इच्छुमति –उहिल्यै अस्ताएको मेरो नामइतिहासले बिर्सिएको पात्र जस्तै
म हराएँ,
हरायो मेरो नाम
र सहरको एउटा चोकमा म भेटिएँ
अनि कसैले भनिदियो– म टुकुचा,
टुकुचै सही–
केटाकेटी भन्ठानेर कसैले भनी त दियो ः ‘टुकु’ – चा Û
मैले सुनेकी छु,
कुनै बेला
मेरो किनारमा सहरका महिलाहरू कपडा धुन्थे,
घाममा सुकाउँथे सम्झनाहरू,
खेतबाट फर्केका तिनका पतिहरू हिलो लागेका
गोडाहरू पखाल्थे,
साँझमा आफन्तको सम्झनामा बालिएका दियोहरूबाट निस्केका धूवाँजस्तै,
एकैसाथ गाइएका प्रार्थनाहरूका गुन्जन उठ्थे आकाशतर्फ ।
अब म इतिहासका नक्साहरूबाट पनि हराएकी छु
तर, कुनै बेला यो सहरको मुटुको धड्कन थिएँ–
किनारमा घरबाट भागेर घुम्न निस्किएका प्रेमी–प्रेमिकाहरूको हाँसो,
र, पानीमा तैरिरहेका सपनाहरू ।
सहरवासीहरू आउँदा–जाँदा पानीमा फूल चढाउँथे,
सपनाजस्तै बग्थे ती फूलहरू
र, म फूलहरूलाई किनारसम्म पुर्याइदिन्थें ।
बूढाबूढीहरू मलाई चिमोटेझैं गरी
मेरो जीउबाट एक अञ्जुली पानी निकाल्दै
देउतालाई चढाउँथें ‘जल’
र, भिजाउँथें आफ्नो शिर !
कुनै बेला–
म काठमाडौंको नीलो आकाशमुनि खुला श्वासजस्तै बग्थें,
अग्ला–अग्ला पर्खालहरूबाट म बचेकी थिएँ
मौसमको धुन फेरिएसँगै गीतका भाकाहरू फेर्दै, गाउँदै, बरालिँदै हिँड्थें
मेरो स्वरलाई छोप्न सकेको थिएन कसैले
तर, कसले रोक्न सक्छ दुर्भाग्य !
मानिसहरूले,
ममाथि कंक्रिटको ओढनी ओढाइदिए,
जमिनमुनि अँध्यारो ओढार बनाएर मलाई लुकाइदिए
तल बसेर म बारबार भनिरहेछु– म यहीँ छु
कसैले सुनिरहेको छैन यो चीत्कार ।
अब म–
गन्ध र ढलसँग मिसिएको सम्झना हुँ,
हराएर भेटिएको नयाँ नाम बाँकी छ
तर, आँखाले देख्न गाह्रो ।
कसैले भन्छन्,
म खोला होइन, नाला मात्र
गिज्याउँदै भन्छन्– म नाला पनि होइन, ढल मात्र
जस्तै देशलाई भन्छन्,
स्वतन्त्र होइन, केवल कठपुतलीहरू नाच्ने मैदान मात्र ।
मेरो किनारा अब टोलका बासिन्दाहरू विश्राम गर्ने ठाउँ रहेन,
जो कसैको निजी आँगन बनेको छ
जहाँ कुकुरका छाउराहरू मालिकहरूसँग झुत्ती खेल्छन्,
म कैद छु जसरी देशका खेत, खानी, बगान र सपनाहरू
कुनै अदृश्य हातको मुट्ठीमा कैद छन् ।
म पनि एउटा चिहानस्थल हुँ–
अधुरा पुल, अपूरा सडक, रोकिएका सफाइ योजना,
खोक्रा वचनका हड्डीहरूले भरिएको ।
देशझैं, म पनि
असफल योजनाहरूको चिहानबीच
आफ्नो बाटो खोजिरहेकी छु ।
म मरेकी पनि छु र अझै बाँचिरहेकी पनि
बालबालिकाका लागि, सायद केवल एउटा कथा
सुनेकी छु–
पुराना दरबारहरू यतै छन्, मेरो वरिपरि
जहाँ बसेर शासन गर्छन् नवनिर्वाचित शासकहरू,
सहरभरि बिसन्चो बढेको छ
मेरो पेटबाट बगिरहेको छ पिपजस्तो–
पूरा राष्ट्रको फोहोर,
सडेको गन्धसहित ।
तर, म अझै बग्न खोजिरहेकी छु
कंक्रिटको गर्भबाट फुटेर,
कसैले भनिदेओस्–
म नाला होइन, म ढल होइन, म खोला होइन
म नदी थिएँ, नदी हुन चाहन्छु
जसरी–
देश, देशजस्तो भएर तंग्रिन खोजिरहेछ ।
