असनमा सबथोक बदलियो– उपभोक्ता, व्यापारी, सामान अनि घरका शैली–स्वरूप, जसले काठमाडौंको जीवन, खानपान, रहनसहनको कथा हरक्षण सुनाइरहन्छ ।
What you should know
काठमाडौँ — त्यो असन चोकको कथा अर्कै थियो । मान्छेको भीडभाड थिएन– अनारदानाझैं टम्म मिलेका र आपसमा न्यानो अँगालोमा कस्सिएका घरहरू थिए । बाटाघाटा साना थिए होलान् अहिलेका निम्ति, तर उबेला ती बडा ‘फराकिला’ थिए ।
अब असनको कथा बदलिएको छ । समय बदलिन समय लाग्दैन– असनले पनि यही भन्छ । आउजाउ गर्ने मान्छे हराइरहेका छन् असनमा । मान्छे कस्ता छन् कुन्नि, तर गल्लीहरू निसास्सिएजस्ता छन् । ‘मौलिकता’ मासिएको दुःखमा पिरोलिएको छ कि सायद– असन । यही एक चोक, जुन कुनै दिन संसार थियो– अब मानिसका निम्ति गन्तव्य पुग्ने साँघुरो धागो भएको छ, जहाँ सबैथोकको मिश्रण छ– केही दुःख, केही पीडा, केही खुसी, केही उमंग, हाँसो र सुसेली ।
यो प्राचीन साँघुरो बस्तीको मौलिकता जोगाउन प्रत्येक शनिबार ‘भेहिकल फ्रि असन’ अभियान सुरु गरेको छ– काठमाडौं महानगरपालिकाले । अब असनमा सधैं शनिबार गाडी प्रवेश निषेध छ– कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म, महाबौद्धदेखि असनसम्म । शनिबार त्यता पुग्नेहरूले आफ्ना गाडी अब धरहराको भूमिगत पार्किङ वा कतै आफूलाई पायक पर्ने ठाउँतिरै बिसाएर पैदलै असन परिभ्रमण गर्नुपर्नेछ । महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलको विश्वास छ– ‘भेहिकल फ्रि’ अभियानले असनको मौलिकता संरक्षण गर्नेछ र वायु प्रदूषण नियन्त्रण हुनेछ ।
असनको मौलिकतामाथि विमर्शरत छन्– संस्कृतिविद् मल्ल के. सुन्दर, जो असनकै सेरोफेरो बांगेमुढामा जन्मे । उनको अनुभव/अनुभूतिमा असन उही छ, भूगोल स्थानान्तरण भएको छैन । तर, उनले शैशवकालमा देखे/भोगेको असन अहिले असनबाट बिलायो । उनको स्मृतिमा छ– चारैतिर बराबर उचाइ भएका दुई/साढे दुईतले घर–झिंगटी छाना–कलात्मक काठे झ्याल ! नीलो आकाश मात्रै होइन, परपरसम्मका हिमशिखर पनि घरैबाट देख्न पाइन्थ्यो ।
असनमा सबथोक बदलियो– उपभोक्ता, व्यापारी, सामान अनि घरका शैली–स्वरूप, जसले काठमाडौंको जीवन, खानपान, रहनसहनको कथा हरक्षण सुनाइरहन्छ ।
असनमा सबथोक बदलियो– उपभोक्ता, व्यापारी, सामान अनि घरका शैली–स्वरूप, जसले काठमाडौंको जीवन, खानपान, रहनसहनको कथा हरक्षण सुनाइरहन्छ ।किंवदन्ती भन्छ– पानीले डुबेको विशाल काठमाडौं उपत्यकामा पोखरीको गहिराइ नाप्ने हेतु महामञ्जुश्रीले तीन वाण प्रहार गर्दा एक वाण असनमा गाडियो । वाण प्रहारपछि असहनीय ‘अशनि वज्रपात’ भयो । र, ‘अशनि’ शब्दबाटै नाम ‘असन’ रह्यो ।
मल्ल के. सुन्दर असन–बांगेमुढाकै गल्लीहरूतिर विचरण गर्दै हुर्किए । अहिले सडक नै छोपिने गरी तरकारी बेच्ने स्थानीय ज्यापुहरू, मौका छोपेर तरकारीको खर्पनमा आक्रमण गर्ने साँढे/गाईबस्तु अनि ठेलमठेल गर्दै अगाडि बढ्न खोज्ने अनियन्त्रित सवारीसाधन, भीडभाड, ठेलमठेल, पेलमपेल अनि अव्यवस्थित सडक व्यापारले हिजोको असन बजारको दृश्य–चित्र सम्झाइदिन्छ उनलाई— छेउको सानो टेबुलमा सजाइएर मानिसको भाग्य जगाउने चिट्ठा बिक्री स्टल र ह्यान्ड माइक फुक्दै गरेको विक्रेताको कर्कश स्वर ! नाम्लो–डोरी बोकेर रोजीरोटी खोजिरहेका भरियाका झुन्ड ! सडक किनारमा टाँसिइरहेका स्थानीय कुकुर ! केही चुरोटका बट्टा, केही माना बदाम, तितौरा र चक्लेटका सिसी सजिएका नाङ्ग्लोमा गरिने कारोबार ! सिन्का घुसारिएका आइसक्रिमका टुक्रा भरिएका थर्मस सजाएर थुचुक्क बसेका पाका मान्छे ! खाल्डा खुल्डामा बर्सात्का पानी अनि हिलाम्मे सडक !
यी र यस्ता असनका कोलाजले मल्ल. के सुन्दर सुस्केरा हाल्छन्– कहाँबाट कहाँ आइपुगिएछ !
यहाँ छ– भव्यतम बजार र बजारमा पुराना मान्छेहरू । असनको भीड, पसल, उपभोग्य वस्तु र क्युरियोको भुलभुलैयामा कतै अड्किएको छ क्रय–विक्रयको सानदार, सुन्दर र सौम्य इतिहास ।राजा महेन्द्रले आफ्नो हातमा सत्ता लिएपछि २०१७ साल फागुनमा बेलायती महारानी ऐलिजावेथ द्वितीयको नेपालमा राजकीय भ्रमण गराएका थिए । त्यो भ्रमण महेन्द्रको शासन सत्ता दिगो पार्न निकै अर्थपूर्ण भएको भनाइ पनि छ । सायद, त्यसैले निकै तामझाम गरियो । त्यसैताका टुँडिखेल वरपर बार लगाइयो । अनि ऐलिजावेथको सवारी चलाइने सहरका मूल सडकहरू सिंगारिए । हनुमान दरबारदेखि भित्री सहरको बाटो मखन, इन्द्रचोक हुँदै जमलबाट नारायणहिटी दरबार पुग्ने सवारीको मार्ग छानियो । त्यहाँका बाटो छेउका सम्पूर्ण घरका भित्तामा सेतो पोतिए, सबै घर एकैनास देखिए । तर, असनको मौलिकता कस्तो रह्यो भन्ने कुरा सम्भवतः नेपाली समकालीन इतिहास लेख्नेहरूले भन्नेछन् ।
एक महिनासम्म मनाइने रातो मच्छिन्द्रनाथको रथयात्रा मंगलबजारबाट सुन्धारासम्म आइपुग्दा गएको बिहीबार म थिएँ– असन भ्रमणमा । त्यो असन, जहाँ ३०० वर्षदेखि सामान किनिरहेका छन् मान्छेहरू । सामान बेचिरहेको छ असन । यहाँ छ– भव्यतम बजार र बजारमा पुराना मान्छेहरू । असनको भीड, पसल, उपभोग्य वस्तु र क्युरियोको भुलभुलैयामा कतै अड्किएको छ क्रय–विक्रयको सानदार, सुन्दर र सौम्य इतिहास । असनको बिहंगम दृश्यलाई च्याएर हेर्ने हो भने सके देखिन सक्छ– आवागमन गर्नेहरूको खुसी, निराशा र शताब्दीऔं पुरानो जीवनको वैभव–कथा !
तीर्थनारायण मानन्धरको किताब ‘काठमाडौं : उहिले र अहिले’ मा उनले असनमाथि लेखेका छन्, ‘असनमा व्यापार गर्न आउने मधेशी, मुसलमान, भोटे– जो जोस्, सबै नेवार भाषा जान्दथे । नेवार भाषा नजानी यहाँ व्यापार गर्न नसकिने भएकाले पनि उनीहरू नेवार भाषा सिक्थे । महिलाहरू चालीस हात लामो सारी लगाउँथे । खास्टो नओढी महिलाहरू कोही पनि बाहिर निस्किँदैनथे ।’
तीर्थनारायणले एक पटक काठमाडौंमा सलह आएको कथा लेखेका छन्, ‘दक्षिण–पश्चिमतिरबाट सलह आउँदा आकाशै ढाक्ला जस्तो भयो, दिउँसै अँध्यारो हुन थाल्यो । कतिले सलहको मासु मीठो हुन्छ भनेर मुरीका मुरी समातेर किनबेचसमेत गरेका थिए ।’
यो असनचोकले छेउछाउका चोक र काठमाडौंका अन्य चोकभन्दा नितान्त बेग्लै जीवन र शैली अँगालेको छ । जस्तो दसैंका बेला दशमीका दिन असन चोकको चलन छुट्टै छ । यहाँ दशमीका दिन ‘चालं’ (टीका लगाउने कार्य) लगाइँदैन, भोलिपल्ट (एकादशी) लगाइन्छ । दशमीका दिन असनवासीको पर्व हुँदैन । एकादशीकाको त्यो चालंलाई ‘असं चालं’ नामले पुकारिन्छ । अनि यो चलनलाई असनका रैथानेले मात्रै पछ्याउँछन् ।
‘असनका रैथाने असन छाडेर अर्कै स्थानमा बसोबास गर्न गएका रहेछन् भने त्यहाँ पनि उनीहरू एकादशीमा मात्रै चालं गर्छन्,’ संस्कृतिप्रति गहिरो रुचि राख्ने सुरेश किरणले भनेका थिए ।
काठमाडौं मात्रै कहाँ हो र ? नेपालैभरिको ठेलमठेलको बिम्ब बनेको छ– असन । सबेरैदेखि बेलुकी मान्छेहरू ननिदाएसम्मै भीड हुन्छ यहाँ । सुरेश किरण भनिरहन्थे– असनमा मानिसको मात्रै भीड छैन, देवीदेवताको पनि सानोतिनो भीड छ । असनबीचैमा छ– अन्नपूर्ण देवीको मन्दिर (असंमदु अजिमा) । गणेश, लक्ष्मीनारायण, उमामहेश्वर र कुमारीका मन्दिर पनि छन् । एउटा माछाको मूर्ति छ असनबीच– फूल र अक्षता होइन, अक्सर पानीले पुरिएको ।
‘रैथानेहरूले खोलेका पसलहरूबाट नुन, मट्टितेल, घ्यू, चाकु अनि मरमसलाका सुगन्ध छरपस्ट हुन्थे । अहिले असनमा पसलका थाकमाथि न रैथानेहरू देखिन्छन् न परम्परागत वस्तुहरूकै सजावट छ,’ मल्ल. के सुन्दर भन्छन् ।भनिन्छ– पहिले यो मूर्ति सडकको भुइँमा थियो । मान्छेहरूले मूर्ति कुल्चेर हिँडेपछि खाल्डो खनेर राखियो । असनवासी यो मूर्तिलाई जीवित माछाको प्रतीक मान्छन् । ‘मध्यकालीन वास्तुकलाको एक विशिष्ट प्रस्तुति यताचाप एकातिर, अर्कोतिर प्राचीन आख्यानको प्रतिमूर्ति असनको माछाले सम्पदाका दृष्टिमा असन महत्ता स्पष्ट गर्छ,’ मल्ल भन्छन् ।
अन्नपूर्णदेवीको आध्यात्मिक आख्यान छ– सहकाल, सम्पन्नता, धनधान्यकी अराध्यदेवी, जसको तादात्म्यतामा उनीसामुन्ने प्रत्येक बिहान/साँझ खाद्यान्नका भारी सजिन्थ्यो । चामल, चिउरा, गेडागुडीदेखि अन्य खाद्यान्नको थोक बिक्रीको थलो थियो असन । विशेषतः सहरबाहिरका व्यापारीहरूको बजार थियो यो । ‘रैथानेहरूले खोलेका पसलहरूबाट नुन, मट्टितेल, घ्यू, चाकु अनि मरमसलाका सुगन्ध छरपस्ट हुन्थे । अहिले असनमा पसलका थाकमाथि न रैथानेहरू देखिन्छन् न परम्परागत वस्तुहरूकै सजावट छ,’ मल्ल. के सुन्दर भन्छन् ।
उनको स्मृतिमा छ– मन्दिरकै सामुन्नेको डबली, यद्यपि त्यो दसैंको अवसरमा कुमारी नृत्य प्रदर्शनको सांस्कृतिक थलो हो । तर, अन्य बेला त्यस डबली ओगटिएका हुन्थे– चाँदीका सिक्का र अन्य मुद्राहरूबाट । अनि मुद्रा सटहीका कारोबार गर्ने सराफहरूबाट । त्यस जमाना नेपाल राष्ट्र बैंक स्थापना भइसकेको थिएन, भारतबाट फर्किने र भारततिर लाग्ने विशेषतः मुग्लाने वा लाहुरेहरूका लागि भारतीय मुद्रासटहीका केन्द्र थियो असन, जुन अहिले रहेन ।
सय वर्षअघिको पुरानो समयमा फर्कौं न ! त्यतिबेला असन बिल्डिङहरूको घारी थिएन । गाडी निषेध भन्नुपर्ने स्थिति थिएन । बरु उबेलाझैं असनमा यत्रतत्र साँढेहरू डुलिहिँड्ने भएको भए, अहिले ‘साँढे निषेध’ अभियान नै चल्थ्यो कि ? त्यसैले सायद ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैं, ‘असनको साँढे’ बिम्ब साहित्यमा प्रख्यात छ । साँढे हिँडिरहने त्यही असनमा अचेल रातोदिन मान्छेको भीड छ । र, असन भीडको सहर बनेको छ ।
तीर्थनारायणको किताब ‘काठमाडौं : ‘उहिले र अहिले’ अनुसार, असनको भीडभाड व्यवस्थित गर्न राणा प्रधानमन्त्री जुद्धशमशेरले यहाँका खुद्रा पसल हटाएर भोटाहिटीमा सारेका थिए– ‘भोटाहिटी’ नामको ढुंगेधारा पुरेर । तर, भोटाहिटीको बजार जम्मा दस वर्षजति चल्यो । र, फेरि बजार असन सर्यो ।
असनको भीडमा एक समय थिमितिरबाट खर्पनमा चामल, चिउरा, दाल, गेडागुडी, बोकेर आउने थोक व्यापारीहरू मिसिन्थे– ती सामान बेच्थे र नुन, तेल, मसला लिएर थिमि फर्किन्थे । उबेला काठमाडौंको बजार–भाउ असनले नै निर्धारण गर्थ्यो । असलमा असन एक आदिम बजार हो, जसले सयौं वर्षको सहरी नेपाली वाणिज्य–इतिहास बोकेको छ ।
इतिहास भन्छ– काठमाडौंबाट तिब्बत व्यापारमा जाने पुरानो मार्ग थियो असन । व्यापारीहरू महिनौंको कठोर यात्रापछि तिब्बत पुग्थे, उसैगरी महिनौं हिँडेर काठमाडौं फिर्थे ।
इतिहास भन्छ– काठमाडौंबाट तिब्बत व्यापारमा जाने पुरानो मार्ग थियो असन । व्यापारीहरू महिनौंको कठोर यात्रापछि तिब्बत पुग्थे, उसैगरी महिनौं हिँडेर काठमाडौं फिर्थे ।रमेश ढुंगेल र ऐश्वर्यलाल प्रधानाङ्गको किताब ‘काठमाडौं उपत्यकाको मध्यकालिक आर्थिक इतिहास’ मा लेखिएको छ, ‘काठमाडौंमा मल्लकालीन समयमै दोलखा भेगबाट राडीपाखी, चावर, घोडा, भेडा, बाज, बँदेल, भोटेकुकुर, माछा, सल्लाको खोटो, बाघको छाला, कस्तुरी, पाँगा, ज्याफुस, नाम्जा, छत्रकुसा, नंबु (ऊनी कपडा), खाने तेल, ताउली (भाँडो), घ्यू, कुराउनी आदि सामान आयात हुन्थे ।’
र, सुरेश किरण भन्थे– ती सामान बिक्री हुने थलो असन नै थियो । असनको बजार घुम्दै गर्दा सुरेशले सुनाएको पुरानो बजारको कथा निकै रोचक लाग्थ्यो । उनले भनेका थिए, ‘उहिले उहिले असनमा बिहान ६ बजे नै पसलहरू खुलिसकेका हुन्थे । दिउँसो १२ बजेतिर व्यापारीहरू खाना खान घरतिर जान्थे । पसल पूरै बन्द गर्ने चलन थिएन, ढोकामा एउटा साधारण कपडा झुन्ड्याउँथे वा आधा ढोका मात्रै ढप्काउँथे । खाना खाएर, आराम गरेर फर्किंदा ३–४ बजिसकेको हुन्थ्यो । त्यसपछि फेरि व्यापारको रफ्तार बढ्थ्यो । राति ७–८ बजेसम्म मात्रै पसल बन्द गरिन्थ्यो । यसरी ढोका खुलै राख्दा पनि चोरी वा लुटपाटको घटना लगभग सुनिँदैनथ्यो । ढोकामा झुन्डिएको त्यो सानो कपडाको टुक्राले ‘लन्च ब्रेक’ को संकेत गर्थ्यो ।’
शताब्दीऔं पुरानो यो बजार टाढाबाट सौदा गर्न आउने पुराना मान्छेका कथा वाचन गर्दै परिवर्तनको साक्षी उभिइरहेको छ । जस्तो कि, भीडभाड चोकबाट केलटोल जाने बाटोको दाहिनेतिर लस्करै उभिएको मसला पसलमध्ये एक वीरेन्द्र तुलाधर (७३) को पसल हो, जसले तीन सय वर्षदेखि ग्राहकको दुःख–सुख देख्दै आएको छ ।
बिहीबार असनको आफ्नै पसलमा भेटिएका वीरेन्द्रले भने, ‘धुलिखेल, भक्तपुर, थिमि, टोखादेखि हाम्रो पसलमा सामान किन्ने ग्राहक आउँथे पैदलै । असन चोकबीच थोक बजार थियो । वरिपरि, चारैतिर घरहरूमा पसल थिए । त्यहाँ नुन, तेल, घ्यु, चाकु, मरमसला, आयुर्वेदिक औषधि बिक्री हुन्थ्यो ।’
अहिले उनको यो पसलमा काजु, किसमिसजस्ता मसला पाइन्छन् । उहिल्यै यो पसलमा जडीबुटीबाट तयार पारिएका अनेकन औषधि, पाचक चूर्णजस्ता सामानको व्यापार हुन्थ्यो । सहरमा एलोपेथिक औषधि प्रवेश गरेपछि असनका पसलबाट त्यस्ता औषधि गायब भए । र, अब उनको पसलमा बाँकी छन्– काजु, किससिमजस्ता सामान मात्रै ।
तुलाधरले सुनाए, ‘यो पसल मेरो हजुरबुबाका बुबा तेजवीरसिंह तुलाधरले सुरु गरेका थिए । त्यसपछि उनका छोरा जोगवीरसिंहले सम्हाले, उनीपछि रत्नवीरसिंहले यो व्यापारको जिम्मा लिए ।’ अहिले वीरेन्द्र र उनका छोरा सुविन्द्र (३६ वर्ष) ले यो शताब्दी पुरानो विरासतलाई निरन्तरता दिइरहेका छन् । सुविन्द्र यो पसलका छैटौं पुस्ताका साहु हुन् । यो सामान किनबेच गर्ने साधारण पसल मात्रै होइन– शताब्दीऔं पुरानो व्यापारको इतिहास, समाजको परिवर्तन, राजनीतिक उतारचढाव र समयसँगै बदलिँदै गएका मानिसहरूको जीवन्त कथा पनि हो । मानौं, यो पसल एउटा जीवित पुरातात्त्विक सम्पदा नै हो ।
२००७ सालतिर असन, न्युरोड, इन्द्रचोकका घरहरूको माथिल्लो तलामा ‘चोटा’ वा ‘बुइँगल’ मा भट्टी पसल चल्थ्यो, जसलाई ‘सुलिँ’ भनिन्थ्यो । पछि यी सुलिँहरू भुइँतल्लामा झरे । त्यहाँ पाइन्थ्यो– लोकल रक्सी, थ्वा (छ्याङ) र केही सितन । सुलिँ भुइँतल्लामा झरेपछि भट्टी पस्नेहरूको संख्या बढ्यो । ती भट्टी अहिले बार वा रेस्टुरेन्टमा बदलिए ।
प्राचीन कान्तिपुर नगरभित्रका जे–जति महत्त्वपूर्ण जात्रापर्व छन् (इन्द्रजात्रा पर्वका कुमारी रथ, सेतो मच्छिन्द्रनाथको रथयात्रा, गाईजात्रा, घोडाजात्राको द्यःल्वाके, बाह्रवर्षे नाच...) असनको परिक्रमा बिना सम्पन्न हुन्न ।काठमाडौंको ‘कोर’ असनको सांस्कृतिक ल्यान्डस्केप र दैनिक जीवनशैलीमा आएको बदलावले हामीलाई यो सहरको पुरानो जीवनतिर फर्काउँछ । असनका गल्लीहरूले टाढा–टाढाबाट असन प्रवेश गर्ने शताब्दीऔं पुराना व्यापारीका कथा सुनाउँछ । भीड असनमा मात्रै छैन, असन छिर्ने सातै नाका बांगेमुढा, इन्द्रचोक, महाबौद्ध, भोटाहिटी, ज्याठा, कमलाक्षी र ठहिटीसम्मै तन्किन्छ । अन्नपूर्ण मन्दिरअघिको खुला चोक सदा ठेलमठेल हुन्छ । ‘असनको जस्तो भीड’ भन्ने वाक्यांश एक्लै यो भीडमाथि विमर्शरत छ । असन एक साझा चोक हो, त्यसैले यहाँ घुइँचो भइरहन्छ ।
असनको परिसरमा ६ वटा बौद्ध विहार छन्– अशोक चैत्य विहार (असंबहाः), अशोकवृक्ष विहार (क्वथुबहाः), सुरतश्री विहार (तःछोबहाः), अशोकविहार (न्होखाबहाः/हाकुबहाः), गौतमश्री विहार (धालसिक्वबहाः), रंगभुवन विहार (दगुबहाः) । मल्ल के. सुन्दरका अनुसार, अशोकमण्डपकै अप्रभंश–स्वरूप हो– असं अर्थात् असन ।
प्राचीन कान्तिपुर नगरभित्रका जे–जति महत्त्वपूर्ण जात्रापर्व छन् (इन्द्रजात्रा पर्वका कुमारी रथ, सेतो मच्छिन्द्रनाथको रथयात्रा, गाईजात्रा, घोडाजात्राको द्यःल्वाके, बाह्रवर्षे नाच...) असनको परिक्रमा बिना सम्पन्न हुन्न । अनि सत्ता आरोहणका क्रममा राज्याभिषेकको ततपश्चात् शासकको सिंदूरयात्राले असन प्रवेश नगरीकन सामाजिक मान्यता पाइन्नथ्यो ।
राणा शासनविरुद्ध जागरणका अभियानमा पण्डित मुरलीधर असन चोकमै आसन्न भएका थिए । केदारमान ब्यथितको नेतृत्वमा त्यसै बखत गठित नेपालको जेठो नागरिक अधिकार समितिले डेरा बनाएको थियो असन परिसरमै । प्रेमबहादुर कंसाकारको ‘नेपाल प्रजातन्त्रिक संघ’ यहीं जन्मियो । पहिलो सार्वजनिक पुस्तकालय प्रदीप्त पुस्तकालय यहीं थियो । नेपालको इतिहासमा पहिलो पटक जनता सडकमा ओर्लेर ‘इन्कलाव–जिन्दावाद’ नारा असनमै गुन्जिएको थियो । राणाविरुद्ध प्रदर्शनमा न्हुच्छेरत्न तुलाधर यहीं गोली खाएर ढलेका थिए ।
‘प्रत्येक आन्दोलन, जुलुस/प्रदर्शनको मूल थलो असनको भूमिमाथि छयालीस सालको जनआन्दोलन ताका पनि धेरैको रगत बग्यो । असन आज पनि प्रतिरोध र प्रतिवादका लागि प्रदर्शनस्थलकै रूपमा अवस्थित छ,’ मल्ल के. सुन्दर भन्छन् ।
खासै फराकिलो छैन होला असन भौतिक रूपमा, तर त्यही सीमित भूगोलभित्रै छ– संस्कृति, परम्परा, जात्रा, पर्व र मूर्त तथा अमूर्त सम्पदाका असीमित आयाम ।
