गौर हत्याकाण्डमा सर्वोच्चको सोमबारको परमादेशपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीका नेता कार्यकर्ताले सोमबार साँझ राजविराजमा टायर बालेर प्रदर्शन गरेका छन् ।
What you should know
राजविराज — सरकारले षड्यन्त्र गरेर केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीका नेता कार्यकर्ताले सोमबार साँझ राजविराजमा टायर बालेर प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतले सोमबार गौर हत्याकाण्डमा अध्यक्ष यादवसहित १३० जनामाथि छानबिन अघि बढाउन परमादेश जारी गरेपछि उनीहरु आक्रोशित बनेका हुन् । स्थानीय गजेन्द्र चोकमा भेला भएका नेता कार्यकर्ताले भूमि सम्बन्धी अध्यादेश पारित गराउन पार्टीले सरकारलाई समर्थन नगर्दा आफ्ना अध्यक्षलाई फसाउन खोजेको जसपा सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले आरोप लगाए ।
‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नभई रियल स्टेट, भू–माफिया तथा दलालहरुको पक्षपोषण गर्ने खालको छ,’ उनले भने, ‘मधेशको वन जंगल, सार्वजनिक जग्गा, आफ्ना पार्टीका कार्यकर्ताहरुमा वितरण गर्ने उद्देश्य बोकेर वर्तमान सरकार ल्याउन लागेको हो, त्यसमा समर्थन नगर्दा हाम्रा अध्यक्षलाई फसाउन षड्यन्त्र स्वरुप गौरकाण्ड अगाडि ल्याइयो ।’
उनले तत्कालै यो कदम नसच्याइए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका । ‘यो केवल सुरुवात हो, हामीलाई कमजोर नठानियोस्’, उनले भने । २०६३ चैत ७ गते गौरस्थित राइसमिल चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।
