रोस्टिङमा खुम्चिएको हास्यव्यंग्य

कमसल विषयवस्तु, प्रस्तुति, भाषा र शिल्पको अति निम्छरो खुराकमा कोही किन रमाउने ? व्यक्ति वा समुदायको पहिचानमाथिको व्यंग्य कमेडियनको ‘पेसा’ बन्नु सामाजिक ऐँजेरू हो, के हामीकहाँ व्यंग्य ‘कन्टेन्ट’ सकिएकै हो ?

श्रावण ३१, २०८२

दीपक सापकोटा

A humorous twist on a roasting

What you should know

काठमाडौँ — हास्यव्यंग्य कस्तो हुनुपर्छ ? व्यंग्य–लेखनका शिखर भैरव अर्यालले भनेका छन्, ‘हास्यव्यंग्यलाई प्रहसनको हलुका स्तरबाट उठाई जीवन र जगत्का गम्भीर, गहन अनुभूति पनि बोक्न र पोस्न सक्ने गरी उठाउनु आजका हास्य–व्यंग्यकारको ध्येय हुनुपर्छ ।’ तर, नेपाली हास्यव्यंग्य हेर्दा एक गम्भीर प्रश्न उठ्छ— हामी किन अझै समाजको पिँधमा रहेकालाई नै खिसीटिउरी गर्ने परम्परामा अड्किएका छौं ? टेलिभिजनका सिरियल, सिनेमा, गाईजात्रे प्रहसन र कमेडी–शो हेर्नुस्— सीमान्तकृत समुदाय, भाषिक उच्चारण वा जीवनशैलीलाई आधार बनाएर गरिने ‘जोक्स’ नै मूलधारमा छन् । व्यंग्यको असली उद्देश्य सत्तासीन र शक्तिशालीमाथि प्रश्न गर्नु हो, कमजोर र वञ्चितिलाई होच्याउनु होइन । आजको हास्यव्यंग्यको मार्ग के हुनुपर्छ ?

००

यसपल्ट पनि गाईजात्रा महोत्सव— २०८२ बेजान साबित भयो । प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको गाईजात्रा कुनै नवीन प्रस्तुति भएनन्— प्रत्येक वर्ष तिनै कथा दोहोरिएजस्तो, अर्थात् त्यही । 

त्यही अर्थात् सत्तासीन नेतालाई झटारो, सिर्जनाहीन व्यंग्य, समानुपातिक सांसदमाथिको प्रहार, राज्य संयन्त्रको सतही बुझाइ झल्किने सस्ता प्रहसन ! र, ‘बातैपिच्छे ताली आओस्’ भन्ने चाहले जोडजाड पारी बनाएर घोकिएको कमजोर स्क्रिप्टको पुनःप्रदर्शन ! यस्तै कलाविहीन रोस्टिङ र शिल्प हराएको प्रदर्शन बढ्दै गयो भने त्यसको परिणाममा हास्य रस नभई फौजदारी अभियोग लाग्ने खतरा ज्यादा छ । 

असलमा हास्य र व्यंग्य कलाका एकै रसिला गल्लीहरूमा यात्रा गर्छन् । तर, गाईजात्रा महोत्सवमा त्यो गल्ली अलग—अलग भेटिन्छ । 

साहित्यका नवरसमध्येको एक हास्य रसमा घोलिन्छ— हँस्यौली र ठट्यौली । जान्नेहरू भन्छन्— आत्माको संगीत हो हाँसो । र, हो त्यो— मान्छेको निर्दोष गीत । ‘नानीहरूका ओठमा झुल्किने न्यानो मुस्कान नै संसारको सुन्दर उपहार हो’ भनिरहेको चिकित्सा–विज्ञानले यसो पनि भन्छ, ‘हाँसोले नै प्राणलाई प्रसन्न पार्छ, आयुमा वसन्त थप्छ ।’ त्यसैले संसारमा अनेकन् ‘लाफ्टर क्लब’ र ‘लाफ्टर योगा’ अस्तित्वमा छँदै छन्, जहाँ बोझ त्यागेर मान्छेहरू मस्त हाँस्न भेला हुन्छन् । A humorous twist on a roasting

बोझको गह्रुँगो झोला फ्याँकेर मान्छेहरू ‘एस्ट्रे काठमाडौं’ को एक कुना (सांस्कृतिक संस्थान : राष्ट्रिय नाचघर, जमल) मा हाँस्न जम्मा भएका छन्— गाईजात्रा महोत्सव– २०८२ को साइत पारेर । प्रज्ञा प्रतिष्ठानमा जारी ‘८२ सालको गाईजात्रा’ भर्खरै सकिएको छ, जहाँ मनोज गजुरेल र अन्य हास्य कलाकारहरू व्यंग्य प्रदर्शनमा मग्नमस्त थिए । तर, दर्शक ‘हँसाइरहेका’ गाईजात्रा—कलाकार उदास–उदास सुनिन्छन्, ‘नेताहरू वर्षैभरि गाईजात्रा गर्छन्, एकदिने गाईजात्रामा हामीले के गर्नु ?

समाजलाई असल मार्गमा डोर्‍याउने धारिलो र घुमाउरो अस्त्र हो— व्यंग्य (हुनुपर्ने पनि त्यही हो) । हाँसो सधैं फूलमिश्रित हुँदैन, कहिलेकाहीं काँडा पनि मिसिएको हुन्छ । जीवनका असंगत पक्ष र सत्ता–समाजका ढोंगमाथि घुमाएर, मुस्कानको बार्दलीले छोपेर, धारिला शब्दले घोच्ने उत्कृष्ट कला हो— व्यंग्य, जसले मान्छेहरूको घाउमा मलहम पनि सँगै लगाइदिन्छ । हास्य मात्रै भए त्यो हल्का मनोरञ्जन हुन्छ, व्यंग्य मात्रै भए कठोरतम प्रहार ! त्यसैले दुवै पक्षको भव्यतम र सुन्दर संगम हो— हास्यव्यंग्य, जीवन—दर्शनमिश्रित एक चिन्तन । 

बेग्लाबेग्लै धारा हुन्— हास्य र व्यंग्य, तर तिनको आत्मा एकै छ । कला—साहित्यको दुनियाँमा यी दुईको सहअस्तित्व नै पूर्णता—मार्ग हो । त्यहाँ हास्यको घाम छ, व्यंग्यको छाया ! 

हास्यव्यंग्य न वाण हो, न त गोली, न हो– ढुंगामुढा । यसले थोरै शब्दमा सिर्जनशीलता र गतिलो ‘प्रहार’ अर्थात् ‘पञ्चलाइन’ मार्फत चिरञ्जीवी हुने सामर्थ्य राख्छ । तर, प्रश्नचिह्नहरूमाझ घेरिएको हाम्रो हास्यव्यंग्य वाण, गोली, मिमिक्री र ढुंगामुढा बनेर मान्छेहरूको चीरहरणमा मग्न छ । धमाधम संख्या वृद्धि भइरहेका हास्यव्यंग्य गुणवत्ताका कसीमा सुकेनासले ग्रस्त दुब्ला देखा पर्छन् । 

A humorous twist on a roasting

हामीलाई हास्य किन चाहिन्छ ? तनावबाट मुक्ति–हेतु ! व्यंग्य ? जीवनवृत्तिमा आइपरेका विकृति–विसंगति पहिल्याएर स्वस्थ समाज निर्माणखातिर प्रहार–हेतु ! तर, ‘भेट्रान’ हास्यशिल्पी मनोज गजुरेलका विचारमा हाम्रा हास्यव्यंग्य रोस्टिङमै रमाइरहेका छन् । ‘सोसल मिडियाको आक्रामक आगमनपछि रिल्स र टिकटकका छोटा प्रस्तुतिमा अड्कियो समाज । पहिले भद्रता र घुमाउरो तरिकामा हास्यव्यंग्य गरिन्थ्यो, अहिले त्यो रोस्टमा पुग्यो अर्थात् सेकाउने तहमा । टेलिभिजनको फर्म्याट र मनोरञ्जनको शैली परिवर्तन भयो । मान्छेले लामा व्यंग्य हेर्न छाडे, ती रोस्टिङ र छोटो कन्टेन्टमै रमाउन थाले । दर्शक पनि त्यही चिजमा रमाउन थालेपछि कुन व्यंग्य, कुन गाली, कुन रोस्ट ? छुट्याउन नसक्दा हास्यव्यंग्य अलमलमा छ,’ मनोज भन्छन् । 

मनोजलाई लाग्छ— जसरी देशको संविधान हुन्छ, कलाकारको कन्टेन्टको पनि सम्पादकीय हुनुपर्छ । ‘क्रिएटर’ को ‘कन्टेन्ट’ नै अलमलिइएको बेला हो यो— गम्भीर मजधारको समय । नयाँ—नयाँ युवा पसिरहेका छन्— व्यंग्य संसारमा । ‘तर, सामाजिक उत्तरदायित्वबारे सचेत छैनन् । ऊबेला हास्यव्यंग्य मनोरञ्जन मात्रै थिएन, उत्तरदायित्व पनि थियो । अहिले सामाजिक दायित्वबोध कम छ, त्यहाँ सस्तो मनोरञ्जन मात्रै छ,’ गजुरेल भन्छन् । 

एक कमेडियन कति शक्तिशाली हुन्छ भने उसको एउटै कन्टेन्टले समाज ‘डाइभर्ट’ गर्न सक्छ । सरकारी–नियन्त्रण वा सेन्सर होइन, स्वसम्पादन अबको कमेडियन मार्ग हुनुपर्छ । 

हास्यबिनाको व्यंग्य साहित्य नहोला, बढी गोलीगट्ठा होला । सहरमा हास्यव्यंग्यको गोलीगट्ठा बेहिसाब चलिरहेकै छ । तर, समीक्षकहरू भनिरहेकै छन्– हास्यव्यंग्य विधा अब सुकेनासले ग्रस्त भएर टाक्सिएको छ, नेपाली हास्यव्यंग्य ख्याउटे छ । हास्यव्यंग्यले अब साहित्यको जामा छाडेर स्ट्यान्ड अप कमेडी, क्यारिकेचरहरूको भोटो पहिरिएको छ— जहाँ व्यंग्य कम छ, गालीबेइज्जती बढी छ । 

कलाकार हरिवंश आचार्यका अनुभवमा उनको समयमा व्यंग्यको स्वरूप ‘व्यंग्य’ थियो, अहिले बदलाव आयो । ‘हामीले व्यंग्य गर्दा समाज साँघुरो थियो, घुमाएर वा बिम्ब र प्रतीकमा व्यंग्य गर्नुपर्थ्यो । अहिले सिधै व्यंग्य गर्न पाइन्छ । घुमाउरो नभई सिधै भन्दा त्यसमा आर्ट हुँदैन, आक्रोश हुन्छ । र, त्यो क्षणिक हुन्छ ।’ 

त्यसैले वर्तमान व्यंग्यको बाटो आक्रोश मार्ग हो । 

हास्यव्यंग्य कलाकार जितु नेपाल असाध्यै दुःखी छन् । जीवनका उबडखाबडमाझ उनमा दुःख थपिनुको कारण हो— अहिले व्यंग्यमा घुमाउने होइन, सिधा–सिधा भन्न थालियो । ‘व्यंग्य गर्नु भनेको घुमाउरो ढंगमा विकृतिमाथि प्रहार गर्नु हो, जसले समाजलाई सही दिशामा डोर्‍याउन सहयोग गर्छ,’ जितु भन्छन्, ‘तर, अहिले हास्यव्यंग्यमा हास्य पनि छैन, व्यंग्य पनि छैन । समयसँगै सबै फेरियो । पहिले व्यंग्य भद्र र सामाजिक थियो । अब त ती दिन उहिल्यैका दिन भए । व्यंग्य अब रोस्ट भयो । यसले हामी व्यंग्यकर्मीलाई भयंकर हानि गर्नेवाला छ ।’ 

A humorous twist on a roasting

व्यंग्य किन ‘व्यंग्य’ रहेन ? किन रोस्ट भयो ? किन छैनन् हाम्रा हास्यव्यंग्य धारिला र घुमाउरा ? तिनमा किन जीवन दर्शन मिश्रित छैन ? किन त्यो निम्नस्तरको गालीगलौज र खिसीटिउरीमै सीमित छ ? व्यंग्यमा—कटाक्ष मात्रै किन छ ? त्यो कलात्मक किन छैन ? नेपाली समाज यही बहस—विमर्श वरिपरि घुमिरहेको/रुमल्लिरहेको छ, जसरी व्यंग्य पनि आफ्नो गोरेटो गुमाएर सडकमा दिशाहीन भड्किइरहेको छ ।लेखक/पत्रकार विजय कुमारले आफ्नो किताब ‘खुसी’ मा लेखेका छन्, ‘मेरो समस्या भनौं या मूर्खता, या पेसागत निष्ठा, म एक यस्तो सपनामा बाँचे, जसले मलाई हमेसा भन्यो— नेपाल टेलिभिजन भनेको जनताको पैसाबाट चलेको हुनाले यसलाई सरकारी होइन, सार्वजनिक प्रसारण माध्यमका रूपमा चलाइनुपर्छ । यसनिम्ति त्यहाँका हाकिमहरूले यतिका वर्षदेखि खितखिते कार्यक्रमहरूको साटो सकारात्मक सोच बढाउने कार्यक्रमलाई पनि प्रोत्साहन दिएका भए आज हिरोभन्दा जोकर ठूलो हुने विश्वको एक मात्र देश नेपाल हुने थिएन (पृष्ठ : १२७) ।’

बहुरंगी समाजमा ‘खितखिते कार्यक्रमहरूले जोकर उत्पादन’ गरिरहेको ‘वरिष्ठ पत्रकार’ को व्यंग्यलाई गाईजात्रा, फिल्म, स्ट्यान्ड अप कमेडी, रेडियोदेखि टेलिभिजन र युट्युबसम्मै चलिरहेका हास्यव्यंग्यले बालै दिएनन् । बरु ‘खितखिते’ को बाढी उर्लिरह्यो । विजय कुमारका अनुसार, कोही किन स्वेच्छाले नै ‘जोकर’ बनिरहेको छ ? साँचो हास्यव्यंग्यको जिम्मेवारी के हो ? यो पेचिलो प्रश्न बनेको छ, जुन विमर्शयोग्य छ । सायद हास्यव्यंग्यलाई ‘खितखिते कार्यक्रम’ भनी टिप्पणी गर्ने विजय कुमारको सपना हो— सुसंस्कृत नेपाली व्यंग्य–संसारको सपना—कल्पना ! 

हास्यव्यंग्यको जन्म समाज, शक्तिशाली मानिस र राजनीतिको गर्भगृहबाट हुन्छ । र, सिद्धान्ततः हास्यव्यंग्यले तिनैमाथि व्यंग्य प्रहार गर्छ । कार्टुनिस्ट रवि मिश्रको बुझाइ छ, ‘शासकहरू बेलाबेला नयाँ–नयाँ योजना ल्याइरहन्छन् । पानीजहाज ल्याउने योजना सुनाएर होस् या हावाबाट बिजुली निकालेर बेच्ने योजना, उनीहरू जनतालाई बेलाबेला यस्ता सपना बाँडिरहेका हुन्छन् । तर, जनताको दैनिक समस्या जस्ताको त्यस्तै छन् । यसले गर्दा आमनागरिकमा सरकारप्रतिको विश्वास हराउँदै गएको देखिन्छ । यसैले समयसापेक्ष व्यंग्यले त्यही नागरिकको अविश्वासलाई व्यंग्य र व्यंग्यचित्रहरूमा उतारेका छन् ।’ उनको विचारमा विकास र समृद्धि भन्ने, तर काम केही नगर्ने नेताको प्रवृत्तिले तिनको ओज घट्दै गएको छ र ती हास्यका पात्र बनिरहेका छन् । ‘हास्यव्यंग्य तिनैमाथि हुनुपर्छ, सामान्यजनमाथि होइन,’ मिश्र भन्छन् । A humorous twist on a roasting

कमेडीको दार्शनिक पक्ष हुन्छ— जीवनलाई हेर्ने दृष्टिकोण प्रस्तुत गर्नु र जीवनका दुःख–सुख गम्भीरतापूर्वक नियाल्नु ! कमेडीले जीवनमाथि आशावादी नजर राख्छ । तर, हाम्रा कमेडी आशावादी छन् ? फिल्म निर्देशक मनोज पण्डितका विचारमा हाम्रा व्यंग्यले आशाका बीउ छर्दैनन्, तिनले मान्छेका आत्मा हँसाउन सकेका छैनन्, मुख मात्रै हँसाएका छन् । ‘अहिलेको कमेडीको दृष्टि नितान्त रोस्टिङको दिशामा अघि बढिरहेको छ, अर्थात् अरूको खिल्ली उडाउन केन्द्रित छ,’ मनोज भन्छन्, ‘हामी अरूको खिल्ली उडाउनुलाई नै कमेडी भनिरहेका छौं । जीवनका थुप्रै आयामलाई सहजतापूर्वक हेर्ने र दृष्टिकोण दिने कमेडी अहिले अर्कालाई उडाउने, खिसीटिउरी गर्ने मुख्य अंग बनेको छ र हामीले त्यसलाई मनोरञ्जनका रूपमा स्विकारेका छौं । अरूलाई उडाउनुमै हामी आनन्दित छौं ।’ 

वर्तमानको हास्यव्यंग्यमा प्रयुक्त भाषा, प्रस्तुति र शैलीले त्यो हास्य रस कम भएको खिसीटिउरी मात्रै लाग्छ, विशिष्ट कला लाग्दैन । हामीलाई व्यंग्य किन चाहिन्छ ? नेपाली व्यंग्यका शिखर लेखक भैरव अर्यालले भनेका थिए, ‘हास्यव्यंग्यको उद्देश्य हो, केवल सत्यको अन्वेषण ।’ उनको विचारमा ‘हास्यव्यंग्यलाई प्रहसनको हलुका स्तरबाट उठाई जीवन र जगत्का गम्भीर, गहन अनुभूति पनि बोक्न र पोस्न सक्ने गरी उठाउनु आजका हास्यव्यंग्यकारहरूको ध्येय हुनुपर्छ ।’ उनी ‘रचनाकर्म सामाजिक दायित्व हो’ सोच्थे । अर्यालको व्यंग्य दुनियाँमा गहिरो आदर्श लुकेको थियो— राजनीतिक विसंगतिमाथि धारिलो प्रहार र प्रहारभित्र सुधार ! नेता र सत्ताधारीलाई उनी ऐना देखाएर सुध्रिन सुझाउँथे । तर, आजको व्यंग्य बाटो केवल ‘खिसीटिउरी’, ‘रोस्टिङ’, ‘विरूपीकरण’ र ‘अतिरञ्जना’ बनेकामा सचेत व्यंग्यशिल्पी असाध्यै दुःखी छन् ! 

वर्तमान हास्यव्यंग्य अरूका कमजोरी, अपूर्णता र जन्मजात भिन्नतामाथि निर्भर छन् । व्यंग्यको केन्द्र बनेको छ— मान्छेका चालढाल, उच्चारण, शरीर–संस्कृतिलाई उडाउनु । जब एकै समुदाय, समूह वा पहिचानमाथि बारम्बार अतिरञ्जना र विरूपीकरण गरिन्छ, त्यो हाँसो रहँदैन— अपमानको लामो प्रतिध्वनि हुन्छ । जस्तो दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले काठमाडौंमा आयोजना गरेको ‘विविधताको उत्सव’ कार्यक्रममा यसै साता कलाकार नाजिर हुसेनले फिल्ममा मधेशीलाई गरिने व्यवहारमाथि आफ्नो अनुभूति साझा गरेका थिए, ‘मधेशी भाषाकै कारण म थुप्रै पटक फिल्ममा अस्वीकार भएँ । सर्वस्वीकार्यका लागि गोरो हुन अनेक उपाय गरें । मधेशलाई कमेडी, गुन्डा र पानीपुरीवालाकै रोलमा सीमित राखियो फिल्ममा । तर, बुझिदिनुस्— मधेशका मान्छेले प्रेम गर्न पनि जानेका हुन्छन्, रिसाहा मात्रै हुँदैनन् । ती काला मात्रै होइनन्, गोरा पनि हुन्छन्, नेपाली र अंग्रेजी पनि बोल्छन् । लगाम लगाएको घोडाले जस्तो एकै दृष्टिकोणबाट नहेरिदिनुस् ।’ 

हुसेनको अनुभूतिभन्दा बिलकुल फरक छैन, नेपाली हास्यव्यंग्य । कुनै विशेष जाति वा तिनको लवजमाथिको खिसीटिउरी अझै टीभीको गुलाबी पर्दामा चम्किन्छ । उही–उस्तै कन्टेन्ट गाईजात्राको स्टेजदेखि सामाजिक सञ्जालको टाइमलाइनसम्म अनगिन्ती पटक दोहोरिन्छ । 

सांस्कृतिक संस्थानमा चलिरहेको ‘गाईजात्रा— २०८२ हेरेपछि थाहा लाग्छ— यो रोस्टिङ र केवल रोस्टिङ हो, जहाँ हास्य रस छैन । त्यहाँ केवल छ— निम्नस्तरको व्यंग्य । महोत्सवमा भद्दा र द्विअर्थी संवाद त कति बोलिन्छ कति ! जस्तो एउटा प्रहसनमा समानुपातिक प्रणालीबाट निर्वाचित महिला सांसदलाई अत्यन्तै कमजोर, भीडभाडमा निरीह, पढ्न–बोल्न र भाषण गर्न बिलकुलै अयोग्य पात्रका रूपमा चित्रण गरिन्छ । पहुँच र अवसरको कमी भएका समुदायबाट आएका यस्ता सांसदलाई कमेडी शोहरूले पहिले पनि बारम्बार व्यंग्यको निसाना बनाउँथे । 

व्यक्ति वा समुदायको लवज, पहिरन, जीवनशैली वा जन्मजात परिस्थितिमाथि गरिएको व्यंग्य जातिभेदी मानसिकताको प्रतिफल हो, जसले हास्य नाममा भेदभावको बीउ रोप्नेछ । यो सिर्जनशीलता होइन, पूर्वाग्रह हो । बहुरंगी समाजको वास्तविक विविधता नबुझीकन सतही अवलोकनमा आधारित सिरियल वा प्रहसनले न समाजलाई चेतना दिन्छ, न कला, साहित्यको उचाइ । यो व्यंग्यमा लागेको खिया हो । 

सांस्कृतिक संस्थानको यही गाईजात्राको अर्को प्रहसनमा संवाद छ, ‘श्रीमतीहरूको साझा समस्या हो– श्रीमान्सँग झगडा गर्नु !’ मदन भण्डारी दुर्घटना र दरबार हत्याकाण्डको फाइल पुनः खोल्न निजी प्रहरी चौकीको परिकल्पनादेखि नेताहरू आफ्नै गोबरले लतपतिएको सस्तो व्यंग्यसम्म यो गाईजात्राका विषयवस्तु हुन्, जुन सम्पूर्णतः नेतालाई रोस्टिङ गर्नमै केन्द्रित रह्यो । 

त्यसैले व्यंग्य भैरव अर्यालले भनेझैं उहिले समाज सुधारको बाटो थियो, नाजिर हुसेनले भनेझैं अहिले कसैको घाउमा नुन—खुर्सानी दल्ने माध्यममा बदलिएको छ । 

A humorous twist on a roasting

मान्छेका कमजोरी, अपूर्णतामा अर्को मान्छे किन हाँस्छ ? आफूभन्दा बेग्लै मान्छेलाई उडाएर कस्तो आनन्द प्राप्त हुने हो ? ‘गाईजात्राका कार्यक्रम हेरौं वा रियालिटी शो, त्यहाँ देखिन्छ— अरूलाई उडाउनु नै आनन्दमार्ग हो,’ मनोज पण्डित भन्छन्, ‘यो एक डरलाग्दो प्रणाली हो । यसले मान्छेलाई स्वीकारोक्ति दिन्छ– हामी रमाउनु छ भने अरूलाई गिज्याउनुपर्छ । अरूलाई गिज्याउनु, उडाउनु, सिध्याउनु, ठोक्नुमै हामी आनन्द महसुस गर्छौं । अब कमेडी भायलेन्सको फर्ममा गइरहेको छ ।’ 

०००

टेलिभिजनका काँच र गाईजात्राका प्रहसनहरूमा अरूलाई रोस्टिङ गर्दै रमाइरहेको हास्यव्यंग्यको इतिहास रेखा कस्तो छ ? इतिहासका प्राचीन गल्लीतिर चियाउँदा देखिन्छ— अँध्यारा दिनहरूमा पनि हास्यव्यंग्यले बरु सामाजिक दायित्व निभाएकै थियो । त्यो थियो– इमानदार र परिवर्तनप्रति प्रतिबद्ध ।

A humorous twist on a roastingउहिले–उहिलेका नेपाली हास्यव्यंग्य थिए— पञ्चैबाजाका ठट्टा, गाईजात्राका नाचगान, दरबार र डबलीहरूमा मञ्चन हुने प्रहशन...! प्राचीन दरबारका शाही–रंगमञ्चहरूमा मञ्चित नाटक वा टिपोटमा घुमाइ घुमाइ सत्ता र समाजका कमजोरी देखाउँथे स्वप्नदर्शीहरू । ‘मकैको खेती’ किताब लेखेका कृष्णलाल अधिकारीलाई राणाहरूले आरोप लगाए— मकै अर्थात् जनता र मकैमा लाग्ने रोग वा कीरा अर्थात् राणा शासक ! ‘कीरा’ शब्द नै ‘व्यंग्य’ ठानेर उनलाई ९ वर्ष जेल सजाय गरियो । र, कृष्णलालको कारागारमै मृत्यु भयो । यो थियो ‘व्यंग्य’ ले तर्सेको सत्ताको कथा । 

तर, नेपाली हास्यव्यंग्यको लिखितम् यात्राका पहिलो पथिक थिए— शक्तिबल्लभ अर्ज्याल । उनको नाटक ‘हास्य कदम्ब’ (नेपाली अनुवाद वि.सं. १८५५) नै नेपाली साहित्यको प्रथम हास्य रसप्रधान नाट्यकृति मानिन्छ । सचेत, योजनाबद्ध रूपमा हास्यव्यंग्य सिर्जना गर्ने पहिलो नेपाली साहित्यकारको ऐतिहासिक श्रेय शक्तिबल्लभलाई जान्छ भन्छ इतिहास । 

शक्तिबल्लभ पछि हास्यव्यंग्यमा प्रखर रूपमा उदाए— भानुभक्त आचार्य । हास्यव्यंग्यमा भानुभक्तले थोरै लेखे, तर भव्य लेखे । ती रचना जीवन भोगाइ र अनुभूत मिश्रित छन्, त्यहाँ हाँसो छ, प्रहार छ । भानुभक्त असाध्यै आक्रोशित छन्– यथार्थविरुद्ध । ती लाग्छन् विद्रोही पनि । जस्तो प्रशासनको ढिलासुस्तीमाथि उनले लेखेका छन्— 

बिन्ती डिठ्ठा बिचारीसित म कति गरुँ चुप् रहन्छन् नबोली

बोल्छन् ता ख्याल् गर्याझैं अनि पछि दिन दिन् भन्दछन् भोलि भोलि

कि ता सक्दिन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् इ भोलि

भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली 

भानुभक्तको यो कविता मनोरञ्जन मात्रै होइन, समाज, सत्ता र संरचनामाथिको तिखो व्यंग्य पनि हो । केशवराज पिँडालीको ‘खै खै’ ले आधुनिक हास्यव्यंग्यलाई बलियो बनायो । त्यसलाई शिखरमा पुर्‍याए– भैरव अर्यालले । त्यसपछि हास्यव्यंग्यमा दाताराम शर्मा, मोहनराज शर्मा, धच गोतामे, श्याम गोतामे, श्रीधर खनाल, बादेपा, रामकुमार पाँडे, विमल निभाहरूको लामो लस्कर छ । 

A humorous twist on a roasting

भैरव अर्यालको एक असरदार निबन्ध छ— ‘नेता नम्बर एक सय एक’ । यो हास्यव्यंग्य आज पनि नेपाली समाजमा सान्दर्भिक छ । उनी लेख्छन्, ‘एक सय वटा नेताको संगत गरें, जुत्ता बोकें, आखिरमा आएर न यता न उता । मैले पनि मावलीको मद्दतले एउटा पार्टी खोलेको छु, जसको नाम हो– ‘अखिल नेपाल भस्याङभुसुङ दल’ । जसले जे भने पनि आखिर म पनि एउटा नेता भइहालें...।’ 

भैरवका निबन्धको सान्दर्भिकता आज पनि छ, सायद दशकौं जीवन्त रहनेछ । उनका ‘टेक्स्ट’ मा समाज, राजनीति र मानवीय चरित्रको गम्भीर विश्लेषण छ । ‘काउकुती’, ‘जय भुँडी’, ‘गलबन्दी’, ‘इतिश्री’, ‘दश औतार’, ‘चुरोट : केही झिलिमिली संस्मरण’, ‘आलु’ नेपाली साहित्यकै स्थायी 

स्तम्भ हुन् । उनको लेखनशैली मिश्रित थियो— उखानटुक्का, थेगो, अनुप्रास...। त्यहाँ जीवन्त छ– शब्दको लय र ध्वनि संयोजन । जस्तो हेरौं— ‘एक दिन बिहान टौवामा कौवा नबास्तै गौवाको बासी पानीले पूजा–भुजा चामचुम पारेर निस्कें म महापुरुषको संगत गर्न ।’ तर, अब हास्यव्यंग्यबाट लय हरायो, हास्य हरायो, व्यंग्य हरायो । मात्र बाँकी छ–खिसीटिउरी, गिज्याइ...।

गाईजात्राको सांस्कृतिक लहरसँगै पत्रकारितामा व्यंग्य—चेतको आगमन भयो । पत्रिकाहरूले कार्टुन, प्यारोडी छाप्न थाले । पञ्चायतकालमा पनि कार्टुन पत्रकारिता सशक्त रह्यो । ‘राजनीतिक–सामाजिक बेथिति र विसंगतिप्रति हास्य रससहित उच्चतम कला चेतका माध्यमबाट गरिने पेचिलो प्रहारकै कारण आज नेपाली व्यंग्यचित्रकारिताको लोकप्रियता अकासिएको छ,’ रवि मिश्र भन्छन् । 

A humorous twist on a roasting

हाँसो र व्यंग्य जिन्दगीका दुई स्वर हुन् । दुईको सम्मिलनले उत्कृष्ट चेतना र कलासहितको रचना निर्माण हुन्छ । चेतना कलाको कसीमा इतिहासको ऐनाअघि उभिँदा हामी कस्तो देखिन्छौं ? ‘वर्तमानमा हाम्रा कमेडी हिंसाकै बाटोमा गयो र हामीले हिंसालाई सहजतापूर्वक स्विकारेका छौं । यसले कालान्तरमा समाजमा युद्ध र टकरावको भाव मात्रै सिर्जना गर्छ । आजको रोस्टिङ कमेडीले हामीलाई क्षयीकरणमा लगिरहेको छ । हिंसात्मक कमेडीमा हाँसिरहनुले हिंसामा रमाउने वातावरण सिर्जना गरिरहेको छ’, मनोज पण्डित भन्छन्, ‘अब कमेडीमा कलात्मकता छैन, ठाडा छन् ती । राजनीतिज्ञलाई अगाडि राखेर ठाडै उडाउनु कमेडी होइन, गालीगलौज हो । के हामीले भ्रष्टाचार, अराजकता, कुरीतिलाई मनोरञ्जनात्मक स्वीकारोक्तिको स्टाम्प त लगाइरहेका छैनौं ? गाईजात्राले कमेडियनको चुलोचौको त बलिरहेकै छ तर गाईजात्रा पर्वकै उपहास भइरहेको छ । कमेडीको आधारभूत दर्शनमै समस्या छ । कमेडीमा दृष्टिकोण हराएको छ, केवल प्रहसन बाँकी छ ।’ 

आजका कमेडीले जीवनलाई यथार्थबाट पर लगिदियो । कमेडी र थ्रिलरबीचको रेखा झिनो छ । किनभने जीवन नै एक थ्रिलर कथा हो । ‘तर, हाम्रा कमेडीमा थ्रिल छैन । जीवनका यथार्थमा थ्रिलर छ, त्यसकारण कमेडी चाहिएको हो, तर यहाँ त कमेडी नै थ्रिलर भइसक्यो । र, अब जीवनलाई नै कमेडी मान्नुको विकल्प रहेन, यो दुर्भाग्य हो,’ मनोज भन्छन् ।

A humorous twist on a roasting

एउटा प्रश्न कमेडियनलाई— कलात्मकविहीन कमेडीमार्फत गालीगलौजमा उत्रिनु कत्तिको ठीक हो ? ‘ठीक होइन,’ सांस्कृतिक संस्थानमा अहिले चलिरहेको गाईजात्रा– २०८२ का उद्घोषक तथा हास्य कलाकार राजा राजेन्द्र भन्छन्, ‘समयका स्वरूप फरक हुन्छन्, आवश्यकता पनि फरक, प्रस्तुति पनि फरक । अघि—अघि ठुल्ठूला ड्रामा हुन्थे । अहिले मान्छेहरू १५ सेकेन्डको भिडियोमा रुचि देखाउँछन् । समाज कत्तिको खुला वा बन्द छ भन्नेले प्रस्तुति कत्तिको कलात्मक छ भन्नेलाई फरक पार्छ । मह जोडीको पुराना प्रस्तुतिमा अभिव्यक्तिका लागि कलात्मकता हाबी छ । अब समाज खुला हुँदै गयो, हरेक कुरा सिधा भन्न थाल्यो र कलात्मकता पनि अत्यावश्यक भएन ।’

०००

खिसीटिउरी अर्थात् कमजोरलाई उडाएर मनोरञ्जन लिने प्रवृत्ति । आजको यो ‘खिसीटिउरी संस्कृति’ को जरा बुझ्न बितिगएका दिनहरूको झ्यालतिर सोझिनुपर्छ । 

नेपाल टेलिभिजनको हास्यव्यंग्य कार्यक्रम ‘मेरी बास्सै’ मा खड्काजी नामक पात्र देखाइन्थे । सीताराम कट्टेल ‘धुर्मुस’ थिए ती, जो तालु फाटेको भूमिकामा अर्कै लवज निकालेर संवादरत रहन्थे । ‘यो पात्रले सम्पूर्ण खड्का जाति र तालु फाटेका व्यक्तिमाथि व्यंग्य गर्‍यो’ ठानेर खड्का समुदायले व्यापक विरोध गरे । तर, उनले व्यंग्य गर्न छाडेनन् । 

नाजिर हुसेनले हालसालै भनेझैं टेलिभिजन र फिल्मजस्तो प्रभावशाली माध्यमबाट मधेशी समुदायको जीवनशैलीमाथि व्यंग्य गर्नेहरू प्रशस्तै छन् । प्रोफेसर अरुण गुप्तोको विचारमा यो प्रवृत्तिले समाजलाई नै ‘ह्युमिलेट’ गर्छ । ‘पपुलर मिडियामा मधेशी समुदायलाई प्रस्तुत गर्ने तरिका ‘ह्युमिलियट’ गर्ने खालको हुन्छ, तर निर्माताहरूले यो कुरा बिर्सिन्छन् । आफ्नै दृष्टिकोणबाट मात्रै समाजलाई हेर्ने नतिजा हो यो, जसले त्यस समुदायलाई गहिरो अपमानको अनुभूति गराउँछ ।’ फिल्म ‘रेशम फिलिली’ र ‘होस्टेल रिटर्न्स’ मा मधेशी पात्रलाई मुख्य पात्रको सहायक हास्य पात्र बनाइयो । ‘रेशम फिलिलीमा त झन् चरम सीमासम्मै पुगेर मधेशी पात्रलाई बाख्रासँगको यौन संकेत र अन्य अपमानजनक दृश्यहरूमा देखाइएको थियो,’ निर्देशक नवीन सुब्बाले भनेका थिए, ‘यो फिल्मले मधेशलाई हेयको दृष्टिले मात्रै चित्रित गर्‍यो ।’

नेवाः समुदायको बोली बिगारेर, ‘ट’ लाई ‘त’ र ‘त’ लाई ‘ट’ उच्चारण गर्ने हास्यव्यंग्य त दशकौंदेखि ‘मानक’ भइसक्यो । मानौं यो कुनै अचल विचारधारा हो । कमेडी फिल्म वा सिरियलमा गरिब पात्रलाई धूर्त, ठग, बदमासका भूमिकामा देखाउने प्रवृत्ति उहिल्यैको हो । यस्तो ‘असभ्य व्यंग्य’ ले कस्तो समाज निर्माण गर्छ ? अरूमाथि व्यंग्य गर्नेले किन अर्को समुदायको पीडा महसुस गर्दैन ?

‘जातीय विषय अत्यन्तै संवेदनशील हुन्छ । भाषा बिगारेर हाँसो बनाउनु भनेको भाषाभित्रको आत्मामाथि प्रहार गर्नु हो,’ हरिवंश आचार्य भन्छन्, ‘अरूको भाषा, संस्कृति र पहिचानलाई होच्याउने कृत्य हास्यव्यंग्य होइन, असंवेदनशीलता हो ।’ 

A humorous twist on a roasting

फिल्म, सिरियल, प्रहसनमा होचा मानिसलाई हास्य पात्र बनाउनु, प्रस्ट खस नेपाली नबोल्ने नेवाः, मगर, तामाङ, मधेशी वा शेर्पालाई उपहासको विषय बनाउनु, अपांगता भएकामाथि व्यंग्य गर्नु— यी सबै कमजोर र सीमान्तकृतमाथिको लज्जास्पद प्रहार हो । ‘मनोरञ्जनका लागि मात्रै उडाउनु हुँदैन । तर भाषा, संस्कृति र संवेदनशीलता बुझेर प्रस्तुति गर्दा समस्या हुँदैन’, मनोज गजुरेल भन्छन् । 

हास्यव्यंग्य तब मात्रै अर्थपूर्ण हुन्छ, जब यसले शक्तिशालीमाथि प्रश्न गर्छ, कमजोरलाई होइन । व्यंग्य लेखक, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको विचार छ– जातजाति, समुदाय, समुदायको चरित्र, भाषा, थेगो, गरिबी, लवज, भूगोल, भेषभूषा, शारीरिक अवस्थामाथि व्यंग्य गर्नुले सामाजिक असन्तुलनलाई बढावा दिन्छ । ‘व्यंग्य कुनै अराजक चिन्तन होइन, व्यंग्यले जहिल्यै सन्तुलित आलोचनात्मक चेत बोकेको हुन्छ । त्यो चेत सकारात्मक हुन्छ । त्यसले रचनात्मक भावभूमि बोकेको हुन्छ । श्रीमती, नोकर, गरिबमाथि व्यंग्य गर्थे पहिलेका व्यंग्यकार’, विमल निभा भन्छन्, ‘त्यो विकृत चिन्तन हो, त्यो विकृत मस्तिष्कको पहिचान हो । कमजोरलाई हेप्नुले सामाजिक असन्तुलनलाई बढावा दिन्छ ।’ शताब्दीऔं पुरानो समृद्ध परम्परामा हिँडेको नेपाली हास्यव्यंग्यमा न व्यंग्यकारको साधना छ, न तिनले व्यंग्यलाई ‘मन्दिर’ सोच्छन् । अति 

कमसल व्यंग्यले सुन्दर व्यंग्यलाई छोपेका पनि होलान्, तर व्यंग्यमा खट्किएकै छ— बौद्धिकता र चिन्तन । व्यंग्य ‘रोस्टिङ’ मात्रै होइन, जीवन दृष्टिकोण र विचार पनि हो । 

अब कमसल विषयवस्तु, प्रस्तुति, भाषा र शिल्पको अति निम्छरो खुराकमा कोही किन रमाउने ? व्यक्ति वा समुदायको पहिचानमाथिको व्यंग्य कमेडियनको ‘पेसा’ बन्नु डरलाग्दो सामाजिक काँडा हो । के हामीकहाँ व्यंग्य कन्टेन्ट सकिएकै हो ?

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully