सुवेदी, शर्मा र भुसाललाई प्रदान गरियो पद्मश्री

प्राध्यापक अभि सुवेदीलाई पद्मश्री गौरव पुरस्कार, प्राध्यापक रमा शर्मालाई पद्मश्री साधना सम्मान र संस्मरणात्मक कृति ‘छालबाटो’का लागि लेखक एवम् पत्रकार रमेश भुसाललाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरियो ।

आश्विन २१, २०८२

कान्तिपुर संवाददाता

Subedi, Sharma and Bhusal were awarded the Padma Shri

What you should know

काठमाडौँ — २०८१ सालका लागि पद्मश्री गौरव, पद्मश्री साधना र पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा प्राध्यापक अभि सुवेदीलाई पद्मश्री गौरव पुरस्कार, प्राध्यापक रमा शर्मालाई पद्मश्री साधना सम्मान र संस्मरणात्मक कृति ‘छालबाटो’का लागि लेखक एवम् पत्रकार रमेश भुसाललाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरियो ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले तीनै जना व्यक्तित्वलाई तीन/तीन लाख नगदसहित सम्मानपत्र प्रदान गरे । साहित्य एवम् वाङ्मयका साधकहरूलाई सम्मान गर्न पाउँदा संस्था आफैं सम्मानित भएको अध्यक्ष लामिछानेले बताए ।

‘यो सम्मानले उहाँहरूमा थप हौसला र ऊर्जा प्राप्त होओस् भन्ने म कामना गर्दछु,’ उनले भने, ‘नेपाली साहित्य, संस्कृति तथा कलाको आफ्नो मौलिकता एवम् विशिष्टता छ । यो सानो फूलबारीभित्र रहेका विविध फूलका थुंगाहरूको जैविक सुवास नै हाम्रो गौरवको शिखर हो ।’

साहित्य, कला र संस्कृतिको उपासक भएको हुनाले आफूले मान्छे र उसको सिर्जनाले जित्छ भन्ने विश्वास लिने गरेको पद्मश्री गौरव पुरस्कार प्राप्त डा. अभि सुवेदीले बताए । आफ्ना कालिक अनुभव अनि घटनाहरूतिर फर्किएर लेख्नु साहित्यको मूल आधार रहेको उनको भनाइ छ । ‘त्यो स्थिर हुँदैन र लेख्नेले आफूले सोचेका कुरा लेखिसकें वा भनिसकें भन्ने कुनै निश्चित आधार हुँदैन,’ उनले भने, ‘एउटा बाटो लिएर मेरो यही हो, यत्ति हो अनि मैले जगत् र जीवन हेर्ने तरिका यत्ति मात्रै हो भन्न सक्ने कुराका पनि आफ्नो विषयमा लेख्नेहरूले समाउने आधार हुँदैनन् ।’

नेपाली भाषा साहित्यको सेवा गर्दै आएकी आफूले पद्मश्री साधना सम्मान प्राप्त गर्दा थप ऊर्जा मिलेको प्राध्यापक रमा शर्माको भनाइ छ । ‘सेवा गर्ने प्रेरणा मैले बुबाबाट नै पाएकी हुँ । सन्तानप्रतिको स्नेह र ममता सबै पितामाताको हुन्छ,’ उनले भनिन् ।

कार्यक्रममा पत्रकार एवम् लेखक रमेश भुसालले नदी वरिपरि हिँड्दा देखेभेटेका पात्रहरूको कथाले पद्मश्री साहित्य पुरस्कार जस्तो गरिमामय पुरस्कार पाउँदा आफूलाई हर्षविभोर बनाएको बताए । ‘नदी पानी मात्रै होइन, यो सभ्यता हो, संस्कृति हो, जीवन चलाउने आधार हो,’ उनले भने, ‘यो पृथ्वीलाई चलायमान बनाउने रक्तनली हो ।’ अहिले विश्वको कुल बिजुलीको १७ प्रतिशत खोलानदीले दिने गरेको उनले जनाए ।

पछिल्लो समय जलवायु परिवर्तनमा आएको आमूल परिवर्तनले पृथ्वीलाई क्षयीकरणतर्फ धकेलेको उनको भनाइ छ । ‘फेरिनु प्रकृतिको नियम हो तर जुन गतिमा फेरिएको छ त्यो असामान्य छ,’ उनले भने, ‘यहाँ मान्छेले मात्रै आफ्नो कथा भनिरहेको छ, उसको मात्रै कुरा भइरहेको छ । तर समग्र पृथ्वीमा रहेका अरू प्रजातिको कथा हराउँदै गएको छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully