‘हिउँको गीत’ उपन्यासमा हिउँसँगै बाँचेको तमू समाजको जीवनको आदिम लय पस्केका छन् आख्यानकार तीर्थ गुरुङले ।
तमूहरूको ७ सय वर्षभन्दा पुरानो इतिहास र संस्कृतिका साथै अन्तिम संयुक्त राज्य क्होलाको विघटन कथा सविस्तार लेखिएको छ, ‘हिउँको गीत’ मा । गुरुङसँग दीपक सापकोटाको संवाद :
तपाईंले सुरुमा शिक्षाकेन्द्री उपन्यास ‘पाठशाला’ लेख्नुभयो । ‘आपा क्हार्प’ कथासंग्र्रह पनि पाठकले रुचाए । आख्यानमा पाठकले रुचाएकै कारण ‘हिउँको गीत’ उपन्यास लेख्न लोभिनुभो कि तपाईंका लागि यो उपन्यास लेख्नैपर्ने लेखकीय दायित्वबोध पनि थियो ?
थोरै शब्दमा धेरै कुरा भन्ने खुबी ममा छैन । कविता लेख्ने इच्छा भए पनि त्यसका लागि चाहिने माधुर्य, मीठो लय वा सटीक प्रहार गर्न सक्ने क्षमता छैन । अथवा आफ्नो विचारलाई कलात्मक किसिमले निबन्धमा भन्न पनि म आफूलाई योग्य पाउँदिनँ । मलाई कथा, उपन्यासमै आफ्नो कुरा सम्प्रेषण गर्न सहज भएजस्तो लाग्छ । त्यसमाथि यो आख्यानले नेतृत्व लिएको युगजस्तो देखिन्छ । गुरुङ परिवेश, संस्कार र संस्कृतिलाई उपयोग गरेर सम्पूर्ण किसिमले लेखिएको आख्यान नपाएकाले ‘हिउँको गीत’ लाई मैले दायित्वकै रूपमा लिएको छु । यसलाई किन दायित्व मानें भने अबको पचास वर्षपछि गुरुङ सभ्यता पुस्तक र संग्रहालयमा मात्रै सीमित रहने डर मैले देखेको छु ।
‘पाठशाला’ मा बोर्डिङ स्कुलमा पढ्ने किशोरको कथा लेख्नुभयो । धेरै पाठकले ‘पाठशाला’ लाई बोर्डिङ स्कुलको आख्यान मानिरहँदा तपाईंले एलिगरी नबुझिएको वा त्यसरी समीक्षा नभएको मान्नुभयो, किन ?
‘पाठशाला’ बोर्डिङ स्कुल पढ्ने एका किशोरको कथा अवश्य हो । मैले त्यो उपन्यासलाई पहिलो जनआन्दोलनदेखि दोस्रो जनआन्दोलनसम्मका घटना बुनेर एउटा कोणबाट एलिगरीकै रूपमा लेख्ने प्रयास गरेको हुँ । तर, त्यसलाई त्यसरी नबुझिनुमा मेरै कमजोरी मान्छु । म त्यसलाई राम्ररी भन्नमा चुकें हुँला । तर, यसको अर्थ लेखकले जे लेखेको छ, पाठकले त्यसरी नै बुझ्नुपर्छ भन्ने पनि छैन । पाठक आफ्नो पाराले पढ्न स्वतन्त्र छ, नपढ्न पनि स्वतन्त्र छ । कुनै पुस्तकमा पाठकले आफ्नै दृष्टिकोण भेट्टाउँछ भने त्यसलाई किताबको सफलता मान्न सकिन्छ ।
‘हिउँको गीत’ लाई पनि मानिसहरूले सात/आठ सय वर्ष पुरानो सांस्कृतिक आख्यान मात्रै मानिदिएर यसको एलिगरीलाई उपेक्षा गरिदिने खतरा कति देख्नुहुन्छ ?
त्यो सम्भावना अधिक छ किनभने लेख्दै गएपछि उपन्यासमा भेटिने पुरानो सांस्कृतिक पक्षले नै प्राथमिक कथाजस्तो बनेर हस्तक्षेप गरिरह्यो । कथाको बीउ त त्यसरी उम्रेको थिएन । सात/आठ सय वर्ष पुरानो भए पनि यो अहिलेको कथा पनि हो, युद्धको त्रासदीबाट बाँचेर आएको ब्रिटिस गोर्खा सैनिकको कथा हो । हाम्रो युग अनायकहरूको युग हो, नक्कली नायकहरूको युग हो अथवा भएका नायकहरूलाई तेजोवध गरिएको युग हो । एउटा लेखकले आफ्नो कृतिबारे स्पष्टीकरण दिँदै हिँड्ने त होइन तर ‘हिउँको गीत’ प्राचीन कथा मात्र होइन, वर्तमान समयको कथा पनि हो । एक लेखकका रूपमा भविष्यमा पनि यो सान्दर्भिक रहोस् भन्ने चाहना म लुकाउँदिनँ ।
यो उपन्यास लेख्न कति समय लाग्यो ? कहाँ, कसरी अनुसन्धान गर्नुभयो ? कस्ता सामग्री र व्यक्तिमा तपाईं भर पर्नुभयो ?
कथाको बीजारोपण सात वर्षअघि नै भए पनि यसलाई मैले टुक्रा–टुक्रामा, फरक–फरक समयमा लेखें । बीचमा एउटा कथासंग्रह तयार पारें र टिम दाइको प्रसिद्ध गैरआख्यान ‘आयो गोर्खाली’ लाई नेपालीमा अनुवाद गर्ने काम पनि गरें । त्यसो गर्दा करिब चार वर्ष लगाएर मैले ‘हिउँको गीत’ लेखेको भन्छु । मलाई लाग्छ, इतिहासले पछिल्लो साठी–सत्तरी वर्षमा नै फड्को मारेको हो । त्यसअघि सामान्यबाहेक जनजीवनमा फरक आएको थिएन । मेरो बज्यै (जो उपन्यासको पात्रा पाते पिल्चीजस्तै सानो जीउडालकी हुनुहुन्थ्यो) का मैले बाल्यकालदेखि सुनेका अरू कथाहरू मेरा सामग्री बने । परम्परागत पुरोहित पच्यु ल्हौरी (उपन्यासमा ल्हेप्री लेखिएको) ले गर्ने अनुष्ठानहरू त मैले देख्दै आएको हुँ । क्होला सोंथरमा म स्वयं पुगें । मुख्यतः आफैंमा एक सिद्धहस्त पच्यु सोल्टी डा. पोलबहादुर गुरुङले यो काममा मलाई धेरै सहयोग गरेका छन् ।
यो उपन्यास पाठकले किन पढ्ने ?
यो गुरुङहरूको इतिहास होइन । यसलाई म ऐतिहासिक उपन्यास पनि भन्दिनँ । क्होला राज्य किन र कसरी विघटन भयो भन्ने मानक उत्तर मैले भेट्टाइनँ । त्यही खाली ठाउँमा मैले कल्पनाको एउटा संसार निर्माण गर्ने अवसर पाएँ । गुरुङ गाउँको सामान्य परिवेश हेर्न, हाम्रो विश्वास पद्धतिमा चिहाउन र रीतिथिति–जनजीवन बुझ्न ‘हिउँको गीत’ पढ्न सकिन्छ ।
क्होला सोंथरको सयौं वर्षअघिको तमू समाज उपन्यासमा चित्रण गरेर के भन्न खोज्नुभएको हो ?
क्होला सोंथर नै रोज्नुमा मेरो स्वार्थ छ । अहिलेको कुनै गाउँ नै आधारभूमि बनाएर उपन्यास लेखिए अन्य गाउँकालाई त्यसमाथि स्वामित्व लिन मन नलाग्ने हुन सक्छ । आफ्नै भाषा, गाउँ वा समुदायप्रतिको गर्व वा कहिलेकाहीँ धेरथोर घमण्डसमेत हामीसित हुन्छ । क्होला सोंप्रि ट्हों अथवा क्होला सोंथर हाम्रो पुर्खाहरूको ठाउँ हो । त्यस्तो ठाउँ, जहाँबाट गुरुङहरू अन्य गाउँठाउँमा छरिन पुगे । क्होलाजस्तै अन्य ठाउँहरू पनि होलान्, तर मैले सुनेको र पछि देखेको क्होलाप्रति गहिरो श्रद्धाभाव छ र पुरातात्त्विक महत्त्व बोकेको त्यो थलोप्रति मैले गर्न सक्ने भनेको त्यसलाई ‘हिउँको गीत’ को पृष्ठभूमि बनाउनु थियो र भयो ।
‘हिउँको गीत’ को पहिलो खण्डमा चित्रित पात्र डिस्कोको जेनेटिक मेमोरीबाट सयौं वर्ष पुरानो कथा भन्ने प्रयास देखिन्छ । केही पाठकले पहिलो खण्ड हटाएर सिधै दोस्रो खण्डबाट उपन्यास सुरु भएको भए हुन्थ्यो भन्ने सुझाव दिएको भेटियो । यो वर्गका पाठकका लागि तपाईंको स्पष्टीकरण के हुन सक्छ ?
डिस्कोको अनुवांशिक स्मृति सक्रिय भएको मत उसका केही साथीहरूको हो । उसलाई मतिभ्रम पो भएको हो कि अथवा कतै–कतै हेर्न पाइनेजस्तो उसलाई पितृ पो चढ्यो कि, यो छलफलको विषय हुन सक्छ । तर, जे भए पनि उपन्यासको दोस्रो खण्ड उसैले न्यारेट गरेको छ, त्यो पनि प्राचीन चों भाषामा ।
त्यो अविश्वसनीय कुरालाई छोडेर दोस्रो खण्डमात्र राख्नुपर्छ भन्ने सुझाव पहिला पनि आएको थियो र भोलि पनि आइरहन्छ जस्तो लाग्छ । तर, उपन्यासको मुख्य चुरो नै मैले यसलाई मानेको छु । साथीहरूमाझ डिस्को भनेर चिनिने हिउँबहादुरलाई उसको बाबाले छोराका रूपमा अस्वीकार गरेकाले ऊ मामाघरमा हुर्केको छ । अनिच्छाका बाबजुद ऊ ब्रिटिस सेनामा भर्ती हुन्छ । आतंकवादविरुद्धको युद्धमा भाग लिनुपरेको ऊ वास्तवमा युद्धविरोधी मान्छे हो ।
दुई कारण उपन्यासका पात्रहरूको नाम सम्झिन गाह्रो हुन सक्छ । पहिलो ती टिपिकल तमू भाषामा बोलाइने नसुनिएका नाम छन् । तमू भाषामा पकड नभएका पाठकलाई ती नाम अनौठा र सम्झिन गाह्रो होला । दोस्रो, उपन्यासमा पात्रहरू धेरै आउँछन् । सबै पात्र र तिनको चरित्र चित्रणमा पाठक अलमलिन सक्ने सम्भावना कति छ ? बहुल पात्रहरूको लर्को लाउनुको ध्येय के ?
यो प्रश्न पाण्डुलिपि पढ्नु हुने अग्रज र साथीहरूले पनि गर्नुभएको थियो । मैले कतिपय पात्रहरू हटाएँ र कतिलाई बेनामी बनाइदिएँ, उदाहरणका लागि क्रोमीको फुपाजुको नाम मात्र हटाएँ । पात्रहरूको नाम राख्नै पनि पितृहरूका नाममा घरभित्र पच्युले गर्ने खेमा थिउ वा स्यु थिउ गर्ने बेला सुनेर काम चलाएँ । कतिपय नामचाहिँ आफैंले बनाएँ । म आफैं त किताब नहेरी सबै पात्र सम्झिन सक्दिनँ भने पाठकहरू अलमलिन सक्ने सम्भावनालाई मैले सामान्य रूपमा लिएको छु । फेरि जब कथा कुनै व्यक्तिविशेषको मात्र नभई पूरै राज्यको हुन्छ, असंख्य पात्र आउनु स्वाभाविकै हो । मलाई कहिलेकाहीँ लाग्छ, पात्रहरू न्यूनीकरण गर्न नसक्नु मेरो कमजोरी होला । पात्रको बाहुल्यता तपाईंले ‘पाठशाला’ मा पनि भेट्टाउनुभएकै हो, ‘आपा क्हार्प’ मा संगृहीत ‘सर्पहरूसितको सुताई’ नामको कथामा पनि त्यो स्थिति छ । एक पटक ‘महाभारत’ पढेर त्यहाँका पात्र सम्झिन गाह्रै होला, त्यो टेलिसिरियलमा आइसकेको हुँदा र कतिपय साहित्यकारले ‘महाभारत’ का पात्रलाई लिएर अर्को कृति लेखेको हुँदा ती सम्झना गरिन्छन् । ग्रिक, रोमन र नोर्स साहित्यका पात्रहरू हामी कमै सम्झिन्छौं ।
अहिले आफ्नो उपन्यास आफैं पढ्दा त्यसका लागि ‘फेमिली ट्री’ राख्दा राम्रो हुने रहेछ भन्ने कत्तिको महसुस गर्नुभएको छ ?
यो प्रयास मैले गरेको थिएँ तर उपन्यासमा धेरै प्रख्यहरू छन्, जसको जैविक पिताको निर्क्योल भइसकेको छैन । फेरि उपन्यासभरिका सबै पात्रको एकआपसमा पारिवारिक सम्बन्ध पनि नभएको र दुई जना प्रख्यको रहस्य अन्ततिर खोल्नुपर्ने हुनाले ‘फेमिली ट्री’ राखिएन ।
दोस्रो खण्ड अर्थात् मूल कथामा एक जना अलिदेवबाहेक अरू सबै पात्र तमू संस्कृतिबाटै लिइएका रहेछन् । अलिदेव मात्रै हिन्दु नाम रोज्नुको विशेष प्रयोजन के ?
ऊ एउटा प्रख्य हो अर्थात् विवाहेत्तर सन्तान र उसको जन्म धेरै रहस्यको बादलमुनि रहेको छ । उसलाई पाल्ने नानी कुचिरीको उपस्थिति क्होलाको राजालाई अस्वीकार्य भएको हुनाले उनी त्यही बच्चासहित नेपालमा निर्वासनमा आएकी हुन्छे । हाम्रोतिर पहिलो छोरालाई ‘अलि’ भनिन्छ । हिन्दुहरूको सम्पर्कमा आएको हुनाले उसको नाम ‘अलिदेव’ राखेको हुँ । उसकै कारण क्होलामा पाप र धर्मजस्ता शब्द प्रयोगमा आउँछन् । ती शब्दहरू गुरुङ भाषामा छैनन् । तत्कालीन समयतिरै तमू समुदाय हिन्दु धर्मको सम्पर्कमा आएको थियो होला ।
गुरुङ समाजको विश्वास पद्धतिलाई अभिलेखीकरण गर्नुपर्ने खाँचो एकातिर होला, अर्कोतिर आलोचनात्मक विश्लेषण गर्न ढिला पनि भयो होला नि ?
समाजशास्त्री र मानवशास्त्रीहरूले हाम्रो विश्वास पद्धतिलाई अभिलेखीकरण गरिरहेकै छन् । हालै मानवशास्त्रमा विद्यावारिधि गरेका डा. पोलबहादुर गुरुङको थेसिस मैले पढेको छु । थपथाप गरेर त्यसलाई बृहत् रूप दिइयो भने त्यो गुरुङ विश्वास पद्धतिको एउटा बलियो अभिलेख बन्ने देख्छु । त्यसमाथि आलोचनात्मक विश्लेषण हुनुपर्ने धारणा मेरो पनि छ, त्यसलाई केवल परम्परागत रूपमै पछ्याइएको कारण यो जमेको पोखरीजस्तो बनेको हो कि जस्तो लाग्छ ।
तमू समाजको सांस्कृतिक इतिहास बुझ्न मिथकहरू सहयोगी भएका छन् ?
जसलाई हामी केवल मिथक मान्छौं ती सबै सत्यको बुई चढेर आएका हुन् । त्यसैले मिथकको गहिरो अध्ययनबाट तमू समाजको सांस्कृतिक इतिहासको ज्ञान हुन्छ । पच्यु ल्हौरीसँग त्यस्ता असंख्य मिथकहरू छन्, जसको बयान बाहिर आएको छैन । कुनै व्यक्तिको मृत्योपरान्त गरिने पै संस्कारको अन्तिम दिन गाइने सर्क धेरै महत्त्वपूर्ण हुन सक्छ । यो आफैं बसाइँसराइको कथा हो, जहाँ मृतकको प्ल्ह (आत्म) लाई उसको पितृसित मिलाउने काम हुन्छ । सिक्लेस ताङतिङतिर यो सर्क गाउन दिनभरि लाग्छ । पहिले–पहिले बूढापाकाहरू बीचमा बसेर उदासपूर्वक सर्क सुन्थे तर हिजोआज त्यो क्रम पातलिएको देख्छु ।
उपन्यासमा प्रयुक्त ‘बन्दुक’ र ‘धनुषवाण’ जस्ता प्रतीकको प्रयोगमा लेखकको कुनै अभिप्राय पनि छ कि ?
धनुषवाण त हिमाली जनजातिहरूको जीवनकै अंग भइहाल्यो । त्यो बेला नजिकैको चीनमा बन्दुकको आविष्कार भइसकेको भए पनि क्होलामा आइपुग्ने सम्भावना ज्यादै न्यून देख्छु । तर, उपन्यासमा त्यसको प्रयोग तपाईंले अन्तर्वार्ताको सुरुमै सोध्नुभएको ‘एलिगरी’ लाई पुस्ट्याउन प्रयोग गरेको हुँ ।
गुरुङ सभ्यता र समुदायलाई आजसम्म केले जोगाएर ल्याएछ, ‘हिउँको गीत’ लाई साक्षी राखेर भन्नुपर्दा ?
भाषा र प्येमा आधारित संस्कार–संस्कृतिले नै गुरुङ सभ्यता र समुदायलाई जोगाउँदै ल्याएको हो । तर, अब विभिन्न विश्वास र धर्मको सम्पर्क, आधुनिकीकरण र विश्वव्यापीकरणले यो सभ्यता संकटोन्मुख देख्छु ।
