३३ वर्षीय सरोज शर्माको हत्या किन र कसरी भयो ? अनि यो घटनामा नखुलेका तथ्यहरु के-के हुन् ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्।
झापा — काठमाडौं बस्दै आएका ३३ वर्षीय सरोज शर्मा झापास्थित घर पुगेका थिए । साथीसँग घुम्न निस्कन्छु भन्दै गाडी लिएर निस्केका उनी ९ कात्तिकदेखि सम्पर्कविहीन भए।
घटनाको एकसातापछि मात्रै उनको शव फेला पर्यो। त्यससँगै उनको हत्या किन र कसरी भएको थियो भन्ने तथ्यहरू एकपछि अर्को गर्दै खुल्दै गए ।
घरछिमेककै र किशोरकालदेखिका साथी सुनिल शाह सरोजको हत्या गर्न किन उद्दत भए ? जघन्य हत्याको कारण जति डरलाग्दो छ उति नै अपराधका क्रममा भएका घटनाक्रमहरू । के सार्वजनिक भएका तथ्यहरूका अलवा यो गम्भीर अपराधका अरु तथ्यहरू पनि खुल्न बाँकी छन्? हामीले पाँच प्रश्नोत्तरमा यो घटनाबारे बुझाउने प्रयास गरेका छौं ।
मृतक सरोज र मुख्य अभियुक्त भनिएका सुनिलको सम्बन्ध कति पुरानो हो ?
शिवसताक्षी गाउँपालिका–१० का सरोज र सुनिलको घर आमने सामने नै छ । मुश्किलले सय मिटरको दुरीमा घर भएका उनीहरू वर्षौ पुराना साथी थिए । काठमाडौंमा बस्ने सरोज गाउँ आउँदा उनीसँगै घुम्न जान्थे । रमाइलो गरेर दिन बिताउँथे । एकै गाउँमा हुर्किएका उनीहरू स्कुल पढ्दादेखि कै साथी हुन् ।
सरोजको हत्याको योजनामा सुनिल किन पुगे ?
गाडी चढेर आउने अनि एकाध हजार खर्चमा कहिल्यै लोभ नगर्ने सरोज विलासी जीवन बाँचीरहेको बुझाइ थियो सुनिलको । सरोजले एकाध पटक सस्तोमा पाए सुन किन्ने भनेर बताएकाले पनि उनिसँग पैसा पनि मनग्गे रहेको ठम्याइ थियो सुनिलको । यही बुझेरै सुनिलले एकदिन जेन–जी आन्दोलनका क्रममा लुटिएको सुन सस्तोमा किन्न सकिने कुरा सरोजलाइ सुनाए ।
यही लोभमा परेका सरोजलाइ सुन देखाउने बहानामा एकान्तमा लैजाने, बेहोस पार्ने र अपहरणको शैलीमा भारत पुर्याएर आफन्तीसँग फिरौती असुल्ने योजना बनाएका थिए सुनिलले । ९ कात्तिकमा बा प्र ०१ ३० च ७१९४ नम्बरको गाडी लिएर घरबाट निस्केका उनी परिवारको सम्पर्कबाहिर भए । सुन देखाउन भन्दै सुनिलले उनलाई घरदेखि १७ किमी दुरीमा पर्ने दहीझोडा सामुदायिक वनमा पुर्याए।
त्यहाँ उनलाई केही सुँघाएर बेहोस् बनाउन खोजियो । तर, केही समयमै उनी होसमा आइहाले । र, चिच्याउन खोजे । त्यसपछि सुनिलका भान्जा राहुलको साथमा रहेको ह्याम्मरले टाउकोमा हानेर सरोजको हत्या गरे । प्रहरीका अनुसार यो काममा सुनिललाइ भान्जा नाता पर्ने शिवसताक्षी १० कै राहुल साहले साथ दिएका थिए । हत्याका बेला सुनिलसँग भान्जाका अलवा अर्का एक भारतिय नागरिक पनि साथमै थिए ।
हत्यापछि के भयो ?
योजना विपरित सरोजको मृत्यु भएपछि उनले शव व्यवस्थापनको योजना बनाए । सरोजको शवलाइ लुकाउन सुनिलले उनकै गाडीमा हालेर झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्गमा पर्ने बिरिङ खोला पुगे । सुनिल, राहुल र भारतीय नागरिकले शवलाइ सुरुमा पुल माथिबाटै तल फ्याके । खाल्डो खन्नका लागि साबेल लगायतका सामाग्री उनीहरूले ल्याएर आएका थिए । प्रहरीका अनुसार तीनै जना मिलेर खोला किनारमा करिब तीन फुट गहिरो खाडल खने । अनि शव गाडे । यो सबै काम हत्याकै दिन राती भएको थियो ।
शव गाडेपछि भारतीय नागरिक भारतको कुञ्जीबारीतर्फ लागे सुनिल र राहुल हत्या गरिएको जंगलतिरै फर्के । हत्याको भोलिपल्ट मुख्य योजनाकार सुनील केही थाह नपाएजसरी मृतक शर्माको घर पुगे । बेपत्ताको खोजी गर्नुपर्ने भन्दै परिवारसँग आग्रह गरे । यतिबेलासम्म सरोजको मृत्युको बिषयमा प्रहरी पनि बेखबर थियो । बरु प्रहरीले पनि सुनिलसँग यसबारे सोधपुछ गरेको थियो । शव गाडेपछि सुनिल र भान्जाले उक्त गाडीलाइ जंगलका फरक फरक ठाउँमा लगेर लुकाए । तर गाडी भेटिँदा आफुहरू पनि फसिने डरले १३ कात्तिकमा भने गाडी मेचीनगर–१३ निचाझोडा सिमसार जंगल क्षेत्रमा ल्याएर जलाए ।
प्रहरीका अनुसार गाडी जलाउनकै लागि उनीहरूले चारआली क्षेत्रबाट लाइटर र पेट्रोल किनेका थिए । अनि गाडीलाई जंगलमा लैजान्छन् र पेट्रोल छर्किएर आगो लगाएका थिए । गाडी बाहिरबाट पेट्रोल छर्किएर आगो लगाउने क्रममा सुनिलको हात पनि आगोको लप्काले पोल्यो । हात पोलेपछि सुनिल हतारहतार राजमार्ग आए अनि सिटी चढेर बिर्तामोड पुगेर उपचार गरे । उपचारपछि सुनिल गाडी चढेर बिराटनगरको सीमावर्ती क्षेत्र रानी पुगे । त्यहीबेला अर्थात ४ गते प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाइ पक्राउ गर्यो ।
यो घटनाको पोल कसरी खुल्यो ?
सिमसार जंगल क्षेत्रमा गाडी जलेको अवस्थामा प्रहरीले फेला पारेको थियो । अर्कोतर्फ परिवारका सदस्य हराएपछि सुनिलका परिवारले खोजी जारी राखेका थिए । जलेको गाडी छेउमा प्रहरीले एउटा चप्पल र मास्क फेला पारेको थियो । सरोजले घरबाट निस्कने बेला पनि आफ्नो फोन नलागे अर्को ह्वाट्सएपममा सम्पर्क गर्नु भनेर नम्बर छोडेका थिए ।
चप्पल र मास्क अनि सरोजले परिवारमा दिएको ह्वाट्सएप नम्बरबाट प्रहरीलाई घटनाको मुख्य अभियुक्तको पहिचान गर्न सजिलो भयो । भने घरबाटै पक्राउ परे । सुनिल र राहुलको बयानपछि मात्रै प्रहरीले शव गाडेको ठाउँ पहिचान गर्यो अनि शनिबार विहान प्रहरीले शव उत्खनन् गर्यो।
घटनाबारे अहिलेसम्म सार्वजनिक नभएका बिषयहरू के के हुन् ?
प्रहरीका अनुसार यो अपराधमा एकजना भारतिय नागरिक पनि संग्लन छन् । ति भारतियको पहिचान गरेपनि प्रहरीले उनलाइ पक्राउ गर्न सकेको छैन् । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार सुनिलले भारितय नागरिकलाइ फिरौती माग्ने काममा सहयोग लिन खोजेका थिए ।
यो घटनामा सरोजलाइ बेहोस पार्न उनीहरूले के प्रयोग गरेका थिए ? हत्यापछि बिरिङ खोला किनारमा खाल्डो खन्ने साबेल लगायतका सामाग्री उनिहरूले कहाँबाट ल्याएका थिए अनि भान्जा राहुललाइ यो घटना के कारणले कसरी जोडिन आइपुगेका थिए भन्ने तथ्यहरू प्रहरीले सार्वजनिक गरिसकेको छैन् ।
