कंक्रिट नगरीमा हरियालीका रमन्ता

जंगलै प्यारो छ– ‘जंगलका राजा’ लाई । तर दीपक, जिका, सुरमान र नवीनहरूको पढ्ने रहर कहिलेसम्म मारिरहने ? घाम पनि झुक्किएर मात्रै पस्ने जंगलको सेपमै छाडिराख्ने कि चेतनाको उज्यालो आगततिर पनि तान्ने ?

चैत्र २, २०८१

दीपक सापकोटा, फणीन्द्र संगम

The beauty of greenery in a concrete city

काठमाडौँ — जंगल–जिन्दगीको लय बेग्लै छ । जंगल कहिले सरस छ, कहिले नीरस । कर्णाली सुर्खेतकी राउटे जिका शाही सोच्छिन्– जंगल थोरै उज्यालो, धेरै अँध्यारो र सुनसान छ ! भन्छिन्, ‘मानन् भेरै छ, बहचर छ ।’ अर्थात् जंगल कठिन पनि छ, रमाइलो पनि ! 

सुर्खेतको ‘मानन् र बचहर’ जंगलबाट काठमान्डु सहरको भीडबीच आइपुगेका छन्, केही उज्याला आँखाहरू । सहरको तापमान निकै ओरालो झरिरहेका बेला आफ्नै राउटे पहिरनमा ती साँघुरा गल्लीहरूतिर बरालिएका छन् ।

आफ्नै संसारभन्दा फरक रङमा बाँचिरहेको, रंगीन र गुलजार शक्तिमान् सहरमा देखिएका अनेक कोलाजले ती राउटेको आँखामा खुसी तैरिएको छ । ती आँखाहरू त्यो किताब हो, जहाँ तिनका पुर्खा र दुःखजिलो (सायद सुखी पनि) जीवन–संसार लिपिबद्ध छ । 

हामी ‘खबरीलाल’ ती राउटे–बन्धुहरूको सुख–दुःख, सन्तोष–असन्तोष, आशा–निराशा र जीवन–कथा सुन्न तिनकै पछिपछि सहरका अँध्यारा (उज्याला पनि) गल्लीहरूतिर हिँडिरहेका छौं । 

आत्माको आलाप लुकाउने छत हुन सक्छ कि सक्दैन– सहर ? धूलो–धूवाँले राज गरिरहेको स्वयम्भू मुन्तिरको सडक किनारमा थचक्क बसेर दीपक शाहीले आफूअघि निर्माण भएको दृश्य हेरे– सवारीसाधनको कोलाहल ! सामान किन्न आह्वान गरिरहेका माइकहरूको आवाज र आवाजहरू ! एन्टिक सामान बेच्न–किन्न तल्लीन साहुजी र ग्राहक ! अनि अनिश्चित जिन्दगीको डर, संघर्ष र रहर बोकेर कतै दौडिरहेका मान्छेहरू !

तुँवालोको मट्मैलो बर्को ओढरै घिस्रिरहेका दिनहरूमा काठमान्डु सहर परिभ्रमणमा निस्किएका थिए राउटेहरू– दीपक शाही (२५), नवीन शाही (१८), जिका शाही (१८), सुरमान शाही (१८) । उनीहरूका पछिपछि थिए– फोटोग्राफर पवन थापा, आख्यानकार शैलेन्द्र अधिकारी र दोभाषे बनी सुर्खेतदेखि तीसँगै काठमान्डु आएका लालबहादुर खत्री । 

The beauty of greenery in a concrete city

आकाश निरन्तर धुम्मिएको माघको दिन तिनले यो सहर नियाले– ठमेलबाट, स्वयम्भूको डाँडाबाट, विमानस्थलबाट, कोटेश्वरको पुलबाट...। चुपचाप पातहरू झर्न थालेका ठिहीग्रस्त मौन रूखहरूमा ‘जम्प’ गरिरहेका बाँदर देखेपछि आफ्नो जंगलको न्यास्रोले ग्रस्त राउटेहरू अलि चनाखा देखिए । 

आफ्नो रैथाने ‘भव्यतम्’ जीवनको स्मृतिदंशले सायद तिनलाई ऐंठन पारेको थियो । र, स्मृति–यात्रामा तिनीहरू जंगल अनि नदीकिनारको यादमा मग्न–मग्न थिए । चिसोमिश्रित स्वयम्भूको हिउँदे बतास, हातमा माला जप्दै हिँडिरहेका सुनौला टाउका भएका आनीहरू, टक्क उभिएर र एकोहोरो घोरिएर हेरिरहेका मान्छे देखेर तिनले सहरको भीडमा आफूलाई ‘बेग्लै मान्छे’ महसुस गरिरहेका थिए ।

प्रकृतिको हरियो जंगलको ऐकान्तिकताबाट एकाएक यो खैरो कंक्रिटको कोलाहलमा आइपुगेका उनीहरू असलमा ‘अनौठा मानिस’ नै थिए । सहर पसेका राउटेलाई सम्बोधन गरी कवि प्रकाश थाम्सुहाङले उहिल्यै कविता लेखेका थिए– ‘हरियो ग्रहको मान्छे’– 

तिम्रो लुगाभन्दा हजारौं गुणा मैलो/कालो आयातित कम्बल ओढेर

निस्लोट सुतेको यो सहर/तिम्रो नाङ्गो पाइतालाको हस्तक्षेपले

बेस्सरी थर्किएछ जमिन/सहर आतंकित ब्युँझियो

छक्क पर्‍यो सहर/अचम्भित भए सहरवासीहरू

कसको भयंकर पदचाप हो यो ?/हेर कस्तरी हल्लिएको हाम्रो पृथ्वी ?

यो भवन, टावर, सपिङमल/यो धरहरा, घन्टाघर, सिंहदरबार

किन हल्लिएको यस्तरी ?/कुन ग्रहको जीव आइरहेछ यहाँ ?

अनेकौं प्रश्नको थाक बोकेर/सहर सोचमग्न उभियो...!

‘सोचमग्न सहर’ को हतारोमा पनि आफ्नै लयमा छ– स्वयम्भूको जीवन, आफ्नै लयमा छन्– राउटेहरू । बौद्ध दर्शनको जीवन्तता र आधुनिक जीवनको मिश्रणले बनेको स्वयम्भूको भुलभुलैयाबीच राउटेहरू आफ्नै लय खोजिरहेका थिए । यो सहरमा उनीहरू कोरा कपडामै आएका थिए । 

बब मार्ली चित्रअंकित टिसर्ट लगाएका, काँधमा गिटार भिरेर स्वयम्भू डाँडातिर हातमा चुरोट च्याप्दै मस्तमग्न सहर नियालिरहेका केटाहरूलाई तिनले बडो ध्यानस्थ मुद्रामा हेरिरहेका थिए । 

The beauty of greenery in a concrete city

सुर्खेतमा जीवनका सुन्दर दिन व्यतीत गरी ‘नाइट बस’ मा काठमान्डु आइपुगेका राउटेहरूलाई क्यामराका लेन्सले पछ्याइरहेका पवन थापाले काँधमा धाप मार्दै अनायास सोधेका थिए– सुर्खेतको जंगल र काठमान्डुका गल्लीमध्ये कुन रमाइलो ? भर्खरै ‘स्वप्ननगरी’ पसेका राउटे–बन्धु दीपक शाहीले कुनै उत्तर सोचेका थिएनन् । 

आफू हिँडेका समयका पदचाप, घुम्ती, कुइनेटो, मोड, सडकहरू उत्तिकै प्रिय छन्– दीपकलाई । तिनै कुइनेटा त थिए– उनको आत्माको खोजी र अन्तर्मनको यात्रा ! सहर डुलिरहेका राउटेहरूका आँखा पढे थाहा हुन्थ्यो– ती अचम्म र जिज्ञासाहरूले घेरिएका छन् र छन्– प्रफुल्लित । 

मान्छेको जीवन र स्वभाव सायद आफ्नै इच्छाले निर्माण हुँदैन, ऊ हुर्केको परिवेशले त्यो बन्छ । जस्तो, सुर्खेतबाट काठमान्डु पसेका राउटेहरूको स्वभाव, सोच्ने प्रक्रिया तिनीहरू जन्मे–हुर्केको जंगल, एकान्त र छेउमै एकनासले बगेको शान्त नदीले निर्माण गरेको हो । आम–मानिसले गर्ने तीनवटा काम राउटेहरू कहिल्यै गर्दैनन्– एकै ठाउँ बस्दैनन्, खेतीपाती गर्दैनन् र औपचारिक शिक्षा लिँदैनन् । यी ‘काम’ पनि तिनीहरू हुर्केकै जीवन–शैलीले ‘नगर्ने’ भएका हुन् । 

The beauty of greenery in a concrete city

राउटेहरू असाध्यै फारु गरेर, शब्द तौलेर मात्रै बोल्छन् । ती धेरै बोल्दैनन्, अरूलाई सुन्छन् । हामी ‘सभ्य’ हरू चाहिँ असाध्यै बोल्छौं–चिच्याउँछौं, मात्रै सुनाउँछौं हाम्रा आवाज र सुन्दैनौं कसैले कसैलाई । सडक किनारका पसलहरूमा बेच्न राखिएका कहिल्यै नदेखेका सामान र ‘सेल–सेल–सेल’ चिच्याइरहेका मानिसतिर हेर्दै दीपकले भने, ‘कुरा धेरै गर्नु र भात धेरै चपाउनु खल्लो हुन्छ ।’ 

एकै समय मान्छेमा उत्ताल भावनाका तरंग आउँछन्–जान्छन् । ती सबै विचारले मूर्त रूप लिन पाउँदैनन् । विचार, भाव, अभावले मान्छेको जीवन प्रवाहलाई प्रभावित पार्छ । दीपक शाहीहरू हुर्केकै ऐकान्तिक संसारले ‘धेरै नबोल्ने’ जीवन–दर्शन निर्माण गरेको हो । 

...

काठमान्डु आइपुगेका चार राउटेमा बोलक्कड र रौसे छन्– राउटे मुखिया वीरबहादुर शाहीका छोरा दीपक । उनमा छ– राउटे लोकजीवन, संस्कृतिको गहिरो ज्ञान । यी राउटे युवायुवती मध्य–माघमा राजधानी आइपुगेका थिए, आफ्ना कथा–व्यथा सुनाउन । हिमालयन ह्वाइट हाउस कलेजको तेस्रो साहित्यक महोत्सवको मञ्चमा उनीहरू जसै उक्लिए, करिब दुई हजार विद्यार्थी–दर्शकको भीडमा एकाएक सन्नाटा छाएको थियो । 

दीपकसँगै नवीन, जिका र सुरमान पनि थिए मञ्चमा । दीपक त १०–१२ पटक काठमाडौं आइसकेका रहेछन् । ‘प्लेनमा, डुंगामा, बसमा सबैमा चढिसकेको छु,’ दीपकले भने, ‘सबैभन्दा मज्जा त प्लेनमै हुनेरहेछ, तर झ्याल स्यानो हुन्छ । पहिलोचोटि चढ्दा पनि म डराइनँ ।’ यस पटकको ठन्डीमा काठमाडौं यात्रा निक्कै रमाइलो लागेछ दीपकलाई । सुर्खेतको गिरिघाटबाट साँझ सुर्खेत बसपार्क र त्यहाँबाट नाइट बस चढी यो स्वप्ननगरी आइपुगेका थिए उनीहरू । 

सहर डुल्नु, यहाँका मान्छेका चर्या नियाल्नु अनौठो–कथा थियो– यी चार ‘अनौठा मान्छे’ लाई । नजिकैबाट विमान हेर्ने रहरले अन्तर्राष्ट्रिय विमानस्थल नजिक पुगे, उनीहरू । र, संग्रहालयमा राखिएको विमानमा चढेर मस्त आनन्द लिए । 

स्वयम्भू–डाँडाबाट तुँवालोमय काठमाडौंतिर हेरिरहे । गगनचुम्बी महल हेरेर अत्यास माने । मुख्य सहरमा एकअर्कामा जोल्ठिएका घरहरू देखे, फोहोरको थुप्रो नजिकैबाट नाक थुन्दै हिँडे । जब उनीहरू कोटेश्वर पुग्दै थिए, अन्तर्राष्ट्रिय एयरलाइन्सको ठूलो जहाज विमानस्थलमा ल्यान्ड गर्‍यो । नवीन हौसिए, अचम्भित भए र रहस्यमय आँखाले आकाशतिर हेर्दै भने, ‘आम्मामा ! कति ठूलो प्लेन ! यसमा त हाम्रो जम्मै जनता (राउटे) अँट्छ होला ।’ 

स्वयम्भू उक्लिँदै गर्दा उनीहरूको पहिलो नजर पर्‍यो, त्यहाँका ‘रैथाने’ बाँदर माथि । भर्‍याङ उक्लिएर डाँडाबाट देखिएको ‘क्रंक्रिटको जंगल’ बारे के भन्लान् ? सोचिरहँदा ती यताउता चकचक गरिरहेका बाँदरतिर बढी उत्सुक देखिए । ‘हाम्रो जंगलभन्दा यहाँको बाँदर चलाख हुँदो रहेछ,’ दीपकले भने, ‘मान्छेका हातको खानेकुरा खोसेर कस्सरी दौडेको !’ 

The beauty of greenery in a concrete city

सहरका मुख्य भाग– न्युरोड, ठमेल, बसन्तपुर डुलिरहेका उनीहरूका आँखा प्रायः अग्ला महल, विज्ञापन तैरिरहेका बिजुली–बोर्ड, पोलका किरिङमिरिङ तार र शासकका सालिकतिर सोझिएको थियो । सहरका मान्छेको गतिविधि, पसलका सफा सोकेसभित्र सानदार सजाइएका कस्मेटिक सामानतिर उतिसाह्रो ध्यान थिएन तिनको । दीपकका लागि त सहर नयाँ थिएन, अग्ला बंगलाहरूतिर हेर्दै नवीन, जिका र सुरमान अनायास बिस्तारै बोलिरहन्थे, ‘कति अग्लो घर हुँदो रहेछ यहाँ त ! कत्ति तल्लाको, भन्ने नै थाहा पाउन गाह्रो !’ र, उनीहरू जिब्रो फट्कार्दै घरका तला गन्थे– १, २, ३, ४... ८...!

थोरै गफ गर्दा पनि दीपक हात घुमाइ–घुमाइ बोल्थे । उनको बायाँ हत्केलामा ठेला उठेको थियो– के भएर ? काठको काम गरेर यस्तो भएको हो ? हाँस्दै उनी भन्थे, ‘होइन, होइन । काठमाडौं आउँदा बसको सिटमा समात्दा यस्तो भएको ।’

...

फिरन्ते जीवन बाँचिरहेका उनीहरू पश्चिममा अछाम–डोटी–डँडेलधुरासम्म, पूर्वमा दाङदेउखुरी, उत्तरमा रुकुम–जाँजरकोट–कालीकोट र दक्षिणमा सुर्खेतसम्म पुग्छन् । 

अहिले जम्मा १ सय ३७ को संख्यामा रहेका राउटेहरू यसअघि भेरी किनारमा बसेका थिए । साना बच्चाहरूलाई खोलाले बगाउने डरले अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एक जंगलछेउ बसाइँ सरे । यो जंगलमा उनीहरू पहिले बास बसेको ठाउँबाट ४ महिनाअघि सरेका हुन् । राउटे समुदायमा ४–५ महिना एकै ठाउँ बस्ने अनि अर्को स्थानमा सर्ने चलन छ । आफ्नो शिविरमा कसैको मृत्यु भइहाले तुरुन्तै बस्ती सार्नु संस्कारको बाध्यता हो । राउटे मुखिया मैनबहादुर शाहीले भनेका थिए, ‘त्यसैले पनि कतै स्थायी बसोबास गर्न सक्दैनौं र मान्छे मर्नेबित्तिकै घर छाड्नु संस्कारकै कारण हो । अर्को जन्ममा यसरी हिँड्नु नपरोस् भनेर हाम्रो सबैले कामना गर्छन् (कान्तिपुर, २३ पुस ०६८) ।’ 

राउटेको सम्पत्ति भन्नु नै बलो, बञ्चरो र ओदान ! बसाइँ सर्दा तीसँग केवल यही तीन थोक हुन्छ । काठको काम तिनैले गर्छन्, तर तीसँग आफू सुत्ने खाट छैन । जीवन सरल छ, न झैंझगडा छ, न जायजेथाको मोह । सहरमा पनि छाउपडीको अवशेष बाँकी रहँदा राउटेहरू रजस्वला बार्दैनन् । 

‘नयाँ ठाउँमा जंगल मात्रै छ, चौर पनि छ,’ दीपक सुनाउँछन्, ‘रमाइलै छ हामीलाई । जंगलबाट सुर्खेत पुग्न झन्डै डेढ घन्टा लाग्छ ।’

असलमा जंगल चिसो हुन्छ, अक्सर अँध्यारै हुन्छ, त्यहाँ डर पनि गजधम्म बास बसिरहेकै हुन्छ । तर, राउटेहरूलाई त्यही संसारको माया छ, त्यहीँ ‘सुख’ छ । यी आदिवासीलाई जंगली जनावरसँग पनि कुनै डर–त्रास छैन । त्यसो त राउटेहरूको शिविर बस्तीबाट निकै टाढा पनि हुँदैन ।

The beauty of greenery in a concrete city

जंगलमा हुन सक्छन्– मृग, बँदेल, कालिज आदि । तर, ती जीवजन्तु यिनको सिकार–मेनुमा छैन । पुर्खौंदेखि नै उनीहरूको प्रिय भोजन हो– रातो बाँदर र गुना । बस्तीका मान्छेलाई राउटेहरू भन्छन्– घोरल–रत्तल तिम्रो भाग, गुना र बाँदर हाम्रो भाग ! राउटेको लोकविश्वास छ– आफ्नो सिकार दुनियाँलाई देखाउनु हुँदैन । त्यसैले सिकार गर्न गएदेखि, मारिसकेर ल्याउँदासम्म र काटकुटदेखि खाँदासम्म पनि मासु अरूलाई देखाउँदैनन् । ‘बाहिरी मान्छेले देखे देउता रिसाउँछन् नि,’ दीपकले भने, ‘कुखुरा, खसीभन्दा गुना र बाँदरकै मासु मिठो हुन्छ ।’ 

कसरी गरिन्छ बाँदर सिकार ? भन्न त यस्तो पनि भनिन्छ– राउटेहरू तन्त्रमन्त्रले सिकार गर्छन् वा मन्त्रले लट्ठिएर बाँदर आफैं रूखबाट खस्छन् । उनीहरू ५०–६० जनाको समूह बनाएर जंगलमा निस्किन्छन्, सिकार खोजीमा । ‘कहिलेकाहीँ मात्रै जाने हो बाँदर मार्न । भाला हानेर मार्दैनौं, भुइँमा जाल थाप्नुपर्छ नि ! धेरैमा ९ वटासम्म पर्छ,’ दीपकले बेलीबिस्तार लगाए, ‘कहिले जालमा पर्दैन, रित्तै फर्किनुपर्छ ।’

‘कम्युन’ खडा गरेर बस्ने राउटे समुदायको अनुकरणीय स्वभाव भनेको यसरी सिकार गरेर ल्याएको जनावर सबैलाई बाँड्नु हो । सानो–ठूलो सिकार सबैलाई बराबरी भाग लगाइसकेर मात्रै उनीहरू खाने तयारीमा लाग्छन् । ‘नजानेलाई पनि त दिनुपरो, सबैलाई मिलाएर दियो भने उनीहरू पनि खुसी हुन्छन् नि,’ दीपक भन्छन् । अहिले बाँदर मार्ने प्रचलन बिस्तारै घट्दै गएको सुनाउँछन् उनी । ‘मेरो पालामा आइपुग्दा धेरै कम छ । छोरानातिको पालामा त बाँदर मार्न छाड्छ होला,’ उनी भन्छन् । 

The beauty of greenery in a concrete city

तरकारीमा उनीहरू प्रायः मुला रुचाउँछन् । सागपात रोप्दैनन्, कृषिकर्म उनीहरूले कहिल्यै गरेनन् । ‘हाम्रो आइमाईहरूले गाउँबाट तरकारी मागेर ल्याउँछ । मुलाको पात, गाना सबै मासुमा मिसाएर पनि खान्छ,’ तरकारीमा तेल भने नहाल्ने दीपकले सुनाए ।

राउटेको ठूलो चाड नै माघी र दसैं हो । ‘चेलीमाइतीले पनि एकापसमा टीका लगाउँछौं,’ नवीन भन्छन्, ‘एउटा–एउटा बाख्राको खुट्टा कोसेली दिनुपर्छ । माघमा आफैं सेल पनि बनाउँछौं ।’ तिहार र माघेसंक्रान्तिमा राउटे–शिविरमा सेलरोटीको बास्ना चल्छ ।

...

केही समयअघिसम्म राउटेहरूमा एकैजना मात्रै मुखिया थिए– मानबहादुर शाही, जसले झन्डै ६ दशकसम्म मुखिया भएर काम गरे । बिस्तारै त्यो परम्परा तोडियो र राउटेहरूले २०६९ सालदेखि तीन जना मुखिया बनाए– रास्कोटी, कल्याल र सोमवंशी थरका फरक–फरक मुखिया । सूर्यनारायण शाहीले रास्कोटी, वीरबहादुर शाहीले कल्याल र दिलबहादुर शाहीले सोमवंशीलाई नेतृत्व गरे । हामीसँग काठमान्डु यात्रा गरिरहेका दीपक शाही कल्याल हुन्, वीरबहादुरका छोरा । उनीहरूको परिवारमा ६ जना छन् । राउटेहरू आफ्नै समुदायका फरक थरसँग मात्रै बिहे गर्छन् ।

सबै राउटेको बैठकीले मुखिया छान्ने प्रचलन छ । विशेषगरी मुखियाकै छोरालाई ‘मुखिया’ हस्तान्तरण गर्ने चलन छ । तर, राउटेमा अहिलेसम्म महिला मुखिया बनेनन्, किन ? दीपकको बुझाइमा ‘पुर्खादेखि नै महिलाले नेपाली नबोलेर र नबुझेर मुखिया नबनाएको । अहिले त बिस्तारै नेपाली बोल्छ । सहर–बजारमा शरम मान्छ, चुप्प लाग्छ । उनीहरू सहरमा आउने घुम्ने मात्रै हो ।’ 

राउटे–मुखियाको जिम्मेवारी बृहत् हुन्छ । जस्तो, समुदायमा कुनै समस्या आए समाधानको उपाय खोज्ने, सरकारसँग रासन–पानी–कपडा माग गर्ने, आइपुगेको सामान जिम्मा लिएर समान वितरण गर्ने ।

‘अस्ति ३ जना गएर सामाजिक विकास मन्त्रालयबाट ल्याएको थियो– पाल ४० वटा, १०० क्विन्टल चामल, खोर्सानी, नुन र कपडा २ बोरा । एक दिन त बाँड्नै लाग्यो,’ दीपकले सुनाए । शिविरमा मुखियाले अह्राएअनुसार नै काम हुन्छ । श्रमप्रति प्रतिबद्ध राउटे केही न केही गरिरहन्छन् । ‘आफ्नो काम आफैं त गर्नुपरो । मुखियाले ‘काम गर्नु’ भन्छ । पिर्का, मधुस, कोशी बनाएर–गाउँमा दिएर अनाज ल्याउने काम, कहिलेकाहीँ पैसा पनि दिन्छ र धान ल्याउने, पिसेर खाने काम,’ दीपक भन्छन् । 

काठका सामान बनाएर उनीहरू गाउँमा लगेर बिक्री गर्छन् र अनाज लिएर फर्कन्छन् । सामान दिएबापत सबैले नगद दिँदैनन्, दिएका केही पैसाबाट उनीहरू बजार गएर कपडा किन्छन् । ‘नाङ्गै हिन्नु भएन । हामी लुगा किन्छौं, ४–५ वटा सामान बेच्यो भने २ हजार, २५ सय पाउँछौं,’ यस पटक नवीन बोले, ‘काठका भाँडा बनाउने काम अहिले कम भएको छ ।’

The beauty of greenery in a concrete city

उनीहरूको असली सीप भनेकै काठका सामान बनाउनु हो, तर त्यसका लागि रूख काट्नुपर्छ । जुनसुकै रूख काट्न कानुनले अनुमति दिँदैन । दीपक वन समितिलाई सोधेरै थोरै रूख काट्ने गरेको बताउँछन् । ‘४–५ वटामात्र काट्छौं, धेरै काट्यो भने कानुन लाग्छ,’ उनी भन्छन् । जीवनयापनको मुख्य स्रोत त सिकार हो राउटेको । तर, सिकार र गिट्ठा–भ्याकुर खोजीमेलीपछि काठका वस्तु बनाई बेच्नु, साटफेर गर्नु अनि लुगाफाटो, नुन र खाद्यान्न जुटाउनु अर्को वृत्ति हो ।

जंगलै बस्दा होस् या सहर छिर्दा या कुनै कार्यक्रममा सहभागी हुँदा, सबैजसो राउटे कोरा कपडामै हुन्छन् । उनीहरूको मौलिक भेषभूषा हो त्यो । महिलाले भने कोरा मात्रै होइन चोलो, लुंगी लगाउँछन् । सबैजसोको गलामा पोते छुटेको हुन्न, हातमा बाला हुन्छ । 

नवीनलाई पाइन्ट–सर्ट लगाउन, मोबाइल बोक्न मन छ । तर, अहिलेसम्म त्यो ‘अवसर’ पाएका छैनन् । ‘टी–सर्ट र पूरा बाहुला भएका कपडा कोहीकोहीले लगाउँछन्,’ उनी भन्छन्, ‘अहिले सबैले कोरा कपडा मात्रै लगाएका छौं । हामीलाई पाइन्ट–सर्ट लगाउन मन छ, मोबाइल चलाउन मन छ, तर बूढा मुखियाहरूको सोच बदलिनुपर्छ । अनि मात्र हामीजस्ता युवाले परिवर्तन ल्याउँछन् ।’

सहर नियालिरहेका यी ४ राउटे–बन्धुहरू एक उदाहरण हुन्, जसले भन्छ– राउटेका नयाँ पुस्तामा धारणा बदलिँदो छ । उनीहरू ठूलो आवाजमा त बोल्दैनन्, बिस्तारै भन्छन्– पहिलेका मुखियाहरू पुरातन सोच भएका हुन् । परिवर्तनको लहरले उनीहरूमा बिस्तारै उज्यालो भरिरहेको छ । किनकि केवल जंगल थियो राउटेहरूको संसार कुनै बेला, हिजोआज बस्ती मात्रै होइन सहर पनि गइरहन्छन् उनीहरू । 

राउटे शिविरमा स्वास्थ्यकर्मीको टोली पुगिरहन्छ, स्वास्थ्य अवस्था बुझ्न । ‘जाँच गरेर औषधि पनि दिन्छन् । पहिले अस्पताल गएनौं, अहिले हामी जहाँ जान्छौं त्यहीं डाक्टरहरू आउँछन्,’ दीपक भन्छन् ।

The beauty of greenery in a concrete city

यी युवा–युवतीलाई पढ्न–स्कुल जान मन छ । तर, मुखियाहरूका लागि– पढ्नु पाप हो ! हो, नयाँ पुस्ता त्यही पाप गरिरहेको छ, लुकीछिपी । राउटेका नयाँ पुस्ताहरू बिस्तारै अक्षर लेख्न सिक्दै छन् । जस्तो, दीपक र नवीनले उनीहरूकै बान्कीमा, हाम्रा डायरीमा आफ्ना नामहरू लेखे । तर, उनीहरूलाई ठूलो डर छ– मुखियाको । जिका र सुरमानलाई पनि स्कुल जान खुब मन छ, तर खुलेर भन्न सक्दैनन् । किनकि ‘पाप’ गरिने हो कि भन्ने डर उनीहरूमा छ । ती भन्छन्, ‘मुखियाले जान दिँदैन त के गर्ने ?’ 

दीपक नै भन्छन्, ‘बुबाको पाला नहोला, मेरो पाला सबैले अक्षर चिन्ने हुन्छ होला, पढ्यो भने जान्ने हुन्छ, परिवर्तन हुन्छ ।’ 

दीपक, नवीन, जिका र सुरमानलाई मात्रै होइन, राउटे नयाँ पुस्ताका धेरैजसोमा अक्षर चिन्ने लालसा छ । तर, मुखियाको निषेधका पर्खाल नाघेरै लालबहादुर खत्रीसहितका शिक्षकहरूले राउटे बस्तीभन्दा पर एकान्त जंगलमा बेलामौकामा तिनलाई अक्षर लेख्न सिकाइरहेका छन् । ‘बाबुआमाले नदेख्ने ठाउँमा अहिले २०–२२ जना पढिरहेका छन्,’ शिक्षक खत्रीले भने, ‘धेरै त केटाहरू छन्, केटीको संख्या २/४ होला ।’

...

नेपाली नागरिक भएर पनि राउटेहरूसँग नागरिकता छैन । नागरिकताबाट किन वञ्चित छ यो समुदाय ? ‘अब नागरिकता दियो भने लिने, अहिले कसैको छैन । मुखियाले चाहियो भन्यो भने पाइन्छ । किनकि मुखियाले लिन चाहेनन्,’ दीपक भन्छन् । उनले बुझेका छन्– नागरिकता भयो भने भत्ता लिन र भोट हाल्न पाइन्छ । 

संघीय सरकारले प्रतिव्यक्ति ३ हजार भत्ता दिँदै आएकामा कर्णाली प्रदेश सरकारले २ हजार थप गरेपछि उनीहरूले मासिक ५ हजार बुझ्दै आएका छन् ।

The beauty of greenery in a concrete city

सहर बजारमा व्यापक सुनिन्छ– पछिल्लो समय राउटेहरूमा परनिर्भरता बढेको छ र ती मदिरा लतमा लट्ठ छन् । यो प्रश्नमा दीपकको दाबी थियो– हामीहरूले अहिले बाहिर रक्सी खान छाडेका छौं । ‘बाहिरको रक्सीमा विष हालेको हुन्छ भन्छ, के हालेको छ, के हालेको छ, कसरी थाहा पाउने ? त्यसले कलेजो खाइदिन्छ, छिटो मर्छ भनेर सम्झाएको छ सरकारले,’ उनी भन्छन्, ‘हामी त कहिलेकाहीँ घरमा आफैं बनाउने हो– गहुँ, जौ, कोदो, मकै, चामलको पनि रक्सी बन्छ ।’

‘पुर्खौंदेखि जंगलमै बस्दै आएका’ तिनलाई जंगलै प्रिय छ । तिनका प्रियजन पनि जंगलमै छन् । ‘अस्ति चिसोमा पनि जंगलमै बस्यौं त, जंगलकै चौरमा ! चिसो भयो भनेर भएन नि, बानी परिसकेको छ,’ दीपक भन्छन्, ‘सरकारले घरमा बस भन्छ, तर नबस्ने हो, घरमा बस्दा त चक्कर लाग्छ ।’

The beauty of greenery in a concrete city

बरु सरकारले कपडा र पालको राम्रो व्यवस्था गरिदिए हुन्थ्यो भन्छन् उनी । तर, नवीनलाई भने पहिलेझैं जंगल प्रिय लाग्न छाडिसकेको छ । सहरमा मान्छेको चहलपहल, नयाँ–नयाँ पहिरन, ठूला–ठूला घर देख्दा अनौठो, केवल अनौठो अनुभूतिले घेरिएका छन् उनी । भन्छन्, ‘कहाँ जंगल, कहाँ सहर !’

...

जंगल कसैको घर, कसैको डर ! मान्छेको सभ्यताको निरन्तरता भय, विश्वास र अविश्वासमाथि टेकेर उभिएको छ । सायद यस्तै ‘सत्य’ कै कारण सभ्यताको प्रवाह उबडखाबड छ । 

अनुसन्धाता जोहान राइन हार्ड भन्छन्– एसियामा राउटेबाहेक अर्को जातिको अस्तित्व जंगली अवस्थामा छैन । संसारले आधुनिकताको भव्यतम् अभ्यास गरिरहँदा राउटेहरू किन जंगलमै रहे ? ती कसरी छलिए ? केही अध्ययनले भन्छन्– लडाइँमा शत्रुले लखेटेर वा हारेर भाग्दाभाग्दै मारिने भयले जंगलमा ती पसे र त्यहाँबाट निस्कन डराए वा लडाइँमा लड्दालड्दै खेदिएर छेलिन पुगे । ‘दोसाँधका राउटे’ किताबमा गौरीबहादुर कार्की लेख्छन्, ‘उनीहरू भगुवा सैनिक, लघारिएका सेना वा जंगलको बाटो भुलेर छलिएका सैनिक होलान् भनी विश्वास गर्ने बलियो आधार भने भेटिँदैन ।’ 

सहरमा विमर्श चलिरहन्छ– राउटेले अब बस्ती रोज्ने कि जंगल ? यो प्रश्नमा ‘राउटेहरूको जिन्दगीमाथि आफ्नै प्राधिकार हुन्छ,’ भन्छन् मानवशास्त्री सुरेश ढकाल । ‘राउटेहरू किन जंगलमै बसिरहेका छन् ? त्यसमा उनीहरूकै व्याख्या चाहिन्छ । राउटेहरूको विकासबारे बाहिर बसेर सोचेर हुँदैन, उनीहरूकै विश्व–दृष्टिकोण र व्याख्या बुझ्नुपर्छ ।’ 

The beauty of greenery in a concrete city

यी मानवशास्त्रीको विचारमा संस्कृतिको रूपान्तरण वा परिवर्तन अन्य संस्कृतिको संसर्गमा आएपछि मात्रै हुन्छ । ‘लामो समय अरू संस्कृतिबाट पृथक् रहेकैले राउटेहरूको खास संस्कृति निर्माण भयो । अब बिस्तारै बाहिरी संस्कृतिसँग तिनको घुलमिल हुँदै छ । दुई वटा संस्कृतिको मिश्रणले मात्रै सिकिने–जानिने हो,’ ढकाल भन्छन्, ‘कुनैखालको पर्यावरण वा पारिस्थितिक वातावरणमा बसेपछि मात्रै मान्छेले खास समाज उत्पादन गर्छ । अर्कोखाले उत्पादन सम्बन्धमा बस्नेहरूले अर्कै समाज निर्माण गरेका हुन्छन् । फरक ठाउँबाट हेर्दा राउटे जंगलमा बसेझैं लाग्छ, तर उनीहरू नै हुन्– जंगलका राजा ।’

तर, ‘जंगलका राजा’ दीपक, जिका, सुरमान र नवीनहरूको पढ्ने रहरलाई कहिलेसम्म मारिरहने ? घाम पनि झुक्किएर मात्रै पस्ने जंगलको सेपमै छाडिराख्ने कि चेतनाको उज्यालो आगततिर पनि तान्ने ? उहिल्यै चलेका मान्यता र मूल्यहरू फेरिए । सौन्दर्यशास्त्र वा सांस्कृतिक मान्यतामा गणतन्त्रपछि व्यापक हेरफेर भयो, तर राउटेहरूको जीवन फेरिएन । 

‘अब हाम्रो जीवन पनि उस्तै नरहोस्,’ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाडेर खुला आकाशतर्फ उड्न थालेको जहाजतिर हेर्दै नवीन भनिरहेका थिए, ‘हाम्रा बूढाहरूको सोच नफेरिएसम्म हामी फेरिँदैनौं ।’

The beauty of greenery in a concrete city

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

फणीन्द्र फिचर र साहित्य लेखनमा सक्रिय संगम ईकान्तिपुरमा कार्यरत छन् । उनी डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् ।

Link copied successfully