‘सबै मिथकहरू सत्यको बुई चढेरै आएका हुन्’

चैत्र २३, २०८१

दीपक सापकोटा

”All myths are rooted in truth”

‘हिउँको गीत’ उपन्यासमा हिउँसँगै बाँचेको तमू समाजको जीवनको आदिम लय पस्केका छन् आख्यानकार तीर्थ गुरुङले ।

तमूहरूको ७ सय वर्षभन्दा पुरानो इतिहास र संस्कृतिका साथै अन्तिम संयुक्त राज्य क्होलाको विघटन कथा सविस्तार लेखिएको छ, ‘हिउँको गीत’ मा । गुरुङसँग दीपक सापकोटाको संवाद :

तपाईंले सुरुमा शिक्षाकेन्द्री उपन्यास ‘पाठशाला’ लेख्नुभयो । ‘आपा क्हार्प’ कथासंग्र्रह पनि पाठकले रुचाए । आख्यानमा पाठकले रुचाएकै कारण ‘हिउँको गीत’ उपन्यास लेख्न लोभिनुभो कि तपाईंका लागि यो उपन्यास लेख्नैपर्ने लेखकीय दायित्वबोध पनि थियो ?

थोरै शब्दमा धेरै कुरा भन्ने खुबी ममा छैन । कविता लेख्ने इच्छा भए पनि त्यसका लागि चाहिने माधुर्य, मीठो लय वा सटीक प्रहार गर्न सक्ने क्षमता छैन । अथवा आफ्नो विचारलाई कलात्मक किसिमले निबन्धमा भन्न पनि म आफूलाई योग्य पाउँदिनँ । मलाई कथा, उपन्यासमै आफ्नो कुरा सम्प्रेषण गर्न सहज भएजस्तो लाग्छ । त्यसमाथि यो आख्यानले नेतृत्व लिएको युगजस्तो देखिन्छ । गुरुङ परिवेश, संस्कार र संस्कृतिलाई उपयोग गरेर सम्पूर्ण किसिमले लेखिएको आख्यान नपाएकाले ‘हिउँको गीत’ लाई मैले दायित्वकै रूपमा लिएको छु । यसलाई किन दायित्व मानें भने अबको पचास वर्षपछि गुरुङ सभ्यता पुस्तक र संग्रहालयमा मात्रै सीमित रहने डर मैले देखेको छु ।

‘पाठशाला’ मा बोर्डिङ स्कुलमा पढ्ने किशोरको कथा लेख्नुभयो । धेरै पाठकले ‘पाठशाला’ लाई बोर्डिङ स्कुलको आख्यान मानिरहँदा तपाईंले एलिगरी नबुझिएको वा त्यसरी समीक्षा नभएको मान्नुभयो, किन ?

‘पाठशाला’ बोर्डिङ स्कुल पढ्ने एका किशोरको कथा अवश्य हो । मैले त्यो उपन्यासलाई पहिलो जनआन्दोलनदेखि दोस्रो जनआन्दोलनसम्मका घटना बुनेर एउटा कोणबाट एलिगरीकै रूपमा लेख्ने प्रयास गरेको हुँ । तर, त्यसलाई त्यसरी नबुझिनुमा मेरै कमजोरी मान्छु । म त्यसलाई राम्ररी भन्नमा चुकें हुँला । तर, यसको अर्थ लेखकले जे लेखेको छ, पाठकले त्यसरी नै बुझ्नुपर्छ भन्ने पनि छैन । पाठक आफ्नो पाराले पढ्न स्वतन्त्र छ, नपढ्न पनि स्वतन्त्र छ । कुनै पुस्तकमा पाठकले आफ्नै दृष्टिकोण भेट्टाउँछ भने त्यसलाई किताबको सफलता मान्न सकिन्छ ।

‘हिउँको गीत’ लाई पनि मानिसहरूले सात/आठ सय वर्ष पुरानो सांस्कृतिक आख्यान मात्रै मानिदिएर यसको एलिगरीलाई उपेक्षा गरिदिने खतरा कति देख्नुहुन्छ ?

त्यो सम्भावना अधिक छ किनभने लेख्दै गएपछि उपन्यासमा भेटिने पुरानो सांस्कृतिक पक्षले नै प्राथमिक कथाजस्तो बनेर हस्तक्षेप गरिरह्यो । कथाको बीउ त त्यसरी उम्रेको थिएन । सात/आठ सय वर्ष पुरानो भए पनि यो अहिलेको कथा पनि हो, युद्धको त्रासदीबाट बाँचेर आएको ब्रिटिस गोर्खा सैनिकको कथा हो । हाम्रो युग अनायकहरूको युग हो, नक्कली नायकहरूको युग हो अथवा भएका नायकहरूलाई तेजोवध गरिएको युग हो । एउटा लेखकले आफ्नो कृतिबारे स्पष्टीकरण दिँदै हिँड्ने त होइन तर ‘हिउँको गीत’ प्राचीन कथा मात्र होइन, वर्तमान समयको कथा पनि हो । एक लेखकका रूपमा भविष्यमा पनि यो सान्दर्भिक रहोस् भन्ने चाहना म लुकाउँदिनँ । 

यो उपन्यास लेख्न कति समय लाग्यो ? कहाँ, कसरी अनुसन्धान गर्नुभयो ? कस्ता सामग्री र व्यक्तिमा तपाईं भर पर्नुभयो ?

कथाको बीजारोपण सात वर्षअघि नै भए पनि यसलाई मैले टुक्रा–टुक्रामा, फरक–फरक समयमा लेखें । बीचमा एउटा कथासंग्रह तयार पारें र टिम दाइको प्रसिद्ध गैरआख्यान ‘आयो गोर्खाली’ लाई नेपालीमा अनुवाद गर्ने काम पनि गरें । त्यसो गर्दा करिब चार वर्ष लगाएर मैले ‘हिउँको गीत’ लेखेको भन्छु । मलाई लाग्छ, इतिहासले पछिल्लो साठी–सत्तरी वर्षमा नै फड्को मारेको हो । त्यसअघि सामान्यबाहेक जनजीवनमा फरक आएको थिएन । मेरो बज्यै (जो उपन्यासको पात्रा पाते पिल्चीजस्तै सानो जीउडालकी हुनुहुन्थ्यो) का मैले बाल्यकालदेखि सुनेका अरू कथाहरू मेरा सामग्री बने । परम्परागत पुरोहित पच्यु ल्हौरी (उपन्यासमा ल्हेप्री लेखिएको) ले गर्ने अनुष्ठानहरू त मैले देख्दै आएको हुँ । क्होला सोंथरमा म स्वयं पुगें । मुख्यतः आफैंमा एक सिद्धहस्त पच्यु सोल्टी डा. पोलबहादुर गुरुङले यो काममा मलाई धेरै सहयोग गरेका छन् ।

यो उपन्यास पाठकले किन पढ्ने ?

यो गुरुङहरूको इतिहास होइन । यसलाई म ऐतिहासिक उपन्यास पनि भन्दिनँ । क्होला राज्य किन र कसरी विघटन भयो भन्ने मानक उत्तर मैले भेट्टाइनँ । त्यही खाली ठाउँमा मैले कल्पनाको एउटा संसार निर्माण गर्ने अवसर पाएँ । गुरुङ गाउँको सामान्य परिवेश हेर्न, हाम्रो विश्वास पद्धतिमा चिहाउन र रीतिथिति–जनजीवन बुझ्न ‘हिउँको गीत’ पढ्न सकिन्छ ।

क्होला सोंथरको सयौं वर्षअघिको तमू समाज उपन्यासमा चित्रण गरेर के भन्न खोज्नुभएको हो ?

क्होला सोंथर नै रोज्नुमा मेरो स्वार्थ छ । अहिलेको कुनै गाउँ नै आधारभूमि बनाएर उपन्यास लेखिए अन्य गाउँकालाई त्यसमाथि स्वामित्व लिन मन नलाग्ने हुन सक्छ । आफ्नै भाषा, गाउँ वा समुदायप्रतिको गर्व वा कहिलेकाहीँ धेरथोर घमण्डसमेत हामीसित हुन्छ । क्होला सोंप्रि ट्हों अथवा क्होला सोंथर हाम्रो पुर्खाहरूको ठाउँ हो । त्यस्तो ठाउँ, जहाँबाट गुरुङहरू अन्य गाउँठाउँमा छरिन पुगे । क्होलाजस्तै अन्य ठाउँहरू पनि होलान्, तर मैले सुनेको र पछि देखेको क्होलाप्रति गहिरो श्रद्धाभाव छ र पुरातात्त्विक महत्त्व बोकेको त्यो थलोप्रति मैले गर्न सक्ने भनेको त्यसलाई ‘हिउँको गीत’ को पृष्ठभूमि बनाउनु थियो र भयो । 

‘हिउँको गीत’ को पहिलो खण्डमा चित्रित पात्र डिस्कोको जेनेटिक मेमोरीबाट सयौं वर्ष पुरानो कथा भन्ने प्रयास देखिन्छ । केही पाठकले पहिलो खण्ड हटाएर सिधै दोस्रो खण्डबाट उपन्यास सुरु भएको भए हुन्थ्यो भन्ने सुझाव दिएको भेटियो । यो वर्गका पाठकका लागि तपाईंको स्पष्टीकरण के हुन सक्छ ? 

डिस्कोको अनुवांशिक स्मृति सक्रिय भएको मत उसका केही साथीहरूको हो । उसलाई मतिभ्रम पो भएको हो कि अथवा कतै–कतै हेर्न पाइनेजस्तो उसलाई पितृ पो चढ्यो कि, यो छलफलको विषय हुन सक्छ । तर, जे भए पनि उपन्यासको दोस्रो खण्ड उसैले न्यारेट गरेको छ, त्यो पनि प्राचीन चों भाषामा ।

त्यो अविश्वसनीय कुरालाई छोडेर दोस्रो खण्डमात्र राख्नुपर्छ भन्ने सुझाव पहिला पनि आएको थियो र भोलि पनि आइरहन्छ जस्तो लाग्छ । तर, उपन्यासको मुख्य चुरो नै मैले यसलाई मानेको छु । साथीहरूमाझ डिस्को भनेर चिनिने हिउँबहादुरलाई उसको बाबाले छोराका रूपमा अस्वीकार गरेकाले ऊ मामाघरमा हुर्केको छ । अनिच्छाका बाबजुद ऊ ब्रिटिस सेनामा भर्ती हुन्छ । आतंकवादविरुद्धको युद्धमा भाग लिनुपरेको ऊ वास्तवमा युद्धविरोधी मान्छे हो । 

दुई कारण उपन्यासका पात्रहरूको नाम सम्झिन गाह्रो हुन सक्छ । पहिलो ती टिपिकल तमू भाषामा बोलाइने नसुनिएका नाम छन् । तमू भाषामा पकड नभएका पाठकलाई ती नाम अनौठा र सम्झिन गाह्रो होला । दोस्रो, उपन्यासमा पात्रहरू धेरै आउँछन् । सबै पात्र र तिनको चरित्र चित्रणमा पाठक अलमलिन सक्ने सम्भावना कति छ ? बहुल पात्रहरूको लर्को लाउनुको ध्येय के ?

यो प्रश्न पाण्डुलिपि पढ्नु हुने अग्रज र साथीहरूले पनि गर्नुभएको थियो । मैले कतिपय पात्रहरू हटाएँ र कतिलाई बेनामी बनाइदिएँ, उदाहरणका लागि क्रोमीको फुपाजुको नाम मात्र हटाएँ । पात्रहरूको नाम राख्नै पनि पितृहरूका नाममा घरभित्र पच्युले गर्ने खेमा थिउ वा स्यु थिउ गर्ने बेला सुनेर काम चलाएँ । कतिपय नामचाहिँ आफैंले बनाएँ । म आफैं त किताब नहेरी सबै पात्र सम्झिन सक्दिनँ भने पाठकहरू अलमलिन सक्ने सम्भावनालाई मैले सामान्य रूपमा लिएको छु । फेरि जब कथा कुनै व्यक्तिविशेषको मात्र नभई पूरै राज्यको हुन्छ, असंख्य पात्र आउनु स्वाभाविकै हो । मलाई कहिलेकाहीँ लाग्छ, पात्रहरू न्यूनीकरण गर्न नसक्नु मेरो कमजोरी होला । पात्रको बाहुल्यता तपाईंले ‘पाठशाला’ मा पनि भेट्टाउनुभएकै हो, ‘आपा क्हार्प’ मा संगृहीत ‘सर्पहरूसितको सुताई’ नामको कथामा पनि त्यो स्थिति छ । एक पटक ‘महाभारत’ पढेर त्यहाँका पात्र सम्झिन गाह्रै होला, त्यो टेलिसिरियलमा आइसकेको हुँदा र कतिपय साहित्यकारले ‘महाभारत’ का पात्रलाई लिएर अर्को कृति लेखेको हुँदा ती सम्झना गरिन्छन् । ग्रिक, रोमन र नोर्स साहित्यका पात्रहरू हामी कमै सम्झिन्छौं । 

अहिले आफ्नो उपन्यास आफैं पढ्दा त्यसका लागि ‘फेमिली ट्री’ राख्दा राम्रो हुने रहेछ भन्ने कत्तिको महसुस गर्नुभएको छ ? 

यो प्रयास मैले गरेको थिएँ तर उपन्यासमा धेरै प्रख्यहरू छन्, जसको जैविक पिताको निर्क्योल भइसकेको छैन । फेरि उपन्यासभरिका सबै पात्रको एकआपसमा पारिवारिक सम्बन्ध पनि नभएको र दुई जना प्रख्यको रहस्य अन्ततिर खोल्नुपर्ने हुनाले ‘फेमिली ट्री’ राखिएन ।

दोस्रो खण्ड अर्थात् मूल कथामा एक जना अलिदेवबाहेक अरू सबै पात्र तमू संस्कृतिबाटै लिइएका रहेछन् । अलिदेव मात्रै हिन्दु नाम रोज्नुको विशेष प्रयोजन के ?

ऊ एउटा प्रख्य हो अर्थात् विवाहेत्तर सन्तान र उसको जन्म धेरै रहस्यको बादलमुनि रहेको छ । उसलाई पाल्ने नानी कुचिरीको उपस्थिति क्होलाको राजालाई अस्वीकार्य भएको हुनाले उनी त्यही बच्चासहित नेपालमा निर्वासनमा आएकी हुन्छे । हाम्रोतिर पहिलो छोरालाई ‘अलि’ भनिन्छ । हिन्दुहरूको सम्पर्कमा आएको हुनाले उसको नाम ‘अलिदेव’ राखेको हुँ । उसकै कारण क्होलामा पाप र धर्मजस्ता शब्द प्रयोगमा आउँछन् । ती शब्दहरू गुरुङ भाषामा छैनन् । तत्कालीन समयतिरै तमू समुदाय हिन्दु धर्मको सम्पर्कमा आएको थियो होला । 

गुरुङ समाजको विश्वास पद्धतिलाई अभिलेखीकरण गर्नुपर्ने खाँचो एकातिर होला, अर्कोतिर आलोचनात्मक विश्लेषण गर्न ढिला पनि भयो होला नि ?

समाजशास्त्री र मानवशास्त्रीहरूले हाम्रो विश्वास पद्धतिलाई अभिलेखीकरण गरिरहेकै छन् । हालै मानवशास्त्रमा विद्यावारिधि गरेका डा. पोलबहादुर गुरुङको थेसिस मैले पढेको छु । थपथाप गरेर त्यसलाई बृहत् रूप दिइयो भने त्यो गुरुङ विश्वास पद्धतिको एउटा बलियो अभिलेख बन्ने देख्छु । त्यसमाथि आलोचनात्मक विश्लेषण हुनुपर्ने धारणा मेरो पनि छ, त्यसलाई केवल परम्परागत रूपमै पछ्याइएको कारण यो जमेको पोखरीजस्तो बनेको हो कि जस्तो लाग्छ । 

तमू समाजको सांस्कृतिक इतिहास बुझ्न मिथकहरू सहयोगी भएका छन् ?

जसलाई हामी केवल मिथक मान्छौं ती सबै सत्यको बुई चढेर आएका हुन् । त्यसैले मिथकको गहिरो अध्ययनबाट तमू समाजको सांस्कृतिक इतिहासको ज्ञान हुन्छ । पच्यु ल्हौरीसँग त्यस्ता असंख्य मिथकहरू छन्, जसको बयान बाहिर आएको छैन । कुनै व्यक्तिको मृत्योपरान्त गरिने पै संस्कारको अन्तिम दिन गाइने सर्क धेरै महत्त्वपूर्ण हुन सक्छ । यो आफैं बसाइँसराइको कथा हो, जहाँ मृतकको प्ल्ह (आत्म) लाई उसको पितृसित मिलाउने काम हुन्छ । सिक्लेस ताङतिङतिर यो सर्क गाउन दिनभरि लाग्छ । पहिले–पहिले बूढापाकाहरू बीचमा बसेर उदासपूर्वक सर्क सुन्थे तर हिजोआज त्यो क्रम पातलिएको देख्छु । 

उपन्यासमा प्रयुक्त ‘बन्दुक’ र ‘धनुषवाण’ जस्ता प्रतीकको प्रयोगमा लेखकको कुनै अभिप्राय पनि छ कि ?

धनुषवाण त हिमाली जनजातिहरूको जीवनकै अंग भइहाल्यो । त्यो बेला नजिकैको चीनमा बन्दुकको आविष्कार भइसकेको भए पनि क्होलामा आइपुग्ने सम्भावना ज्यादै न्यून देख्छु । तर, उपन्यासमा त्यसको प्रयोग तपाईंले अन्तर्वार्ताको सुरुमै सोध्नुभएको ‘एलिगरी’ लाई पुस्ट्याउन प्रयोग गरेको हुँ । 

गुरुङ सभ्यता र समुदायलाई आजसम्म केले जोगाएर ल्याएछ, ‘हिउँको गीत’ लाई साक्षी राखेर भन्नुपर्दा ?

भाषा र प्येमा आधारित संस्कार–संस्कृतिले नै गुरुङ सभ्यता र समुदायलाई जोगाउँदै ल्याएको हो । तर, अब विभिन्न विश्वास र धर्मको सम्पर्क, आधुनिकीकरण र विश्वव्यापीकरणले यो सभ्यता संकटोन्मुख देख्छु ।

दीपक सापकोटा कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully