मन्दिर–फल्चा–डबलीमा गुन्जिइरहने तबला–हार्मोनियम र भजनका स्वरले उनी मग्न रहन्थे, ती धुनलाई कवितामा उतार्थे । तिनै कथा उनी लेखिरहन्थे— इतिहास र मिथ नेपालभाषाको लयमा सजाएर । वसन्तपुरको कुमारी, इतुम्बहालको राजमतीको मुस्कान उनका निबन्धका कच्चा पदार्थ थिए ।
What you should know
काठमाडौँ — विजेश्वरी उकालोमा अडिएको थियो, एउटा गाडी । जो थियो आफैंमा शोकमग्न ।
सयपत्री फूलका मालाले सिँगारिँदै गरेको त्यो सवारी एक जना कवि, भाषा आन्दोलनका अनवरत योद्धा र पत्रकारको अन्तिम यात्रामा सरिक हुँदै थियो । त्यसमा आँखा पर्नासाथ कवि विनोदविक्रम केसीले उदास स्वरमा भने, ‘अब घण्टाघरले कोसँग समय सोध्दो हो ?’ उनलाई उछिन्दै युवा मानवशास्त्री विष्णु अधिकारीले उच्छवास छोडे, ‘घण्टाघरको के कुरा, नेपाल भाषा आन्दोलनले कोसँग समय सोध्दो हो ?’
मंकाखलको प्राङ्गणमा चीरनिद्रालीन थिए– सुरेश किरण (५९) । आँखाहरू छताछुल्ल थिए । लेखक राजेन्द्र महर्जन, कार्टुनिस्ट रविन सायमिलगायत थुप्रैथुप्रैका आँखाहरू..।
असाध्यै धेरै कविता लेखे सुरेश किरणले, तर नेपालभाषामा उनको एक मात्रै कवितासंग्रह प्रकाशित छ, ‘थौँ घण्टाघरं जिके ई न्यानाच्वन’ (आज घण्टाघरले मसँग समय सोधिरहेछ) । यो असरदार शीर्षकले आज ब्रह्मलीन कविलाई सधैं सम्झाउनेछ— अब घण्टाघरले कोसँग समय सोध्छ होला ?
असलमा सुरेश किरण थिए– एक शालिन संस्कृतिकर्मी, नेपाल भाषा आन्दोलनका अथक योद्धा । उनी जीवित थिए, अनेकन व्यक्तित्वमा– नेपाल भाषाको दैनिक पत्रिका ‘सन्ध्या टाइम्स’ का सम्पादक, ‘नेपाल भाषा टाइम्स’ का संस्थापक सम्पादक, व्यंग्यकार, कवि, भाषा आयोगका माननीय सदस्य, नेपालभाषा एकेडेमीका प्राज्ञ परिषद् सदस्य, अनि दर्जनौं पुस्तकका सम्पादक ।
सोमबार (२५ फागुन) हृदयघातले उनको महाप्रस्थान भएको छ ! उनको पार्थिव शरीरलाई काठमाडौँको विजेश्वरी, ढल्को, क्षेत्रपाटी, ट्यग, बांगेमुढा, जनवाह, नरदेवी हुँदै इन्द्रायणीस्थित घाट पुर्याएर अन्तिम संस्कार गरिएको थियो ।
र, अब सम्पूर्ण नेपाली साहित्य, पत्रकारिता अनि नेपालभाषा आन्दोलनलाई गहिरो क्षति पुगेको छ । तर, सुरेश किरणको कविताको उचाइ, व्यंग्यको तीक्ष्णता, नेपालमण्डल सभ्यताप्रतिको गहिरो लगाव र बहुभाषिक लेखनको सिद्धहस्तता नेपाली साहित्यमा सदा जीवन्त रहनेछ ।
उनी नेपालभाषामा मात्रै सीमित एक प्रतिभासम्पन्न कवि होइनन्, नेपाली भाषामा पनि उत्तिकै भव्यतम् व्यंग्य र समसामयिक विषयमा निबन्ध लेखिबस्थे । जस्तो कान्तिपुर दैनिकको ‘कोसेली’ मा छापिएका संस्कृति, इतिहास अनि काठमाडौँ सभ्यतामाथिका उनका दर्जनौं शानदार निबन्ध अर्काइभमा सुरक्षित छँदै छन् । ती निबन्धहरू हुन्– नेपाली समाज चियाउने एक कलात्मक समाजशास्त्रीय आँखिझ्याल । नेपालमण्डल, इतिहास र वर्तमानमा त्यहाँ बाँचेका मान्छेहरू अनि तिनको सांस्कृतिक पहिचानमाथि विशिष्ट अर्थमा विशिष्ट विमर्श गर्न सधैं तल्लीन रहन्थे सुरेश ।
नेपाल भाषाको साप्ताहिक पत्रिका ‘इनाप’ बाट पत्रकारिता सुरू गरेका सुरेश किरण (मानन्धर) नेपालभाषाको ‘सन्ध्या टाइम्स’ दैनिक र ‘नेपालभाषा टाइम्स’ को सम्पादक छँदा त्यो थियो– भाषा आन्दोलनमाथि उनले गुजारेको असाध्यै अर्थपूर्ण समय । ‘विश्वभूमि’ दैनिक, ‘जनआस्था’ साप्ताहिक मा पनि पत्रकारिता गरेका सुरेश ‘अप्सरा’ फिल्म म्यागजिन, ‘कोशल्वहं चिनाखँ स्वलापौ’, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने ‘थाय्भू’ अखबारको सम्पादन मण्डलमा पनि सक्रिय थिए ।
नेपालभाषा वाङ्मय उन्नयनमा साह्रै ठूलो नाम छ– सुरेश किरणको । आफ्ना प्रिय मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरमाथि सुरेशको जीवनी पुस्तक प्रकाशित छ— ‘पद्मरत्न तुलाधर’ । नेपालमण्डलको संस्कृतिमाथि सुरेशको अर्को प्रकाशित पुस्तक हो— डा. अजयक्रान्ति शाक्य र सन्ध्या वज्राचार्यसँगको सहकार्यमा ‘इन्द्रजात्रा/यँयाः’ ।
०००
एक बेला कस्तो थियो भने सुरेश किरण भेषै बदलेर पनि पत्रकारिताको धर्म–कर्म निभाउँथे । जस्तो २०४६ सालका उथलपुथलमय दिनहरू उनको पत्रकारिताको उर्वर समय थियो । ती जनआन्दोलनका दिनमा उनले प्रहरीको कडा घेराहरूबीच अन्तर्वार्ता गरेका थिए– कमान्डर, ‘लौहपुरुष’ गणेशमान सिंहसँग, जो वीर अस्पतालमा उपचाररत भर्ना भएका थिए । त्यो अन्तर्वार्ता गर्न सुरेश चिकित्सकीय भेषमा अस्पतालको बेडसम्म पुगेको संस्मरण उनी मलाई सुनाउँथे । ती दिनहरूको सम्झनामा मग्न सुरेश आफू हिँडिआएका पुराना समय सम्झेर स्मृतिदंशित हुन्थे बेलाबेला ।
काठमाडौं सहरका एक–एक गल्लीको नालीबेली थाहा थियो, सुरेश किरणलाई । म चमत्कृत हुन्थें, उनको गल्ली–ज्ञान देखेर । उनले मलाई एक दिन सकाव्यिकता र सहाँसो भनेका थिए, ‘भन्न मिल्छ भने मलाई गल्लीविद् भने हुन्छ । काठमाडौंका एक–एक गल्लीलाई म चिन्छु । तिनले पनि मलाई चिन्छन् । म गल्लीहरूसँग बात मारिरहेको हुन्छु ।’ हो, गल्लीहरूलाई एक जुगसम्म सुरेशको न्यास्रो लाग्नेछ ।
सुरेश किरण हिँडेको जीवनको बाटो खोजिपस्दा हामी झोछेँ पुग्छौं । त्यो गल्लीले सुरेशको रोमाञ्चक र रंगीन संसारदेखि अश्रुमय दुःखको बयान गर्छ । उनी मसँग त्यो गल्लीको बखान गरिबस्थे । मेरो लामो समयदेखिको अनुनय–विनयपछि जंकी र हिप्पीहरूले आवाद गरेको त्यस गल्लीमाथि लामो संस्मरण–निबन्ध लेखेका थिए सुरेशले— ‘फ्रिक स्ट्रिट नोस्टाल्जिया,’ जुन उनको विस्मरणबाट बौरिएर ब्युँझिएको थियो ।
त्यो त्यही गल्ली थियो, जहाँ सुरेशका जिन्दगीका बाल्यकालीन र किशोरकालीन स्वर्णिम समय व्यथित भएका थिए । र, त्यो त्यही गल्ली थियो, जसले उनको कलिलो दाजुको इहलीला समाप्त पारिदिएको थियो । एक्कैछिन त्यो अँध्यारो गल्लीतिर विचरण गरिहेरौं, जहाँ किशोरकालका सुरेश हाँसिरहेका, दौडिरहेका भेटिनेछन् ।
असलमा फ्रिक स्ट्रिट थियो– एकाएक संसार–प्रसिद्ध भएको नेपालमण्डलको एक गुमनाम गल्ली, जहाँ सुरेश हुर्के–बढे । सन् १९६०–७० को दशकको हिप्पिजमको स्मृतिमा सुरेश बगिरहन्थे, ‘झ्वःछेँको हाकुपटासी जबर्जस्ती उतारेर ‘फ्रिक स्टि्रट’ को मिनिस्कर्ट लगाइदियो– हिप्पिजमले । सुरेश आफैंले हिप्पिजम भोगेका थिए ।
उनको कुलघर थियो– पाको न्युरोड । उनका बुबाले न्युरोडको घर बेचेर धेरै ठाउँ चहारेपछि सन् १९७० को सुरुतिर ओमबहाल टोलमा एक सानो होटल चलाएका थिए । सुरेश पर्यटक ओहोरदोहोर गरिरहने वसन्तपुर क्षेत्रमा पसिरहेको आधुनिकता देखेर जवान भए । मल्लकालीन दरबार, मठमन्दिर र जीवित देवी कुमारीका कथा–मिथकले उनी अर्कै लोकको कल्पनामा मग्न–मग्न रहन्थे । थँबहिल (ठमेल) तिर हिँडिरहँदा उनी अचानकै भन्थे, ‘दीपकजी, यो गुल्जार ठमेलमा उबेलासम्म मैले थाहा पाउँदा पनि स्याल कराउँथ्यो ।’
अनि उनी हिप्पिजम अर्थात् गाँजाको धुवाँले कुइरीमण्डल हुने झ्वःछेँको श्यामस्वेत कथा हाल्थे । उनको कथाको मजबुन हुन्थ्यो— त्यति बेला झ्वःछेँमा प्रचलित नशालु पदार्थहरूमध्ये गाँजाभन्दा ह्यासिस प्रमुख थियो । ‘त्यो कस्तो हुन्थ्यो भने कालो अलकत्राजस्तो, गाँजाको बोटको टुप्पोलाई दुई हत्केलाले रगडेपछि बस्ने कालो मयल । त्यस्तो ह्यासिस झ्वःछेँभरि फालाफाल किन्न पाइन्थ्यो । झ्वःछेँ र वसन्तपुरबीचको त्यो फराकिलो गल्ली पूरै ह्यासिसमय बजार थियो । धेरैजसो स्थानमा ‘चिया पाइन्छ’ लेखिएजसरी ‘यहाँ ह्यासिस पाइन्छ’ लेखिएको साइनबोर्ड टाँगिएको हुन्थ्यो । ‘होटल इडन’ ह्यासिसको विशाल अखडा थियो । त्यो रेस्टुरेन्टमा ह्यासिसका चिया, कफी लगायत विभिन्न परिकार पाइन्थ्यो,’ उनले भनेका थिए ।
तर, हिप्पीहरूको त्यो प्रिय झोँछे गल्लीले दिएको एउटा घाउले सुरेश जीवनैभर रन्थनिए । समयक्रममा गाँजापछि झोछेँमा ‘स्म्याक’, ह्वाइट सुगरदेखि ब्राउन सुगरसम्मले प्रवेश पायो । सुरेशको सम्झनामा तैरिरहेको हुन्थ्यो– होटल इडन, जसले ह्यासिसको लत लागिसकेका केही टोले युवालाई निःशुल्क ह्वाइट सुगर उपलब्ध गराउँथ्यो । जब युवाहरू गहिरो इनारझैं कुलतमा फस्थे, त्यसपछि स्म्याक बेच्न तिनैलाई प्रयोग गरिन्थ्यो ।
केटाहरूको त्यो हुलमा एक थिए– सुरेशका माल्दाजु सुरेन्द्र मानन्धर, जो झ्वःछेँमा योजनासहित बिछ्याइएको लागूपदार्थको जञ्जालमा उम्किनै नसक्नेगरि फसेका थिए । ती विस्तारै ह्यासिस–मिश्रित चुरोट पिउँदापिउँदै खतरनाक दुर्व्यसन स्म्याकसम्म पुगे ।
‘फ्रिक स्ट्रिट नोस्टाल्जिया’ मा सुरेश लेख्छन्, ‘दाइ दुर्व्यसनमा लागेपछि घरबाट सामान गायब हुन थाले— आमाको पूजाका सामान, कांसको थाल, सुकुन्दा, साडीहरू । र, घर नर्कमा बदलिएको थियो ।...दाइ पैसाका लागि झगडा गर्थे, मेरो पढाइका लागि चाहिने अंग्रेजी डिक्सनरीसमेत बेचेर लत मेटाए ।’
अब सुरेशका माल्दाजु इन्जेक्सनबिना बाँच्नै नसक्ने अवस्थामा पुगे, उनको नाडीमा प्वालैप्वाल थियो ।...र, एक दिन उनी आफ्नै कोठामा घोप्टो परिरहेको दृश्यसहित मृत भेटिए ।
यो थियो सुरेशको झोंछे ट्रयाजेडी । धेरैले असाध्यै गुलाबी तबरले ‘ग्ल्यामराइज’ गरेको त्यो हिप्पी युगमाथि ‘फ्रिक स्ट्रिट नोस्टाल्जिया’ मा सुरेशको विप्लवी निष्कर्ष थियो, ‘हामीले भोगेको हिप्पिजम किताबमा बयान गरिने स्वतन्त्रताको उन्माद मात्रै थिएन । त्यहाँ गिन्सबर्गको कविता मात्रै थिएन, भियतनाम युद्धविरुद्धको आक्रोश मात्रै थिएन, परिवार र समाज विघटनको चिसो स्याँठ पनि थियो, मृत्युको अँध्यारो बाटो थियो ।’
स्निग्ध र तेजिलो सुरेश किरणको मुहार पछाडि सायद एक लम्बेतान निराशा थियो । र, त्यो निराशाको स्मृतिमा उनका दाजु थिए, जो सपना सकिनुको तनाव र हतासाबाट लामो यात्रा तय गरि नेपाल पसेका हिप्पीहरूको तथाकथित ‘फ्रिडम’ बाट पिल्सएका थिए ।
निकै वर्षहरू अघि गीतकार भूपेन्द्र खड्का र म झोँछेतिर यात्रारत रहँदा सुरेश किरण झोँछे नोस्टाल्जियातिर पसिरहेका थिए । भनेका थिए, ‘मलाई त्यो पुरानो घाउ चहर्याइरहन्छ ।’
झोँछे गल्लीको त्यो अँध्यारो कथामाथि सुरेश किताब लेखिरहेका थिए– भूपेन्द्र र मेरो लगातारको करकापमा । केही साताअघि मात्रै उनले भनेका थिए, ‘६० प्रतिशत लेखेँ, अब छिट्टै सकिनेछ ।’ तर अफसोस, त्यो किताबी योजना सदाका लागि अधुरै रहनेछ ।
०००
सिमसिमे बर्सातका दिन वा चिसो स्याँठ चलेका दिन वा चर्को घाम लागेका दिन, काठमाडौंको मल्लकालीन दरबार वसन्तपुर–डबलीमा उभिएर सुरेश किरणसँग मैले जीवित देवी कुमारी बस्ने घरतिर हेरेको छु । प्रत्येक भेटमा उनी एक असल कथावाचकझैं सहरका किंवदन्ती र कथाहरू सुनाइबस्थे । लाग्थ्यो, ती कथा उनको आत्मामा हरदम गुन्जिन्छ । हाकुपटासीमा सजिएकी, सिउँदोमा लामो धर्को सिन्दुर हालेकी, पातला ओठमा लाली पोतेकी, कपालको गुजुल्टोमा गुनकेशरी फूल सिउरिएकी इतुम्बहालकी गीतकी नेवाः युवती ‘राजमती’ को कथा उनले इतुम्बहालमै सुनाएका थिए– त्यहीँको पुरानो इँटाको आँगनमा बसेर । उनको कथावाचन पछि अनुभव भएको थियो, राजमती गीतमा झैं जीवितै छिन्– ‘राजमती कुमति/मसँग आए पिरति/हाय बाबा राजमतीचा/राजमती नदिए म त काशी जान लागेँ बुबा/ल्याइदेऊ न राजमतीचा’ ।
सुरेश भन्थे, ‘राजमती एक जीवित पात्र थिइन् । इतुम्बहालको ताःननी भन्ने ठाउँमा राजमती बस्थिन् । गीतमै राजमतिको कथा लेख्ने कविले प्रेम दर्शाउँदै उनीसँग विवाह गर्ने र विवाह गर्न नपाए काशी जाने ‘घुर्की’ लगाएका छन् ।’
राजमतिमाथि सुरेशको एक शानदार निबन्ध छ– हाय राजमती ! उनी लेख्छन्, ‘गीतिकथामा राजमति अत्यन्तै सुन्दर एवं रूपवान छिन् । उनको आँखा बाला–बाला परेको छ, कपाल घुम्रिएको छ, मुहारमा दुईवटा कोठी पनि छन् । उनको सुन्दरता हेर्दा उनी सक्वमि (साँखुले) की छोरी हुन् कि जस्तो लाग्छ । उनी बिजकली नामक गहना लगाउने गर्छिन् । तर, दुर्भाग्य ! एक चण्डाल लमीका कारण जबर्जस्ती उनको बिहे गराइयो । बिहे पनि यस्तो घरमा भयो, जहाँ एउटा सँझ्यालसम्म छैन । बिहे भए पनि आफ्नो बैंस छँदै लोग्नेको मृत्यु भयो । राजमतीको जन्म धिक्कार भएछ !’
सुरेशले भनेका थिए, ‘यो गीतमा तत्कालीन काठमाडौंली समाजमा प्रचलित सामाजिक, सांस्कृतिक रूपरेखाको चित्रण पाइन्छ । गीतहरूले कथा मात्रै होइन, इतिहास पनि सुनाउँछन् ।’
यसरी नेवाः मिथ र किंवदन्तीमा आउने/जाने मान्छे–ख्याकहरूका आख्यान–लोकमा पनि बेहिसाब डुबिरहन्थे सुरेश– तिनलाई जीवन्त बनाउँदै, तिनको रहस्य खोल्दै । असनको साँढेदेखि हाँडीगाउँका जात्रासम्मका कहानी उनी सुनाउँथे । ‘नुनदेखि सुन’ पाइने असनको दुई शताब्दी पुरानो पसलका साहुजीदेखि तिनका बाजे–बराजुका व्यापारका ग्राफ उनलाई थाहा थियो । र, थाहा थियो— इन्द्रजात्रापछि हुने असनको घुइँचो अनि असनमा तेल, घ्यू, जिरा, मरीच, नुन, सख्खर खरिद गर्न आइपुग्ने टोखा, साँखु, थिमि, भक्तपुर, कीर्तिपुर, ललितपुरदेखिका मानिसको ब्ल्याक एण्ड ह्वाइट समय–चक्र ।
न्युरोड, पाको, काष्ठमण्डप, राजा गुणकामदेवदेखि इन्द्रचोकको आकाश भैरव (आजुद्यः) सम्मका किंवदन्ती सुनाउँथे सुरेश, ‘इन्द्रचोकमा कुनै बेला एउटा पोखरी थियो– कालमोचन पोखरी । जसले गुँला पर्वमा पोखरीमा स्नान गरी सँगैको जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को दर्शन गर्छ, उसले मृत्युपछि यमलोक जानुपर्दैन, सीधै सुखावती भुवनमा बास पाउँछ भने विश्वास गरिन्थ्यो । एक दिन कालमोचन पोखरीमा स्वयम् देवराज इन्द्र आई स्नान गरे र यस स्थानको नामै ‘इन्द्रचोक’ राखियो...।’ कथा सुनाएपछि उनी किंवदन्तीमाथि संयश पनि गर्थे । र, इन्द्रजात्राका बेला काठमाडौंका टोलहरूका डबलीमा रातैभर मञ्चन गरिने पूर्णांकी नाटक ‘दबू प्याखं’ जस्ता हराएका संस्कृतिमाथि उनी विमर्शरत रहन्थे । उनले लेखेका छन्, ‘दबू प्याखं हराउनु काठमाडौंको एक ठूलो सांस्कृतिक उद्योग बन्द हुनु जत्तिकै दुःखदायी विषय हो ।’
पिचमा घोडा कुदाए चिप्लिएर लड्छ भन्ने सन्देहपछि राणाहरूले न्यूरोडको सडक ग्राभ्रेल बनाएकोदेखि न्युरोड पीपलबोटछेउ मोटरसाइकल भाडामा दिने वा भोटाहिटीको एउटै पाउदानीवाला साइकल भाडामा दिने पसलसम्मका कथा सुरेश मुखाग्र सुनाउँथे ।
इन्द्रचोकबाट हनुमानढोकातिर पस्ने लामो मखनटोल गल्लीमा ३० को दशकमा देखाइने भिडियो–फिल्मको साक्षी थिए– सुरेश । उबेला ३६ इन्चीवाला एक टेलिभिजनको मूल्य १ लाख ३० हजार पर्थ्यो, डेकको ३७ हजार । काठमाडौंको भित्री सहरमै जग्गा आनाको १ लाख पनि पर्दैनथ्यो । काठमाडौंको ताहाचलमा एकजनाले ३६ इन्चको टेलिभिजनसँग तीन आना जग्गा साटेको कथा सुनाउँदा सुरेश किरण मस्त हाँसेका थिए । मेरै करकापमा उनले मखनटोलको त्यो भिडियो–फिल्मको कहानी लेखेका छन् ।
‘मखनटोलकी मैयाँ’ शीर्षकमा सुरेश लेख्छन्, ‘हामी मखनको कुनै कोठे टाकिजमा फिल्म हेर्थ्यौं । फिल्म प्रदर्शन गरिने सानो कोठा गजबको हुन्थ्यो– भुइँमा खुइलिएको, छेउ–कुना फाटेको, मैलो, पुरानो सुकुल ओछ्याइएको । कोठैभरि पसिनाको अमिलो र मोजाको नमीठो गन्ध फैलिएको हुन्थ्यो । गन्हाउने अँध्यारो कोठा ! त्यसमाथि दर्शकको मुखबाट बुङ्बुङती उडिरहेको चुरोटको धूवाँ ! अनि कहिलेकाहीँ पेट खलास नभएका कुनै दर्शकले आनन्दले फुस्स छाडेको मन्द पादको गन्ध ! फिल्म हेर्नैका लागि सारा दर्शक साढे दुई घण्टासम्म शान्त भएर यी सबै सहन्थे ।’
सुरेश किरण मेरा लागि थिए, नेवाः संस्कृति, काठमाडौं र यहाँका गल्ली–गल्लीसँग जोडिएका विषयहरूको आधिकारिक व्याख्याता ।इतिहासकार कमलप्रकाश मल्लले भनेझैं सुरेशका लागि काठमाडौं ‘एक विसंगत सहर’ थियो— महामञ्जुश्रीको खड्गको डोब देखाएर बाँचिरहेको ‘चिसो एष्ट्रे’ ‘काष्ठमण्डप’ विशिष्ट र रहस्यले भरिएकै अनि ‘भौतिक–पराभौतिक’ थियो । नेपालमण्डलका पुराना गल्ली र मन्दिरहरूमा बजिरहेका घन्टको कथा, मन्दिरहरूछेउ साँझदेखि गुन्जिने तबला–हार्मोनियम र भजनका स्वरले उनी मग्न रहन्थे— ती धुनलाई कवितामा उतार्थे । तिनै कथा उनी लेखिरहन्थे— इतिहास र मिथ नेपालभाषाको लयमा सजाएर । वसन्तपुरको कुमारी, इतुम्बहालको राजमतीको मुस्कान उनका निबन्धका कच्चापदार्थ थिए ।
काठमाडौंका 'कोर एरिया'माथि ससन्दर्भ व्याख्यान दिन सक्थे उनी । जस्तो, सहरका एक–एक गल्लीको नालीबेली थाहा थियो, सुरेशलाई । म चमत्कृत हुन्थेँ, उनको गल्ली–ज्ञान देखेर । उनले मलाई एक दिन सकाव्यिकता र सहाँसो भनेका थिए, ‘दीपकजी, भन्न मिल्छ भने मलाई गल्लीविद् भने हुन्छ । काठमाडौंका एक–एक गल्लीलाई म चिन्छु । तिनले पनि मलाई चिन्छन् । म गल्लीहरूसँग बात मारिरहेको हुन्छु ।’
हो, गल्लीहरूलाई एक जुगसम्म सुरेशको न्यास्रो लाग्ने छ ।
०००
नेपालभाषाको एक शब्द छ– ‘थःछेँ’ । यसको अर्थ रोचक मात्रै होइन, व्यापक र गहिरो पनि छ । यसको ठ्याक्कै नेपाली अनुवाद हुन्छ– ‘आफ्नो घर’ ! खासमा यो शब्दलाई ‘माइती’ को अर्थमा प्रयोग गरिन्छ, तर ‘माइती’ ले त्यो पूर्ण अर्थ, बिम्ब र भाव बोक्न सक्दैन, जुन ‘थःछेँ’ ले बोक्छ । बिहेपछि श्रीमान्को घर पुगेकी छोरीको माइती नेवार परिवारमा ‘थःछेँ’ नै हुन्छ— अर्थात् ‘आफ्नो घर’ नै हुन्छ ।
यो शब्दले केवल ठाउँलाई होइन– पहिचान, सम्बन्ध र आत्मीयताको गहिरो तह समेट्छ, जसरी छोरीले जन्मघरलाई सधैं ‘आफ्नो’ नै ठानिरहन्छिन्, चाहे उनी जति नै दुर पुगेकी होउन् । नेपालभाषाका तपस्वी कवि सुरेश किरण ‘थःछेँ’ शीर्षकको उनको कवितामाथि कसैले विमर्श गर्दा अत्यन्तै खुसी हुन्थे । उनको अनुहार उज्यालोले चम्किन्थ्यो । भन्थे, ‘आफूले जाने–बुझेको शब्दलाई ठ्याक्कै खास अर्थमा लेख्न पाउनु नै मातृभाषामा लेख्नुको सुखानुभूति हो ।’ र, उनको कविता ‘थःछेँ’ ले नेवार समाजमा महिलाको भूमिका, अधिकार र तिनलाई गरिने व्यवहारको सुदूर अतीतको कथा मात्रै होइन, आजको पनि प्रतिबिम्ब बोक्छ । त्यो कविता हो– एक मौन विद्रोह र आत्मसम्मानको स्वर । त्यो लामो कविताको एक अंश नेपाली अनुवाद यस्तो छ–
आमा ! मलाई अन्माएर पठाउँदा/तिमीले दिएको गाग्री लिएर गएँ/
आफन्त र धेरै सामग्री लिएर गएँ/लिएर नगएको केही थियो भने/
बस्, मैले ‘आफू’ लिएर गइनँ/घरमै छुटेछ, मेरो त्यो ‘आफू’/
थाहा छैन मेरा सबै ‘आफू’ बाँकी रहेकाले पो/त्यो घर मेरो ‘आफ्नो घर (थःछेँ)’ भएको हो कि !
कवि अभय श्रेष्ठको कविता–किताब ‘लहना र तीर’ को विमोचनमा वक्ता रहेका सुरेशले भनेका थिए, ‘नेपालभाषा साहित्यको कुनै एक विधाले नेपाली भाषाको ‘मूलधार’ लाई सिधै टक्कर दिन सक्छ भने त्यो कविता नै हो ।’ तर, नेपालभाषामै कवितामा मग्न सुरेशको अनुहारमा केही चिन्ताका रेखा पनि पोतिएका थिए । भेटमा वा सार्वजनिक विमर्शमा उनी चिन्तित सुनिन्थे, ‘नेपालभाषाको कविता नेपाली साहित्यमा कहाँनेर छ ? सिद्धिचरण श्रेष्ठ र दुर्गालाल श्रेष्ठजस्ता कविले उचाइमा पुर्याएको नेपालभाषाको काव्य नवपुस्ताले कहाँ पुर्यायो ?’
०००
सुरेश थिए– एक आलोचनात्मक विवेकले सिर्जना गर्ने असाध्यै गम्भीर कवि । सुरेशका कविता र व्यंग्यको प्रशंसक हुन्– लेखक–सम्पादक राजेन्द्र महर्जन । सुरेश उनका असल साथी पनि थिए– ‘आँखामा राख्दा पनि नबिझाउने’ भलाद्मी मानिस अनि न्यायप्रति प्रतिबद्धता भएका साहित्यकार । राजेन्द्रको आँखामा सुरेश अत्यन्तै मार्मिक हास्यव्यंग्य रचना गर्ने व्यंग्यकार र प्रहसन लेखक ‘सुकि’ हुन् र नेपालभाषाका प्रतिबद्ध सम्पादक पनि ।
‘इनाप साप्ताहिकका कम्पोजिटर र पत्रकारदेखि ‘विश्वभूमि’ र ‘सन्ध्या टाइम्स’ दैनिकका सम्पादकसँगै भाषा आयोगका सदस्यसम्मको उनको यात्रा बिर्सन सकिँदैन । नाम, दाम, पद, प्रतिष्ठा र प्रचारको वास्ता नगरीकन भाषिक समानताको अधिकार र सामाजिक न्यायप्रतिको प्रतिबद्धताका साथ लेखन–सम्पादन कर्ममा डुबेर लाग्नु नै उनको मूल चरित्र हो, जुन बिर्सनै मिल्दैन’, राजेन्द्र भन्छन्, ‘सास रोकिए पनि उनको हँसिलो अनुहार, मित्रतापूर्ण व्यवहार, कोमल व्यक्तित्व सबै न्यायप्रेमीको मनमस्तिष्कमा बास बसेको छ । देह अन्त भए पनि उनका अनेक साहित्यिक सिर्जना तथा भाषा समानता र सामाजिक न्यायप्रतिको जुनून नष्ट हुँदैनन् ।’
संस्कृतिविद् मल्ल के. सुन्दरका आँखामा ती दिन ओहोरदोहोर गरिरहन्छन्, जतिबेला उनी ‘इनाप’ का सम्पादक थिए । त्यो ०४० सालतिरको कुरा हो, उनको सम्पादनमा निस्किने नेपालभाषा साप्ताहिक ‘इनाप’ का लागि उनले आफ्नै घरमा एउटा छापाखाना राखेका थिए । त्यसका लागि दक्ष कम्पोजिटरको खोजीमा उनका मित्रहरुले ल्याइदिएका थिए– दीपक शाक्यलाई, जो कम्पोजमा अत्यन्तै दक्ष थिए । उनका सहयोगी थिए, बालापनका मित्र पूर्ण, जो प्रेसका लागि आवश्यक अन्य काम गर्थे । तीन/चार महिनापछि उही दीपकले एकजना मानिस ल्याए ‘इनाप’ कार्यालयमा– दुब्लो, पातलो, कलिलो र हेर्दैमा अवोध । दीपकले धेरै अनुनयविनय गरे, मल्ल के. सुन्दरलाई फकाए– त्यस केटोलाई पनि प्रेसको कुनै काममा अल्झाइदिन । तर, त्यतिखेर प्रेसका लागि कुनै नयाँ मान्छे आवश्यकै थिएन, फेरि आर्थिक बोझ बढ्ने कुराले पनि त्यो सम्भव थिएन । दीपकले नै उनलाई सुझाए– पारिश्रमिक दिनुपर्दैन, केवल पे्रसमा आएर कम्पोजको काम सिक्नेछ ।
तर ती सोझा, लजालु केटा दिनहुँ ‘इनाप’ आउन थाले, जो चुपचाप आउँथे, एक कुनामा बसेर केही सिक्थे र साँझ चुपचाप घर फिर्थे । एक महिना पनि नबित्दै त्यो केटोले कम्पोजिङमा क्रान्ति नै गरे, शुद्धाशुद्धि पनि त्यतिकै राम्रो ।
त्यसपछि उनलाई पनि पारिश्रमिक पाउने गरी प्रेसको काममा भर्ती गरियो । लगनशीलता र मेहनतबाट उनी एक निपुण र सिद्धहस्त कम्पोजिटर बने । उनी पढ्दै पनि थिए, प्रवेशिका पछि क्याम्पस कक्षामा भर्ना भए । एक दिन उनले आफूले लेखेको सानो लेख लिएर मल्ल के. सुन्दरलाई देखाए, यद्यपि केही बोलेनन् । मल्ल के. सुन्दरले त्यो रचना पढे, लगत्तै ‘इनाप’ पत्रिकामा प्रकाशन गरे । पत्रिकामा एउटा स्तम्भ थियो– ससाना नानीहरुका लागि ‘हे जक मस्त दँदँ’ (हेर नानीहरु जाग जाग) । त्यो नै उनले लेखेको पहिलो प्रकाशित रचना थियो । त्यसपछि मल्लले हौस्याए, उनले लेखिरहे । अब उनी एक कम्पोजिटर मात्रै रहेनन्, लेख लेख्ने नवोदित सर्जक पनि बने ।
फत्तेबहादुर सिंहको सम्पादनमा प्रकाशन हुने ‘नेपालभाषा पत्रिका’ दैनिक उनको देहावसानपछि पद्मरत्न तुलाधरले जिम्मा लिएका थिए । तर, त्यो पनि बन्द भयो । ‘इनाप’ साप्ताहिकका सम्पादन सहयोगीमध्ये एक अशोक श्रेष्ठको सक्रियतामा ‘विश्वभूमि’ दैनिक ‘इनाप’ कै सह–प्रकाशनमा छाप्न थालियो । त्यसैक्रममा ती कलिला, लजालु कम्पोजिटरलाई न्युज रिपोर्टिङ जिम्मा लगाइयो । ती नवोदित सर्जक र न्युज रिपोर्टर थिए– सुरेश मानन्धर, जो पछि कवि–अवतारमा उत्रेपछि ‘किरण’ उपनामले लेख्न थाले ।
‘०४६ सालको जन–आन्दोलनको समाचार संकलनका क्रममा डाक्टरको सेतो अप्रोन लगाएर संकटकाल र कर्फ्युको त्यस अवस्थामा पनि साहसपूर्वक वीर अस्तपाल छिरेर जननायक गणेशमान सिंहसँग अन्तर्वार्ता लिने उनको व्यवसायिक आँट स्मरणीय रह्यो । इनापकै पहलमा नियमित आयोजना हुने कवि सम्मेलन उनका लागि सिर्जना प्रस्तुत गर्ने सहज माध्यम बन्यो,’ मल्ल के. सुन्दर भन्छन्, ‘उनका काव्य रचना त्यहाँबाटै माझिन थाल्यो । त्यही लजालु केटा कम्पोजको खुड्किलो पार गर्दै इनापको सह–प्रकाशन दैनिक पत्रिकाका लागि कालान्तरमा प्रमुख सम्पादकको जिम्मा लिर्ने व्यक्ति भइदिए ।’
नेपालभाषा वाङ्मयको उत्तरआधुनिक काव्यविधामा प्रतिनिधि कवि र भाषा अभियन्ता हुन्– सुरेश किरण । ‘भाषा आन्दोलनका एक अभियन्ता, आज भाषा आयोगका माननीय सदस्य जसका जीवनका चार दशकभन्दा बढी समय मेरै घरदैलोमा बिते । त्यहीँ हुर्के, त्यहीँकै हावापानीमा उनका जीवनका उकालो ओराली बिते । सुरेशलाई धेरैले धेरै कोणबाट सम्झना गर्लान्, तर मेरा लागि उनी एक प्रिय साख्खे परिवारजन,’ मल्ल के. सुन्दर भन्छन् ।
०००
सहर र संस्कृतिमाथि विमर्श गरिबस्ने सुरेश किरणका विचारमा उनी जन्मिएको यो काठमाडौं सहर एउटा मायावी नगर थियो । ‘यो सहरमा एकपटक छिरेपछि निस्कन गार्हो हुन्छ,’ सुरेशले लेखेका छन्, ‘सायद त्यही भएर हो– गोर्खाली राजा पृथ्वीनारायण शाहले काठमाडौं जितेर यसलाई गोर्खा राज्यमा विलय गर्नुको सट्टा आफैं गोर्खा छोडेर काठमाडौंमा राज गर्न आए । गोर्खाली राजाले जितेको कारणले राजधानी त गोर्खा हुनुपर्ने थियो, तर भइदियो काठमाडौं । गोर्खाले काठमाडौं जितेको होइन, काठमाडौंले गोर्खा जितेको हो । वास्तवमा पृथ्वीनारायण शाहले राजधानी बनाएको कारणले काठमाडौं विकसित भएको होइन । बरु काठमाडौं उतिखेरै विकसित भइसकेका कारण पृथ्वीनारायण शाहले यसलाई राजधानी बनाएका हुन् ।’
देवीदेवतामाथि पनि सुरेश किरणको टिप्पणी हुन्थ्यो– काठमाडौंप्रति आकर्षित भएरै उनीहरू काठमाडौंमा बास बस्न लोभिन्छन्, त्यसैले त काठमाडौंमा मन्दिरै मन्दिर छ । काठमाडौंमा हिँड्दा यदि बाटोमा कहीँ ठोक्किए याद गर्नुपर्छ– त्यो पक्कै कुनै देवताको मन्दिर हुन सक्छ ।
सुरेश काठमाडौंका कुनै चर्चित चोक, टोल वा किंवदन्तीबारे मात्रै होइन, ससाना गल्लीमा बसोबास गर्ने ‘देवीदेवता’, मान्छे, नेवाः पर्व, चौरासी व्यञ्जन र संस्कृतिमाथि माथि पनि धाराप्रवाह कथा सुनाउन सक्थे । जस्तो चौरासी व्यञ्जनको चौरासी नेवाः मेनुको नाम, तिनका विशेषता र पाक–कलामाथि व्याख्या गर्दै उनले मसँग भनेका थिए, ‘नेवाः भोजन र संस्कृतिमा चौरासी व्यञ्जनको थाली स्वादको शिखर हो, नेपाली भान्सामा विरलै झुल्किने, तर स्मृतिका पत्रहरूमा बास बसिरहने !’
सुरेश किरण मेरा लागि थिए, नेवाः संस्कृति, काठमाडौं र यहाँका गल्ली–गल्लीसँग जोडिएका विषयहरूको आधिकारिक व्याख्याता । उनीसँगको संगत मेरो सिकाइको पाठशाला थियो । त्यसमाथि, एक दाइबाट पाउने बेहिसाब प्रेम मैले उनीबाट पाएको थिएँ ।
दुई महिनाअघि एक भेटमा मैले उनलाई भनेको थिएँ, ‘दाइ, म तपाईंको लामो प्रोफाइल लेख्न चाहन्छु ।’ उनले त्यतिबेला भनेका शब्द अहिले मेरो मथिंगलमा ओहोरदोहोर गरिरहेका छन् ।
उनले भनेका थिए, ‘पख्नुस् न, हतार के छ र ?’
अन्तिम बिदाइमा खादा अर्पण गर्दैगर्दा म मनमनै उनीसँग अन्तिम गुनासो गरिरहेको थिएँ, ‘आफूले चाहिँ के साह्रो हतार गरेको नि... ?’
000
सुरेश किरणको कविता : एक टुक्रा रात
सुत्न जोसँग ओछ्यान छैन
ऊ आफूलाई चाहिनेजति जमिन ओछ्याएर सुत्न सक्छ
सुत्न जोसँग सिरक छैन
ऊ आफ्नो नापअनुसारको आकाश ओढेर सुत्न सक्छ
तर, सुत्न जोसँग रात छैन
थाहा छैन, ऊ कसरी सुत्न सक्छ ?
सुत्न कसैलाई आफ्नै ओछ्यान चाहिन्छ
कसैलाई आफ्नै तकिया त कसैलाई आफ्नै कोठा
तर, म कसैको पनि ओछ्यानमा सुत्न सक्छु
कसैको पनि कोठामा सुत्न सक्छु
सुत्न मलाई आफ्नै ओछ्यान चाहिँदैन
आफ्नै कोठा पनि चाहिँदैन
चाहिन्छ त बस आफ्नै रात चाहिन्छ
सुत्न मिल्ने एक ढिक्को रात
म अरूको रातमा आफू सुत्न सक्दिनँ
अरूको रात खोसेर आफू निदाउन सक्दिनँ
हो, चोरहरू राति आउने गर्छन्
तर, उसले सम्पूर्ण घर चोरे पनि
हाम्रो सम्पूर्ण रात चोर्न सक्दैन
हो, मलाई थाहा छ
राति आउने चोरभन्दा
रात चोर्ने चोर खतरनाक हुन्छन्
म दिउँसै आएर तिम्रो तकियामुनि
जतन गरी राखिएको रात चोरेर लान सक्दिनँ
म चोरीको रातमा सुत्न सक्दिनँ
त्यसैले जहाँ गए पनि
म आफ्नो भागको एक टुक्रा रात
सधैं गोजीमै हालेर हिँडिरहेको हुन्छु ।
