यो कस्तो बेला आयो, जहाँ नदी बगेको देख्दा खुसी हुनुपर्छ । वर्षमा चार महिना मात्रै बग्ने बागमती अरू आठ महिना लतारिन्छ– फोहोरको पोको बोकेर, गन्ध छरेर । धन्न मानिसले हालेको मलमूत्र बादल बनेर झर्दैन, नभए त काठमान्डुका हरेक मानिस बर्खामा आफ्नै मलमूत्रले निथ्रुक्क हुने थिए ।
What you should know
तीन बजेर तीन मिनेट गएको छ । दिन सोमबार, महिना– भदौ, साता– पहिलो । र, स्थान– थापाथली पुल । पुलको दक्षिण– ललितपुर, उत्तर– काठमान्डु । मान्छेले कित्ताकाट गरेको पृथ्वीमा ‘तेरो र मेरो’ मात्रै छ, ‘हाम्रो’ छैन । ‘हाम्रो’ भइहाल्यो भने त्यो ‘मान्छेको’ मात्रै हुन्छ । जस्तो हाम्रो देश, हाम्रो परिवार, हाम्रो संस्कृति यस्तै–यस्तै ।
यसरी कित्ता काटिएको पृथ्वीको एक देशमा, एक सहरमा, एक जिल्लामा, एक पुलको बीचमा उभिएको छु– म । करिब एक किलोमिटर पूर्वमा धोबीखोला र पाँच किलोमिटर पूर्वमा मनोहरा खोला मिसाएपछि पश्चिम–दक्षिण बग्दो बागमती बर्खामा पनि मैलो छ, धमिलो होइन । मैलो नदीको होइन फोहोरको रंग हो, मलमूत्रको रंग हो । खासमा बर्खामा नदी माटोको रंगमा बग्नुपर्थ्यो, अर्थात् धमिलो । तर, बागमती माटोको होइन, मान्छेको रंगमा बग्ने गर्छ ।
काठमान्डुको उत्तरमा उभिएको २,७३२ मिटर अग्लो शिवपुरी डाँडास्थित बाग्द्वारमा उब्जेको सानो मूल अर्थात् बागमतीले उपत्यकाको लगभग ५० किलोमिटर दूरी यात्रा गर्दा ५७ खोलानाला वा ढलमाला सबैलाई आफूमा मिसाएर चोभारको गल्छीबाट दुःखी भएर बाहिरिन्छ । थापाथलीमा देखिएको बागमतीको मैलो रूप यो सहरका स्वघोषित मजस्ता सभ्य मानिसहरूको असली रंग हो । उनीहरूले बागमतीलाई आफ्नो मैलो रंग भिराएर आफू सफा र सभ्य बनेको भ्रममा बाँचिरहेका छन् । उसको असली रूप–रंग हराएको धेरै भइसक्यो, कम्तीमा पनि चार दशक अघिदेखि बागमतीले आफ्नो रूप देखाएर बग्न पाएको छैन । खासमा बागमती मेरो प्रतिबिम्ब हो, हाम्रो प्रतिबिम्ब हो । यहाँ उभिएर बागमती हेर्दा मलाई लाज लागिरहेछ । मैले आफैंलाई नाङ्गो देखिरहेछु । यो सहरलाई काठमान्डुबाट लाजमान्डु बनाउने मजस्ता चालीस लाख मान्छेलाई म नाङ्गै देखिरहेछु । सफा आकाश, सेता बादलमुनि कपडा लगाएरै उभिएको आफू, कपडा लगाएर हिँडेका, गुडेका अरू सबैलाई बुङ्गै देखिरहेछु ।
काठमान्डुको उत्तरमा उभिएको २,७३२ मिटर अग्लो शिवपुरी डाँडास्थित बाग्द्वारमा उब्जेको सानो मूल अर्थात् बागमतीले उपत्यकाको लगभग ५० किलोमिटरको दूरी यात्रा गर्दा ५७ खोलानाला वा ढलमाला सबैलाई आफूमा मिसाएर चोभारको गल्छीबाट दुःखी भएर बाहिरिन्छ । ऊ बाहिरिनुअघिको सकस हेर्दै छु म ।
बागमतीको रंग देखेर दिक्क भएको म वा आफ्नै प्रतिबिम्बले आत्तिएको म, पुलको बीचमा उभिएर एक सर्को हावा फोक्सोमा पुर्याएर केहीबेर थप बाँच्ने प्रयास गर्दैगर्दा फेरि झस्किन्छु । बर्खे पानीले बागमतीको गन्ध घटाएको भए पनि हटाएको छैन भन्ने मेरो नाकले चाल पाइहाल्छ । तर, गन्धयुक्त नै भए पनि मलाई केहीबेर बाँच्न एक सर्को हावाको अत्यन्तै जरुरी छ । एक मुठी हावा तानें, केहीबेर बाँचें । गन्धयुक्त हावामा रहेको अक्सिजन फोक्सोमा गयो, कार्बनडाइअक्साइड मैले हावामा पठाइदिएँ । त्यो हावाभरि फैलिएको गन्ध मेरो हो भनेर आफैंलाई भन्न मन लागेन । त्यसैले मैले वरिपरिका घरमा बस्ने मानिसहरूको गन्ध हो भनेर आफूलाई चोख्याएँ । आफ्ना बेइमानी लुकाउन मान्छेजस्तो सिपालु अरू को छ र ?
बागमतीको दाहिने किनार काठमान्डुको नाममा छ, देब्रे किनार ललितपुर नाम गरेको जिल्लाको नाममा छ । काठमान्डुपट्टिको किनारमा सर्लक्क बाक्लो ढुंगे पर्खाल लगाइएको छ भने ललितपुरतिर खुट्किलासहितको घाट छ । परसम्म आँखा तानेर हेरें, बागमती बगिरहेको देखेर थोरै खुसी भएँ, कम्तीमा बागमती बगेको छ भनेर । यो कस्तो बेला आयो, जहाँ नदी बगेको देख्दा खुसी हुनुपर्छ भनेर गमें । वर्षमा चार महिना मात्रै बग्ने बागमती अरू आठ महिना लतारिन्छ, फोहोरको पोको बोकेर, गन्ध छरेर । धन्न मानिसले हालेको मलमूत्र बादल बनेर झर्दैन, नभए त काठमान्डुका हरेक मानिसहरू बर्खामा आफ्नै मलमूत्रले निथ्रुक्क हुनेथिए । ती ठसठस गनाउनेथिए । प्रकृतिले पानीलाई बाफमा बदलेर बादल बनाइदिन्छ, बाँकी जमिनतिरै व्यवस्थापन गरिदिन्छ । यो उसको क्षमताले मानिस थोरै सभ्य देखिन पाएको छ । बादल झरेपछि बागमतीको गति बढ्छ । उसको गन्ध कम हुन्छ । खासमा बागमतीले पनि बर्खामा नुहाउँछ । यहाँ उभिएर बागमती हेर्दा यस्तो लाग्छ, ऊ चालीस लाख पेटको बोझ बोकेर बगेको दुःखी भरिया हो ।
भरिया बागमतीबाट उसको किनारासमेत हराएको छ, उसको बगर पनि छैन । बगर वा किनारा बिनाको नदी कसरी हुन सक्छ ? किनार नहुने त नहर हुन्छ, नदी हुँदैन । बगर त नदीको मुटु हो । मुटु नै नचलेपछि शरीर मुर्दा भएजस्तो किनार नभएको नदी पनि मृत हुन्छ । बगर त भारी बिसाउने चौतारी हो नदीको । किनार, जहाँ नदीले कतै ढुंगाको बगर बनाउँछ, कतै बालुवाको बिस्तारा । किनारहरूमा नदी सुस्ताउँछ, केहीबर टहलिन्छ । यस्तो छुट ढलभरिया बनेको बागमतीलाई अहिले छैन, त्यसैले त ऊ दुःखी छ । उसको मर्कने ठाउँहरूमा बलिया पर्खाल लगाइएको छ । ऊ सुस्ताउने ठाउँमा पार्क भन्दै सिमेन्टका आकृतिहरू उभ्याइएको छ । कतै कतै त हरियो देखाउन सिमेन्टका गमलामा केही बिरुवा रोपिएको छ । आफैंले कुरूप बनाएको बागमतीलाई फेरि ‘राम्रो’ बनाउने नाममा सिमेन्टका जुत्ता लगाएका रुखहरूले घेरिएको छ । धाबीखोलाको किनारैकिनार त रुखहरूको पनि कैदीहरूको जस्तो नामकरण गरिएको छ । केही साताअघि त हो, मैले धोबीखोलाका कैदी रुखहरूको तस्बिर खिचेको । ती कैदी रुख नम्बर– ४३५४, ४३५५, ४३५६, ४३५६ यस्तै यस्तै, मेरो मोबाइलमा सेभ भएको तस्बिरमा देखिन्छ । नदीको किनारमा पर्खाल, पर्खालमाथि सिमेन्टका ड्रम अनि तिनै ड्रमभित्र बिरुवा । राम्रो बनाएको रे, नदी किनारलाई । ठूलो परियोजना नै छ बागमती ब्युटिफिकेसन भन्ने । उपत्यकाका नदीनालाछेउ उभिएर यस्तो गीत गाउँ जस्तो लाग्छ–
ए मान्छे, के गरेको यस्तो
ब्युटी बनाउन, क्युटी बनाउन
हामी हेरेको हेर्यै, हामी हेरेको हेर्यै
ए बागमती
गन्ध छरेर, मलमूत्र हुलेर
तिमी बगेको बग्यै, तिमी हेरेको हेर्यै
०००
पूर्वबाट म फरक्क पश्चिम फर्कें, बागमती बगेको बाटो हेर्न । बागमतीका किनारमा कि सडक बनेका छन् कि त घर । कतै मन्दिर त कतै पार्क । कतैकतै रोपेका रुखहरूले हरियो रंगमा उभिएको प्रहरीका रूपमा पहरा दिइरहेजस्तो लाग्छ । गुडिरहेका गाडीले पुल थर्काएका छन् । म पनि थर्किरहें । बागमती छेउछाउमा कोलाहाल छ, नदीमा मलमूत्र छ ।
पश्चिम फर्केपछि म उत्तर हान्निएँ वा काठमान्डुतर्फ । किनारैछेउको ‘द चील’ क्याफेमा पसें, टुसुक्क बसें । चिया मगाएँ । एमानको एभोकाडोको रुख हेर्दै मैले साहुजीलाई भनें, ‘यत्रो एभोकाडोको रुख त मैले केहिल्यै दखेको थिइनँ ।’ उनले उत्तर फर्काए, ‘ढलको मलले यसलाई धेरै ठूलो बनायो ।’
यही सहर, जहाँ म ३५ वर्ष बरालिएँ तर कहिल्यै यसको किनारको बालुवामा पल्टिन पाइनँ, एक पटक डुबुल्की मार्न पाइनँ । यो कस्तो नदी हो, जो मेरो यति नजिक भएर पनि यति टाढा छ । यो कस्तो नदी हो, जो आफ्नै भएर पनि पराइ छ । यो कस्तो नदी हो, जसलाई हेर्न नपरोस् भनेर बाटो काट्न हतारिन्छु । सुँघ्न नपरोस् भनेर मुन्टो बटार्छु । चील क्याफेमा म चियाको चुस्कीसँगै चिन्तित भएँ ।
चील क्याफेमा बसेर मैले यसको मुहानमा पिएको एक पेट पानी सम्झें र यहाँ उसको अवस्था हेरें । उसको किनारमा मानिसहरूले ढुंगाको नत्थी लगाइदिएका छन्, आचीको लेपन लगाइदिएका छन्, फोहोरको भारी बोकाइदिएका छन् । लगभग ३,७०० वर्गकिलोमिटर अर्थात् देशको कुल भूभागको दुई प्रतिशत हाराहारीको भूभागबाट बगेको पानीको निकास यो बागमती, हिउँदमा बग्न नपाएर रुन्छ, बर्खामा अडिन नपाएर रुन्छ । हिउँदमा पानी नपाएर रुन्छ, बर्खामा पानीले भिजेर रुन्छ । तर, निरन्तर रोइरहन्छ ।
यो कचौरारूपी खाल्डो, जुन हजारौं वर्षअघि ताल थियो । त्यसैभित्र जहाँ माछाहरू पौडी खेल्थे, त्यहीं उभिएर आज म नहर बनेको, ढल बनेको बागमती हेरिरहेछु । मानिसले कुनै ठाउँ कति चाँडै कसरी बिगार्न सक्छ भन्ने बलियो उदाहरण हेरिरहेछु । अर्थात् मैले मारेको नदी र मैले बिगारेको सहर हेरिरहेछु ।
०००
कसरी बन्यो त त्यो तालमान्डु अहिलेको कुरूप काठमान्डु ? म खोज्न थाल्छु । समुद्री सतहबाट १,३०० मिटरको उचाइमा महाभारत पहाड शृंखलाभित्र यो सहर बन्नुअघि यो तालमान्डु थियो । सन् २०१६ मा हारुटाका साकाईको टोलीले काठमान्डु उपत्यकाको भौगर्भिक चिरफार गरेको अध्ययन पढें । त्यो अध्ययनले निचोड निकालेको छ कि ४८ हजार र ३८ वर्षअघिको समयमा दुई पटक तालरूपी उपत्यकाको पानी स्वाट्टै घट्यो । यहाँको ढुंगामाटोमा रहेको जीवाश्माको अध्ययन गरेको साकाईको टोलीले भन्यो– यी दुई समयमा बाँस प्रजातिको बाम्बुसोइडीएको अवशेष निकै धेरै पाइयो भने पेडियास्ट्रम नाम गरेको लेउको मात्रा पनि बढेको पाइयो । यी दुवै प्रजाति गहिरो तालमा होइन, सिमसारजस्तो पानीको मात्रा कम हुने तर ओसिलो ठाउँमा पाइने गर्छ ।
कारण के होला त ? उनीहरूको अनुमान छ, ठूलो भुँइचालो । ५१ हजार वर्षजति अघि काठमान्डुको उत्तरमा लाङटाङ क्षेत्रमा निकै ठूलो पहिरो गएको थियो । त्यो पहिरोमा सिउडोट्याकिलाइट नाम गरेको एक किसिमको ढुंगा भेटिएको थियो, जुन भुइँचालो गएका बेला घर्षण भएर बन्ने गर्छ । काठमान्डु तालको पानी स्वाट्टै घटेको समय पनि त्यही समयको आसपासमा पर्छ, त्यसैले भुइँचालोले पानीको मात्रा घटाएको हुन सक्ने प्रबल सम्भावना छ भनेर हारुटाकाको टोलीले भनेको छ । यसरी पानी घट्दै गयो, जमिन देखिँदै गयो । पानीले थलो छाडेपछि मान्छेले उपत्यका लियो र बिस्तारै काठमान्डु बागमतीको होइन, मान्छेको हुँदै गयो । इन्च–इन्चको हिसाब गर्दै मानिसले यो उपत्यकाका लगभग ५७ वटा शाखा–प्रशाखा खोला–नालालाई पेल्दै–पेल्दै लग्यो । नदीहरूलाई नहर बनायो, आफ्नो रहर पूरा गरायो । गाडी सरर गुडायो, ढल खलल्ल बगायो । नदीमा आफ्नो गन्ध फालेर उसले अत्तरको गन्ध आफूमा छर्क्यो, मख्ख पर्यो ।
चालीस लाख मानिसको पेटको बोझ बोकेर यो दुःखी उपत्यकाको झन्डै ५० किलोमिटर दूरी पार गरेपछि चोभारको बलियो चट्टान काटेर बागमती काभ्रे, मकवानपुर, सिन्धली, सर्लाही र रौतहट पुग्दा चुरेलाई चुमेर मधेशमा लम्पसार पर्छ । भारतको विहारस्थित भागलपुरभन्दा उत्तरमा बद्लाघाटसम्म लगभग ६०० किलोमिटरको दूरी बगेपछि बागमती कोशीमा मिसिन्छ । बागमती मिसाएको कोशी भागलपुरको दक्षिणपूर्वमा रहेको कुर्सेलामा पश्चिमतिरबाट महाकाली, कर्णाली, गण्डकी मिसाएर थप बलियो भएको गंगामा विलीन हुन्छ । त्यसपछि आसामतिरबाट झरेको ब्रह्मपुत्र भेटेर मख्ख परेको बागमती मिश्रित गंगा बंगलादेश पुग्छ, जहाँ उसले मेघना लगायतका नदी मिसाउँछ र बंगालको खाडीमा हिन्द महासागरमा होमिन्छ । बाफ बनेर बादलको रूप लिएपछि भने बागमती फेरि उत्तर हानिन्छ । यसरी सधैं गुहु बोकेर जाने र पानी बनेर फर्कने गरेकाले काठमान्डुका मान्छेले आफ्नो जीवन धानेका छन् । फुर्तीफार्ती गरेका छन् । राजधानीवासी भएका छन् । खासमा त यो नेपालको लाजधानी हो, राजधानी होइन ।
यो सयौं वर्षदेखि भव्य सहर थियो । दक्षिणबाट हिमालय कटेर जाने भारतीय हुन् वा उत्तरमा तिब्बतबाट त्यही हिमालय पर्वत काटेर दक्षिण झर्ने व्यापारी, भिक्षु वा राजा महाराजा हुन् । तिनको चौतारी थियो यो उपत्यका, जहाँ हिन्दु–बौद्धले सत्संग गर्थे । सन् १८९८ मा नेपाल आइपुगेका फ्रान्सेली अध्येता शिल्भाँ लिभीले यो उपत्यकालाई यो क्षेत्रको सभ्यतको जिउँदो संग्रहालय भनेर आफ्नो किताब ‘नेपालको इतिहास’ मा लेखेका छन् । त्यो सभ्यताको संग्रहालयमा अहिले यहाँका बासिन्दाले दुर्गन्ध भरिदिएका छन् । त्यो सभ्यतालाई मौलाउन सघाएको बागमती र उसका भाइबहिनीहरू मनोहरा, टुकुचा, विष्णुमती, नख्खु, बल्खु, हनुमन्ते, धोबीखोला, गोदावरी, कोड्कु खोला सबैका किनारा लुटेर मानिसले आफ्नो मात्रै इतिहास खोपेको छ– कतै घरका रूपमा, कतै सडकका रूपमा, कतै ढलका रूपमा त कतै सिमेन्टरूपी पार्कका रूपमा ।
लिभीपछि सन् १९५० को दशकमा नेपाल पसेर, यतै बसेर, पूरै नेपाल डुलेर, ‘नेपाल’ नामक किताब लेखेका टोनी हागनले काठमान्डुलाई नेपालको सांस्कृतिक मुटु भनेर लेखेका छन् । त्यो सांस्कृतिक मुटुलाई चलायमान बनाएको थियो रगतरूपी बागमतीले । तालको मलिलो माटोमा अन्न फलाएर बाँचेको उपत्यका बिस्तारै–बिस्तारै घर फलाउने काममा लाग्यो । खेत घडेरी बने, नदी नहर बने । त्यो भव्य सहरलाई मान्छेले यो भुत्ते सहर बनायो । त्यो क्रम जारी छ ।
सहर त अरू पनि बनेका छन्, तर सहरले जब मान्छेबारे मात्रै सोच्छ त्यसपछि सहर बस्नयोग्य रहँदैन वा करले मात्रै बस्ने ठाउँ बन्छ । त्यसैले त यो सहर रहरले होइन, करले बस्नुपर्ने ठाउँ बनेको छ । पछिल्लो मात्रै कुरा गर्ने हो भने पनि बागमतीले चौथोदेखि नवौं शताब्दीका लिच्छवि होऊन वा १३ देखि १८ औं शताब्दीका मल्लहरू देख्यो । सन् १७६८ मा पृथ्वीनारायण शाहले काठमान्डु कब्जा गरेको देख्यो र बसन्तपुर दरबारलाई हेर्यो । ऊ बेला पृथ्वीनारायणको आगमन देखेको उसले २००८ मा ज्ञानेन्द्र शाहको बहिर्गमन पनि हेर्यो, बीचमा वीरेन्द्रको वंशनाशमा पनि टोलायो । सधैं यहाँका मानिसलाई बागमतीले केही दिइरह्यो, तर उसको गुन कसैले तिरेन । फगत उसलाई नै पेल्दै–पेल्दै गए सबैले । उसैलाई मैल्याउँदै गए । उसैलाई गलाउँदै गए । मान्छेले यसरी पेल्दै गयो कि सन् १९९० देखि २०१२ सम्मको अवधिमा मात्रै उपत्यकामा बस्ती–क्षेत्र ३८ वर्ग किलोमिटरबाट बढेर ११९ वर्ग किलोमिटर पुग्यो अर्थात् तीन गुणाले बढ्यो र अहिले १८० वर्ग किलोमिटरतिर पुगेको छ भनेर अध्ययनहरूले देखाएका छन् ।
अर्थात् सहर यसरी विस्तार हुँदै छ कि बर्खाको पानीसमेत आफू जमिनभित्र पस्ने बाटो पाउँदैन र हानिएर नदीमा पस्छ । परेको पानीसमेत जमिनमा पस्न नपाउने गरी सिमेन्टले सिलबन्दी गरेको छ यो सहरलाई । बागमतीले पानी पाएन अर्थात् बग्ने पानी पाएन भनेर अहिले शिवपुरी निकुञ्जको सुन्दरीजलभन्दा माथि धापमा बाँध बाँधेर पानी जम्मा गरिएको छ । अर्को ९४ मिटर अग्लो बाँध त्यसको मुनि अर्थात् नागमती बाँध बाँध्ने तयारी छ । पानी पस्ने भाग आफूले कब्जा गरेर, डाँडामा पानी जम्मा गरेर नदी बगाउन २७ अर्बभन्दा बढी खर्च हुँदै छ ।
तर, त्यो पानीले पनि हिउँदमा बागमतीको बहाव जम्मा तीन सेन्टिमिटरले बढाउनेछ भनेर अध्येताहरू भन्छन् । तीन सेन्टिमिटरका लागि तीस अर्बको खर्च, त्यो पनि गरिब देशले एसियाली विकास बैंकसँग ऋण मागेर । त्यो पैसाले पनि बागमतीमा माछा फर्काउने छैन, प्राण मात्रै धान्नेछ । सन् १९८० को दशकमा बागमतीमा २३ प्रजातिका माछा भएको रेकर्ड थियो भने सन् २००० ताका नै त्यो ११ मा झर्यो, अहिले मध्य सहरतिर मृतप्रायः छ भनेर अनुसन्धानकर्ता भन्छन् । जलचर नभएको नदी, किनार नभएको नदी ।
चार अर्ब वर्ष पुरानो पृथ्वीमा मान्छे अर्थात् होमो सेपियन्स करिब तीन लाख वर्षअघि पहिलो पटक आए भन्ने मतमा धेरैको सहमति छ, पचास हजार वा एक लाख घटबढ नै गरौंला । साढे पाँच करोड वर्षअघि हिमालय पर्वत बन्न सुरु भयो, ४८ हजार वर्षजति अघि काठमान्डुको तालको पानी स्वाट्टै घट्यो, त्यसपछि फेरि ३८ हजार वर्षतिर त्यस्तै भयो । १२ वर्ष अघितिरबाट मान्छेले कब्जा हान्दै गए । केही मान्छे, राजारजौटा, मन्दिर गुम्बा, खेतका गरा, बारीका पाटा, अन्नको उब्जनी, रमाइला जात्रा, राजाका दरबार, प्रजाका झुपडी यस्तै–यस्तै थियो यो उपत्यकामा ।
तर, गएको ५० वर्षमा काठमान्डु पूरै कब्जा भयो । नदी नहर बने, खेतबारीमा घर बने, डाँडाकाँडा भने रुख रोपेर अलि हरिया भए । मान्छेको आधा जुनीमै काठमान्डुलाई उसले सुन्दरबाट कुरूप बनायो । माछा भगायो, ढल मिसायो । बाटो बढायो, घर ठड्यायो, किनारा मिच्यो र अन्तिममा कपूरका दुई–चार थान रुखलाई सिमेन्टका जुत्ता लगाएर ब्युटिफिकेसन गरायो, त्यसैमा अहिले सेल्फी हान्दै छ । एउटा भव्य सहरमा बागमती गतिविहीन भएर बगेको छ, मृतप्रायः छ । ऊ सायद अब आफ्नो पुरानो स्वरूपमा कहिल्यै फर्कनेछैन, उसका बगर अब फिर्ता हुने छैनन् र उसको रंग फेरि फेरिने छैन ।
नदीको कथा शृंखलाको अर्को कथा पढ्नुहोस् :
