नेपालगन्ज — उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले कोभिड–१९ संक्रमणको तेस्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नको लागि व्यवस्थित रुपमा पूर्व तयारी गर्न भेरी अस्पताल समेतका नाममा अन्तरिम आदेश गरेको छ ।
रिट निवेदमा नोबेल कोरोना भाइरस (कोभिड—१९) को संक्रमण नियन्त्रण, रोकथाम र प्रभावकारी उपचारको प्रबन्ध र प्रर्याप्त पूर्व तयारी नगर्ने हो भने तेस्रो चरणको संक्रमणले अझ बढी जनधनको क्षति ब्यहोर्नु पर्ने र जसको परिणाम स्वरुप आम नागरिकको जीवन, स्वास्थ्य लगायतका आधारभूत मानव अधिकार गम्भीर उल्लघंन हुने भन्दै बाँकेका अधिकारकर्मी र कानुन व्यवसायीले असार ८ गते उच्च अदालतमा परमादेशको रिट दायर गरेका थिए ।
'अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र गोकर्ण डाँगीको संयुक्त इजलासले नयाँ भेरियन्टसहितको कोभिड –१९ संक्रमणको अवस्था हाल केही न्यून हुँदै गएको भए पनि तत्काल यसको तेस्रो लहर आउन सक्ने र त्यसबाट मुलत: बालबालिकाहरु धेरै प्रभावित हुन सक्ने भनी विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा सचेत गराएको परिप्रेक्ष्यमा बाँके जिल्लामा कोभिड–१९ संक्रमणको तेस्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नको लागि व्यवस्थित रुपमा पूर्व तयारी गर्नको लागि तत्काल अवलम्बन गर्नुपर्ने उपाय र कोभिड–१९ संक्रमण भइ निको भएका व्यक्तिहरुमा देखिएको प्रभाव (पोष्ट कोभिड १९ इम्प्याक्ट सम्बन्धमा जिल्लामा उपलब्ध जनस्वास्थ्यविद् बाल रोग विशेषज्ञ सुरक्षा विद र सीमा व्यवस्थापनको अनुभवी विशेषज्ञ समेत रहेको एक अध्ययन समिति गठन गरी त्यसबाट प्रतिवेदन लिनु र उक्त प्रतिवेदनमा सुझाइएका विषयहरुको व्यवस्थित कार्यान्वयन गर्ने तयारी गर्नु भनी जिल्ला प्रशासन कार्यालय बाँके मा रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई लेखी पठाउनू' भन्ने आदेश भएको अदालतका सुचना अधिकारी बल बहादुर बिष्टले जानकारी दिए ।
