्ति भएका थिए । सोनल गएको असोज २९ गते जनता समाजवादी पार्टी, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी गरी पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानअनुसार धारा १६८ (२) अन्तर्गतको नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि संसद्‍को ठूलो दलको हैसियतले अब एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुने संविधानविद चन्द्रकान्त ज्ञवालीले बताए ।

संविधानको धारा १६८(३) मा प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्थ नभएमा वा त्यसरी नियुक्ति मुख्यमन्त्रीले उपधारा (४) बमेजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरु भएको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्ति गर्नेछ भन्ने व्यवस्था छ ।

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully