खेतीयोग्य जमिन कटान

श्रावण ३०, २०७८

कान्तिपुर संवाददाता

बर्दिया — बबई नदीको तीव्र कटानले सदरमुकाम गुलरिया–१० मा खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ । बबई कटानले महजिदिया र गौढी गाउँका खेतीयोग्य जमिनमा क्षति गरेको हो । 

नेपाल–भारत सीमामा करिब ७ सय मिटर कटान गर्दै खेतीयोग्य जमिन बगाउन थालेको स्थानीय किसान लक्ष्मण रायले बताए । विगत तीन वर्षदेखि कटान रोक्न बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालयसँग माग गर्दै आएको उनले सुनाए ।

तर, बजेट निकासा नहुँदा बबई नदी कटान क्षेत्रमा विगत तीन वर्षयता लक्ष्यअनुसार काम हुन सकेको छैन । वर्षा सुरु भएपछि नदी कटान तीव्र हुँदा स्थानीय त्रस्त भएको गुलरिया–१० का दीपक चौधरीले बताए । बबईले अहिलेसम्म खेतीयोग्य जमिन करिब २० बिघा कटान गरिसकेको उनले जनाए ।

आपत्कालीन तटबन्धका लागि विभागसँग बजेट माग गरेको बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालयका इन्जिनियर कविन्द्र रावलले बताए । १ करोड ५० लाख बजेट माग गरेको उनले सुनाए । विभागले बजेट निकासा नगर्दा तटबन्धको काम प्रभावित भई तटीय क्षेत्रका बासिन्दा पनि उच्च जोखिममा रहेको स्थानीयले गुनासो गरे । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully