हजारौँ घुम्तीको सुखदु:खको साक्षी कर्णाली

मान्छेहरूको तर्क रहेछ– तिब्बतको राक्षस तालबाट उत्पत्ति भएकैले कर्णाली अपवित्र हो । राक्षस तालबाट होइन, कैलाश पर्वतको फेदी मानसरोवरबाट सुरु भएर गंगामा पुगेर मिसिने कर्णाली कसरी अपवित्र हुन्छ ? उसै पनि सभ्यताको प्रतीक मानिने नदीहरू कसरी अपवित्र हुन सक्छन् ?

भाद्र २१, २०८२

डा. अंगराज तिमिल्सिना

Karnali is the witness of the happiness of thousands of tourists

यो लेख लेख्दै गर्दा चार विषयमा मेरो मन डोल्यो । पहिलो, मित्र माधव चौलागाईंको ‘के कुनै नदी पवित्र वा अपवित्र हुन्छ ?’ भन्ने लेख । दोस्रो, कर्नाली (वा शुद्ध नेपालीमा कर्णाली) को नाम सुन्नेबित्तिकै कर्णाली बाहिरका मेरा मित्रहरूले झट्ट के सम्झिँदा रहेछन् भन्ने कौतुहलता ।

तेस्रो, हालसालैको ‘जुरुक्क कर्नाली’ कार्यक्रमले उजागर गरेको कर्णालीका व्यथा र गौरवका कथा । चौथो, कर्णालीकै सेरोफेरोको मेरो बाल्यकालका सम्झनाहरू अनि अहिले एक अन्तर्राष्ट्रिय विकास र सुशासनविद्को हैसियतले कर्णालीमाथिको मेरो बुझाइ ।

‘तिब्बतको राक्षस तालबाट उत्पत्ति भएकैले कर्णाली अपवित्र हो’ भन्ने एकाध मानिसको तर्क रहेछ । वास्तवमा राक्षस तालबाट नभई कैलाश पर्वतको फेदीमा रहेको मानसरोवरबाट सुरु भएर गंगामा पुगेर मिसिने कर्णाली कसरी अपवित्र हो ? उसै पनि सभ्यताको प्रतीक मानिने नदीहरू कसरी अपवित्र हुन सक्छन् ? भनेर माधव चौलागाईंले जायज विषय उठान गरेका रहेछन् । उसै पनि एसियाका सफा नदीहरूमा कर्णाली गनिने रहेछ । चीन, म्यान्मार, लाओस, थाइल्यान्ड, कम्बोडिया र भियतनाम हुँदै बग्ने मिकङ नदी देखेकालाई कर्णाली कति धेरै स्वच्छ छ भन्ने थाहा हुन एक सेकेन्ड पनि लाग्दैन ।

हिजो–अस्तितिर मैले मेरा दुई–तीन जना मित्रलाई सोधेको थिएँ– कर्णालीको नाम सुन्दा झट्ट कुन कुराको पहिचान दिन्छ ? एकातिर सुन्दर कर्णाली, स्वर्गजस्तो कर्णाली, जैविक र जडीबुटीको खानी कर्णाली, सभ्यताको पुरानो इतिहास बोकेको कर्णाली, शिव–पार्वतीको बासस्थान कैलाश जाने मुख्य द्वार मानिने कर्णाली, नेपाली भाषाको जन्मस्थल र देउडाजस्तो पुरानो संस्कृति बोकेको थलो कर्णाली, आदि–आदि अनि अर्कोतिर गरिबी, पछौटेपन, भोकमरी, अविकास र दुर्गमको पर्यायवाची कर्णाली, भूगोलले ठगिएको कर्णाली, काठमाडौंबाट दशकौंदेखिको उपेक्षित कर्णाली, भारतको कालापत्थरतिर बर्सेनि पेट पालिन मुग्लान जानुपर्ने बाध्यता बोकेको कर्णाली आदि–आदि भन्ने प्रतिक्रिया पाएँ, जुन सिस्नुपानीको ‘जुरुक्क कर्नाली’ ले मनै छुने गरी उजागर गरेको छ ।

म इतिहासकार, भूगर्भशास्त्री वा जलविज्ञान विज्ञ होइन तर कर्णालीसँग मेरो नजिकको नाता छ । मेरो जन्म त्यही कर्णालीकै छेउमा भएको हो र एसएलसीसम्मको मेरो जिन्दगीका सुरुवाती दिन कर्णालीकै सेरोफेरोमा बितेका छन् ।

सानै छँदा त्यही कर्णालीमा पौडी खेल्न जाँदा वा बर्खामा काठ, माटो, दाउरा बगाएर आउने अजंगको कर्णालीतिर टोलाएर हेरिराख्दा लाग्थ्यो– किन यत्रो नदी तलबाट बगिरहेको छ ? तर, कर्णालीभन्दा ५०–१०० मिटर माथिका बस्तीहरूमा किन खानेपानी र सिँचाइका लागि पानीको हाहाकार छ ? कर–कर आवाजकै कारण नामै ‘कर्नाली’ भएको यो नदी किन यत्ति प्रयोजनविहीन छ ? के तलको पानी माथि तान्न सकिँदैन होला र ? पुल भइदियो भने १० मिनेटमै कर्णाली वारिपारि गर्न सकिने अवस्थामा १–२ घण्टा तल गएर, नदी तरेर त्यही पहिलेकै पारिपट्टि पुग्दा के वारिपारि पुल लगाउन सकिँदैन त ? पछि त्यही दुई गाउँ (वाई–बाधु) बीचको झोलुंगे पुल बनाउन बाजुराका अगुवाहरूले बीसौं वर्षसम्म सिंहदरबारको चक्कर काटेको मेरो काठमाडौं कलेजको पढाइका बेलाको सम्झना मेरो मानसपटलमा ताजै छ ।

पछि विश्वका धेरै देशका नदी छेउका गाउँ–सहरहरू धेरै विकसित भएको देख्दै जाँदा कर्णालीजस्तो ठूलो नदी छेउमै बग्दा पनि किन कर्णालीको छेउछाउ यत्ति उपेक्षित भएको होला भन्ने अनुभूति भयो । नदी मात्रै भइदियो भने ‘लिफ्टिङ’ गरेर सिँचाइ गर्नेदेखि बिजुली निकाल्ने, माछा पाल्ने, ड्याम बनाएर नदीमा यातायात सुचारु गर्ने, ताल बनाएर पर्यटक तान्ने आदि काम गर्न सकिने रहेछ ।

कर्णाली नदीबारे मेरो बाल्यकालको अर्को विस्मृति के भने हजारौं घुम्ती बनेर नेपालबाट भारत झर्ने त्यही कर्णाली किनारैकिनारको बाटो भएर चिसापानी हुँदै हिउँदमा रोजीरोटीका लागी भारत पस्नेको लस्कर देखिन्थ्यो । बर्खा सुरु हुनुअघि कपडा, गुड, नुन–तेल ल्याएर देश गएकाहरू (भारतमा काम गर्न जानेहरू) को प्रतीक्षामा गाउँमा रहेका आफन्तहरू बाटो चियाइरहेका हुन्थे ।

कर्णाली एक नदीका रूपमा हेर्ने हो भने देखिन्छ– नेपालमा मात्रै ५०७ किमि भएर बग्ने लामो नदी ! नेपालकै हुम्ला, मुगु, बाजुरा, कालीकोट, अछाम, डोटी, दैलेख, सुर्खेत, बाँके, कैलाली र बर्दिया गरी ११ जिल्ला जोड्ने नदी ! तिब्बत, प्राचीनकालमा भारत र चीन हुँदै मध्य एसियासम्म जोड्ने सिल्क रोडको करिडोर ! दस हजार वर्ष पहिलेदेखिको बस्ती र सभ्यता बोकेको कर्णाली ! भेरी, सेती, महाकाली, पश्चिम राप्ती, छोटी गण्डक गरी १३ भन्दा बढी नदी मिसिएर १ हजार ८० किलोमिटरभन्दा बढी तीन देशहरूका भूभाग जोड्ने कर्णाली आफैंमा एउटा ठूलो नदीको प्रणाली हो ।

विश्वका नदी किनारका धेरै बस्तीहरू विकासका द्योतक मानिन्छन् । इजिप्ट, सुडान र इथियोपिया भएर बग्ने नाइल नदीले इजिप्टको पुरानो सभ्यता त बोकेको छ नै, यो आधुनिक युगमा पनि खाद्य सुरक्षा, यातायात, जलविद्युत्, सिँचाइ, खानेपानी आदिको जल्दोबल्दो उदाहरण बनेको छ । विकसित देश जस्तो कि लन्डनको थेम्स रिभर, पेरिसको सिन रिभर, बोन सहरको राइन रिभर, प्रागको भिटाभा रिभर वा भियनाको डानुबे रिभर वरपरका पुराना र नयाँ सभ्यता अनि यिनले नदीकै कारण हासिल गरेका विकासको कुरै छोडौं ।

प्राचीनकालमा सभ्यताको प्रतीक मानिने कर्णाली आधुनिककालको राणाकाल, पञ्चायतकाल, बहुदल र गणतन्त्रसम्म आइपुग्दा किन उपेक्षित भयो होला ? भौगोलिक कठिनाइ बुझ्न गाह्रो छैन । तर, अमेरिका र जापानले बनाइदिएको चिसापानीको कर्णाली पुल बन्नसमेत २०५१ सालसम्म कुर्नुपर्‍यो । र, हुम्ला सडक सञ्जालमा जोडियो भनेर केही महिनाअघि मात्रै घोषणा गरिएको छ । संघीयताको अर्थ पिछडिएको क्षेत्रलाई प्रोत्साहन गरेर अरूकै हाराहारीमा ल्याउने हो, जसलाई संघको विकास र सामाजिक न्यायको अवधारणा भनिन्छ । तर, सिंगो कर्णाली प्रदेशको बजेट काठमाडौं महानगरपालिकाको भन्दा अलिकतिले मात्रै बढी छ ।

तर, यति हुँदाहुँदै पनि संघीयताको मुख्य उपलब्धि थियो– यसले कर्णालीलाई पहिचान दियो । कोही जुम्ली वा मुगाली वा हुम्ली भनेर नाक खुम्च्याउनुपर्ने परिस्थिति रहेन । ‘कुँडा कर्णालीका’ भन्ने वार्षिक उत्सव होस् या ‘जुरुक्क कर्णाली’ भन्ने सिस्नुपानीको चेतना, भावना, गौरव, आशा जगाउने हिसाबले जुरुक्कै उठाउने कार्यक्रम होस्, यी कर्णाली–पहिचान झल्काउने उदाहरण हुन् ।

पहिचानका अलावा संघबाट पाएको थोरै स्रोतका बाबजुद संघीयताका कारण कर्णाली प्रदेशले आफ्ना प्राथमिकता आफंैं तोक्ने अवसर प्राप्त गरेको छ । एक विकासविद्का हैसियतले मैले केही वर्षअघि ‘कुँडा कर्णाली’ उत्सवमा ‘कर्णालीलाई पनि विकासको सपना देख्ने हक छ’ भन्ने प्रस्तुति दिएको थिएँ । एकातिर राज्यको वर्षौंदेखिको उपेक्षा छ, अर्कोतिर ‘कर्णाली विकासमा जुरुक्क उठ्न सक्छ’ भन्ने आत्मबलको कमी वा हीनताबोधबाट कर्णाली माथि उठ्नुपर्छ ।

काठमाडौंबाट शासन गर्नेहरूले धेरै वर्षदेखि हेलिकोप्टर चढेर रारा घुम्न जाँदा कर्णालीको सुन्दरता त देखे, तर त्यही कर्णालीमा सडक पुर्‍याउनुपर्छ भन्ने आवश्यकता देखेनन् । अहिले पनि काठमाडौंकेन्द्रित अभिजात वर्ग (एलिट क्लास) मा एउटा भ्रम छ– पछाडि परेका मधेश, कर्णाली वा सुदूरपश्चिमलाई बढी पैसा दिँदा बागमती, कोशी वा गण्डकीको विकास धीमा हुन्छ । पछाडि परेको वर्ग, क्षेत्र वा प्रदेशलाई जुरुक्क माथि उठाउँदा समग्र देश नै माथि उठ्छ भन्ने कुरा त जापानको सन् १९६० को ‘इन्कम दबलिङ प्लान’ अर्थात् प्रधानमन्त्री हायातो इकेदाको दस वर्षमै जापानको कुल गार्हस्थ्य आम्दानीलाई दुई गुना बनाउने योजनाले प्रमाणित गरिदियो । टोयोटा जस्ता ठूला कम्पनीलाई कर छुट आदि प्रश्रय दिएर राजधानी टोकियो बाहिर लैजाने अनि लगानी र उत्पादनमा पछाडि परेका राजधानी बाहिरका सहरहरूमा लगानी बढाउने योजनाका कारण जापानले सातै वर्षमा आम्दानी दुई गुना बनायो ।

भन्नका लागि वर्षौंदेखि भनिएको छ– कर्णालीको बिजुलीले एसियालाई नै झलमल्ल पार्न सक्छ । कर्णालीबाट १५ हजारदेखि ३२ हजार मेगावाटसम्म बिजुली निकाल्न सकिने आकलन छ । तथ्यांक विभागका अनुसार कर्णालीको झन्डै एकतिहाइ जनसंख्या बिजुलीको पहुँचबाहिर छ ।

म एकचोटि ब्राजिल र पाराग्वेबीचमा पर्ने इटाइपु जलाशयबाट निस्केको १४ हजार मेगावाटको जलविद्युत् परियोजना हेर्न जाँदा हाम्रो कर्णाली नदीलाई सम्झिएको थिएँ । सन् १९८४ मै विश्व बैंकको सहयोगमा उत्पादन भएको इटाइपुको बिजुलीबाट हरेक वर्ष १.५ बिलियन डलर अर्थात् २ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुने रहेछ, जुन कर्णाली सरकारको एक वर्षको ३३ अर्बको बजेटको तुलनामा ६ वर्षको बजेट हो । र, कर्णाली नदीले एकै वर्षमा कमाउन सक्ने न्यूनतम आम्दानी पनि । अर्को अर्थमा भन्दा वर्षौंदेखि कर्णालीको विकासका सपनालाई साकार पार्ने मौका पनि पानीसँगै बग्दै गएको छ । नदी पनि जिन्दगी जस्तै हो, यसको बग्ने प्रक्रिया निरन्तर छ र बगेको अनि बितेको समय फर्किंदैन भन्ने आशयको ग्रिक दार्शनिक हेराक्लिटसको एउटा भनाइ छ, ‘कुनै मान्छे एउटा नदीमा दुईचोटि खुट्टा टेक्दैन ।’

संघीयता आएपछि त्यही कर्णाली नदीको नामबाट कर्णालीले पहिचान पायो भने विकासका लागि ‘जुरुक्क कर्णाली’ भन्ने ढाडस पनि पायो । तर, विडम्बना के भने संघमा रहेका धेरै विकासका विकृति प्रदेशतिर सरे । सुत्केरीका लागि स्वास्थ्य चौकी अति आवश्यक छ तर भ्युटावरहरू बन्न थाले । शिक्षाको गुणस्तर बढाउनुपर्ने, तर एक वर्षभित्र कर्णाली सरकारले गोष्ठी र सेमिनारमा मात्रै झन्डै २ अर्ब जति खर्च गर्न थाल्यो । मातृ स्वास्थ्यमा सुधार गर्दै सेवालाई घरदैलोमा पुर्‍याउने कामलाई सरकारले सफलता ठान्नुको साटो हेलिकोप्टरबाट सुत्केरीलाई उद्धार गर्नेजस्तो सरकारको नियमित आपत्कालीन उद्धारको कार्यलाई ठूलो उपलब्धिका रूपमा प्रचार गर्न थालियो ।

सिंगो प्रदेश रूपान्तरित गर्ने अर्थात् कर्णालीलाई जुरुक्क उठाउने परियोजनामा होइन, राजनीतिक स्वार्थलाई प्राथमिकता दिएर हजारौं साना–साना परियोजनामा सीमित स्रोत र साधनमाथि कनिका छर्ने काम एकातिर भयो भने अर्कोतिर सरकारले बिनातयारी विनियोजन गरेका परियोजनामा खर्च गर्ने क्षमता पनि न्यून रह्यो ।

कर्णाली नदीलाई कर्णाली विकासको मियो बनाउन दुई–तीन वटा काम गर्न जरुरी छ— पहिलो, कर्णाली करिडोरको सडकलाई त्रिदेशीय राजमार्गका रूपमा विस्तार गर्न सकिए कर्णालीले छुने ११ जिल्लालाई मात्रै नभएर देशकै विकासलाई जुरुक्क उचाल्ने क्षमता राख्छ । बाटो नै नहुँदा पनि अहिले हुम्लाको सिमकोट विमानस्थलमा करिब ५० फ्लाइटबाट हरेक दिन मानसरोवर र कैलाश जाने पर्यटक आउन थालेका छन् भने कर्णाली करिडोरको मार्ग त्रिदेशीय राजमार्ग हुँदा यसले कर्णालीको रोजगारी र आम्दानीमा ठूलो फड्को मार्न सघाउनेछ । चीन र भारततिरको व्यापार, पारवहन र यातायात बढ्नेबित्तिकै उत्पादन, होटल, पर्यटन, जैविक कृषि, जडीबुटी आदि धेरै क्षेत्रको प्रगति आपसेआप हुनेछ ।

दोस्रो, मुख्य राजमार्गका अलावा कर्णालीको उत्पादनलाई जोड्ने शाखा सडकहरू बाह्रै महिना चल्ने बनाउनु जरुरी छ । नेपालको विकास मोडलको विसंगति के भने सडक बनाउँदा सदरमुकाम वा पालिकाको केन्द्रलाई जोड्ने भन्ने हाम्रो ध्याउन्न रह्यो । रोजगारी र आम्दानी बढाउन उत्पादन हुने क्षेत्रलाई सडक सञ्जालमा पहिले जोड्नुपर्छ भन्ने हेक्का रहेन । त्यसैले एकातिर स्याउ, मकै वा आलु फलेर सड्ने भए भने बाटोचाहिँ अर्कैतिर पर्ने भयो ।

तेस्रो, प्रशस्त बिजुली उत्पादनको क्षमता बोकेको कर्णालीमा जलविद्युत्का धेरै परियोजना अहिले लगानी जुटाउन लागिपरेका छन् । एकातिर पर्यावरणीय असर अनि रैथानेलाई बसाइँसराइ गराउनुपर्ने चुनौती त छँदै छ । यी परियोजनाको आम्दानीको केही हिस्सा कर्णाली नदीकै छेउछाउमा बस्नेको जीवनस्तर सुधार्न नखर्चिने हो भने छाप्रामाथिको ‘हाइभोल्टेज’ प्रसारण लाइनबाट बिजुली सिधा भारत, बंगलादेश वा नेपालका सहरहरूमा जाने अनि कर्णाली नदी वरपर बस्नेहरू गरिबै रहने अर्थात् बत्तीमुनिको अँध्यारोको स्थिति आउन सक्छ ।

डा. अंगराज तिमिल्सिना अंगराज तिमिल्सिना सुशासन विज्ञ एवं अर्थविद् हुन् ।

Link copied successfully