कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशका १४ जिल्लामा १२ लाख ९४ हजार चाैपायामा खोरेतविरुद्धको खोप लगाउने लक्ष्य छ ।
What you should know
विराटनगर, ताप्लेजुङ, धरान र झापा — घरपालुवा चौपायमा हुन सक्ने संक्रमणबिरुद्ध कोशीका १४ जिल्लामा कात्तिक २३ देखि खोरेतविरुद्धको खोप अभियान जारी छ ।
अभियानअन्तर्गत पहिलो सातामै १ लाख ३६ हजार ७ सय १५ डोज खोप लगाइसकिएको कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशका १४ जिल्लामा १२ लाख ९४ हजार खोरेतविरुद्धको खोप लगाउने लक्ष्य छ ।
खोरेत रोगबिरुद्ध कोशी प्रदेशभर सञ्चालन भइरहेको राष्ट्रिय खोप अभियानअन्तर्गत हालसम्म हजारौं घरपालुवा पशुमा खोप लगाइए पनि केही स्थानमा लट नं ५ का खोपका कारण प्रतिकूल लक्षण देखिएको छ ।
झापासहित प्रदेशभर अहिले पहिलो डोजका रूपमा खोप वितरण भइरहेको छ । झापालगायतका केही जिल्लामा खोपको ‘साइड इफेक्ट’ देखा परेको भन्दै पशुपालक कृषक चिन्तित बनेका छन् । झापाको मेचीनगर–५ का कृषक कृष्णबहादुर लिम्बुले भने,‘खोप लगाएपछि चौपायमा ज्वरो आउने दाना नखाने समस्या देखिएको छ ।’
मेचीनगर नगरपालिकाले मात्र खोप अभियान सुरु भएको केही दिनमै ३ हजार ८ सय गाई–भैंसीमा खोरेतबिरुद्धको खोप लगाइसकेको छ । तर, कुन लटको कति मात्रा प्रयोग भयो भन्ने स्पष्ट तथ्यांक स्थानीय तहसँग छैन । पशु सेवा विभाग तथा निर्देशनालयमार्फत जिल्ला तथा स्थानीय तहलाई एकमुष्ठ रूपमा खोप पठाइने भएकाले लटअनुसारको वितरण विवरण छुट्ट्याउन नसकिएको निर्देशनालयले जनाएकाे छ ।
मेचीनगर नगरपालिका र झापा भेटेरिनरी अस्पतालका अनुसार विशेषतः लट नं ५ मा परेको खोप लगाइएका पशुमा ज्वरो आउने, घाँस–पराल नखाने, एकोहोरो हुने, कमजोरी देखिने, गर्दनमा दुखाइका कारण मुन्टो झुकाउने जस्ता समस्या व्यापक रूपमा देखिएका छन् ।
यस्ता समस्या देखिएपछि मेचीनगरले लट नं ५ का खोप बिहीबारदेखि रोकिदिएको पशु सेवा शाखा प्रमुख विक्रम गुरुङले जानकारी दिए । भेटेरिनरी अस्पताल झापाकी कार्यालय प्रमुख शीतल भट्टराईले खोप लगाइएपछिको साधारण ‘रियाक्सन’ हुनसक्ने बताइन् । उनले भनिन्,‘यथार्थ बुझ्न हामी फिल्डमै खट्दैछौ ।’
कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ अधिकृत डा. गंगाराम यादवका अनुसार कमजोर तथा दुब्लो पशुमा एन्टिभाइरल खोप लगाएपछि २४–४८ घण्टासम्म यस्तो लक्षण देखिनु सामान्य रहेको बताउँछन् ।
यस वर्ष २०८२/८३ को कार्यक्रमअनुसार पहिलो डोज हाल वितरण हुँदैछ भने दोस्रो डोज बैशाख–जेठमा लगाइनेछ । प्रदेश सरकारले इलामलाई खोरेत रोगमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यअनुसार ‘नियन्त्रित क्षेत्र’ र छिमेकी जिल्लालाई ‘बफर जोन’ घोषणा गरेर विस्तारित अभियान चलाइरहेको छ ।
ताप्लेजुङमा २८ हजार ५ सय मात्र खोप उपलब्ध
खोप अभियान सुरु भएपछि पहाडदेखि हिमाली क्षेत्रसम्मका किसान उत्साहित देखिएका छन् । भौगोलिक दृष्टिले डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्ला ताप्लेजुङका किसान प्रमुख रूपमा पशुपालनमा निर्भर छन् ।समुद्री सतहदेखि ४२ सय मिटर उचाइको फक्ताङलुङ गाउँपालिका–७ याङ्मासमेतका किसान चौरी, याक, नाक, गाई–भैंसीलगायत पशुपालन गरेका छन् ।
कोशी प्रदेश सरकारबाट यस वर्ष ताप्लेजुङलाई २८ हजार ५ सय डोज खोरेतबिरुद्धको खोप पठाइएको छ । एक नगरपालिका र आठ गाउँपालिका गरी ९ स्थानीय तह भएका जिल्लामा यही परिमाणका खोपले सम्पूर्ण क्षेत्र धान्नुपरेको हो ।
पशु सेवा केन्द्र ताप्लेजुङका सूचना अधिकारी योगेन श्रेष्ठका अनुसार यसपटकको खोप गाई, भैंसी, याक र चौरीका लागि उपलब्ध गराइएको हो । जिल्लामध्ये सबैभन्दा धेरै सिदिङवा गाउँपालिकाले ५ हजार डोज प्राप्त गरेको तथ्यांकमा उल्लेख छ । अभियानका लागि जिल्लामा ५४ जना भ्याक्सिनेटर खटाइएको छ । अहिले मौसम चिसिँदै गएर कठिन भूभागमा पुग्न समस्या हुने भएकाले अभियान मंसिर २३ सम्म चलाउने तर आवश्यक परे १–२ दिन थपघट हुनसक्ने स्थानीय प्राविधिकहरूले जनाएका छन् ।
दुर्गम स्थानका किसानलाई प्राथमिकतामा राखेर खोप वितरण भइरहेका सिदिङ्वा गाउँपालिका अध्यक्ष मानवबहादुर राई भन्छन्,‘नजिकका बस्तीतिर तुरुन्त सेवा पुग्छ, टाढाका किसानका लागि भने प्राविधिक पुग्नै कठिन हुने भएकाले दुर्गमलाई प्राथमिकता दिन लागेका हौं ।’ मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका अनुसार यसपटकको परिणाम हेरेर आगामी चरणमा थप खोपका लागि प्रदेशसाग समन्वय गरिनेछ ।
सुनसरीमा १ लाख ८२ हजारकाे लक्ष्य
कोशी प्रदेशलाई दीर्घकालीन रूपमा खोरेतमुक्त बनाउने लक्ष्यअनुरूप सुनसरीमा अभियान तीव्र छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. मनोज कुमार महतोका अनुसार १२ वटै स्थानीय तहमा सञ्चालन भइरहेको अभियानअन्तर्गत शनिबारसम्म २१ हजार पशुचौपायामा खोप लगाइसकिएको छ ।
सुनसरीमा खोपको समग्र लक्ष्य १ लाख ८२ हजार पशुचौपाया रहेको छ । डिजिटल प्रणालीमार्फत अभिलेखीकरण गरिने भएकाले वास्तविक खोप संख्या अझ बढी हुनसक्ने डा. महतो बताउँछन् । सुनसरीमा खोप लगाएका पशुमा कुनै गम्भीर असर देखिएको छैन । ‘सुनसरीमा खोपका कारण पशु मरेको घटना छैन,’ डा. महतो भन्छन्,‘इटहरी क्षेत्रमा केही पशुमा हल्का ज्वरो देखिएको थियो, कमजोर इम्युनिटी भएका पशुमा यस्ता लक्षण देखिनु स्वाभाविक हो ।’
खोरेत के हो ?
खोरेत, अर्थात् फुट एण्ड माउथ डिजिज (एफएमडी) दुई चिरा भएका खुट्टा भएका पशुचौपायामा देखिने अत्यन्तै छिटो सर्ने भाइरल रोग हो । नेपालका गाई, भैंसी, बाख्रा, भेडा, याक र चौरीजस्ता घरपालुवा पशु यस रोगको मुख्य जोखिममा पर्ने गर्छन् ।
पशु स्वास्थ्य विशेषज्ञका अनुसार खोरेत संक्रमित पशुमा अचानक ज्वरो आउनु, मुख तथा खुट्टामा फोका देखिनु, खान मन नगर्ने तथा ओठ, जिब्रो, खुर र थुन वरिपरि घाउ हुने जस्ता लक्षण देखिन्छन् । फोका फुटेपछि पशु उभिन पनि नसक्ने, अपाङ हुने तथा दुव्लाउँदै जाने समस्या देखिन्छ । रोग अत्यन्तै संक्रामक भएकोले एकै गोठका धेरै चौपाया छोटो समयमै प्रभावित हुने गर्छन् ।
विशेषज्ञका अनुसार बाछा–बच्छीमा खोरेतले मृत्यु दरसम्म बढाउन सक्छ भने वयस्क पशुमा दूध उत्पादन घट्ने, तौल कम हुने, गर्भपातजस्ता आर्थिक क्षतिसँग सम्बन्धित असर देखा पर्छ । यस्तै जोखिमका कारण सरकारले खोरेतमुक्त प्रदेश घोषणा गर्न नियमित खोप अभियान सञ्चालन गर्दै आएको छ । ‘खोप नै यो रोग रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो’, निर्देशनालयका वरिष्ठ अधिकृत डा. गंगाराम यादवले भने ।
