कोशी फगत नदी होइन । कसैका लागि यो राजनीति र कूटनीति हो । कोही बाँध, ब्यारेज र पानी बाँडफाँटका दृष्टिले हेर्छन् । कोही विभिन्न संस्कृतिहरूको समागम हेर्छन् । कोशीका केही पुराना सवाल थाती छन् । केही विकासले आर्जेका सवाल छन् ।
What you should know
सम्झनाका गल्छेडामा कोशी नदीसँग जोडिएका थाकका थाक सन्दर्भ छन् । मेरा पितामह हरेक दिन एक मन्त्र पाठ गर्नुहुन्थ्यो, जुन ‘आपो हि ष्ठा मयोभुवः’ बाट सुरु हुन्थ्यो । यो ऋग्वेदबाट लिइएको संस्कृत मन्त्र हो । यसको अर्थ हो ‘हे जल ! तिमी आनन्दको स्रोत हौ, मलाई शक्ति र पोषण प्रदान गर । हे जलमा रहेकी शक्ति मेरा लागि कल्याणकारी भै रहु ।’ र, यसको अन्त हुन्थ्यो, यस पंक्तिबाट ‘आपो जनयथा च नः हे जलाधिष्ठात्रि मलाई रच ।’
ममा नदी, पोखरी, कुवाप्रतिको आकर्षण कसरी टुसायो त भनेर घोत्लिँदा सानैदेखि सुन्दै आएको पानी प्रार्थना हो कि भन्ने लाग्छ ।
नदी सानो होस् या ठूलै सबैको महिमा आआफ्नो अञ्चलमा अद्भुत हुन्छ भनेर स्वीकारिएको थियो । मेरो पुर्ख्यौली गाउँको छेउमा ‘भोरहर’ खोला थियो, अलि पर मनुषमारा, लखनदेई र बागमती । हजुरबुवा भन्नुहुन्थ्यो, ‘हाम्रो गाउँ छेउछाउका नदीहरूभन्दा कोशी कैयौं गुणा ठूलो छ ।’ यता हजुर आमाले गाउँमा बाढी छिरेका बखत गाउने लोकगीतमा कोशीको प्रसंग आउँथ्यो । यसरी कोशी मेरो गाउँबाट टाढा भए पनि चिने–चिने जस्तो लाग्थ्यो । कोशी नदीलाई भौतिक रूपमा दर्शन नगरेको भए पनि कोशी मेरी भइसकेकी थिइन् ।
हाम्रा सामाजिक परम्परामा प्राकृतिक शक्तिप्रति कृतज्ञ हुनुमा कहिल्यै कन्जुसी गरिएन । सफा पानी पिउँदा त्यसप्रति जहिल्यै शिर झुकाऊँ, जसले यसको सहज उपलब्धता गराएको छ । हाम्रा पुर्खालाई पानीको महत्त्व राम्ररी ज्ञात थियो । हाम्रा ऋषिका वाणीमा नदीलाई एक जीवित सत्ता मानिएको थियो । लोक विश्वासले नदीहरूको मानवीकरण प्रदान गरेको छ । नदीहरूको जीवनकथा सिर्जना गरेको छ ।
प्रत्येक नदीको उत्पत्ति छ । नदीको उत्पत्तिको एक अलग आख्यान छ । लोकको यो आख्यान नदीको चरित गाथाहरू नै हो । नदीको आफ्नै जीवनगाथा छ । नदीहरूका जीवनगाथा लोकमा ‘फेन्टासी’ सरह विकसित हुँदै गरेको छ । संस्कृत वाङ्मयमा कोशीबारे प्रशस्त चर्चा छ । कोशी नदीबारे मिथक र प्राचीन साहित्यमा पर्याप्त चर्चा छ ।
कोशीको समाज बडो विशाल र बृहत् छ । हिमालयदेखि समतलसम्म । कोशीको समाजलाई बुझ्ने तथा त्यसलाई चमक र चेहरा दिने यत्नको लामो परम्परा छ । प्राकृतिक सौदर्य, यससँग जोडिएको ‘पवित्रता’, भौगोलिक दुरुहता र यससँग जोडिएको मिथकहरूको बहुलताले यसको छेउछाउ अनेक तीर्थस्थानले आकार लियो । हाटबजार, मेलाको जग बस्यो, कोशी क्षेत्र भौगोलिक, भूगर्भिक र जैविक विविधता, अनेक रूपरंगको जलसंग्रह मात्र होइन, यो विविध समाज, संस्कृतिहरूको बहुआयामी घर पनि हो । यो नदी क्षेत्रले विकास गरेको पारिस्थितिकीमा नेपालको ठूलो हिस्साको प्रकृति र समाजको अस्तित्व टिकेको छ ।
कोशी नदीका आदिकालदेखि अनेक कथा छन् । अनेक शब्द शिल्पी अनेक ढंगले इन्द्रेणी कुरा राखेका छन् । कोशी नदीका साथ अनेक लोककथाले आकार लिइरहेका छन् । कोशीको आचरणलाई मान्छेले केवल एक प्रकृतिपरक घटना मानेको छैन, कोशीलाई उसको सम्पूर्ण व्यक्तित्वमा नै चिन्छ ।
भारतको उत्तराखण्डमा एउटा कोशी छ, यसैसँग जोडिएको ‘मिथ’ छ कि नेपालको कोशी त्यसैको पुनर्जन्म हो । हिन्दीका मूर्धन्य कथाकार शेखर जोशीले कोशी नदीको घटवारमाथि कथा लेखेका छन्– सुसाउँदै, छटपटाउँदै कोशीका बासिन्दाको व्यथा हाहाकारको एक विकट स्वरूप हो । कोशी भक्त जनता त्यसमा डुबल्की लगाउँछन्, ‘जय कोशी मैया की जय ।’ कोशी अनेक कोलाज भएर प्रकट हुन्छिन् । फणिश्वरनाथ रेणु यसरी अभिव्यक्ति दिन्छन्, ‘थरथर कांपे धरती मैया रोये जी आकाश घडी–घडी पर मूर्छा लागे डेग डेग पियास, घाट न सूझे, बाट न सूझे, सूझ न अप्पन हाथ ।’ रेणुको साहित्यमा कोशीको जनजीवन प्रखर भएर आएको छ ।
मातृकाप्रसाद कोइरालाले ‘कोशीको कथा’ मा लेखेका छन्– काठमाडौं खाल्टादेखि पूर्व मेची पश्चिमको नेपाल समस्त कोशी क्षेत्र हो । सप्तकोशीका सहायक कोशीहरू पूर्व र पश्चिम उत्तरबाट चतरामाथि त्रिवेणीमा अन्तिम रूपमा मिस्सिएर चतरामा मधेश झर्छन् । सबै कोशीका पानी पहाड भित्रभित्रै बगेर एकैचोटि बराह भगवान्को चरण पखाल्दै दक्षिणाभिमुख हुन्छन् ।
भनिन्छ कि कोशी कुमारी नै छिन् । यिनको पूजामा सिन्दूर चढाइँदैन । बलि पनि बोको होइन, पाठी चढाइन्छ । यिनको व्यवहारले पनि उन्मत्त कौमार्य र उद्दाम यौवनकै आभास पाइन्छ । न त यिनको गति अरू नदनदी जस्तो संयमित र मर्यादित छ न यिनको बाटो नै नियोजित छ, न यिनको स्रोतमा गाम्भीर्य । यताउता छचल्किँदै छिचरिँदै कहिले पूर्व कहिले पश्चिम हानिँदै वेगले इतरिँदै, फन्कँदै, नाच्दै दुगुर्नु नै यिनको स्वभाव छ । आफ्ना बाटामा पर्ने ढिस्का काट्दै, रूख ढाल्दै, लछार्दै, सुकाउँदै बढ्नु यिनको धर्म हो । कोशी कहिले पूर्व कहिले पश्चिम, भित्ते घडीको पेन्डुलमझैं मच्चिँदै बग्दै आएकी छन् ।
आखिर कुन तत्त्व हो, जसले हजारौं वर्षदेखि कोशीको भयानक विपद् बेहोरेर पनि यहाँ बसोबास गराइरहेको छ ? स्थानीयले कोशीसँगै बाँच्ने जीवनशैली कसरी खोजे ? यसको समाजशास्त्रीय खोज जरुरी छ । मातृकाप्रसाद कोइरालाले कोशी नदी र समाजलाई उन्दै जुन भाव दृष्टि दिएका छन्, यसले स्थापित गर्छ कि कोशी नदीलाई चिन्ने र बुझ्ने उनी अब्बल राजनीतिज्ञ हुन् । मातृका बाबुको कोशी कथा निबन्धले कैयौं तथ्य उजागर गरेको छ ।
आफ्ना अनेक प्रवाह मार्गका कारण कोशी सहस्र धारा नदी कहलिन्छिन् । मैथिली गाथागीतहरूका दृष्टिबाट कोशी क्षेत्र सर्वाधिक उर्वर क्षेत्र मानिन्छ । संस्कृतिविद् प्रफुल्ल कुमार सिंह मौनका अनुसार ‘रइया रणपाल’ गाथाका नायक रणपाल कुनै पालकालीन राजपुरुष प्रतीत हुन्छन्, जसकि प्रेमिका गांगोको सुन्दरताको कोशीदेखि पश्चिम र कमलादेखि पूर्व बहुचर्चा थियो । ती गांगोको प्राप्तिका लागि रणपाल हरसम्भव प्रयास गर्छन्, ‘कोशी से पछिम हे गांगो कमला से पूरब, गांगो सन तिरिया नही कोय ।’ मैथिली गाथागीतका नायक लोरिक, घुघली घटमा, विजयमल, सलहेस, धनपाल, रइया रणपाल दीनाभद्री लगायतको यो नदी प्रान्त प्रसिद्ध छ । कोशी क्षेत्र पुरातन सभ्यताको केन्द्रसमेत रहेको छ, जुन बेलाबखत गरिने पुरातात्त्विक खोजहरूबाट उजागर हुन्छ ।
कोशी क्रिडा गर्छिन् । खेल्छिन्, उफ्रिन्छिन् । यताउता भौंतारिए पनि त्यसलाई ठाउँ बदलिएको मानिँदैन । कोशी क्षेत्रका बासिन्दा यस नदीमा आफ्नो चेहरा देख्थे । नदीको चञ्चल स्वभावलाई बडो शान्तभावले आफ्नो देह, मन र विचारमा उतार्थे । कोशीलाई बुझ्ने, जान्ने र चिन्ने क्रम जारी छ । यो नित नूतन नदी हो । नदीमा ‘लाल पानी’( गेरुवा पानी) फैलिँदै आएपछि वरिपरिका बासिन्दालाई लाग्छ, अब नदीको पानीमा उतार चढाव हुन्छ । यो नदीको जलस्तर बढ्दै जानुको सूचक हो ।
कोशीलाई ‘माई’ (आमा) र ‘डायन’ (बोक्सी) पनि भनिन्छ । आमा यसकारण कि यिनले जीवन दिन्छिन्, ‘बोक्सी’ यसकारण कि यिनले बर्सेनि जीवन निल्छिन् । भनिन्छ नदीको कहरले त्राहिमाम गर्न थालेपछि महिलाहरू नदीलाई डर देखाउन धारामा सिन्दूर राख्ने कोसिस गर्छन् । उदण्ड र उच्छृंखल कुमारी रूपकी नदीलाई बिहे गरिदियो भने संयमित हुन सक्ने लोकबुझाइ छ । नदीका साथ तिनका बासिन्दाको यो जीवन्त सम्बन्धको प्रमाण हो यो । कोशीका बासिन्दा कोशीको भौगोलिकभन्दा मिथकीय चरित्रलाई बढी जान्दछन् र त्यसमाथि विश्वास गर्छन् । यो सघन जनसंख्या र विविधतायुक्त क्षेत्र हो ।
कोशी नदी आफ्नो बृहत् क्षेत्रमा समाज, संस्कृति, परिवहन र अर्थव्यवस्थाको सञ्चालकका रूपमा पनि रहेकी छन् । स्थानीय भन्छन्, ‘कोशी नदी मात्र होइन, यो हाम्रो सांस्कृतिक जीवनधारा पनि हो ।’ कोशीसँग जोडिएको देशज ज्ञानले सामाजिक कोषलाई समृद्ध गरेको छ । त्यहाँका बासिन्दामा बाढी प्रबन्धनको अद्भुत पारम्परिक ज्ञान छ । डुंगा निर्माण र सञ्चालनका पुर्ख्यौली सिकाइ छ । मौसम अनुसारका माछाबारे जानकारी वा धान–जुट खेतीका आफ्नै सूचना छ । उनीहरू पानीको रङ र गति ठीक ढंगले बुझ्छन् । यहाँ अनेक अहान छन्, जसमा मौसमको पूर्वानुमान चियाउँछ । आखिर कुन तत्त्व हो, जसले हजारौं वर्षदेखि कोशीको भयानक विपद् बेहोरेर पनि यहाँ बसोबास गराइरहेको छ ? स्थानीयले कोशीसँगै बाँच्ने जीवनशैली कसरी खोजे ? यसको समाजशास्त्रीय खोज जरुरी छ ।
‘बोलो भैया रामे राम हो भाय,
कोशी सन बेदरदी जग में कोए नहीं
घर डुबैलकै खेत डुबलकै डुबिगेल हथिसार
देख देख के हिया फटै छै माया नै हो दरेग’
लोकगीतका यी पंक्तिहरू त्यसै उब्जिएका होइनन् ।
‘गाम गाम धुपवा दियेलै माय कोशिका
मैया तोरा नहीं माया दरेग
बिछिया करे अनघोल
डेढी डेढी नैया गे माय कोशिका
घाट घाट चढेलौ लडुवा
गे मैया बिछिया करे अनघोल
धारे धारे चढेबो गे कोशिका
खस्सी, पाठी मिठइया
गे मैया बिछिया करे अनघोल’
यसको आशय हो– हे कोशी माई तिमीले गाउँका गाउँ निल्यौ, तिमीमा ममत्व र दया छैन । आफ्नो सुहाग उजाडिँदा महिलाहरूले आर्तनाद गरिरहेकी छन्, हामी लड्डु चढाउँछौं, खसी चढाउँछौं ।
एक अर्को लोकगीतको पंक्ति छ– ‘कथी ले लगेलिये हे कोशी माय जामुन गछिया हे कथी ले लगेलिये हरिहर बीट बांस हे ।’ यसमा बाढीसँग जुझ्ने ज्ञान छ । डुंगा बनाउन जामुनको काठ उम्दा मानिन्छ । यस काठको विशेषता हुन्छ कि यो पानीको सम्पर्कमा आएर पनि सड्दैन । यसको वजन पनि गह्रौं हुन्छ, जसले कोशीको तेजधारमा सन्तुलन ल्याउन मद्दत गर्छ ।
कोशी फगत नदी होइन । कसैका लागि यो राजनीति र कूटनीति हो । कोही बाँध, ब्यारेज र पानी बाँडफाँटका दृष्टिले हेर्छन् । कोही विभिन्न संस्कृतिहरूको समागम हेर्छन् । कोशीका केही पुराना सवाल थाती छन् । केही विकासले आर्जेका सवाल छन् । कसैको आँखामा श्रीलंका टापु छ, त कसैको आँखा तटबन्धका कारण भएको जलजमावले ओभाएको छ । यी सबमाझ कोशी नदीको आफ्नै सामाजिक सार्वभौमिकता छ । समयको वेगले देशज ज्ञान बग्दै गएको छ । कुन कोशी, कसको कोशीको लुछाचुँडी मच्चिएको छ, यता कोशी ज्ञानकोष, कोशीको सामासिक संस्कृति मासिँदै छन् ।
नदीको कथा शृंखलाको अर्को कथा पढ्नुहोस् :
