सत्तालाई झस्काउने कार्टुन

निरंकुश राणा शासन युगदेखि अनेक ‘तन्त्र’ हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यो युगमा आइपुग्दा पनि बेलाबेलामा नेपाली कार्टुन क्षेत्रका लागि कतै स्वतन्त्रताचाहिँ आउनै पो बाँकी हो कि ? भन्ने प्रश्न उठिरहन्छ  ।

श्रावण ३१, २०८२

अबिन श्रेष्ठ

A cartoon mocking the authorities

What you should know

काठमाडौँ — हास्यव्यंग्य कस्तो हुनुपर्छ ? व्यंग्य–लेखनका शिखर भैरव अर्यालले भनेका छन्, ‘हास्यव्यंग्यलाई प्रहसनको हलुका स्तरबाट उठाई जीवन र जगत्का गम्भीर, गहन अनुभूति पनि बोक्न र पोस्न सक्ने गरी उठाउनु आजका हास्य–व्यंग्यकारको ध्येय हुनुपर्छ ।’ तर, नेपाली हास्यव्यंग्य हेर्दा एक गम्भीर प्रश्न उठ्छ— हामी किन अझै समाजको पिँधमा रहेकालाई नै खिसीटिउरी गर्ने परम्परामा अड्किएका छौं ? टेलिभिजनका सिरियल, सिनेमा, गाईजात्रे प्रहसन र कमेडी–शो हेर्नुस्— सीमान्तकृत समुदाय, भाषिक उच्चारण वा जीवनशैलीलाई आधार बनाएर गरिने ‘जोक्स’ नै मूलधारमा छन् । व्यंग्यको असली उद्देश्य सत्तासीन र शक्तिशालीमाथि प्रश्न गर्नु हो, कमजोर र वञ्चितिलाई होच्याउनु होइन । आजको हास्यव्यंग्यको मार्ग के हुनुपर्छ ?

हास्य चेत र व्यंग्यभाव बोक्दै आमनागरिकको पीडा पनि पोख्ने भएकाले कार्टुन सहजै ग्रहणीय हुन जान्छ । कार्टुनले सधैं व्यंग्य र विरोधको भाषामात्र बोलिरहेको जस्तो देखिए तापनि मूलभूत रूपमा यसले सुधारको अपेक्षा पनि राखेको हुन्छ । त्यसकारण कार्टुनले समाज सुधार र राष्ट्र निर्माणमा अप्रत्यक्ष रूपमा भूमिका पनि खेलेको हुन्छ । कार्टुनले रंग र रेखाको माध्यमबाट कलात्मक तरिकाले विसंगतिविरुद्ध आवाज उठाउने भएकाले आमनागरिकसामु यो आकर्षक र प्रभावकारी विधाका रूपमा रहेको पाइन्छ ।

१९९७ सालतिर कार्टुन लेखेबापत सर्वस्वहरणसहित कारावासको सजाय पाएका चन्द्रमान सिंह मास्केको त्यो समयदेखि अहिलेको यो समयसम्म आइपुग्दा नेपाली कार्टुन क्षेत्रले अनेकौं आरोह–अवरोहहरू पार गरिसकेको छ । निरंकुश राणाशासनको त्यो युगदेखि अनेक ‘तन्त्र’ हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यो युगमा आइपुग्दा पनि बेलाबेलामा नेपाली कार्टुन क्षेत्रका लागि कतै स्वतन्त्रता चाहिँ आउनै पो बाँकी हो कि ? भन्ने प्रश्न उठिरहन्छ ।

कार्टुनलाई अभिव्यक्तिको बलियो माध्यम मानिन्छ । त्यसकारण अभिव्यक्ति स्वतन्त्रता रहेन भने कार्टुनले सशक्त उपस्थिति जनाउन सक्दैन । राज्यले अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउने गरी कानुन ल्याएर वा ल्याउने कोसिस गरेर बेलाबेलामा कार्टुनिस्टहरूमाथि मनोवैज्ञानिक त्रास उत्पन्न गराउने क्रम अहिले पनि जारी नै छ । यसले गर्दा नेपाली कार्टुनको गुणस्तर खस्किँदै जाने निश्चित छ । विश्व कार्टुनको तुलनामा अलि पछाडि नै रहेको नेपाली कार्टुनको विकास क्रममा झन् राज्यका यस्ता कदमहरूले गम्भीर अवरोध खडा हुन जान्छ । साथै, विश्व कार्टुनकै तुलनामा नेपाली कार्टुन धेरै नै शालीन र सभ्य देखिन्छन् । यो कुरा सामान्य कार्टुन पारखीले पनि सजिलै महसुस गर्न सक्छ । यति भइकन पनि बेलाबेलामा नेपाली कार्टुनमाथि हुने गरेको नियन्त्रणको प्रयासलाई स्वाभाविक मान्न सकिँदैन । 

A cartoon mocking the authorities

२०७८ सालतिर तत्कालीन केपी ओलीले समेत सार्वजनिक रूपमै यस पंक्तिकारद्वारा सिर्जित कार्टुनलाई गलत रूपमा अर्थ्याएर आपत्ति प्रकट गरेका थिए । त्यसपछि मैले धेरै ठाउँमा यो विषयमा अनेक प्रश्नको सामना गर्नुपर्‍यो र अहिलेसम्म पनि बेलाबेलामा त्यो कार्टुनबारे स्पष्टोक्ति दिई नै रहनुपरेको छ । राज्यशक्तिकै सर्वोच्च ओहदामा बसेका प्रधानमन्त्रीजस्तो व्यक्तिबाट हुने यस्ता टिप्पणीलाई हामीले त सामना गरिएला, तर नेपाली कार्टुन क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेका नयाँ नयाँ प्रतिभाहरूलाई चाहिँ नराम्रोसँग मानसिक त्रासको सिर्जना गरिदिन्छ । ‘करिअर’ को सुरुआती चरणमै उनीहरूलाई निरुत्साहित गर्छ । कतिपयलाई यस्तो स्थिति हेर्दा सामान्य लाग्ला, तर यस्ता कार्यहरूले नेपाली कार्टुनको विकास र विस्तारमा धेरै नै नकारात्मक असर पुर्‍याउँछ । यस्तो भन्दैमा सबै नकारात्मकता मात्रै छ भन्ने पनि होइन, केही बहालवाला मन्त्री र केही पूर्वमन्त्रीहरूले आफ्नो कार्टुन बनाइदिन अनुरोध गर्नुभएका अनुभवहरू पनि मसँग छन् । ती क्षणहरू सम्झँदा हाम्रा नेताहरूमा कार्टुनलाई हेर्ने दृष्टिकोणमा परिपक्वता आएको महसुस हुन्छ । यस्ता प्रसंगहरूले कार्टुनिस्टहरूलाई साँच्चिकै सकारात्मक ऊर्जा पनि दिन्छ ।

कार्टुन आफैंमा निकै संवेदनशील विधा हो । कतिपय मुलुकमा कार्टुनकै कारण अनेकौं दंगा भएको र कार्टुनिस्टहरूको हत्यासम्म भएको खबर बेलाबेलामा सुनिन्छ । कार्टुनिस्टले कार्टुन सिर्जना गर्ने बेलामा यसका संवेदनशीलतामाथि ध्यान पुर्‍याउन सकिएन भने यसले समाजमै नकारात्मक असर पुर्‍याउने सम्भावना रहन्छ । पछिल्लो समयका नेपाली कार्टुनहरूको मूल्यांकन गर्ने हो भने नेपाली कार्टुन यो सन्दर्भमा सजग र सन्तुलित रूपमा आइरहेको हामी पाउँछौं । तर पनि कहिलेकाहीं अनावश्यक रूपमै विवाद खडा गरी कार्टुनिस्टलाई दबाब दिने गरेको पाइन्छ । विशेषगरी यस्ता गतिविधि सामाजिक सञ्जालहरूमा अक्सर देखिने गरेको छ । पछिल्लो समयमा सामाजिक सञ्जालहरू जीवनशैली नै बनिसकेका छन् । त्यसकारण सामाजिक सञ्जालमा हुने गतिविधिहरूले पनि हाम्रो समाजलाई कतातिर उन्मुख गराउने हो भन्ने दिशानिर्देश गरिरहेको हुन्छ । अहिले केही व्यक्ति विशेष या केही पार्टी विशेषका बारेमा बनाएका कार्टुन सामाजिक सञ्जालमा राख्नासाथ उग्र प्रतिक्रियाको सामना गर्नुपर्ने अवस्था छ । उग्रता प्रदर्शन गर्दै गरिने यस्ता गतिविधिले पनि कार्टुनिस्टको सिर्जनशीलतामा नकारात्मक असर पुर्‍याइरहेको हुन्छ । यस्ता गतिविधिहरूसँग जोगिँदै सिर्जनामा लागिरहनु पनि कार्टुनिस्टहरूका लागि एक प्रकारको चुनौतीपूर्ण कार्य नै हो ।

A cartoon mocking the authorities

यस्ता अनेक अप्ठ्याराहरूको सामना गरी कोही किन कार्टुनिस्ट बन्न खोज्छ त ? मेरो विचारमा त्यसको एकमात्र उत्तर हुन सक्छ ‘आत्मसन्तुष्टि’ । हरेक सजग नागरिकलाई मुलुकमा विद्यमान विसंगतिहरू देखेर, भोगेर, सहेर पीडा त हुन्छ नै । कार्टुनिस्टले चाहिँ कार्टुनमार्फत त्यो पीडा पोख्न पाउँछ र एक प्रकारको आत्मसन्तुष्टि पाउँछ । अब अर्को प्रश्न उठ्छ, के आत्मसन्तुष्टिले मात्र जीवन गुजारा चल्छ त वर्तमान समयमा, विश्वमा सूचना प्रविधिको विकास तीव्र गतिमा अगाडि बढिरहेको छ । सञ्चार क्षेत्रमा पनि यसको उल्लेख्य प्रभाव देखा परिरहेको छ । पछिल्लो पुस्ताले प्रिन्ट मिडियाभन्दा अनलाइन मिडियामा रुचि देखाउन थालेका छन् । प्रिन्ट मिडियाको बजार घट्दै गइरहेको हामी महसुस पनि गर्न सक्छौं ।

प्रिन्ट मिडिया बन्द हुने र अनलाइन मिडिया दिनानुदिन नयाँ–नयाँ खुल्ने क्रम सुरु हुन थालेको छ । अहिले दर्जनौं अनलाइन पत्रिकाहरू प्रभावकारी रूपमै सञ्चालन भइरहेका छन् । तीमध्ये धेरैभन्दा धेरै अनलाइनहरूमा कार्टुनको स्थान शून्यप्रायः छन् । मलाई त यस्तोसम्म पनि लाग्छ कि प्रिन्ट मिडियाका कार्टुनिस्टहरू सामाजिक सञ्जालमा सक्रिय नभइदिएको भए अहिलेका पुस्ताले नेपाली कार्टुन सायद हेर्नै नपाउने पो हुन्थ्यो कि ? त्यसकारण अनलाइन मिडियाहरूले यो विषयलाई गम्भीर रूपमा मनन गर्न ढिलो नै भइसकेको देख्छु म । अनलाइन मिडियाहरूले पनि प्रिन्ट मिडियाले जस्तै कार्टुनलाई प्रमुखता दिएको खण्डमा नयाँ पुस्ताले सजिलै नेपाली कार्टुनको स्वाद त लिन पाउँछ नै, साथै धेरै जना कार्टुनिस्टले रोजगारीको अवसर पनि पाउने हुन्छ । त्यसकारण नेपाली कार्टुन लेखन पेसा व्यावसायिकतातिर अगाडि बढ्न नसक्नुमा एउटा प्रमुख कारण अनलाइन मिडियाहरूले कार्टुनलाई स्थान नदिनुलाई पनि मान्न सकिन्छ ।

A cartoon mocking the authorities

अझ पछिल्लो समयमा अनलाइन मिडियाहरूमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) द्वारा बनाइएका चित्रहरूलाई पनि ‘कार्टुन’ कै रूपमा प्रयोग गर्ने क्रम पनि बढ्दै गइरहेको देखिन्छ । यसले गर्दा कार्टुन लेखनलाई नै पेसा बनाउँछु भन्ने सर्जकहरूलाई व्यावसायिक रूपमा असर त गर्छ नै, साथै एआई जस्तो कृत्रिमतालाई प्रमुखता दिनु सञ्चारमाध्यमहरूलाई सुहाउने कुरा पनि होइन । कार्टुन भनेको चित्रकारिता मात्र नभई त्यसमा कार्टुनिस्टको विचार र विश्लेषणात्मक क्षमता पनि समाहित भएको हुन्छ । त्यसकारण आम पाठकले कार्टुनिस्टको मौलिक सिर्जनाबाट पाउने स्वाद एआईबाट सिर्जित कृत्रिम सिर्जनाबाट पाउन सक्दैन । 

कार्टुन भनेकै चित्रको माध्यमबाट आफ्नो विचार व्यक्त गर्ने विधा हो । चित्रकारिता पक्ष कमजोर भएमा विचार जति नै गहकिलो भए पनि कार्टुन प्रभावकारी नहुन पनि सक्छ । त्यसकारण कार्टुनिस्टले विचार व्यक्त गर्ने शैलीसँगै चित्रकारिताको शिल्पमा पनि निपुणता ल्याउन जरुरी देखिन्छ । विचार पक्षका बारेमा भन्नुपर्दा वर्तमान नेपाली कार्टुन अन्तर्राष्ट्रियस्तरकै हामी पाउँछौं । तर चित्रकारिता पक्षमा नेपाली कार्टुन धेरै नै पछाडि रहेको देखिन्छ । विगतका कार्टुनहरूसँग तुलना गरी हेर्दा हाल नेपाली कार्टुनमा विचार पक्षको प्रस्तुतीकरण निकै परिमार्जित र परिस्कृत हुँदै आइरहेको पाइन्छ । तर दुःखका साथ भन्नुपर्छ कि नेपाली कार्टुनले चित्रकारिता पक्षमा उल्लेखनीय रूपमा विकास गर्नै सकेन ।

तीस र चालीसका दशकमा बनेका हाम्रा केही अग्रज कार्टुनिस्टहरूको सिर्जना हेर्ने हो भने, त्यतिबेला प्रविधिका प्रतिकूलताका बाबजुद पनि निकै स्तरीय चित्रकारिता हामी पाउँछौं । ती कार्टुनहरूलाई नै आधार मानी भन्ने हो भने पनि अहिले नेपाली कार्टुनका चित्रकारिता पक्षले धेरै फड्को मारिसक्नुपर्ने थियो । तर स्थिति त्यस्तो देखिँदैन । कार्टुन कलामा हुनुपर्ने प्रमुख गुण भनेको नै अतिरञ्जनायुक्त कला हो । यसमा नै धेरैजसो नेपाली कार्टुन कमजोर देखिन्छ । चित्रकारिता पक्षमा देखिएका यस्ता कमजोरी हटाउन र दक्षता बढाउन चाहिँ एआई सहयोगी हुन सक्छ ।

A cartoon mocking the authorities

यो आधारमा हामीले एआईलाई दक्षता अभिवृद्धि गर्ने अवसरका रूपमा लिन सक्छौं । सम्पूर्ण क्षेत्रमै एआईले आफ्नो प्रभावशाली उपस्थिति जनाइरहेको वर्तमान समयमा कार्टुनिस्टहरूले पनि आफ्नो स्थान सुरक्षित राख्न अनेक चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । अब सामान्य प्रतिभाले कसैले पनि आफ्नो स्थान सुरक्षित राख्न सकिने देखिँदैन । त्यसकारण अब हरेकले सीप र दक्षता अभिवृद्धिका लागि थप मिहिनेत गर्नैपर्ने हुन्छ । यी कुराहरू कार्टुन चित्रकारितामा पनि लागू हुन्छ । यसले गर्दा नेपाली कार्टुनहरूमा चित्रकारिता पक्ष अझ परिस्कृत हुँदै जाने देखिन्छ । यो आधारमा एआईलाई अवसरकै रूपमा लिन सकिन्छ ।

कार्टुन लेखन आफैंमा चुनौतीपूर्ण कर्म हो । त्यसमाथि पछिल्लो समयमा झन् चौतर्फी रूपमै चुनौती थप्दै गएको छ । यस्ता चुनौतीहरूले गर्दा यस क्षेत्रमा नयाँ–नयाँ प्रतिभाहरू पनि उल्लेख्य रूपमा देखा पर्न सकेको छैन र भएका प्रतिभाहरू पनि पलायन भएर जाने सम्भावना बढ्दै गएको देखिन्छ । त्यसकारण कार्टुन क्षेत्रसँग सरोकार राख्ने निकायहरू हरेकले वातावरण सहज बनाउनेतर्फ आवश्यक पाइला चालेन भने कार्टुन क्षेत्र अधोगतितिर लाग्ने निश्चित नै छ । अन्तर्राष्ट्रिय कार्टुनहरूको तुलनामा धेरै नै पछाडि रहेको नेपाली कार्टुन क्षेत्रलाई माथि उकास्नु हामी सबैको जिम्मेवारी हो । हरेक क्षेत्रको विकास र विस्तारका लागि नयाँ पुस्ताको आगमन अति नै जरुरी हुन्छ ।

नेपाली कार्टुन क्षेत्रमा नयाँ पुस्ताको उपस्थिति निराशाजनक नै देखिन्छ । पुराना पुस्ताका कतिपय कार्टुनिस्टहरू कार्टुनिस्ट पेसाबाट विस्थापित भइसकेको र वर्तमान पुस्ताले पनि यसलाई आर्थिक रूपमा सुरक्षित पेसाका रूपमा अँगाल्न सकिरहेको अवस्थामा नयाँ पुस्ताको आगमन सन्तोषजनक रूपमा नहुनु पनि स्वाभाविक नै मान्न सकिन्छ । त्यसकारण कार्टुनिस्टहरू कार्टुन लेखन पेसाबाटै पलायन हुने खतरा रोक्न, अनि नयाँ पुस्ताका लागि आकर्षक र सुरक्षित पेसाका रूपमा महसुस गराउन समस्याहरूको पहिचान गरी निराकरण गर्नैपर्ने देखिन्छ ।

अबिन श्रेष्ठ

Link copied successfully