योमरी पसलमा ५ जनालाई जागिर दिइरहेकी चन्द्रदेवी भन्छिन् : युवाहरू देशमा केही काम नै छैन भनेर त्यसै बस्नु पर्दैन । आफूले जे जानेको छ त्यही सीप प्रयोग गरेर अगाडि बढ्न सकिन्छ ।
What you should know
काठमाडौँ — ‘महिनाभरि काम गरेर तलब कुरेर बस्नुपर्ने । अर्काको काम गर्दा जति गरे पनि नहुने । दिक्क लागेको थियो । अरूको काम गर्नुभन्दा आफ्नै सानो व्यवसाय गर्छु । जे भए पनि होला भनेर आफैंले व्यवसाय सुरू गरेँ,’ चन्द्रदेवी डंगोल सुनाउँछिन् ।
काठमाडौंको व्यापारिक केन्द्र इन्द्रचोकनजिकै रहेको चोखाछें गल्लीको साँघुरो चोकमा १६ वर्षदेखि चन्द्रदेवीको भान्छाले एउटै स्वाद पस्किरहेको छ । चन्द्रदेवीले स्वादिलो परिकार मात्र पस्किरहेकी छैनन्, रैथाने परिकारलाई प्रर्वद्धन पनि गरिरहेकी छिन् । चन्द्रदेवीले घरमै योमरी, बारालगायतका परिकार बेच्दै आएकी छिन् । अहिले उनले ५ जनालाई रोजगारी पनि दिएकी छिन् ।
चन्द्रदेवीको योमरी पसल
काठमाडौंमा जन्मिई/हुर्किएकी चन्द्रदेवी हस्तकलामा पोख्त थिइन् । उनले एउटा कम्पनीमा एक दशकभन्दा बढी हस्तकलासम्बन्धी काम गरिन् । तर उनलाई केही समयपछि आफैंले केही गर्न पाए हुन्थ्यो लाग्न थाल्यो । ‘अर्काको काम गर्दै गर्दा बरू आफैंले केही पेसा, व्यवसाय गर्न पाए हुन्थ्यो । कति अरूको काम गरेर बस्ने हो भन्ने लाग्थ्यो,’उनले भनिन् । त्यही सोचअनुरूप उनले जागिर छोडिन् ।
चन्द्रदेवीलाई नेवारी परम्परा, संस्कृति र परम्परागत खानेकुराहरू बिस्तारै लोप हुँदै गएको जस्तो महसुस हुन्थ्थो । संस्कृतिलाई जीवित राख्न र नयाँ पुस्तालाई यसबारे जानकारी दिन नै उनले परम्परागत खाजा पसल खोल्ने सोच बनाइन् । उनले भनिन्,‘हाम्रो आफ्नै नेवारी खानेकुरा हराउँदै गएको जस्तो देख्दा नराम्रो लाग्थ्यो । मेरा छोराछोरीले मात्र होइन । सबै नेपालीले योमरीको बारेमा थाहा पाउनुपर्छ भन्ने हुन्थ्थो ।’
न्युरोडको गल्लीमा बारा, रोटी, तरकारी पाकेको देखे पनि उनले योमरी पकाएको देखेकी थिइनन् । ‘मेरो घर वरपर पहिलेदेखि नै अन्य पसलहरूले बारा र आलु बनाएर बेचिरहेका थिए,’ उनले भनिन्,‘तर योमरी कसैले बेचेका थिएनन् । एउटै खानेकुरा बेचेर प्रतिस्पर्धा गर्नुभन्दा ग्राहकलाई केही फरक स्वाद दिन्छु । योमरीको बारेमा पनि अरूलाई थाहा हुन्छ भन्ने सोचले योमरी पकाएर बेच्न सुरू गरेकी थिएँ ।’
सुरुवाती दिनमा चन्द्रदेवी एक्लैले योमरी पकाएर बेच्ने गरेकी थिइन् । विस्तारै उनले पकाउदै बेच्ने गरेको योमरीका बारेमा मानिसहरूले थाहा पाउन थालेका थिए । ‘हाम्रोमा पाक्ने योमरीको बारेमा मान्छेले थाहा पाउन थालेका थिए, साथै धेरैलाई मन पनि पर्यो । त्यसपछि मैले जागिर छोडेर गल्ती गरे भन्ने भएन । कहिल्यै पछाडि फर्केर हेर्नै परेन,’ उनले भनिन्,‘सुरुवाती दिनमा योमरीको स्वाद कस्तो हुँदो रहेछ भनेर खुब धेरै ग्राहक आउनुहुन्थ्थो । मलाई त्यो कुराले निकै खुसी दिएको थियो,’ उनले भनिन् । उनले कमाएको पैसाले छोराछोरी पढाउन र घरखर्च चलाउन निकै सहज भएको थियो । ‘सुरूका दिनमा आफैंले कमाएको पैसाले घरखर्च, छोराछोरीलाई पढाउन पुग्दा निकै आनन्द लागेको थियो,’ उनले भनिन् ।
बिहान १२ बजेबाट खुल्ने यो पसलमा चन्द्रदेवीका आफ्नै परिवारले सघाउँछन् । ‘एक्लैले केही सकिँदैन । मान्छेहरूको भीड निकै हुन्छ । छोराछोरी, बहिनी, गरी चार जनाले काम गर्छौ,’ उनले भनिन् । अहिले ग्राहकको ‘डिमान्ड’ अनुसार नै खुवा योमरी, चाकु योमरी, अण्डा बारा, सादा बारा, मस्यौरा छोइला, आलुलगायतका परिकार उनको भान्सामा पाक्ने गरेको छ । पालो नपाएर ग्राहकसमेत फर्कने गरेका छन् । ‘हामी बासी खानेकुरा कहिल्यै बेच्दैनौ । बरू कम बनाउँछौँ । त्यसैले पनि हामीलाई खोजीखोजी आउनुहुन्छ,’ उनले भनिन्,‘ताजा र तातो उहाँहरूकै अगाडि बनाएर दिन्छौँ । त्यसैले पनि होला ।’
चन्द्रदेवी खर्च कटाएर दिनको २५ सय रुपैयाँभन्दामाथि बचत हुने गरेको बताउँछिन् । बजारमा महँगी बढिरहे पनि चन्द्रदेवीले भने मूल्य नबढाएको बताउँछिन् । उनको पसलको मेन्यु छ : खुवा/चाकु योमरी ७० रुपैयाँ, अण्डा बारा ७५ रुपैयाँ र सादा बारा ३५ रुपैयाँ । विद्यार्थीदेखि विदेशी पर्यटकसम्म उनको पसलका ग्राहक हुन् ।
चोखाछें गल्लीमा अहिले चन्द्रदेवीबाहेक अरूले पनि योमरी बेच्ने गरेका छन् । ‘ठाउँठाउँमा योमरी पसलहरू खुलेको देख्दा निकै खुसी लाग्छ,’ उनले भनिन्,‘काम गरेर आफ्नै देशमा संघर्ष गरेको देख्दा खुसी लाग्छ ।’
चन्द्रदेवी आफ्ना छोराछोरीले पनि भविष्यमा यही कामलाई निरन्तरता दिऊन् भन्ने चाहन्छिन् । ‘काम गर्यो भने नेपालमै जति पनि छ, विदेश जानै पर्दैन । मेरो छोराछोरीले यही काम गरून् भन्ने छ,’ उनले भनिन् ।
उनी युवाहरू आफ्नै देशमा काम गरून् भन्ने चाहन्छिन् । ‘युवाहरू आफ्नै देशमा काम छैन भनेर बस्नु पर्दैन, आफूले जे जानेको छ त्यही सीप प्रयोग गरेर अगाडि बढ्न सकिन्छ,’ उनले भनिन् ।
केही वर्षअघि सामान्य ज्वरोका कारण श्रीमान् गुमाएकी चन्द्रदेवीका लागि यही पसल घरखर्च चलाउने र छोराछोरी हुर्काउने मुख्य आधार बनिरहेको छ । मेहनत र संघर्षले नै अहिलेसम्म चन्द्रदेवी आफ्नो कामलाई निरन्तरता दिइरहेकी छिन् ।
योमरी नेवारी संस्कृतिसँग जोडिएको विशेष परिकारसमेत हो । यही परिकारसँग जोडिएको एउटा विशेष पर्व छ-यमरि पुन्हि । हरेक वर्ष मंसिर शुक्ल पूर्णिमा (धान्य पूर्णिमा) को दिन यो पर्व मनाइन्छ ।
बीबीसी मास्टर सेफका फाइनलिस्ट सन्तोष साहले योमरीलाई विश्वमञ्चमा समेत पुर्याएका थिए । सेमिफाइनल राउन्डमा मौलिक नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ स्थानसहित फाइनल राउन्ड पुगेका थिए ।
