‘कम्फर्ट जोन’बाट बाहिर निस्केका लेखक

सप्त रंगका कथामा सुविनले जनकपुरकै आत्मीयता, जीवनका संघर्ष र नयाँ प्रेरणा बोकेर पाठकलाई नयाँ अनुभूतिको स्वाद दिएका छन् ।

आश्विन ३०, २०८२

समर्पण श्री

Writers who stepped out of their 'comfort zone'

What you should know

काठमाडौँ — एउटा लेखकसँग पाठकको पर्खाइ हुन्छ । त्यो प्रेमसहितको पर्खाइ लम्बिँदै गएपछि आशासहितका प्रश्न दोहोरिन थाल्छन्, ‘नयाँ पुस्तक कहिले...?’

‘इजोरिया’पछि लेखक सुविन भट्टराईलाई यस्ता प्रश्न आइरहे । जवाफमा उनी केवल मुस्कुराइरहे । तर पछिल्लोपटक उनी मुस्कुराएनन् मात्र । सुटुक्क सामाजिक सञ्जालमा सरप्राइज्डस्वरूप कोसेलीको पोको खोले– ‘चमेलीको फूल बैजनी रुमाल’ । 

सुविनकै भाषामा बुझ्ने हो भने यो पोकोभित्र ‘सप्तरंगी संयोग’ छन् । सात कथा, जसमा शब्दहरूका लामा सफर छन् । २०६७ मा लेखकका रूपमा सुविनलाई उभ्याउने ‘कथाकी पात्र’ कथासंग्रह थियो । संयोग के भने, १५ वर्षपछि उनी फेरि पाठकलाई कथाहरूको अलग दुनियाँमा लैजाँदैछन् ।

‘समर लभ’, ‘साया’ र ‘मनसुन’ उपन्यासपछि उनी आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किए । जीवन निस्सार मानिरहेकाहरूलाई ‘प्रिय सुफी’ सुम्पिएर ‘लाइफ इज ब्युटिफल’ भन्न सिकाए । आफू भने लेखकीय जोखिम मोल्न सहरको कथा र पात्रहरूबाट अलग्गिए । मधेश ओर्लिए, जनकपुर रोकिए  र ‘इजोरिया’ लेखे । डर थियो, मधेशले ‘इजोरिया’को ऐनामा आफूलाई पाउँछ कि पाउँदैन !

पुस्तक पाठकहरूको भएपछि उनी मधेशकै प्रतिक्रिया पर्खिरहेका थिए । उपन्यास पढिसकेपछि एकाबिहानै मधेशकै एक लेखकले फोन गरेर प्रसन्न हुँदै भने, ‘धन्यवाद सुविनजी । तपाईंले जनकपुरलाई गुन लगाउनु भयो ।’ 

सुविनले 'जनकपुरले आफूलाई पनि गुन लगाएको' सम्झिए । 

पुस्तक चर्चाको रापतापमा रमाउँदा रमाउँदै दिनहरू बितिसकेछन् । दिनहरूको दूरी बढ्दै गएपछि एकदिन सुविन झस्किए, ‘म त एउटै कक्षामा फेल भएर दोस्रोपटक पढेजस्तो पो भएँ ।’ अनि सुविनले कथाको लय पकडे । शब्दका सुसेली हाले र तयार भयो– ‘चमेलीको फूल बैजनी रुमाल’ ।

Writers who stepped out of their 'comfort zone'

पुस्तक आउनु लेखकका लागि त हर्षको विषय हुनुपर्ने हो । सुविनलाई भने ‘एन्जाइटी’ बढेझैं भइरहेको छ । सोचिरहेका छन्, ‘यी क्षण छिटोछिटो फरवार्ड गर्न पाए पनि हुन्थ्यो ।’ किन यस्तो हुँदो रहेछ भने सुविनलाई पुस्तक बजारमा जानुअघि परीक्षा दिएर निस्किएको विद्यार्थीझैं लाग्दो रहेछ । ‘एउटा परीक्षा दिएको छु । तर कापी जाँच्नेहरू हजारौं छन् । कति नम्बर दिने हुन्, डर लाग्दो रहेछ,’ सुविन भन्छन् ।

त्यसमाथि जेन–जी आन्दोलनपछिको माहोलले मानिसहरूलाई विचलित बनाएको छ । समाजमा घृणा फैलिरहेको छ । साहित्य र सिनेमा नै उपेक्षामा परिरहेका बेला पुस्तक कत्तिको पढिएला, उनलाई सन्देह थियो । तर, पुस्तक आउनुअघि नै केही पाठकको फोन र लेखकीय हस्ताक्षरसहितको पर्खाइ देखेर आशा पलाएको छ ।  

उसो त साहित्यमा भविष्य कल्पिरहँदा उनले आफ्नो उपस्थितिलाई अहिलेको ठाउँसम्म कल्पना गरेकै थिएनन् । यति कल्पेका थिए, ‘किताब होस्, किताबको आकार होस् । एक हजार प्रति छापियोस् । लेखकमा सुविन भट्टराईको नाम होस्  अनि साझा प्रकाशनले छापिदेओस् ।’ 

तर ‘समर लभ’ र ‘साया’सम्म आइपुग्दा उनका पुस्तकले बिक्री रेकर्डको सीमालाई नै ब्रेक गरिदिए । प्रज्ञा प्रतिष्ठानमा खचाखच भरिएका मान्छे । जसमा एकै जनाले १५ प्रति चाङ ल्याएर साइनका लागि उभिरहेका थिए ।

भोलिपल्ट बिहान उनी प्रेमिका (हालकी जीवनसाथी)लाई एक प्रति पुस्तक दिनका निम्ति प्रकाशन गृह फाइनप्रिन्ट पुगे । हिजोसम्मका चाङका चाङ पुस्तक रित्तिसकेका थिए । ‘२० हजार प्रति पुस्तक भोलिपल्टै सकिएछ । म आफैंले पनि लिन जाँदा पाइनँ,’ सुविन एउटा लेखकका निम्ति भएको खुसीको त्यो क्षण सुनाउँछन् ।

पुस्तक इन्डियाबाट छापेर ल्याइएको थियो । दोस्रो संस्करण आउन डेढ महिना पर्खनु पर्थ्यो । क्रेज यतिसम्म थियो, बाटैमा राख्दा पनि बिक्री  हुन्थ्यो । ‘यो अवस्था मेरो लाइफमा फेरि आउँछ कि आउँदैन, तर अरूको लाइफमा भए पनि म खुसी हुन्छु,’ सुविन भन्छन् । 

‘समर लभ’देखि एकाएक हजारौं पाठकका आँखामा अटेका सुविनको पहिलो पुस्तक प्रकाशनको यात्रा भने सुखद थिएन । त्यतिबेला उनलाई न प्रकाशनगृहबारे थाहा थियो, न पुस्तकको बजारबारे नै । एक मात्र सोख थियो पुस्तक निकाल्ने । कलेज जीवनमा लेखेका कथाहको सँगालो थियो । साथीहरूलाई सुनाउँथे । उनीहरू उक्साउँथे, ‘सुविन, किताब निकाल् ।’

चिनजानका एक लेखकलाई उनले अनुरोध गरे, ‘दाइ पुस्तक निकाल्नुपर्यो । कहाँ छाप्ने ?’ तिनले सुझाए, ‘छाप्न पैसा लाग्छ भाइ । पैसा हाल्नूस् । म पाँचपोखरीमा भनिदिन्छु जानू ।’ आफैंले पैसा हालेर उनले पाँचपोखरी प्रकाशनगृहबाट कथासंग्रह ‘कथाकी पात्र’ निकाले । एक हजार प्रति पुस्तक छापियो ।

तर, विमोचन र ‘सेलिब्रेसन’का लागि अर्को लगानी गर्नुपर्‍यो । मूलधारका पत्रिकामा समाचार आउनु त परको कुरा । स्थानीय पत्रिकामा सानो समाचारचाहिँ छापियो । पुस्तक त छापियो, तर बिक्री भएन । उनी आफैं झोलामा ४/५ वटा किताब बोकेर कार्यक्रममा पत्रकार भेट्दै समीक्षाका लागि दिन्थे ।

‘त्यसरी भेटेर दिएको र पार्टी गराएको कसैले पनि केही लेखेनन् । तर कहिल्यै नभेटेको, नचिनेको पत्रकारले कान्तिपुर कोसेलीमा यति मीठो समीक्षा लेखिदिनुभयो । त्यो पढेर म धेरै खुसी भएँ,’ सुविन सम्झन्छन्, ‘समीक्षा गर्ने घनश्याम खड्का हुनुहुन्थ्यो । त्यसपछि मात्र म बजारमा बल्ल लेखकमा दरिएँ । चल्तीका समीक्षकले पनि राम्रो भन्न थाले पुस्तकलाई ।’

Writers who stepped out of their 'comfort zone'

त्यही क्रममा पत्रकार विमल आचार्यसँग भेट हुनु, उनले कथा पढेर फाइनप्रिन्टका अजित बराललाई भेट्ने माहोल मिलाइदिनु, अजितले कथा पढेर मेसेज गर्नु– यो कथा त हामीले छाप्न पाएको भए हुन्थ्यो ।  के छ अरू लेखेको ? 

यिनै संयोगका शृङ्खलाहरूले सुविनलाई नवीन ऊर्जा थपिदिए । सुविनले आफ्नो उपन्यासको ड्राफ्ट अजितलाई पठाए । उपन्यास पठाएपछि रातको ११ बजे अजितको फेसबकुमा एउटा स्टाटस देखे, ‘पढ्नुको यदि कुनै अग्र्याजम हुन्छ भने त्यो मलाई आज महसुस भयो ।’ त्यो सुविनकै उपन्यास लक्षित प्रतिक्रिया थियो ।

त्यही उपन्यास ‘समर लभ’ प्रकाशन भएपछि सुविनले करिअरमा पछाडि फर्किनुपरेको छैन । सुविनको बुझाइमा ‘समर लभ’ले धेरै पाठकलाई लेखक पनि बनायो । पछि दर्जनौं उपन्यासले ‘समर लभ’को शैली पछ्याए । सुविन आफ्नै अनुभवलाई पनि कोट्याउँदै भन्छन्, ‘एउटा लेखक हुनु भनेको धेरै लेखक हुनु पनि हो । जस्तो कि विश्वेश्वरप्रसाद कोइराला नभइदिएको भए सायद म लेखकै नहुन सक्थेँ ।’

अहिले पनि सुविनका इमेलमा दर्जनौँ ड्राफ्ट छन् । जो सुविनलाई आफ्नो पुस्तक पढाउन चाहन्छन् । ‘समर लभ’का पात्रहरू अहिले पनि पाठकका मानसपटलमा गहिरो गरी बसेका छन् । अहिले पनि मान्छेहरू पात्रका जीवनबारे सोध्छन् । सुविन बताउँछन्, ‘केही दिनअघि मात्र मलाई सोधियो– साया र अतीत कहाँ छन् ? के यी साँच्चैका पात्र हुन् ? म छक्क पर्छु । श्रीमतीलाई सेयर गर्छु । उनी फिस्स हाँस्छिन् । यो त किताबको सफलता नै हो नि !’

‘साया’ले बजारलाई उत्साहित बनायो । तर फर्केर हेर्दा त्यो पुस्तकमा सुविनलाई पटक्कै सन्तुष्टि छैन । ‘समर लभ’लाई पछ्याएर ‘साया’ लेखिए पनि उनी कठोर समीक्षा गर्छन्, ‘त्यो कमजोर थियो ।’ समीक्षकहरूबाट ‘साया’ले थुप्रै आलोचना व्यहोर्यो । त्यसपछि आयो ‘मनसुन’ । ‘मनसुन’ले पनि समीक्षात्मक रूपमा असिना नै खेप्यो । अहिले सोच्दा उनलाई लाग्छ, ‘यी पुस्तक मैले नलेखेको भए पनि हुन्थ्यो ।’

त्यसपछि सुविन ‘घिसिपटी’ लभस्टोरीबाट माथि उठे । नयाँ मुद्दाहरू सोचे । ‘प्रिय सुफी’ले पाठकलाई मात्र हैन, उनलाई पनि नयाँ आत्मविश्वास दियो । त्यही आत्मविश्वासले ‘इजोरिया’सम्मको बाटो तय गर्‍यो । मधेशको कथा भन्नु सहज थिएन । पहिलो पटक जनकपुर जाँदा असाध्यै गर्मी भयो, मच्छडहरूले टोके । एक रात बसे । त्यसपछि फर्किए । आफूसँगै गएका साथीले भने, ‘यो नलेख यार् । अन्त नि छन् कथा । किन यो जनकपुर आउनु पर्‍यो ।’

त्यसो भनेपछि दोस्रो पटक सुविनले ती साथी नै लगेनन् । दोस्रो, तेस्रो र चौथो हुँदै बिस्तारै मधेशका गर्मीहरूसँग सुविन परिचित भए । सुविनभित्रको लेखक ओर्लियो, अनि जनकपुरका गाउँ र देहातहरूमा डुल्दै हिँड्यो । त्यहाँका मान्छेहरूसँग आत्मीयता गाँस्यो । दुःखहरूसँग साक्षात्कार गर्‍यो । जीवनशैलीसँग प्रेम गर्‍यो । त्यहाँका मान्छेहरू, जसको माया, श्रद्धा र अपनत्वले सुविनलाई बाँधिरह्यो । काठमाडौं र जनकपुरको दूरीलाई सजिलै छिचोल्ने बानी परिरह्यो । पत्तै नपाई तीन वर्ष बितेछ ।

Writers who stepped out of their 'comfort zone'उपन्यासमा जीवन्त पात्रहरू आए, पात्रका प्राण भरिए । त्यहाँभित्रका पात्रहरूबारे अहिले पनि पाठकह भेटमा सुविनलाई सुनाइरहन्छन् । ‘मैले त्यो ठाउँलाई, त्यहाँका मानिसलाई प्रेम गरेँ । उनीहरूले पनि मलाई प्रेम गरे । त्यसकारण मैले लेख्न सकेँ,’ सुविन भन्छन् ।

‘इजोरिया’पछि सुविन एक वर्ष त्यसको प्रतिक्रियाको रसास्वादनमा मग्न रहे । अर्को एक वर्ष भने सिनेमा लेखनको उतारचढावमा बित्यो ।  त्यो एक वर्ष सुरुमा उत्साह, त्यसपछि निराशाहरूमै बित्यो । ‘समर लभ’ फिल्म बनेपछि उनका गुनासा त थिए नै । राम्रो फिल्म लेख्ने धित मनभरि थिए । त्यो वर्ष केही निर्देशकह फिल्मका लागि स्क्रिप्ट माग्न आए । उनलाई हौस्याए । ‘एक जना निर्देशक स्क्रिप्ट चाहियो भनेर आउनुभयो । डेढ महिना मिहिनेत गरेँ । पछि पैसा नै नदिएर गायब हुनुभयो, ’ उनी सुनाउँछन् ।

अर्को एउटा स्क्रिप्टमा पनि आठौं ड्राफ्टसम्म काम गरे । तर बन्छ, बन्दैन । अन्योल छ । त्यही अन्योलबीच उनी निराश भए । फिल्मका लागि लेखेको कथाले पर्दासम्मको बाटो तय नगरेर के भयो ! त्यस्तो कथा लेख्ने सोचे, जसले फिल्मका सुन्दर दृश्यहरूझैं दर्शकलाई नवीन दुनियाँमा बाँधिरहन सकून् । ‘ब्याक टू ब्याक सातवटा कथा लेखेँ । अनि आफैं आनन्दित भएँ,’ सुविन भन्छन्, ‘अबचाहिँ भोलि कुनै राम्रो फिल्ममेकर आउँछ र कथा माग्छ भने पनि म यो पुस्तक दिन सकूँ ।’

लेखन यात्राको यतिका दौरान सुविनलाई प्रेरणा मान्नेहरू पनि छन् र कोही छन्, जो उनलाई लेखक हैन, व्यापारी मान्छन् । सुविनले आफूलाई पटक-पटक आत्मसमीक्षा पनि गरेका छन् । निर्ममसँग पल्टाएका छन् । र, उनीभित्र एउटा बलियो आत्मविश्वास छ, ‘मैले आफ्नो नाडी छामेको छु । मेरो स्थान कहाँ छ, मलाई राम्रोसँग थाहा छ ।’ 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully