दक्षिण भारतीय र्यापरहरूले क्षेत्रीय भाषा, संस्कृति र मुद्दालाई अन्तर्राष्ट्रिय स्वादको र्याप बिटमा मिसाएर नौलो सांगीतिक रचना सुनाइरहेका छन्, हिप–हपको सीमालाई विश्वमा फैलाइरहेका छन्
काठमाडौँ — विश्वकै सबैभन्दा चर्चित व्यावसायिक फुटबल प्रतियोगिता ‘इंग्लिस प्रिमियर लिग’ को सशक्त टोली ‘आर्सनल’ ले आगामी सिजनको परिचयात्मक भिडियोमा नौलो प्रयोग गरेको छ । यसमा भारतका र्यापर ‘हनुमानकाइन्ड’ लाई उनको चर्चित गीतसहित सिजन सुरु भएको घोषणा गर्न प्रयोग गरिएको छ ।
आर्सनलको आधिकारिक वेबसाइटमा केरलाका यी र्यापरलाई क्लबका ठूला फ्यानको रूपमा चिनाउँदै लिगमा विशेष अतिथिका रूपमा बोलाउने घोषणासमेत गरिएको छ ।
केरलाको मालापुरममा जन्मिएर अमेरिकासहित विभिन्न देशमा हुर्किएका हनुमानकाइन्ड भनी चिनिने सुरज चेरुकत यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा आयोजित ‘मेड इन इन्डिया’ कार्यक्रममा पनि आकर्षणका रूपमा देखापरेका थिए । विभिन्न ४२ अमेरिकी राज्यहरूबाट आएका करिब १३ हजार भारतीय डायस्पोरासमक्ष आफ्नो चर्चित गीत ‘बिग डग्स’ गाएका उनलाई मोदीले स्टेजमै गएर अँगालो हाले । सो गीतमा उनले मजदुर वर्गको संघर्ष, गरिबीबाट माथि उठेर सफलता पाएको कथा, तमिल संस्कृति र द्रविडेली पहिचान अभिव्यक्त गर्न खोजेका छन् । दक्षिण अमेरिकी राज्य टेक्ससको आधुनिक हिप–हप भावलाई दक्षिण भारतीय तमिल संस्कृतिमा घोलेर उनले नयाँ धारको र्याप म्युजिक तयार पारेका हुन् ।
हनुमानकाइन्डले यही महिना सार्वजनिक गरेको ‘रन इट अप’ नामक म्युजिक भिडियोले पनि अहिले विश्वव्यापी चर्चा बटुलिरहेको छ । भारतीय महोत्सवहरूमा खेलाइने ‘मौतका कुआँ’ लाई ‘बिग डग्स’ को भिडियोमा देखाएका हनुमानकाइन्डले ‘रन इट अप’ मा केरलासहित अन्य राज्यहरूको कुस्तीबाज र लोक नृत्यका विभिन्न शैली प्रस्तुत गरेका छन् । युट्युबर आइसोस्पिडले ‘भारतका जे जी’ भन्ने गरिएका हनुमानकाइन्ड पछिल्लो समय विश्वव्यापी रूपमै प्रशंसा बटुलिरहेको भारतीय हिप–हप र र्याप संगीत क्षेत्रका प्रतिनिधि पात्र हुन् ।
उनका गीत र म्युजिक भिडियोहरू इन्टरनेटमा ‘भाइरल’ छन् । आठ महिनाअघि रिलिज भएको ‘बिग डग्स’ मा हालसम्म युट्युबमा मात्रै २२ करोड भ्युज पुगेको छ भने बिलबोर्डको ग्लोबल र्यांकिङमा समेत यो गीत ९ औं स्थानसम्म पुगेको थियो । आगामी महिना क्ल्यालिफोर्नियामा हुन लागेको प्रख्यात कोचेला संगीत महोत्सवमा हनुमानकाइन्डले प्रस्तुति दिने तय भएको छ । त्यहाँ लेडी गागा, ग्रिन डे, पोस्ट मेलनजस्ता ग्लोबल सेलेब्रिटीहरूले पनि गीत गाउँदै छन् । यसअघि कोचेलामा दिलजित दोसान्झले गाएका थिए ।
हनुमानकाइन्डसँगै पछिल्लो समय दक्षिण भारतीय र्यापरहरू विश्व संगीत क्षेत्रमा प्रभावशाली ढंगले उदाएका छन् । उनीहरूले क्षेत्रीय भाषा, संस्कृति र मुद्दाहरूलाई अन्तर्राष्ट्रिय स्वादको र्याप बिटमा मिसाएर नौलो सांगीतिक रचना सुनाइरहेका छन् । यसले विश्वभरिका दर्शक–श्रोताको मन जितेको छ । अरिभु, फेजो, थिरुमली, हनुमानकाइन्ड, बेबी जिन, राजा कुमारी, इर्फाना हमिद, सिरी नारायणजस्ता आर्टिस्टहरू लोकप्रियताको शिखरमा छन् । आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गर्दै उनीहरूले दक्षिण भारतीय हिप–हपको सीमालाई अन्तर्राष्ट्रियस्तरमा फैलाइरहेका छन् ।
संगीतको माध्यमबाट पहिचानको खोजी
केही वर्षअघिसम्म भारतीय हिप–हप भनेको मुख्यतः दिल्ली, मुम्बई, पञ्जाब, कलकत्ताजस्ता उत्तर भारतीय सहरहरूमा मात्रै केन्द्रित थियो । कलाकार रणवीर सिंह अभीनित ‘गली ब्वाई’ जस्ता फिल्मले हिन्दी हिप–हपलाई चर्चामा ल्याए पनि दक्षिण भारतको संगीत बलिउडकै छायामा थियो । तर, अहिले दक्षिण भारतका हिप–हप आर्टिस्टहरूले आफ्नै सांस्कृतिक र भाषिक पहिचानलाई आधार बनाएर एउटा छुट्टै सांगीतिक आन्दोलनको सुरुवात गरेका छन् ।
उनीहरूले आफ्नो भाषा, वेशभूषा, रहनसहन तथा स्थानीय मुद्दाहरूलाई गीतमा मिसाएर विश्वसामु बिलकुलै नौलो सांगीतिक धार प्रस्तुत गरिरहेका छन् । संगीत विश्लेषकहरूले भन्ने गरेझैँ हिप–हप विधा केवल पश्चिमी प्रभावको प्रतिफल नभई स्थानीय समुदायको आवाज, संघर्ष र गौरवलाई व्यक्त गर्ने माध्यम पनि हो भन्ने दक्षिण भारतीय हिप–हपले प्रमाणित गरिरहेको छ । हनी सिंह, बादसाह, रफ्तारजस्ता भारतका सबैभन्दा चर्चित हिप–हप आर्टिस्टसँगै डीजे स्नेक, डीजे ल्यानजस्ता अन्तर्राष्ट्रिय आर्टिस्ट र एआर रहमानजस्ता संगीतज्ञहरूले पनि दक्षिण भारतीय र्यापरको तारिफसँगै सहकार्य गर्न थालेका छन् ।
हालै सार्वजनिक भएको स्पटिफाइको ‘लाउड एन्ड क्लियर २०२५’ प्रतिवेदनले भारतीय संगीतकर्मीको संख्या र प्रभाव विश्व संगीतमा उल्लेखनीय बढेको देखाएको छ । विगत एक वर्षमा स्पटिफाइमा ९ हजारभन्दा धेरै आर्टिस्ट थपिएका र त्यसमा ९० प्रतिशतभन्दा धेरै ‘लोकल आर्टिस्ट’ रहेको प्रतिवेदनमा उल्लेख छ । हिन्दी पप, हिप–हपदेखि पञ्जाबी पप, तमिल पप र मलयालम हिप–हप अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा लोकप्रिय बनेका छन् । तेलगु भाषामा बनेका संगीतहरूले सबैभन्दा धेरै चर्चा कमाइरहेको प्रतिवेदनले औंल्याएको छ ।
यति मात्रै नभई सन् २०२४ मा भारतीय संगीतकर्मीहरूले स्पटिफाइबाट आर्जन गरेको रोयल्टीको लगभग ५० प्रतिशत विदेशबाट गरिएको स्ट्रिमिङमार्फत आएको थियो । यसले अमेरिका, बेलायत, यूएई, पाकिस्तान, क्यानडा, मलेसिया र श्रीलंकामा भारतीय संगीतको बढ्दो लोकप्रियता देखाउने ‘इन्डिया टुडे’ की पत्रकार भावना अगरवालको विश्लेषण छ । ‘भारतबाट निर्यात हुने सांस्कृतिक प्रोडक्टमध्ये यसअघि बलिउड फिल्म र संगीत प्रमुख रहँदै आएकोमा अहिले स्वतन्त्र सर्जक र क्षेत्रीय भाषाका गीत/संगीतले पनि विश्वभर ध्यान आकर्षित गरिरहेका छन्,’ अगरवाल लेख्छिन्, ‘भारतको क्षेत्रीय संगीत अब गृहनगरमा मात्रै सीमित छैनन्, यी विश्वभर पुगिरहेका छन् भन्ने पुष्टि स्पटिफाइको तथ्यांकले देखाउँछ ।’
र्यापर हनुमानकाइन्ड स्वयं आफूलाई ‘भारतीय र्यापर’ नभई ‘भारतीय मूलका र्यापर’ भनी चिनाउने गर्छन् । त्यस्तै, ‘डी एमसी’ स्टेज नामबाट लोकप्रिय दीपा उन्नीकृष्णनन् पहिले हिप–हप वा र्यापलाई बलिउड गीतमा फिलर वा खाली ठाउँ भर्ने माध्यमका रूपमा प्रयोग गरिनेमा अहिले पूर्ण गीतका रूपमा लिन थालिएको बताउँछिन् । ‘हिप–हपको उदयसँगै र्यापरहरूलाई गरिने व्यवहारमा पनि परिवर्तन आएको छ,’ उनी भन्छिन्, ‘पहिले हामीलाई ठूला गीतहरूमा फिलरका रूपमा हेरिन्थ्यो, अब हामीलाई समान रूपमा हेरिन्छ ।’
विभेद, सामाजिक न्याय, स्थानीय संस्कृतिको उजागर
तमिल नाडुका र्यापर अरिभु (खास नाम अरिभरासु कलैनेसन) ले आफ्नो संगीतमार्फत सामाजिक न्याय, जातीय विभेद र समानताको मुद्दाहरू उठाउँदै आएका छन् । उनले सन् २०१७ मा चेन्नईमा स्थापित ‘द कास्टलेस कलेक्टिभ’ नामक ब्यान्डमार्फत सांगीतिक यात्रा सुरु गरेका थिए । यो ब्यान्डले जातीय विभेदविरुद्ध आवाज उठाउन संगीतलाई प्रमुख माध्यम बनाएको छ । एआर रहमान आबद्ध रहेको ‘माज्जा’ प्रोजेक्टमा अरिभुले गायिका दिसँग मिलेर गाएको ‘इन्योज इन्जामी’ गीतको युट्युबमा मात्रै अहिले ५० करोडभन्दा धेरै भ्युज छ । गीत लोकप्रिय भएपछि रहमानले अरिभु र दिलाई पन्छाएको आरोपसमेत लागेको थियो ।
उक्त गीतमा अरिभुले श्रीलंकाको चिया बगानमा जबर्जस्ती काम गर्न पठाइएकी हजुरआमा भलिअम्माबारे गाएका छन् । भूमिहीन प्रवासी मजदुरका रूपमा काम गर्न लगिएकी भलिअम्मालाई पछि फेरि उसैगरी जबर्जस्ती भारत फिर्ता ल्याइएको थियो । अरिभुले ‘द वायर इन्डिया’ सँगको कुराकानीमा आफ्नो मातृकुलबारे भनेका छन्, ‘हाम्रो परिवारलाई २ सय वर्षअगाडि श्रीलंकाको चिया बगैंचामा मजदुरको रूपमा काम गर्न लगिएको थियो । सन् १९६४ मा भएको सिरिमा–शास्त्री सम्झौतापछि उहाँहरूलाई अचानक भारत फर्काइयो । मेरी हजुरआमाले आफ्ना दिदी–बहिनीहरूलाई ‘गएँ है’ समेत भन्न पाउनु भएन । हाम्रा आफन्त जीवित छन् कि छैनन् भन्ने हामीलाई आजसम्म थाहा छैन ।’
सन् २०१९ मा सार्वजनिक भएको अरिभुको ‘थेरुकुरल’ (सडकको आवाज) नामक एल्बममा ‘एन्टी–इन्डियन’, ‘मिडल क्लास’ जस्ता गीतहरू समावेश छन् । यी गीतहरूले राजनीतिक मुद्दाहरू उठान गर्दै सत्तासँग प्रश्न गर्छन् । ‘द न्युज मिनेट’ ले यसलाई ‘सर्वोत्कृष्ट तमिल हिप–हप’ र ‘द रोलिङ स्टोन इन्डिया’ ले यो एल्बमलाई सन् २०१९ को शीर्ष १० भारतीय एल्बममध्ये एकका रूपमा सूचीकृत गरेको थियो । अरिभुको संगीतमा तमिल लोक धुन, ओप्पारी (शोक गीत) र हिप–हपको मिश्रण पाइन्छ । यसले परम्परा र आधुनिकताको सेतु निर्माण गरिरहेको संगीत विश्लेषकहरूको टिप्पणी छ ।
त्यस्तै, केरलाका चर्चित र्यापर थिरुमली (विष्णु एमएस) ले आफ्नो र्याप संगीतमार्फत दक्षिण भारतको सांस्कृतिक धरोहरलाई जोगाउने प्रत्यत्न गरेका छन् । मलयालम भाषाका पुराना कविहरूलाई श्रद्धाञ्जलीस्वरूप ‘थिरुमली’ नाम राखेका यी र्यापरको गीत ‘भैयाभेली’ लाई समीक्षकहरूले प्रशंसा गरेका छन् । यस गीतमा उनले परम्परागत छुवाछूत र सामाजिक चुनौतीले जेलिएको अवस्थालाई उजागर गर्न खोजेका छन् । गीतको आशय यस्तो छ–
तिमी बेइमान, म पनि बेइमान
सदियौंदेखिको दासता यो अझै जारी छ
कामका लागि हामीले कुकुरजस्तै मर्नुपर्छ
त्यही पनि हामी डटिरहन्छौं, भिडिरहन्छौं
थिरुमलीका गीतहरू प्रायः स्थानीय मजदुरको संघर्ष, दलित पहिचान र औपनिवेशिक कालको अन्यायबारे हुन्छन् । केरलाको चर्चित पत्रिका ‘द विक’ सँगको भिडियो अन्तर्वार्तामा उनले केही वर्षअघिसम्म केरलामा हिप–हप संगीत लगभग अस्तित्वमै नरहेको र आफूहरूले मूलधारको ट्रेन्ड पछ्याउने नभई, आफ्नै कथा सुनाउँदा मलयालम र्याप अहिले देश/विदेशसम्म पुगेको बताएका छन् । केरलामा हिप–हप संगीत जागृत गराउने श्रेय थिरुमलीलाई पनि दिने गरिएको छ ।
त्यस्तै, केरलाकै अर्का र्यापर फेजो (खास नाम फेबिन जोसेफ) ले मलयालम भाषामा र्याप संगीतलाई नयाँ उचाइमा पुर्याएका छन् । उनले पनि आफ्ना गीतहरूमा स्थानीय मुद्दा, सामाजिक न्याय र युवा पुस्ताको भावना समेट्ने गरेको पाइन्छ । फेजोले ‘मल्सरम इनोडु थाने’, ‘आयिराम औरा’, ‘कोडे थुल्लु’, ‘वेरे लेबल’, ‘महानुभाभुलु’ जस्ता गीतहरू सार्वजनिक गरेका छन् । उनले विभिन्न मलयालम फिल्मका लागि पनि र्याप गीत गाएका छन् । अभिनेता मोहनलालको फिल्म ‘आरात्तु’ मा समावेश फेजोको ‘थालायुडे भिलायुट्टु’ (दिमागी खेल) बोलको थिम सङ निकै चर्चित छ ।
केरलामा अहिले स्ट्रिट एकेडेमिक्स, फेजो, दाब्जी, हनुमानकाइन्ड, भेदान, एमसी कुपर, बेबी जिन, परिमल साइस, किल्ला के जस्ता हिप–हप आर्टिस्टहरू प्रख्यात छन् । उनीहरूका एकल र सहकार्यमा गाएका गीत अनलाइन स्ट्रिमिङ प्लाटफर्मदेखि सामाजिक सञ्जालमा ट्रेन्डिङमा आउने गरेका छन् । दाब्जीको ‘इलुमिनाती’, बेबी जिनको ‘कायी’, परिमल साइसको ‘आइयायो’, भेदानको ‘भ्वाइस अफ भ्वाइसलेस’ जस्ता गीत र यिनको म्युजिक भिडियोहरू चर्चित छन् । यी र्यापरहरूले कोल्लम र पणीजस्ता केरलाका लोक संगीत र सामुदायिक उत्सवहरूमा गाइने गीतलाई आधुनिक हिप–हप बिटमा मिसाएर गाउने गरेका छन् ।
तमिल नाडुमा योगी बी, एमसी जेस्ज, अरिभु, सिकफ्लिप जस्ता आर्टिस्टले पनि मन्दिर र उत्सवहरूमा बज्ने गाणा, तविलजस्ता परम्परागत तमिल संगीत र संस्कृतिलाई हिप–हप बिटहरूमा ढालेर गाउने गरेका छन् । कर्णाटका र विशेषगरी बेंगलुरुको हिप–हप क्षेत्र अझै गतिशील र स्फूर्त छ । राजनीतिक, सांस्कृतिक विषयमा आधारित गहन शब्द, प्रयोगात्मक संगीत, स्ट्रिट र्याप, ट्रयाप र्याप, बुम बापजस्ता बिटमा बनेका हिप–हप गीत इन्टरनेटरमा चर्चित छन् । ब्रोदा भी (विग्नेश शिवानन्द), रोल रिडा, रिबेल ७ (मन्जुनाथ नैक), स्मोकी द गोस्ट (श्रीनाथ सत्यनारायण), एमसी बिज्जु, गुब्बी, सिरी (सिरी नारायण), अल ओके (आलोक बाबु) जस्ता र्यापरले तेलगु, कन्नडा, हिन्दी र अंग्र्रेजी भाषामा गाउँदै आएका छन् ।
भारतीय मूलकी अमेरिकी हिप–हप आर्टिस्ट राजा कुमारी (स्वेता यल्लाप्रागाडा) ले भारतीय हिप–हपलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन महत्त्वपूर्ण भूमिका खेलेकी छन् । उनले अमेरिकाका चर्चित कलाकारहरू नास, ड्रेक तथा स्नूप डगसँग पनि काम गरिसकेकी छिन् । उनको गीत ‘मेड इन इन्डिया’ ले हिप–हपमा भारतीय मिठास जोड्न सफल भएको छ । यस गीतको म्युजिक भिडियोमा भारतका विभिन्न संस्कृति, वेशभूषा तथा नृत्यशैलीलाई समेटिएको छ । त्यस्तै, तमिल नाडुको कोडाइकनालकी हिप–हप सेन्सेसन इर्फाना हमिद धार्मिक कट्टरता, उत्पीडनका विरुद्धमा तमिल भाषासँगै मुस्लिम सुदायको पहिचानका विषयमा गाउँछिन् । उनले नेटफ्लिक्स सिरिज ‘मसाबा मसाबा’ का लागि ‘आम् योर किङ’ थिम सङसमेत गाएकी छन् ।
दक्षिण भारतीय हिप–हपको प्रभाव विश्वस्तरमा
अहिले दक्षिण भारतीय हिप–हपको प्रभाव भारतको सांगीतिक मात्रै नभई अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको छ । स्पटिफाइका अनुसार, सन् २०२४ मा मात्र दक्षिण भारतीय हिप–हप गीतहरू ७५ देशहरूमा ट्रेन्डिङ भएका थिए । हनुमानकाइन्डको ‘बिग डग्स’ जस्तो गीत बिलबोर्ड ग्लोबल २०० चार्टमा टप १० मा पुग्न सफल भयो । राजा कुमारीको ‘मेड इन इन्डिया’ गीत १० करोडभन्दा धेरै पटक स्ट्रिम भइसकेको छ । फेजो, थिरुमली, अरिभुजस्ता आर्टस्टका गीत लगातार युट्युब ट्रेन्डिङमा पर्दै आएका छन् ।
यी उपलब्धिले दक्षिण भारतीय हिप–हपलाई अब क्षेत्रीय वा सीमित संगीत धार मात्रै नभई विश्वव्यापी स्तरमा फैलिँदै गरेको सांगीतिक अभियानका रूपमा स्थापित गरिदिएको छ । दक्षिण भारतीय हिप–हपको उदयले क्षेत्रीय भाषाका गीत–संगीतलाई नयाँ उचाइमा पुर्याउँदै हिन्दी संगीत र विशेषतः बलिउडको वर्चस्वलाई चुनौती दिएको छ । यसअघि हिन्दी–भाषी गायकले मात्रै गाउने र्याप गीत अहिले मलयालम, तेलुगु, तमिल, कन्नडसँगै उत्तरपूर्वी भारतीय राज्यहरूमा समेत लोकप्रिय बनेका छन् ।
यी आर्टिस्टहरू युट्युब, स्पटिफाइ, एपल म्युजिक जस्ता डिजिटल प्लाटफर्मको माध्यमबाट विश्वभरै आफ्ना गीत पुर्याइरहेका छन् । दक्षिण भारतीय हिप–हपको सफलताले भारतको क्षेत्रीय पहिचानलाई विश्वव्यापी बनाउने काम गरिरहेको देखिन्छ । साथै, यो सांगीतिक अभियानले दक्षिण भारत मात्रै नभई पञ्जाबी हिप–हप, मराठी र्याप, बंगाली अन्डरग्राउन्ड हिप–हपजस्ता अन्य क्षेत्रीय सांगीतिक ट्रेन्डलाई पनि प्रवर्द्धन गर्न प्रेरणा दिइरहेको छ । नेपालमा पनि हनुमानकाइन्ड, बेबी जिन, दाब्जीका गीत चर्चित छन् । बलिउडको प्रभुत्व रहेको भारतीय संगीत उद्योगमा परिवर्तन आउने संकेत देखिइरहँदा ढिलोचाँडो नेपालमा पनि त्यसको तरंग नआइपुग्ला भन्न सकिँदैन ।
कुनै बेला दक्षिण एसियामै मजाक र ‘स्टेरियोटाइप’ को हिस्सा बन्ने गरेका तेलुगु, तामिल, कन्नड, मलायलमजस्ता दक्षिण भारतीय भाषा र संस्कृतिलाई पछिल्ला दिनमा सामाजिक सञ्जाल, सिनेमा र संगीतमार्फत ‘मेनस्ट्रिम’ बनाउन यी युवा र जल्दाबल्दा हिप–हप र्याप गायकहरूको भूमिका बढ्दै गएको छ । अहिले दक्षिण भारतीय सिनेमाले जसरी कमाइ र ख्यातिका लागि मूलधारको बलिउड र कतिपय अवस्थामा हलिउडकै फिल्मलाई पछि पार्ने अवस्था आएको छ, दक्षिण भारतीय र्याप संगीतको यो उछालले पनि त्यस्तै सांस्कृतिक विद्रोहको झल्को दिइरहेको छ ।
इन्स्टाग्राम वा टिकटकमा आजभोलि र्याप तथा हिप–हपका पारखीहरूले ‘वर्तमान समयका उत्कृष्ट र्याप संगीत भारतबाट पो आइरहेका छन्’ भनिरहेको भेटिन्छ । दिलजित दोसान्झले एड सिरनसँग सहकार्य गरेजस्तै भोलि हनुमानकाइन्डले एमिनेम वा केन्ड्रिक लमारसँग नगर्लान् भन्न सकिन्न । लमारलाई विश्व चार्टमा जितेपछिको अन्तर्वार्तामा हनुमानकाइन्डले भनेका थिए, ‘मलाई केन्ड्रिक, जेआईडी, डेन्जेल करी, थ्री सिक्स माफियाजस्ता आर्टस्ट तथा हिप–हप ग्रुपसँग काम गर्ने रहर छ ।’ -एजेन्सीको सहयोगमा


