प्रेम हुनु र पीडा नहुनु ? त्यो पनि गालिबको जिन्दगीमा ! प्रेममा उनी पीडा दिनेभन्दा लिनेभित्र पर्छन् । प्रेमका शेर लेख्न मानौं उनी बेग्लै मसी प्रयोग गर्दा हुन्, जसमा आँसुको मिसावट होस् ।
काठमाडौँ — को पूछते हैं वो कि ‘गालिब’ कौन है ?कोई बतलाओ कि हम बतलाएँ क्या
साँच्चै, ‘गालिब को हुन् ?’ यो प्रश्न जेन जी र जेन अल्फा छाडेर अरू कसले सोध्ला है ? जेन जीभित्र पनि ९० को दशकभित्रै जन्मिएको हो भने उसले गालिबलाई अवश्य चिन्दो हो । चिन्दैन भने पनि सुन्दो त पक्कै हो ! गालिब हो नजानेरै सही !
दिल–ए–नादान तुझे हुवा क्या है ?
आखिर इस दर्द कि दवा क्या है ?
आजभन्दा झन्डै २२८ वर्षअघि, सन् १७९७ डिसेम्बरको चिसो महिनामा भारतको आग्रामा जन्मिएका गालिबको नाम गालिब थिएन । मिर्जा असदुल्लाह बेग खान थियो । समरकन्द अर्थात् हालको उज्बेकिस्तानबाट राज्य ढलेपछि भारत छिरेको मुगल राज खानदानको एउटा हाँगो थियो गालिब परिवार ।
मुगल पुर्खा भएका गालिब भारतमा जन्मिए, जहाँ हिन्दु दर्शनको व्यापकता थियो । यस्तो समयमा उनी हुर्किए, जतिबेला भारतमा ब्रिटिसहरूको राज हुने गर्थ्यो । यसर्थमा, गालिबले एकसाथ धेरै संसार देखे, आँखाले न सही त चेतनाले । इस्लाम, हिन्दु, इसाई तीन दर्शन, तीन सम्प्रदाय, तीन संसार ! यसरी भनूँ– संस्कारले उनी इस्लाम थिए, भूगोलले हिन्दु र प्रभावले इसाई । उनको चेतना दूरगामी भएको यसै त पक्कै होइन ।
भनिन्छ, उनी १९औं शताब्दीका सबैभन्दा महान् कवि हुन् । जावेद अख्तरले भनेका छन्, ‘१९औं शताब्दीमा भारतमा मात्र होइन, संसारमै गालिबलाई टक्कर दिने कुनै पनि कवि जन्मिएको थिएन ।’ यसको भान सायद उनी आफैंलाई पनि थियो र त उनी लेख्थे–
रेख्तें के तुम्हीं उस्ताद नहीं हो ‘गालिब’
कहते है अगली जमाने में कोई ‘मीर’ भी था
आफूसँग दाँज्न उनी आफैंले पनि आफ्नै जमानामा कोही भेटेनन । त्यसो त प्रस्ट भाषामै पनि यो कुरा भन्न हिचकिचाएनन् ।
हैं और भी दुनियाँ में सुखन–वर बहुत अच्छे
कहते हैं कि ‘गालिब’ का है अन्दाज–ए–बयाँ और
भनिन्छ, गालिबको समयमा गजलको दुनियाँमा प्रेम लेखिन्थ्यो तर ती प्रेममा भावना मात्र भेटिन्थ्यो । जसै गालिब गजलको दुनियाँमा भित्रिए, उनीसँगै भित्रियो दर्शन पनि । जसले तत्कालीन गजलको दुनियाँलाई एउटा गहिराइ दियो । मानौं, त्यो गहिराइ गजललाई गालिबले दिएको उपहार हो । जसरी प्रेम दिवसमा प्रेमीहरू एकआपसलाई गुलाब उपहार दिन्छन् । साँच्चै, गालिब र गुलाब ! कतै एकअर्काका पर्याय त होइनन् ? अगाडि खुल्दै जाला । अहिलेलाई गालिब र गहिराइकै कुरा गरौं ।
उनी १४ वर्षका मात्रै थिए । घरमा २ वर्षका लागि अब्दुस समद नामका एक इरानी पर्यटक पाहुना बनेर आए । उनले फारसी भाषासँगै दर्शन र तर्क पनि सिकाए । बचपनदेखि नै विविधता देख्दै हुर्किएका गालिबले किशोरकालसम्म पुग्दा दर्शनहरूको अध्ययन गर्न थाले । उनले तर्कशास्त्रसमेत पढेका थिए । जवान भइसक्दासम्म उनले जीवन र जगत्मा घट्ने आमभन्दा आम घटनालाई हेर्ने नजरले एउटा सतह छिचोलिसकेको थियो । चिजहरूलाई लिइदिने र अभिव्यक्त गर्ने गालिबको एउटा बेग्लै अन्दाज हुन थाल्यो र यसको पनि उनलाई राम्रै ज्ञान थियो ।
एउटा प्रसङ्ग बहुतै रोचक छ । सुल्तान बहादुर शाह जफरको दरबारमा त्यसबेला दुई जना कवि थिए । बहादुर शाहका छोरो शाहजादेलाई कविता लेख्न मद्दत गर्न गालिब शिक्षकका रूपमा नियुक्त थिए । अर्का एक जना थिए, राज कवि ! ‘राज कवि’ को उपाधि पाइसकेका ती कवि र शिक्षकमा नियुक्त कवि गालिबबीच एक दिन विवाद भयो ।
तर्कमा माहिर गालिबले राज कविलाई आफ्नो तर्कले लाज पारिदि । अब राजासमक्ष उनको पोल पुग्ने नै भयो । राजाले उनलाई राम्रैसँग झपारे । राज कविलाई गिज्याउने ? गालिबमाथि प्रश्न उठ्यो– हैसियत के हो तेरो ? को होस् तँ ? त्यसबेला त उनी चुप रहे । तर, दरबार हो । नियमित सभा बस्यो । सभामा रौनक ल्याउन कवि त चाहियो नै । तब, गालिबले राजा बहादुर शाहलाई समर्पित यो शेर सुनाएर आफ्नो जवाफ फर्काए–
हर एक बात पे कहते हो तुम, कि तु क्या है,
तुम्हीं कहो कि ये अन्दाज–ए–गुफ्तगू क्या है !
आफ्नो ताकत वा क्षमतालाई चिनेको मान्छे कोहीसँग किन पो झुकोस्, डगोस् ? गालिब पनि त्यस्तै स्वाभिमानी कवि थिए । उनका धेरै शेरमा आत्मप्रतिष्ठा भेटिन्छ । आफूमाथि उठ्ने प्रश्नहरूको व्यंग्यात्मक प्रतिवाद पाइन्छ । एक ठाउँ उनी लेख्छन्–
मेरी फितरत में नहीं था तमाशा करना
बहुत कुछ जानते थें पर खामोश थे
त्यसैले उनले राजा बहादुर शाहले आफ्नो हैसियतमाथि प्रश्न गर्दा हंगामा गरेनन् । आफूलाई समेटे र सही मौकामा ओजिलो शैलीमा जवाफ फर्काए । झम्टाझम्टीभन्दा पनि तर्कसंगत बहस गर्न रुचाउने गालिबको यही सोच र व्यवहारले उनमा राजा स्वयंमा भन्दा ज्यादा राजसी छाँट थियो । खैर, यति भइसकेपछि पनि राजाको प्रिय ‘राज कवि’लाई उनले व्यंग्य गर्न भने छाडेनन्–
हुआ है शह का मुसाहिब फिरे है इतराता,
वगरना शहर में ‘गालिब’ कि आबरु क्या है !
आफ्नो लेखन र विश्लेषण कलामाथि उनलाई गर्व थियो । त्यही आत्मगौरवलाई पनि शेरमा मजाकिया अन्दाजमा यसरी अभिव्यक्त गर्थे कि त्यो गौरवको एउटा खुट्टो चिप्लिएर अहंकारको जमिनमा टेकिन नपुगोस् । पाठकले त्यसमा घमण्डको गन्ध नपाओस्–
फिर देखिए अंदाज–ए–गुल–अफशानी–गुफ्तार
रख दे कोई पैमाना–ए–सहबा मेरे आगे
गालिब यस किसिमको नम्र भाषा मात्र होइन कडा भाषा पनि जान्दथे । परिवेश र प्रसङ्गअनुसार नै आफूलाई ढाल्न सक्ने उनको पानीजस्तो व्यक्तित्वको स्पष्ट चित्र उनका शेर पढ्दै गर्दा देखिन् । आफ्नो स्वाभिमान र लेखनप्रतिको इमानलाई कसैले घूस खुवाउन खोज्दा उनी यसरी सख्तसँग प्रतिवाद पनि गरिहाल्छन्–
हर किसी के हाथ बिक जाने को तैयार नहीं
यह मेरा दिल है तेरे शहर का अखबार नहीं
कोही रिसाउला र मलाई घाटा होला भन्ने डर उनमा थिएन, न त कसैलाई रिझाउला र फाइदा होला भने लोभ नै । खासका गालिबले त्यतिबेलाको ‘मस्तमौला’ जिन्दगी बाँचे ।
न सताइश की तमन्ना, न सिले की परवाह
गर नहीं है मेरे अशआर में मआनी न सहीं
अपरिचित रिसाओस् कसलाई फरक पर्छ र ? तर, गालिब आफ्नैलाई पनि रिसाएर गएको हेर्नमा आपत्ति जताउँदैनन् । आफन्त गुमाउनुमा भन्दा उनलाई आफ्नो सिद्धान्त डगमगाउनुमा आपत्ति थियो । हुन पनि, आफू आफू नै नरहे आफ्नाले घेरिनुको औचित्य पनि कहाँ रहँदो हो । जुत्ता लगाउनलाई खुट्टा काट्नुपर्योभने त के मजा ? सायद, यसैले मुटुमाथि ढुंगा नराखेरै भन्छन् गालिब–
यह सोचकर नहीं रोका उस मुसाफिरको हम ने
दूर जाता ही क्यों ? अगर वो हमारा होता !
खैर, ‘जमाने भर के गम इक तरफ और इक तेरा गम’ ! हफिज होशियारपुरीसँग गमको दुई थरी संसार भएजस्तै गालिबको व्यक्तित्वमा पनि दुई थरी स्वभाव देखिन्छ । होशियारपुरीझैं उनी पनि प्रेममै आइपुगेर गम गाउँछन्, अहम् बिसाउँछन् । मानौं, प्रेम गालिबका लागि त्यो चौतारा हो, जहाँ उनी आफू हुनुकै भारी बिसाइदिन्छन् र सुस्ताउँछन् आत्मसमर्पणको मुद्रामा ।
इश्क ने ‘गालिब’ निकम्मा कर दिया
वरना हम भी आदमी थे काम के
अघिसम्म काँध उठाएर हिँडिरहेका गालिब प्रेमको दुनियाँ निहुरिएर प्रवेश गर्छन् । तर, यो निहुरिनुमा हीनताबोध छैन बरु विनम्रता छ । आफूजस्तो अर्को कोही छैन भन्दै हिँडिरहेका उनी प्रेमको अघिल्तिर आफूलाई बेकम्मा कबुल गर्न कत्ति पनि हिचकिच गर्दैनन् । सन् १८१० मा उनले नवाब इलाही बख्सकी छोरी उमराव बेगमसँग विवाह गर । भनिन्छ, विवाहभन्दा अगाडि उनी ‘मेहेर’ नामकी एक नृत्याङ्गनासँग प्रेममा थिए, जो कलिलै उमेरमा बितेर गएकी थिइन् । उनै प्रेमिकालाई सम्झिएर गालिबले बडो भावुकतामा आएर एउटा गजल लेखेका थिए–
दर्द से मेरे है तुझ को बे–करारी हाए हाए
क्या हुई जालिम तेरी गफलत–शिआरी हाए हाए
तेरे दिल में गर न था आशोब–ए–गम का हौसला
तू ने फिर क्यूँ की थी मेरी गम–गुसारी हाए हाए
दरबारभित्रकी एक क्यालिग्राफर ‘कविता’सँग पनि गालिबको प्रेम थियो । त्यसो त गालिबलाई एकतर्फी प्रेम गर्नेहरू पनि थिए । उनलाई प्रेम गर्नेहरू स्वागत र सत्कार पस्किएर प्रेम जताउन चाहन्थे । गालिब अनेक बहाना गरेर टारिरहन्थे । तर, जब प्रेम गर्ने पालो आफ्नो आउँथ्यो त उनी यसो भन्थे–
सोचते है अब उसे नहीं सोचेंगे
फिर सोचते है तो और क्या सोचेंगे ?
आखिर, आफ्नो मन जहाँ छ, त्यहाँ बहानाबाजीको पनि के लागोस् ? र, सोच्दासोच्दा गालिब झन्डै आफैंलाई बिर्सने गरी सोच्छन्–
मेरी यादों में तुम हो या मुझ में ही तुम हो ?
मेरी खयालों में तुम हो या खयाल ही तुम हो ?
प्रेम हुनु र पीडा नहुनु ? त्यो पनि गालिबको जिन्दगीमा ! गालिबका प्रेमका शेर खोतल्दा पीडा त भेटिन्छ भेटिन्छ । त्यसो त दुवै पक्षका कुरा नहेरी भन्न सकिन्नँ यद्यपि, उनलाई पढ्दा यस्तो लाग्छ कि, प्रेममा गालिब पीडा दिनेभन्दा पीडा लिनेभित्र पर्छन् । प्रेमका शेर लेख्न मानौं उनी बेग्लै मसी प्रयोग गर्दा हुन्, जसमा आँसुको मिसावट होस् ।
मेरी कलम वाकिफ है मेरे जज्बातों से
मै मोहब्बत लिखूँ या दर्द, नाम तुम्हारी आता है
त्यसो त केही प्रेमका शेरमा उनी पीडा लेख्दैनन् । यद्यपि, गालिबको जिन्दगी जानेर पढ्ने हो भने तिनमा पनि पीडा नै लुकेको महसुस हुन्छ । नौ–नौ महिना कोखमा बच्चासँगै एउटी आमाले कति सपना हुर्काउँदी हो ? दिल–ओ–जान लगाउँदी ह । तर, त्यो सबै लगानी डुब्दा उसलाई कस्तो हुँदो हो ? अनि सोच्नुस्, यही कुरा एक पटक, दुई पटक या चार पटक पनि होइन बरु सात–सात पटक दोहोरिरहन्छ भने उसको हालत कस्तो हुँदो हो ? यस्तोमा त्यतिबेलाको त्यो मुस्लिम समाजले गालिबलाई दोस्रो विवाहका लागि कसो उक्साएन होला ? तर, उनले दोस्रो विवाह गरेनन् । बरु, तिनको जवाफमा उनको प्रेमको मसीले यस्तो लेख्छन्–
कौन सी बात है जो उसमें नहीं
उस को देखें मेरे नजर से कोई
भनिन्छ कि गालिबका शेरमा प्रायः मायालु स्त्री हो या पुरुष छुट्टिएको हुँदैन । मलाई लाग्छ, उनले लेखेका हरेक प्रेमका शेर सधैं बेगम या कुनै प्रेमिकाकै लागि मात्र पक्कै हुने थिएन । बरु, बारबार सन्तान गुमाइरहेको एउटा बाबुले आशाको मसीले भावी सन्तानको नाममा लेखेको प्रेम पनि त हुन सक्छ । बेगम र गालिब जब नौ महिनाभर व्यग्रतासाथ सन्तान अपेक्षा गर्छन् तब डर पनि त टाँसिएर सँगसँगै आउँदो हो । सागमा माटो टाँसिएर आएजस्तै ! तब त उनी लेख्छन्–
पाने कि बेचैनी और खो देने का डर
बस् यही है जिन्दगीका सफर !
तर, यही अपेक्षा र डरको सिलसिला पनि कहिलेसम्म चलिरहन सक्छ ? छैटौं सन्तानले पनि मृत्युकै बाटो रोजेपछि लाग्छ गालिबमा अब न अपेक्षा बाँकी रह्यो न डर नै । सातौं पटकको पालोमा प्रसव पीडामा उता बेगम छटपटिँदै गर्दा गालिबले यता लेखेको हुनुपर्छ–
जो होने वाला अब उस की फिक्र क्या करना
जो हो चुका है उसी पर यकीं नहीं आता.
यति हुँदाहुँदै पनि गालिब पीडाबाट पलायन भएनन् । आफ्नो राजसी छाँट र स्वाभिमानी ठाँट कतै हराएनन् । जिन्दगीका सबै परीक्षामा पनि नडगी, नभागी बाँचेका उनी लेख्छन्–
मुझे खैरात में मिली खुसिया अच्छी नहीं लगती
में अपने गमों में भी रहता हूँ, नवाबो कि तरहा
तर, प्रेममा फेरि पनि उनी कुनै राजा–नवाब होइनन् । प्रेममा फेरि पनि हुकुम रानीकै चल्छ–
करने गए थे उस से तगाफूल का हम गिला
की एक ही निगाह कि बस खाक हो गए
कतै तीखो त कतै मुलाय । गालिबको जिन्दगी गुलाबजस्तै– एउटै डाँठमा काँडा र फूल ।
