चोखाछें गल्लीमा १६ वर्षदेखि योमरी बेचिरहेकी चन्द्रदेवी

योमरी पसलमा ५ जनालाई जागिर दिइरहेकी चन्द्रदेवी भन्छिन् : युवाहरू देशमा केही काम नै छैन भनेर त्यसै बस्नु पर्दैन । आफूले जे जानेको छ त्यही सीप प्रयोग गरेर अगाडि बढ्न सकिन्छ ।

जेष्ठ ८, २०८३

आरती पौडेल

Chandradevi, who has been selling Yomari in Chokhachhen Street for 16 years

What you should know

काठमाडौँ — ‘महिनाभरि काम गरेर तलब कुरेर बस्नुपर्ने । अर्काको काम गर्दा जति गरे पनि नहुने । दिक्क लागेको थियो । अरूको काम गर्नुभन्दा आफ्नै सानो व्यवसाय गर्छु । जे भए पनि होला भनेर आफैंले व्यवसाय सुरू गरेँ,’  चन्द्रदेवी डंगोल सुनाउँछिन् । 

काठमाडौंको व्यापारिक केन्द्र इन्द्रचोकनजिकै रहेको चोखाछें गल्लीको साँघुरो चोकमा १६ वर्षदेखि चन्द्रदेवीको भान्छाले एउटै स्वाद पस्किरहेको छ । चन्द्रदेवीले स्वादिलो परिकार मात्र पस्किरहेकी छैनन्, रैथाने परिकारलाई प्रर्वद्धन पनि गरिरहेकी छिन् । चन्द्रदेवीले घरमै योमरी, बारालगायतका परिकार बेच्दै आएकी छिन् । अहिले उनले ५ जनालाई रोजगारी पनि दिएकी छिन् । 

चन्द्रदेवीको योमरी पसल 

काठमाडौंमा जन्मिई/हुर्किएकी  चन्द्रदेवी हस्तकलामा पोख्त थिइन् । उनले एउटा कम्पनीमा एक दशकभन्दा बढी हस्तकलासम्बन्धी काम गरिन् । तर उनलाई केही समयपछि आफैंले केही गर्न पाए हुन्थ्यो लाग्न थाल्यो ।  ‘अर्काको काम गर्दै गर्दा बरू आफैंले केही पेसा, व्यवसाय गर्न पाए हुन्थ्यो । कति अरूको काम गरेर बस्ने हो भन्ने लाग्थ्यो,’उनले भनिन् । त्यही सोचअनुरूप उनले जागिर छोडिन् ।

चन्द्रदेवीलाई नेवारी परम्परा, संस्कृति र परम्परागत खानेकुराहरू बिस्तारै लोप हुँदै गएको जस्तो महसुस हुन्थ्थो । संस्कृतिलाई जीवित राख्न र नयाँ पुस्तालाई यसबारे जानकारी दिन नै उनले परम्परागत खाजा पसल खोल्ने सोच बनाइन् । उनले भनिन्,‘हाम्रो आफ्नै नेवारी खानेकुरा हराउँदै गएको जस्तो देख्दा नराम्रो लाग्थ्यो । मेरा छोराछोरीले मात्र होइन । सबै नेपालीले योमरीको बारेमा थाहा पाउनुपर्छ भन्ने हुन्थ्थो ।’ 

Chandradevi, who has been selling Yomari in Chokhachhen Street for 16 years

न्युरोडको गल्लीमा बारा, रोटी, तरकारी पाकेको देखे पनि उनले योमरी पकाएको देखेकी थिइनन् ।  ‘मेरो घर वरपर पहिलेदेखि नै अन्य पसलहरूले बारा र आलु बनाएर बेचिरहेका थिए,’ उनले भनिन्,‘तर योमरी कसैले बेचेका थिएनन् । एउटै खानेकुरा बेचेर प्रतिस्पर्धा गर्नुभन्दा ग्राहकलाई केही फरक स्वाद दिन्छु । योमरीको बारेमा पनि अरूलाई थाहा हुन्छ भन्ने सोचले योमरी पकाएर बेच्न सुरू गरेकी थिएँ ।’ 

सुरुवाती दिनमा चन्द्रदेवी एक्लैले योमरी पकाएर बेच्ने गरेकी थिइन् । विस्तारै उनले पकाउदै बेच्ने गरेको योमरीका बारेमा मानिसहरूले थाहा पाउन थालेका थिए । ‘हाम्रोमा पाक्ने योमरीको बारेमा मान्छेले थाहा पाउन थालेका थिए, साथै धेरैलाई मन पनि पर्‍यो । त्यसपछि मैले जागिर छोडेर गल्ती गरे भन्ने भएन । कहिल्यै पछाडि फर्केर हेर्नै परेन,’ उनले भनिन्,‘सुरुवाती दिनमा योमरीको स्वाद कस्तो हुँदो रहेछ भनेर खुब धेरै ग्राहक आउनुहुन्थ्थो । मलाई त्यो कुराले निकै खुसी दिएको थियो,’ उनले भनिन् । उनले कमाएको पैसाले छोराछोरी पढाउन र घरखर्च चलाउन निकै सहज भएको थियो । ‘सुरूका दिनमा आफैंले कमाएको पैसाले घरखर्च, छोराछोरीलाई पढाउन पुग्दा निकै आनन्द लागेको थियो,’ उनले भनिन् । 

Chandradevi, who has been selling Yomari in Chokhachhen Street for 16 years

बिहान १२ बजेबाट खुल्ने यो पसलमा चन्द्रदेवीका आफ्नै परिवारले सघाउँछन् । ‘एक्लैले केही सकिँदैन । मान्छेहरूको भीड निकै हुन्छ । छोराछोरी, बहिनी, गरी चार जनाले काम गर्छौ,’ उनले भनिन् । अहिले ग्राहकको ‘डिमान्ड’ अनुसार नै खुवा योमरी, चाकु योमरी, अण्डा बारा, सादा बारा, मस्यौरा छोइला, आलुलगायतका परिकार उनको भान्सामा पाक्ने गरेको छ । पालो नपाएर ग्राहकसमेत फर्कने गरेका छन् । ‘हामी बासी खानेकुरा कहिल्यै बेच्दैनौ । बरू कम बनाउँछौँ । त्यसैले पनि हामीलाई खोजीखोजी आउनुहुन्छ,’ उनले भनिन्,‘ताजा र तातो उहाँहरूकै अगाडि बनाएर दिन्छौँ । त्यसैले पनि होला ।’ 

Chandradevi, who has been selling Yomari in Chokhachhen Street for 16 yearsचन्द्रदेवी खर्च कटाएर दिनको २५ सय रुपैयाँभन्दामाथि बचत हुने गरेको बताउँछिन् । बजारमा महँगी बढिरहे पनि चन्द्रदेवीले भने मूल्य नबढाएको बताउँछिन् । उनको पसलको मेन्यु छ : खुवा/चाकु योमरी ७० रुपैयाँ, अण्डा बारा ७५ रुपैयाँ र सादा बारा ३५ रुपैयाँ ।  विद्यार्थीदेखि विदेशी पर्यटकसम्म उनको पसलका ग्राहक हुन् । 

चोखाछें गल्लीमा अहिले चन्द्रदेवीबाहेक अरूले पनि योमरी बेच्ने गरेका छन् । ‘ठाउँठाउँमा योमरी पसलहरू खुलेको देख्दा निकै खुसी लाग्छ,’ उनले भनिन्,‘काम गरेर आफ्नै देशमा संघर्ष गरेको देख्दा खुसी लाग्छ ।’

चन्द्रदेवी आफ्ना छोराछोरीले पनि भविष्यमा यही कामलाई निरन्तरता दिऊन् भन्ने चाहन्छिन् । ‘काम गर्‍यो भने नेपालमै जति पनि छ, विदेश जानै पर्दैन । मेरो छोराछोरीले यही काम गरून् भन्ने छ,’ उनले भनिन् । 

उनी युवाहरू आफ्नै देशमा काम गरून् भन्ने चाहन्छिन् । ‘युवाहरू आफ्नै देशमा काम छैन भनेर बस्नु पर्दैन, आफूले जे जानेको छ त्यही सीप प्रयोग गरेर अगाडि बढ्न सकिन्छ,’ उनले भनिन् । 

केही वर्षअघि सामान्य ज्वरोका कारण श्रीमान् गुमाएकी चन्द्रदेवीका लागि यही पसल घरखर्च चलाउने र छोराछोरी हुर्काउने मुख्य आधार बनिरहेको छ । मेहनत र संघर्षले नै अहिलेसम्म चन्द्रदेवी आफ्नो कामलाई निरन्तरता दिइरहेकी छिन् ।

योमरी नेवारी संस्कृतिसँग जोडिएको विशेष परिकारसमेत हो । यही परिकारसँग जोडिएको एउटा विशेष पर्व छ-यमरि पुन्हि ।  हरेक वर्ष मंसिर शुक्ल पूर्णिमा (धान्य पूर्णिमा) को दिन यो पर्व मनाइन्छ । 

बीबीसी मास्टर सेफका फाइनलिस्ट सन्तोष साहले योमरीलाई विश्वमञ्चमा समेत पुर्‍याएका थिए । सेमिफाइनल राउन्डमा मौलिक नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ स्थानसहित फाइनल राउन्ड पुगेका थिए ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully