उपचार अभावमा परिवारका तीन सदस्य गुमाएका बुचन सदालाई किरिया खर्च सहयोग

आफन्त गुमाएर किरिया बसेका अतिविपन्न बुचनलाई बिरामी श्रीमतीको उपचारसहित नाबालक छोराछोरीको छाक टार्न समेत कठिनाइ

कार्तिक १९, २०८२

विद्यानन्द राम

Assistance for medical expenses for Buchan Sada, who lost three family members due to lack of treatment

राजविराज — उपचार अभावले एकपछि अर्को गर्दै परिवारका तीन सदस्य गुमाएर किरिया खर्चका लागि समेत समस्या खेपिरहेका सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलका ३३ वर्षीय बुचन सदालाई सहयोग जुटेको छ ।

अतिविपन्न बुचनलाई ३ र ५ वर्षकी छोरी तथा ८ वर्षका छोराको छाक टार्न र श्रीमतीको उपचार गराउनसमेत कठिनाइ भइरहेको विषय सार्वजनिक भएपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गाउँपालिका र विभिन्न व्यक्तिहरूले समेत सहयोग गरेका छन् ।

मङ्गलबार साँझ बुचनको घरमै पुगेर उनीहरूले नगदसहितका सहयोग गरेका हुन् । इन्स्योरेन्स शाखा राजविराजका प्रबन्धक चन्द्रदेव यादवले २१ हजार नगदसहित एक क्विन्टल चामल, ५० किलो आलु, १०/१० किलो चना दाल, चना, प्याज, चिनी, नून र भूजा तथा १० लिटर खाने तेल सहयोग गरेका छन् ।

त्यस्तै, एक प्याकेट पापड, आधा किलो जिरा, एक/एकवटा स्टिलको बाल्टिन, टप, थाल, गिलास, कचौरा, डाडु र पन्यु, एउटा ब्ल्याङ्केट, दुई/दुईवटा डसना, साडी, तकिया, गम्छा, बेडसिट, धौती, एक कार्टुन स्याउ, एक घरी केरा, एउटा छाता र किरियामा बसेका बुचनका लागि कपडा पनि सहयोग गरिएको छ । पीडित परिवारलाई केही हदसम्म राहत पुर्‍याउने उद्देश्यले तत्कालै नगदसहित ६० हजार रुपैयाँ बराबरको सहयोग गरिएको इन्स्योरेन्सका ब्रान्डिङ हेड मेघेन्द्रप्रकाश गिरीले बताए ।

‘उहाँको पीडामा हामीले केही हदसम्म मल्हम लगाउने प्रयास गरेका छौँ,’ उनले भने, ‘तत्काल आवश्यक पर्ने बुचनले उपलब्ध गराएको सूचीअनुसार हामीले समानसहित नगद उपलब्ध गराएका छौँ ।’ गाउँपालिकाले पनि ११ हजार नगदसहित ५० किलो चामल र ५/५ किलो दाल र खाने तेल उपलब्ध गराएको बुचनले बताए । त्यस्तै, नाम उल्लेख नगर्ने गरी सप्तरीका सञ्चारकर्मी रामशंकर भण्डारीमार्फत काठमाडौंका एक जना पाठकले ५ हजार २ सय रुपैयाँ र सप्तरीका अर्काले २ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

मजदुरी गर्न भारतको पञ्जाब पुगेका बुचनको घरमा कात्तिक २ गते सुरु भएको झाडापखालाले कात्तिक ६ मा उनका एक वर्षका छोरा सञ्जीव, कात्तिक ११ मा ६६ वर्षका बुबा लक्ष्मण र कात्तिक १४ मा ४ वर्षकी छोरी राघिनीको मृत्यु भएको थियो । उनकी श्रीमती २६ वर्षकी पार्वतीदेवीको माइती पक्षले लहानमा उपचार गराइरहेको र उनको अवस्था सामान्य रहेको बुचनले बताए ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully