बाँकेको नरैनापुरका आठ संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरिँदै 

जेष्ठ ३, २०७७

रुपा गहतराज

नेपालगन्ज — बाँकेको नरैनापुरका ८ जना संक्रमितको सम्पर्कमा आएकाको शनिबारदेखि स्वाब संकलन गरिने भएको छ । नरैनापुरमा ८ जना संक्रमितको सम्पर्कमा आएका ३ सय ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने स्वास्थ्य कार्यालय नेपालगन्जका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

‘संक्रमितको सम्पर्कमा आएका ३०५ जनाको  पीसीआर परीक्षण गर्छौं,’ श्रेष्ठले भने, ‘चार वटा क्याम्प राखेर स्वाब संकलन गर्नेछौ‌ं ।’ नरैनापुर गाउँपालिका अध्यक्ष  इस्तियाक अहमद साहका अनुसार  स्वाब संकलनका लागि नरैनापुर गाउँपालिका –२ आदर्श मावि लक्षमणपुर, वडा नम्बर ५ मा रहेको दिपेन्द्र प्रावि भोजभगवानपुर, नेरा प्रावि हुलासपुर,वडा नम्बर ६ स्थित जयकिसान मावि भगवानपुरमा क्याम्प राखिने जानकारी दिए  । 

४५ हजार बासिन्दा रहेको नरैनापुर गाउँपालिकामा १२ वटा क्वारेन्टाइनमा ६ सय ४५ जना बसिरहेका छन्  । वैशाख ३१ गते सुरुमा भित्रिएका ३४ जना र त्यही दिनभित्र भित्रिएका ११ जना गरी ४५ जनाको स्वाब लिइएकोमा आठ जनामा कोरोना पुष्टि भएको थियो ।

बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसन वार्ड भरिएपछि  ८ जना कोरोना संक्रमितलाई दाङको बेलझुण्डीमा रहेको कोरोना अस्पतालमा लगिएको छ । 

नरैनापुरका ८ जनासहित बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully