गाईजात्राका नाममा गाईजात्रा

अपवादबाहेकका गाईजात्रा कार्यक्रम सबैको केन्द्रमा मिमिक्री मात्रै भेटिन्छ, लाग्छ– हास्य कलाकारलाई पनि दर्शक हासाउन शीर्ष नेताको अनुहारकै सहारा चाहिएको छ, अहिलेका व्यंग्यले न नयाँ चरित्र उभ्याएका छन्, न नयाँ विषयवस्तु नै ।

श्रावण ३१, २०८२

रीना मोक्तान

Gaijatra in the name of Gaijatra

What you should know

काठमाडौँ — हास्यव्यंग्य कस्तो हुनुपर्छ ? व्यंग्य–लेखनका शिखर भैरव अर्यालले भनेका छन्, ‘हास्यव्यंग्यलाई प्रहसनको हलुका स्तरबाट उठाई जीवन र जगत्का गम्भीर, गहन अनुभूति पनि बोक्न र पोस्न सक्ने गरी उठाउनु आजका हास्य–व्यंग्यकारको ध्येय हुनुपर्छ ।’ तर, नेपाली हास्यव्यंग्य हेर्दा एक गम्भीर प्रश्न उठ्छ— हामी किन अझै समाजको पिँधमा रहेकालाई नै खिसीटिउरी गर्ने परम्परामा अड्किएका छौं ? टेलिभिजनका सिरियल, सिनेमा, गाईजात्रे प्रहसन र कमेडी–शो हेर्नुस्— सीमान्तकृत समुदाय, भाषिक उच्चारण वा जीवनशैलीलाई आधार बनाएर गरिने ‘जोक्स’ नै मूलधारमा छन् । व्यंग्यको असली उद्देश्य सत्तासीन र शक्तिशालीमाथि प्रश्न गर्नु हो, कमजोर र वञ्चितिलाई होच्याउनु होइन । आजको हास्यव्यंग्यको मार्ग के हुनुपर्छ ?

०००

मनोज गजुरेल (बिचौलिया), मेक्सम गौडेल (रवि लामिछाने) अनि सुमन कार्की उही दुर्गा प्रसाईंको भेषमा, आशिष खनाल बालेनकै स्वरूपमा ! नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘८२ सालको गाईजात्रा’ मा सुबोध गौतम केपी शर्मा ओली बन्दा सन्देश सुवेदी पुष्पकमल दाहाल ‘प्रचण्ड’का रूपमा देखिए । 

सांस्कृतिक संस्थानद्वारा राष्ट्रिय नाचघरमा आयोजित ‘गाईजात्रा महोत्सव २०८२’ होस् या डिजिटल माध्यमद्वारा प्रस्तुत गरिएका गाईजात्रा हास्यव्यंग्य, जता हेर्‍यो त्यतै मिमिक्री मात्रै ! उही नेता, उस्तै अवतार ! त्यही भ्रष्टाचार, त्यही सुन काण्ड ! बालेन शाहको त्यही चस्मा, हँसाउनु मात्रै मुख्य हुँदै छ खासमा ! 

धन्न, यो पालि मनोज गजुरेल कुनै चर्चित अनुहार नक्कल गर्दै मञ्च उक्लेनन् । उक्लेका भए त २०८२ को गाईजात्रा मिमिक्रीमै सीमित हुन्थ्यो । अपवादबाहेकका गाईजात्रा कार्यक्रम हेर्ने हो भने सबैको केन्द्रमा मिमिक्री मात्रै भेटिन्छ । जितु नेपालको युट्युब च्यानलबाट सार्वजनिक ‘मुन्द्रेको हास्यव्यंग्य गाईजात्रा २०८२’ लाई नै हेरौं । करिब १ घण्टाको यो गाईजात्रामा जितुले शेरबहादुर देउवाको नक्कल गर्दै व्यंग्य पस्केका छन् । 

लाग्छ, हास्य कलाकारलाई पनि दर्शक हँसाउन शीर्ष नेताको अनुहारकै सहारा चाहिएको छ । अहिलेका व्यंग्यले न नयाँ चरित्र उभ्याएका छन्, न नयाँ विषयवस्तु नै । हँसाउने शैली पनि एउटै । 

अहिले व्यंग्य भन्नासाथ मिमिक्री बुझ्ने जमात बढेको बताउँछन्, हास्य कलाकार हरिवंश आचार्य । उनलाई लाग्छ, व्यंग्यबाट विविधता हराउँदै गएको छ । ‘अहिले हास्यव्यंग्य नै मिमिक्रीतर्फ मात्रै ढल्कियो । केपी ओली, शेरबहादुर, प्रचण्ड बन्ने सबै । त्यसले गर्दा नयाँपन देखिएन व्यंग्यमा, विविधता देखिएन,’ हरिवंश भन्छन् । 

‘०८२ सालको गाईजात्रा’ मा प्रस्तुत ‘बेडरुममा बिचौलिया’को उदाहरण हेरौं । गजुरेलको जम्बो टोलीले यो कार्यक्रममार्फत शीर्ष नेतादेखि भ्रष्टतन्त्रसम्मलाई व्यंग्य गरेको छ । बिचौलियाले कोखमा राखेर कसरी नेतालाई आफ्नो इसारामा हल्लाउँदै छ भन्ने पनि व्यंग्य गरिएको छ । त्यसमा कुम हल्लाउँदै प्रचण्ड मञ्च प्रवेश गर्छन् । उनको प्रवेशसँगै भिजिट भिसाको विषय निक्लिन्छ । अस्थिरता, सुन काण्ड, रोलेक्स घडीसम्मका विषय उठ्छन् । त्यसपछि ओलीको बोली बोकेर अर्का कलाकार मञ्चमा देखा पर्छन् । 

Gaijatra in the name of Gaijatra

‘घूस खान्नँ, खान पनि दिन्न भन्नुभएको होइन ?’ भन्ने बिचौलियाको प्रश्नमा ओली बनेका ती कलाकार भन्छन्, ‘खुल्लम खुल्ला पो गर्न दिन्नँ भनेको । लुकेर गर्न दिन्नँ भनेको छु र ?’ शिव चाम्लिङदेखि विद्धाश्रम अनि विद्यासम्मका विषय यो पात्रसँग जोडिन आइपुग्छन् । त्यसपछि र्‍याप गाउँदै अर्का कलाकार मञ्च उक्लन्छ । ‘आज एक मिनेटमा सक्दिन्छु म, के बुझ्नुभो मिटिङ’ भन्दै बालेनको स्वरूप धारण गरेका ती पात्र काठमाडौंका मेयर र मिटिङका विषयमाथि व्यंग्य पस्कन्छन् । महानगरपालिकामा कर्मचारी आवश्यक भएको विषयदेखि फेसबुक स्टाटससम्मका प्रसंग पस्कँदै उनी बालेन शैलीको नक्कल गर्दै सबैलाई थर्काउँछन् । 

खासमा यी कलाकारले मञ्चमा प्रस्तुत गरेका पात्र र विषयवस्तुलाई वास्तविक पात्रहरूले वर्षभरि नेपालीसामु मञ्चन गरिरहेकै हुन् । अब त्यही विषय र उही पात्र देखाइरहँदा व्यंग्य कति पट्यारलाग्दो बन्दो हो ?

हास्य कलाकार प्रभात लामा नेतृत्वले नै विसंगति बढाइरहेको हुँदा मञ्चमा यस किसिमको चरित्र दोहोरिने गरेको बताउँछन् । ‘हाम्रो राजनीतिक परिवेश उस्तै छ । अझै पनि त्यही नेताहरूले गर्दा जनताले दुःख पाएका छन् । त्यसैले त्यही विषयमाथि घोचपेच गर्दा उस्ताउस्तै सुनिएर हाँसो कम भएको हो कि !’ लामा भन्छन् । 

अहिलेका हास्य कलाकारले पुष्पकमल दाहाल, केपी शर्मा ओली र शेरबहादुर देउवाभन्दा आफ्नो छुट्टै ब्रान्ड निर्माण गर्नुपर्ने धारणा राख्छन्, हरिवंश । उनी थप्छन्, ‘उनीहरू अरूका ब्रान्डले भन्दा पनि आफ्नै ब्रान्डले चिनिनुपर्छ ।’ 

हरिवंशले हरिबहादुर, वनपालेलगायतका थुप्रै चरित्रलाई व्यंग्यमार्फत जीवित बनाइदिएका थिए । उनले ती चरित्रमार्फत फरक–फरक विषय पस्के । तर अहिलेका कलाकारले यस किसिमको बलियो चरित्र निर्माण गरेको देखिँदैन । मनोज गजुरेल आफैं थुप्रै पात्रको मिमिक्रीले चिनिन्छन् । तर उनी आफैंले निर्माण गरेको चरित्र ब्रान्ड बन्न सकेको छैन । 

Gaijatra in the name of Gaijatra

उनी आफैं भने व्यंग्यको ब्रान्ड बनेका छन् । युवा पुस्तालाई बटुलेर ‘गाईजात्रा कार्यक्रम’ लाई निरन्तरता दिइरहेका छन् । तर अहिलेको कार्यक्रम र विषयवस्तुले पुरानो पुस्ताको समयमा झैं दर्शकलाई आकर्षित गरेको देखिँदैन । 

हरिवंशको समयमा दर्शक भदौ महिनालाई खुबै पर्खन्थे । कारण यही महिनामा अक्सर ‘गाईजात्रा कार्यक्रम’ आयोजना हुन्थ्यो । दर्शक झमझम पानीमा रुझेरै टिकट किन्न बिहान ४ बजेदेखि लाइन बसेका हुन्थे । ‘दर्शकले हामीलाई टिकट माग्दासमेत मिलाउन सक्दैन थियौं । त्यो बेला एकदमै क्रेज थियो,’ हरिवंश भन्छन्, ‘सायद त्यतिबेला व्यंग्यको कार्यक्रम खासै हुन्थेन । त्यसैले गाईजात्रा ठूलो चाडजस्तै भएको थियो ।’ अहिले त निम्तो दिएर बोलाउँदासमेत दर्शक व्यंग्य हेर्न पुगिरहेका हुँदैनन् । 

पञ्चायतकालमा ‘गाईजात्रा कार्यक्रम’ हेर्ने दर्शकमा जुन विशेष रुचि थियो, त्यो सेलाउँदै आएको हरिवंशको विश्लेषण छ । सत्यमोहन जोशी, सूर्यविक्रम ज्ञवालीले प्रज्ञा प्रतिष्ठानबाट ‘गाईजात्रा कार्यक्रम’ सुरु गर्दाका समयमा आउने दर्शकको घुइँचो उनले अझै बिर्सेका छैनन् । त्यति बेला वर्षमा एक पटक हास्यव्यंग्यको माहोल बन्थ्यो । हरिवंश आफैं वि.सं. २०३३ मा कार्यक्रम बनाएर प्रज्ञामा पुगेका थिए । त्यतिबेला पहिले नै व्यंग्यको स्क्रिप्ट लेखेर दिनुपर्थ्यो । स्क्रिप्ट पास भएपछि मात्रै कार्यक्रम गर्न पाइन्थ्यो । सत्यमोहन जोशी, माधव घिमिरे, विजयबहादुर मल्ल लगायतका सबै प्राज्ञका अघि बसेर व्यंग्य देखाउनुपर्थ्यो । ‘भन्न नहुने कुरा भन्ला कि’ भनेर चनाखो भई बस्थे प्राज्ञहरू । उनीहरूले केही छाँटकाट गर्न सल्लाह दिएपछि मात्रै प्रस्तुतिका लागि निम्तो दिइन्थ्यो । 

हरिवंश ‘सेन्सर’ हुने त्यस समयकै व्यंग्यमा बल भेट्छन् । त्यो बेला अञ्चलाधीश कार्यालयमा समेत स्क्रिप्ट पेस गर्नुपर्थ्यो । दरबार र व्यवस्थालाई व्यंग्य होला भनेर शब्द–शब्द हेरिन्थ्यो । तर सेन्सरसिपबाट बच्नका लागि सुरुमा साधारण विषय समेटिएको स्क्रिप्ट पेस गरिन्थ्यो । ‘सेन्सर’ पासपछि राजनीतिक सामग्रीयुक्त व्यंग्य पस्कन्थे । 

हरिवंशले यस्तै एउटा प्रसंग सुनाए । महले ‘प्रशासन नारायण’ र ‘पञ्चनारायण’ चरित्र उभ्याउँदै पञ्चायत व्यवस्थालाई व्यंग्य गर्ने सोचसहित कार्यक्रम बनाए । ‘पञ्चनारायणजी, तपाईं कति सालमा जन्मिनुभयो ?’ भन्ने संवाद बोल्नुपर्ने थियो । लेखिएअनुसार पञ्चनारायणले २०१७ भन्नुपर्ने हो तर सेन्सरले २०१७ प्रयोग गर्नै दिएन । आदेश उल्लंघन गरे कार्यक्रम गर्नै नदिने चेतावनी पनि थियो । पोखरामा गर्ने भनिएको कार्यक्रमका लागि सबै टिकट बिक्री भइसकेको थियो । त्यस्तो अवस्थामा गर्ने के ? पञ्चनारायण २०१६ र २०१८ सालको बीचमा जन्मेको हो भन्ने संवाद उनीहरूले राखे । घुमाएर लेख्दा व्यंग्य कलात्मक बन्यो । 

Gaijatra in the name of Gaijatra

सेन्सरको समयमा व्यंग्य कलात्मक भए पनि वाक् स्वतन्त्रता पाएको अहिलेको हास्यव्यंग्यमा कला हराउँदै गएको हरिवंश सुनाउँछन् । ‘अहिले त सिधै कसैको नाम लिएर व्यंग्य गरिन्छ । खासमा सिधै नाम लिनु त गाली गरेजस्तो सुनिन्छ । त्यो त आक्रोश हो । हास्यव्यंग्य पत्रकारिता होइन, अहिले त हास्यव्यंग्य पत्रकारिताजस्तो भइरहेको छ । पत्रपत्रिकामा पो सिधै लेख्न सकिन्छ,’ उनी भन्छन्, ‘हास्यव्यंग्यले त शब्दलाई छलाई–छलाई व्यंग्य गर्न सक्नुपर्छ । सिधै सबैको नामै लिएर व्यंग्य गर्नु सजिलो छ, तर त्यसमा कला नै हुँदैन ।’ 

हरिवंशको कुरामा सहमत हुँदै कलाकार यमन श्रेष्ठ आफ्ना बुवाको समयकै व्यंग्यमा कलाको पक्ष धेरै रहेको बताउँछन् । ‘हाम्रा बुवाहरूका पालमा धेरै जोखिम थियो । यस्तो कुरा बोल्न पाइँदैन, समात्छ, थुन्छ भन्ने बेला मिलाएर बोल्नुपर्ने हुन्छ । त्यसैले उहाँहरू एकदमै कलात्मक हिसाबले व्यंग्य गर्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त जे भने पनि व्यंग्य हुने भएको छ । सिधै तिमी भ्रष्टाचार हौ भन्न पाइयो । त्यतिबेला त यही कुरालाई मिलाएर भन्नुपर्थ्यो ।’ 

अहिले व्यंग्यमै पनि विभिन्न विधा अभ्यासमा आउन थालेको यमन सुनाउँछन् । ‘हाम्रो बुवाहरू त जसलाई व्यंग्य गरेको हो, त्यसको पनि चित्त नदुखोस् भनेर व्यंग्य गर्नुहुन्थ्यो,’ उनी भन्छन् । यमनले भनेझैं अहिले त दर्शकदीर्घामा कुनै राजनीतिज्ञ छन् भने उनकै नाम लिएरै व्यंग्य गरिरहेका हुन्छन् । मुखमा हाँसो भए पनि व्यंग्यले दुखाउँदा उनीहरूको अनुहारको रङ कसरी फेरिन्छ भन्ने हेर्न युट्युबमा भएका पुराना ‘गाईजात्रा कार्यक्रम’ हेर्दा हुन्छ । 

‘सेन्सर’ कै समयमा व्यंग्यात्मक विषयवस्तु बलिया हुन्थे भन्ने अर्को उदाहरण हो महकै यमलोक । यसमा एक नेपाली क्रान्तिकारी मरेर यमलोक पुग्छ । यमलोकको गेटमा नेपाली ‘गेटकिपर’ बसेको हुन्छ । त्यही क्रममा न्याय यमलोक पुग्छ । विकास पनि मरेर यमलोक पुगेको हुन्छ । अनि उनीहरूबीच संवाद हुन्छ, ‘नेपालमा विकास कहाँ गयो भनेको त मरेर यमलोक आइसकेको रहेछ ।’ बीपीले राजनीतिमा केही गर्न सकेन भनेर महले ‘मोडेल डेमोक्रेसी’ लाई पनि यमलोक पुर्‍याउँदै व्यंग्य गरेका थिए । 

त्यति बेला यमलोक हेर्न बीपी कोइराला पनि प्रज्ञामा उपस्थित थिए । उनलाई पूर्वप्रधानमन्त्रीभन्दा साहित्यकारका हिसाबले निम्तो गरिएको थियो । नातिकाजी, बच्चु कैलाश, शिव शंकरको लहरमा बीपीलाई राखिएको थियो । अरू पूर्वप्रधानमन्त्री राजापछाडिको पंक्तिमा थिए । प्रस्तुतिपछि बीपीले ‘यिनीहरूको व्यंग्य त गजब्बकै रहेछ’ भनेर प्रशंसा गरेका थिए । अरूले बोल्न नसक्ने विषयलाई व्यंग्यमार्फत घुमाएर राख्दा गणेशमान सिंहसमेत ‘यिनीहरू प्रजातान्त्रिक रहेछन्’ भन्थे । त्यतिबेला महलाई व्यवस्थाले विरोधी देख्यो, यता राजनेताले आफन्ती ।

अहिलेका कलाकार न व्यवस्थाको चर्को विरोधी देखिन्छन्, न व्यंग्यको तिखो वाण नै प्रहार गर्न सकेका छन् । खासमा उनीहरूले हँसाउने विषयवस्तु त पाएका छन्, तर व्यंग्यले पार्न सक्ने प्रभाव उनीहरूले नाप्नै सकेका छैनन् । खासमा बालेनको नक्कल गरिरहँदा उनले दोहोर्‍याइरहेको प्रवृत्तिलाई मात्रै पस्कने होइन, त्यही प्रस्तुतिमार्फत उनलाई जिम्मेवार बनाउने क्षमता पनि हुनुपर्ने हो । विषयवस्तुलाई छुने मात्रै होइन, गहिराइमा पुगेर राज्य सत्तासँग प्रश्न गर्न सक्ने क्षमता पनि व्यंग्यमा हुनुपर्ने हो । 

अहिलेका व्यंग्य सतही विषयवस्तुमै रुमलिएका देखिन्छ । उदाहरणका लागि ०८१ को गाईजात्रा कार्यक्रमतर्फ फर्कौं । अस्थिर राजनीति, सहकारी मुद्दा, वैदेशिक रोजगारीदेखि सुन काण्ड । गत वर्ष पनि यस्तै मुद्दामाथि दर्शक हँसाउने प्रयास गरिएको थियो । मुद्दाको गहिराइ खोतल्दै चोटिलो प्रहार गर्न नसक्नु अहिलेको व्यंग्यको कमजोरी हो । त्यसमाथि हँसाउने भन्नेबित्तिकै लिंग, जात, वर्णप्रति संवेदनशील भइदिँदैनन् । 

हास्य कलाकार शैलेन्द्र सिंखडा स्त्रीद्वेषी प्रस्तुति दिइरहेका हुन्छन् । क्रिकेटर सन्दीप लामिछाने र गौशाला–२६ को मुद्दामाथि उनले गत वर्ष दिएको प्रस्तुति निकै असंवेदनशील थियो । नमिता सुनितादेखि निर्मला हत्याकाण्डमा पीडितको नाम बाहिरिएको विषय उठाउँदै हास्य कलाकार सिंखडाले गौशाला–२६ को परिचय खुलाउनुपर्नेजस्ता संकुचित विचार प्रज्ञा भवनमा पस्किएका थिए । ‘त्रेतायुगमा सीताजी अपहरित हुँदा नाम गोप्य राख्नु परेन । द्वापरमा द्रौपदीको चीरहरण गर्दा नाम गोप्य राख्नुपरेन । कलियुगमा नमिता, सुमिता र निर्मला पन्तहरू हत्या गरेर बलात्कृत भएर नाम गोप्य राखिएन । उनको तस्बिरसमेत प्रचार गरियो,’ उनले स्ट्यान्डअप कमेडी पस्कँदै भनेका थिए, ‘अहिले आएर कहीं नभएको जात्रा हाँडीगाउँमा भो । यो गौशाला–२६ भन्ने प्राणी कुन जनावर हो ?’ मुद्दाको संवेदनशीलता नबुझी दर्शक हँसाउनकै लागि उनले यस्तो प्रस्तुति दिएका थिए । 

Gaijatra in the name of Gaijatra

त्यही मञ्चमा मनोज गजुरेलले भने भुइँमान्छेको पीडा पस्केका थिए । मनोजले त्यति बेला सहकारीले ठगिएका पात्र (मनकुमार) बन्दै शरणार्थीदेखि सहकारी काण्डसम्ममा व्यंग्य गरेका थिए । मनकुमार देशका लुटेरा र जालीहरूले ठगेर मानसिक सन्तुलन गुमाएका पात्र हुन्, त्यसैले उनी बारम्बार दोहोर्‍याइरहन्छन्, ‘म बौलाहा होइन ।’ एक कट्ठा जमिनमा खुसी उब्जाउँदै गरेका मनकुमारका छोराले बालकुमारी घटनामा ज्यान गुमाए । कोरिया जाने छोराको सपना त्यहीं हत्या भयो । मनकुमार दर्शकदीर्घामा बसेका मन्त्रीलाई भन्दै थिए, ‘ओ मन्त्री हाँस, मज्जाले हाँस । तेरा लागि एउटा मान्छे न मर्‍यो । मेरा लागि त सिंगो संसार मर्‍यो । हाँस, लाज पचाएर हाँस ।’ 

यो वर्ष कलाकार कमल गाउँलेले ‘श्रीपेच’ भिरेर घोडा सवारीमार्फत पस्किएको ‘भेडातन्त्र’ मा भने भुइँमान्छेको यस्तै पीडादेखि सत्ता र शक्तिले पारेको प्रभाव भेटिन्छ । ‘गाईजात्रा महोत्सव २०८२’ मा भरतमणि पौडेलले धारण गरेको चरित्र होस् या हिमेश पन्तले बदलेको अवतार, ‘८२ सालको गाईजात्रा’ मा प्रस्तुत गरिएका विषयवस्तु उठानका हिसाबले आवश्यक थिए, तर त्यसले समाजमा जुन बहस सिर्जना गर्न सक्थ्यो, त्यस हिसाबले कमसल छन् । 

संख्यामै ध्यान दिँदा गुणस्तर घट्दै गएर अहिलेको व्यंग्यबाट हाँसो हराएको हरिवंश सुनाउँछन् । ‘पहिला त एक वर्षमा २ वटा कार्यक्रम बनाउँथ्यौं । अहिले हप्तैपिच्छे नयाँ–नयाँ कन्टेन्ट बनाउनुपर्‍यो । संख्यातिर ध्यान दिँदा गुणस्तर हरायो । खासमा सिर्जना त करले गर्दा हुँदैन । त्यसले गुणस्तर घटायोजस्तो लाग्छ,’ उनी भन्छन्, ‘अहिले व्यंग्यचाहिँ हुन्छ तर हाँसो हराएको छ । हास्यव्यंग्य हेर्न जाँदा कहाँनिर हाँस्ने भन्ने हुन्छ । दर्शक त भित्रैदेखि हाँस्नुपर्ने हो ।’ 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully