उद्योगी भन्छन् : ‘लागत पनि नउठ्ने मूल्यमा सिटामोल उत्पादन गरिरहन सकिँदैन’
विराटनगर — कोरोना महामारीका बेला प्रदेश १ मा ज्वरोको औषधि सिटामोल अभाव भएको छ । विराटनगरलगायत प्रदेशभर एक सातादेखि सिटामोल अभाव भएको नेपाल औषधि व्यवसायी संघ प्रदेश १ ले जनाएको हो ।
समिति उपाध्यक्ष रहेका विराटनगरको एपोलो फार्मेसीका सञ्चालक धनराज काफ्लेले मागका तुलनामा आपूर्ति नबढ्दा अभाव भएको बताए । अहिले दैनिक १० देखि १५ जना उपभोक्ता सिटामोल नपाएर फार्मेसीबाट फर्किने गरेको उनको भनाइ छ । कोरोना संक्रमण दर बढेसँगै सिटामोलको माग बढेको हो । ‘दुई साता अगाडिदेखि सिटामोल खोज्न आउनेको संख्या ह्वात्तै बढेको छ,’ उनले भने, ‘होलसेलमा १०/१२ दिनदेखि माग गर्दै आएका छौं, आपूर्ति नै छैन । त्यसैले नपाइएको हो ।’
नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष तथा ओम विराट औषधि पसलका सञ्चालक लक्ष्मी तिम्सिनाले अधिकांश औषधि पसलमा एक पत्ता पनि सिटामोल बाँकी नभएको दाबी गरे । ‘डिमान्ड थेग्नै नसक्ने छ तर साता–दस दिनदेखि सिटामोल आएकै छैन, उपभोक्तालाई कहाँबाट दिनु ?,’ उनले भने, ‘होलसेल पसलमै सिटामोल नभएको अवस्थामा खुद्रा विक्रेताले कहाँबाट उपभोक्तालाई उपलब्ध गराउन सक्छ ।’
निषेधाज्ञा लागेपछि एकै दिनमा ५० देखि सय पत्तासम्म सिटामोल बेचेको उनले बताए । ‘एकै जनाले १०/१५ पत्तासम्म खरिद गरेकाले पनि बजारमा अभावको अवस्था आएको हो,’ उनले भने । घाँटीको समस्या भएर खोकी लाग्दा खाने ‘एजिथ्रो माइसिन’, दमको रोगीलाई आवश्यक हुने आस्थालिन औषधिलगायतका दीर्घ रोगको औषधि पनि अभाव भएको तिम्सिनाले बताए ।
बजारमा सिटामोल अभाव भएको जनगुनासो बढेपछि औषधि व्यवस्था विभागको कार्यालय विराटनगरले दुई वटा समूह बनाएर सुनसरी, मोरङ, झापा र इलामका खुद्रा तथा थोक औषधि विक्रेता पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा थोक विक्रेताहरूमा नै सिटामोल अभाव रहेकाले बजारमा अभाव हुनु स्वाभाविक भएको विभागको विराटनगर कार्यालय प्रमुख सञ्जीव शर्मा कट्टेलले बताए । अनुगमनका क्रममा सिटामोलको चरम अभाव, डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, भिटामिन सी, स्टेरोइड, जिंक चक्की, मिथाइल टेडमिसोलन र डिग्जामिथासोन पनि अभाव रहेको पाइएको जानकारी उनले दिए ।
‘बजारमा सिटामोललगायतका औषधि आपूर्तिका लागि आवश्यक व्यवस्था मिलाइदिन विभागमा पत्राचार गरिसकेका छौं,’ उनले भने । औषधि उत्पादक संघका अध्यक्ष तथा टाइम फर्मास्युटिकल्स प्रालिका सञ्चालक नारायण क्षत्रीले भने बजारमा सिटामोल अभाव नभएको दाबी गरेका छन् । आइतबार मात्रै विराटनगर, धरानलगायत देशभरि ८ लाख चक्की सिटामोल पठाएको उनले बताए ।
सरकारले तोकेको रेटमा लागत मूल्य पनि नउठ्ने भएकाले उद्योगहरूले उत्पादन घटाएको र उपभोक्ताले पनि अनावश्यक भण्डारण गरेकाले बजारमा अभाव भएको उनको भनाइ छ । ‘अहिले सिटामोल अभावैचाहिँ भइसकेको अवस्था होइन । एक/डेढ महिनापछि भने अभाव देखिनेछ,’ उनले भने, ‘२०६४ सालमा तोकेको मूल्यमा नै अहिलेसम्म खरिद–बिक्री भइरहेकाले सरकारले तत्काल सिटामोलको मूल्य समायोजन नगरे उत्पादनै ठप्प हुन्छ ।’
कच्चा पदार्थको मूल्य चार गुणाले बढिसकेको अवस्थामा १४ वर्ष अगाडिको मूल्यमा सिटामोल उत्पादन गरेर बिक्री गर्न सकिने अवस्था नभएको क्षत्रीको भनाइ छ । ‘एक/डेढ महिनाका लागि ६ करोड ट्याब्लेट उत्पादन गर्ने उद्योगहरूमा कच्चा पदार्थ छ तर मूल्य समायोजन हुन सकेन भने महँगोमा कच्चा पदार्थ किनेर सस्तोमा बेच्ने हुँदैन,’ उनले भने, ‘डेढ रुपैयाँभन्दा बढी लागत लाग्ने सिटामोल एक रुपैयाँमा कसरी बेच्न सकिन्छ ?’
