खुर्सानी : औपनिवेशिक कि रैथाने

सन् १५९० को जापानी आक्रमणसँगै युरोपबाट जापान पुगेको खुर्सानी अन्ततः कोरिया पुग्यो भन्ने पुरानो मान्यता थियो । तर, जापानी आक्रमणअघि नै कोरियाली भान्सा खुर्सानीले भरिपूर्ण थियो भन्ने नयाँ तथ्य खुलेको छ ।

जेष्ठ ३, २०८२

त्रिवेणी

Chillies: Colonial or Raithane

ट्वाक्क पिरो भन्नेबित्तिकै युवापुस्ताका नेपाली रामेन र चटपटे सम्झिन्छन् । ओलिभ आयलमा मासुका पातला स्लाइस मिसाएर ह्वाइट वाइन थपेपछि अदुवा र खुर्सानीको पेस्टमा मोलेर पकाइएको रामेन नुडल बिछट्टै पिरो र स्वादिलो हुन्छ– यो मेरो रेसिपी हो । के–पपको विकाससँगै कोरियन सेलिब्रेटीको फ्यान लिस्टमा नेपाली थपिन थालेपछि रामेन नेपाली खानाको हिस्सा बन्दै आएको छ ।

पिरो रामेन नेपालीको जिब्रोमा बल्ल बस्दै छ । तर, खुर्सानी मध्य–अमेरिकाबाट युरोप हुँदै एसिया आइपुगेको हो भन्ने मान्यता हामीमाझ यद्यपिः कायमै छ । यो लेखमा हामी रामेन, चटपटे पिरो बनाउने र हामीलाई टाठो बनाउने खुर्सानी उपनिवेशले भित्र्याएको होइन भन्ने कोणबाट चर्चा गर्नेछौं । 

खुर्सानीको उत्पत्ति ठ्याक्कै कहाँ भयो ? भन्न नसकिए पनि यसको घरेलु प्रयोग भने पहिलोपटक मेक्सिकोमा गरिएको हो भन्ने अध्ययनले देखाएका छन् । पुरातात्त्विक प्रमाण, आनुवंशिक प्रमाण र आधुनिक वनस्पति वर्गीकरणले अध्ययनकर्तालाई मेक्सिको वा मध्य–अमेरिकामा करिब ६ हजार वर्ष पहिले खुर्सानीलाई पहिलोपटक घरेलुकरण गरिएको थियो भन्ने निष्कर्षमा पुर्‍याएको छ (स्टार्च फोसिल एन्ड द डोमिस्टिकेसन एन्ड डिस्पर्सल अफ चिली पिपर) । मेक्सिकोको टुच्वान उपत्यकाको गुफामा भेटिएको करिब ६ हजार वर्ष पुरानो जीवाष्म नै मान्छेले खुर्सानीलाई घरायसी प्रयोजनका लागि उपभोग गरेको भन्ने प्राप्त प्रमाणमध्ये पुरानो प्रमाण हो । यसकारण पनि खुर्सानीले पश्चिमबाट पूर्वको यात्रा सुरु गर्‍यो भनिएको हुनुपर्छ । 

सन् १४९२ को अगस्टमा भारतसम्मको छोटो सामुद्रिक दूरी पत्ता लगाउने र पूर्वको धनबारे थाहा पाउने उद्देश्यले पालोस दे ला फ्लोन्तेराबाट क्रिस्टफर कोलम्बसको नेतृत्वमा स्पेनी राजाका तीनवटा पानी जहाज रवाना हुन्छन् । भारत खोज्न निस्केका कोलम्बस भारत नभई क्यारेबियन द्वीप पुग्छन् । फर्केर आउँदा कोलम्बसले स्पेनी राजा फर्डिनान्ड र रानी इसाबेलालाई नयाँ जातका खाद्यपदार्थ भेट चढाउँछन् । ती थिए– भुइँकटहर, आलु र मकै । तर, कोलम्बसले ल्याउन नसकेको चिज थियो— मसला । त्यसअघि सिनामोन भनेर रूखको बोक्रा ल्याइसकेका क्रिस्टफरले अमेरिकी द्वीपको दोस्रो यात्राबाट फिर्दा सन् १४९३ मा खुर्सानी ल्याइछाडे । र, खुर्सानी पहिलोपटक युरोप भित्रियो । चल्तीको खुर्सानीको प्रजाति ‘क्याप्सिकम यानम’ केही वर्षपछि मेक्सिको र मध्य अमेरिकाबाट ल्याइए पनि वेस्ट इन्डिजबाट खुर्सानीको अर्को प्रजाति ‘क्याप्सिकम् फ्रुटेसेन्स’ क्रिस्टफर कोलम्बसले पहिलोपटक स्पेन ल्याएका थिए (कत्ज इस्टर, चिली पिपिर फ्रम मेक्सिको टु युरोप) । तर, ‘स्भेन्स बोटानिस्क तिदस्करिफ’ मा १९९५ मा प्रकाशित लेखमा कोलम्बसले खुर्सानी ल्याउनुभन्दा पहिल्यै युरोपमा खुर्सानी भएको बारे लेखिएको छ । 

कोलम्बसले स्पेन ल्याएको खुर्सानीलाई सुरुआती समयमा युरोपेली धनाढ्य र सामन्तको बगैंचा सिँगार्ने बोटका रूपका प्रयोग गरियो । जर्मनी र इंग्ल्यान्डमा त यसले लामो समयसम्म औषधीय मान्यता मात्र प्राप्त गर्‍यो । यी तथ्यले युरोपेली औपनिवेशिक विचार प्रस्ट्याउँछन् । 

युरोपमा खुर्सानीलाई खाद्य मान्यता किसान र निमुखाले दिलाएको हुनुपर्छ किनभने त्यसबेलाको युरोपेली बजारमा मरीचको धङधङी थियो । र, मरीच यति महँगो थियो, त्यसलाई कालो सुनको उपमा दिइएको थियो र गरिब तथा निमुखाले मरीच किन्नै सक्दैनथे । दर्जनौं बिचौलियाको हात फेर्दै युरोपको भान्सासम्म पुग्दा मरमसलाको भाउ हजार गुणा बढिसकेको हुन्थ्यो । सबैभन्दा सस्तो मानिने एक पाउन्ड मरीच किन्ने पैसाले एउटा सग्लो सुँगुर नै किन्न पाइन्थ्यो (बस्नेत विकास, मिसन मसला : पृथ्वीलाई एक फन्को) । 

त्यसकारण युरोपेली निमुखा र किसानले जब खुर्सानीबारे थाहा पाए, त्यसलाई सामन्तको बगैंचाबाट वा जंगलबाट टिपी आफ्नो भान्साको रिकापीसम्म ल्याए । खुर्सानी युरोपमै पनि फल्ने र टमाटरका केही प्रजातिजस्तो विषालु नहुने हुँदा किसानकै ट्राइल र इररबाट युरोपमा मसलाका रूपमा परिणत भएको हो न कि कुनै सामन्त वा औपनिवेशिक शासकको प्रयासले । त्यसकारण युरोपमै पनि खुर्सानीले स्वादको काम गर्नुमा म कोलम्बसको भन्दा बढी किसानको योगदान देख्छु । 

Chillies: Colonial or Raithane

स्पेनबाट यसको खाद्य प्रयोग दक्षिण युरोपको बुल्गेरियासम्म फैलियो र त्यहाँ पनि खुर्सानी किसानको मसला बन्न पुग्यो । किसानको भान्साको स्वाद फेरिएसँगै खुर्सानीको उत्पादन बढेर गयो । र, यसको बजार देखेपछि पुनः औपनिवेशवादीले नै बजार कब्जा गरे । बिस्तारै मरीचको स्थान खुर्सानीले लिँदै गयो, व्यापार फस्टायो । व्यापार यसरी फस्टायो कि स्पेनी समाजमा खुर्सानीबारे गीत नै बन्यो । स्पेनमा खुर्सानीको बजार कस्तो थियो र यसले जनजीवनमा पारेको प्रभाव र महत्त्व कस्तो थियो भन्ने कुरा फ्लोरिटिन कोडेक्स नामक इन्साइक्लोपिडियाको दसौं खण्डमा समावेश खुर्सानी व्यापारीमाथि लेखिएको यो पुरानो गीतले प्रकाश पार्छ– ‘उत्तम खुसार्नी व्यापारी त्यो हो जसले ठिक्क राता, ठूला र पिरा खुर्सानी बेच्छ । खत्तम खुर्सानी व्यापारी त्यो हो जसले ठुस्स गनाउने अमिला खुर्सानी बेच्छ ।’

खुर्सानीले अनेक संस्कृतिमा अनेक मान पाउँदै यात्रा गरेको हो । इन्का संस्कृतिमा खुर्सानीलाई ‘उच्हु’ भनिन्छ र यसलाई उनीहरूका प्रथम राजाका भाइको दर्जा दिइन्छ । खुर्सानीको प्रयोग युद्धमा पनि भएको छ । सन् १४९४ मा क्यारेबियन द्वीपका टाइनो भनिने आदिवासी समुदाय र स्पेनी उपनिवेशवादीबीचको युद्धमा आदिवासीले अस्त्रका रूपमा खुर्सानीको प्रयोग गरेका थिए । प्रथम विश्वयुद्धको समयमा पनि खुर्सानीमा हुने रसायन ‘क्याप्साइसिन’ को प्रशोधन गरिन्थ्यो । पछि सन् १९२८ मा ब्रिटिसले सीएस नामक ग्यास बनाएपछि ‘क्याप्साइसिन’ को प्रशोधन रोकिएको थियो । सन् १९९० पश्चात् भने मानिसले पिपर स्प्रेको प्रयोग गर्न थाले । यसरी खुर्सानीले अस्त्रको स्थान पनि पाएको छ । 

खुर्सानीको यौनसँग पनि सम्बन्ध देखिन्छ । खुर्सानीले कामोत्पादक प्रभाव पार्ने मान्यता राखी केही सामाजिक अभ्यास भएका देखिन्छन् । एक टुक्रा खुर्सानीले मात्रै पनि शरीरको तापक्रम बढाएर तपाईंमा कामको चाहा गराई कपडा खोल्ने बनाउँछ (इटसमथिङसेक्सिडटकम) । स्वाद विज्ञ जोन म्याक्वाइडका अनुसार त आदिवासी अमेरिकीले आफ्नो गुप्तांगमा खुसार्नी दल्थे, जसकारण उनीहरूको कामोत्तेजना सन्तुलित हुन्थ्यो र कामानन्द दीर्घकालीन हुन्थ्यो । सन् १९९७ मा एक ड्यानिस आविष्कारकले खुर्सानीबाट बनाएको क्रिमले पुरुषमा दुई मिनेटमै उत्तेजना पैदा गराउँथ्यो, जो बुढा पुरुषका लागि फलदायी भएको थियो । यसरी खुर्सानीले यात्रा गर्दा मसलाबेगरको भूमिकामा पनि आफूलाई उभ्याएको छ ।

प्रसिद्ध भारतीय प्राचीन ग्रन्थ कामसूत्रमा लेखिएको छ– धत्तूरकमरिचपिप्पली चूर्णैर्मधुमिश्रैर्लिप्तलिङ्गस्य प्रयोगो वशीक रणम् । यसको भावार्थ हुन्छ— धतुरो, मरीच र पिप्लाको चुर्ण बनाई महसँग लेप गरी गुप्तांगमा दलेर सम्भोग गर्दा स्त्री वशमा हुन्छन् । यहाँ खुर्सानीको उल्लेख गरिएको छैन । आयुर्वेदमा उल्लेखित तीन पिरा चिज अर्थात् त्रिकटुमा अदुवा, पिप्ला र मरीच पर्छन्, यहाँ पनि खुर्सानीको उल्लेख छैन । यी विषय टिपेर अध्येताहरू प्राचीन भारतमा खुर्सानीको अस्तित्व थिएन भन्छन् । सन् १५९० मा लेखिएको किताब ‘ऐन –ए–अकबरी’ को एउटा अध्यायमा अकबरको दरबारमा पाक्ने ५० थरी खानाको नाम उल्लेख छ, जहाँ खुर्सानीको नामोनिसान छैन, मात्रै मरीचको प्रयोग छ । यसबाट पनि उत्तर भारतका लागि खुर्सानी नयाँ मसला हो भन्ने आधार अध्येताले पाउँछन् । अध्ययनमा यस्ता तथ्य देखाइनु एसिमामा युरोपबाट खुर्सानी आएको हो भन्ने प्रमाणित गर्नु हो । युरोपेली हेजिमोनी देखाउन अन्य तथ्य पनि अघि सारिन्छन् । जस्तै खुर्सानी पहिलोपटक पोर्तुगालीले भारतको हकमा गोवामा ल्याए र सन् १५२० आसपास ब्राजिलबाट लिस्बन हुँदै ती ३ थरी खुर्सानी गोवा आइपुगेका हुन् । यसरी भास्को–डे–गामाले गोवा ल्याइपुर्‍याएको खुर्सानीले उत्तरतर्फको यात्रा गर्‍यो र त्यहाँका मानिसको भान्साको हिस्सा बन्यो । 

नेपालको हकमा पनि खुर्सानी अनेक बाटो भएर प्रवेश गर्‍यो । एउटा बाटो दक्षिण भारतबाट बंगाल हुँदै उक्लेर पूर्वी नेपालबाट । अर्को उत्तरखण्ड हुँदै पश्चिमी नेपालबाट । भारत र नेपालका हकका यी तथ्य खुर्सानीको कुनै एक प्रजातिमा लागू हुने तथ्य होलान्, तर यिनै तथ्यका आधारमा खुर्सानीको वा अन्य मसलाको सांगोपांगो इतिहास युरोपेली औपनिवेशको इतिहाससँग जोड्नु मूर्खतापूर्ण हुन्छ । 

खुर्सानीको पिरोपन स्कोभाइल हिट युनिटमा नापिन्छ । र, संसारैकै पिरो खुर्सानीको प्रजातिमध्ये एक प्रजातिको रैथाने उत्पादन आसाम र बंगलादेशमा हुन्छ । त्यसको नाम हो– भूत जोलोकिया । यो आसामका मानिसका लागि मसला मात्रै होइन, अति प्राचीन अस्त्र हो । आसाम र नागाल्यान्डमा हात्तीको जोखिम असाध्यै हुने हुँदा क्यारेबियन टाइनो जातिले सन् १४९३ मा स्पेनीलाई धपाउन खुर्सानी प्रयोग गरेझैँ हात्ती धपाउन आसामीले भूत जोलोकियाको प्रयोग भएका कैयन् लोककथा छन् । 

यो रैथाने ज्ञानको परम्पराले आसामी खुर्सानीको प्राचीनता झल्काउँछ । यससँगै आसामको पारम्परिक चिकित्सा पद्धतिमा यो खुर्सानीको प्रयोग हुने प्रशस्त उदाहरण भेटिन्छन् । भूतप्रेत लाग्दैनन् भन्ने विश्वास गरी आसामी घरमा यो खुर्सानी झुन्ड्याइन्छ । उसो भए ५०० वर्षअघि युरोपेलीले गोवा ल्याइपुर्‍याएको खुर्सानी आसाम पुगीकन पनि त्यहाँको पारम्परिक जीवनको हिस्सा बनेको हो त ? यति छिट्टै खुर्सानीले त्यो तहको पारम्परिक महत्त्व पाउन र लोककथामा किंवदन्ती बनेर बस्न सम्भव छैन । त्यसकारण एसियामा खुर्सानी युरोपेलीले पहिलोपटक ल्याएका होइनन् ।

अरबी खानाका इतिहासकार चार्ल्स पेरिका अनुसार हालको इरान, अफ्गानिस्तान र तुर्केमेनिस्तानमा पर्ने खोरासान क्षेत्रका फारसी व्यापारीले कश्मीर र नेपालमा पहिलपटक खुर्सानी ल्याइपुर्‍याएका हुन् (वाल्टन स्टुवार्ट, द रेड डेभिल) । यहाँनेर एउटा प्रश्न उठ्छ, इरानबाट खुर्सानी नेपाल आइपुग्न सजिलो भयो होला कि आसामबाट ? आसामको जस्तै पिरो खुर्सानी नेपालको पूर्वी भेगमा पाइने हुँदा खुर्सानी पहिलोपटक इरानबाट आएको नभई आसामलगायत पूर्वी नेपालको रैथाने वनस्पति हो भन्नु अर्थपूर्ण हुन्छ । आसाममा झैं नेपालमा पनि भूत भगाउन खुर्सानी डढाउने चलन छ । 

नेपालको पूर्वीभेगको किरात संस्कृतिमा ‘खुर्सानी रोप्नु हुँदैन’ भन्ने मान्यता छ । किनकि खुर्सानीलाई प्राकृतिक रूपमा डाङ्ग्रे (रुपी) ले उमार्न सहयोग गर्छन् । यो प्रकृतिसँग संस्कृतिको साइनो हो । किरात मिथकअनुसार, लेम्लेम्हा वनझाँक्रीकी श्रीमती हुन् । उनले केटाकेटी पाए खाने गरेको किरात मिथकमा उल्लेख छ । लेम्लेम्हाले केटाकेटी लगेपछि उनको बासस्थानमा खुर्सानी डढाई धूवाँ लगाएर उनीबाट केटाकेटी छुटाइएको कथा किरात मिथकमा पाइन्छ । यी अनेक तथ्यका कारण खुर्सानी कुनै औपनिवेशिक शक्तिले दक्षिण एसियाली भान्सामा भित्र्याएको मसला होइन भन्न प्रस्ट सकिन्छ । 

सन् १५९० को दशकमा भएको जापानी आक्रमणसँगै युरोपबाट जापान पुगेको खुर्सानी र सिगरेट अन्ततः कोरिया पुगेको हो भन्ने पुरानो मान्यता थियो । यो मान्यतालाई प्राचीन कोरियाली कागजातको नवीन अध्ययनले खारेज गरेको छ । जापानी आक्रमण हुनुभन्दा निकै अघिदेखि कोरियाली भान्सामा खुर्सानी भएको नयाँ तथ्य खुलेको छ । कोरियाका तीन राज्यको दस्ताबेज हेर्दा, सियोलल नामक कोरियाली चाडमा थन्क्याइने एक मात्र उत्पादन रातो खुर्सानी थियो (डीएनए सिक्वेन्स एनालिसिस टेल्स द त्रुथ अफ द ओरिजिन, प्रपागेसन एन्ड इभोलुसन अफ चिल्ली) । ती थिए– जापानी आक्रमण हुनुअघिका दस्ताबेज । यी तथ्यांक हेर्दा कोरियाली पेनेसुलामा खुर्सानीको प्रवेश औपनिवेशिक शक्तिसँगै नभएको प्रस्ट हुन्छ । त्यसैले मसलामध्ये खुर्सानीको इतिहास औपनिवेशिकभन्दा बढी रैथाने इतिहास हो । 

त्रिवेणी

Link copied successfully