कार्यक्रममा लेखक भट्टराईले भने, ‘शीर्षकले बैजनी रङलाई चम्काइदिएको भए पनि कथामा सबै रङ छन् । कथामा फरक फरक रङका छिटा परेका छन् । हरेक पात्र आ–आफ्नै रङमा देखिएका छन् ।’
काठमाडौँ — लेखक सुविन भट्टराईको नयाँ कथासंग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानको डबलीमा लेखक सुविन र चितवनबाट कार्यक्रमकै लागि भनेर आएकी उनकी प्रशंसक रश्मिला थापाले पुस्तक विमोचन गरेका हुन् ।
कार्यक्रममा लेखक सुविनले भने, ‘शीर्षकले बैजनी रङलाई चम्काइदिएको भए पनि कथामा सबै रङ छन् । कथामा फरक फरक रङका छिटा परेका छन् । हरेक पात्र आ–आफ्नै रङमा देखिएका छन् ।’
कार्यक्रममा एक मात्र वक्ता रहेका उनले यी कथाहरू सिनेमाप्रतिको आफ्नो महत्वाकांक्षाको उपज भएको बताए । ‘बाल्यकालदेखिको मेरो सिनेमाप्रतिको मोह वयस्कमा आइपुग्दा त्यो पनि हुर्किएर वयस्क भयो । र मभित्रको दर्शकले सिनेमा निर्माण गर्ने महत्वकांक्षा राख्यो,’ उनले भने, ‘सिनेमा बनाइहाल्ने आँट र सीप नभएता पनि सिनेमाजत्तिकै र जस्तै कथाहरू म लेख्न सक्छु भन्ने अठोट मैले सजिलै राखेँ । यी सप्तरंगी कथारू तीनै महत्त्वकांक्षा र लोभका नजिता हुन् ।’
‘कथाकी पात्र’ कथासंग्रहबाट साहित्य जगत्मा आएका सुविनका यसअघि उपन्यासहरू ‘साया’, ‘समर लभ’, ‘मनसुन’,‘प्रिय सुफी’ र ‘इजोरिया’ उपन्यास प्रकाशित छन् । ‘चमेलीको फूल बैजनी रुमाल’लाई फाइन प्रिन्टले प्रकाशन गरेको हो ।
