श्रीमतीलाई निजी सचिव नियुक्त गरेर तलव लिएका कर्णाली प्रदेश सचिवले दिए राजीनामा

सचिव बुढाथोकीमाथि दोहोरो सुविधा लिएको, सार्वजनिक कोषको दुरुपयोग गरेको र नियमावली उल्लंघन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परेका थिए।

चैत्र २५, २०८२

ज्योति कटुवाल

Karnali Provincial Secretary resigns after appointing wife as private secretary and taking salary

What you should know

सुर्खेत —  दोहोरो सुविधा लिएको आरोपका बीच कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले पदबाट राजीनामा दिएका छन्। विवाद चर्किँदै गएपछि उनले ३१ लाख ६९ हजार ९ सय २३ रुपैयाँ फिर्ता गरेका थिए। 

सचिव बुढाथोकीले  राजीनामा पत्र तयार पारेर हिजो राती प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए । प्रदेश प्रमुखको कार्यालयका एक कर्मचारीले  बुढाथोकीको राजीनामा आएको भए पनि  कागजपत्रमा फरक परेकाले सच्याउन पठाएको बताए। ‘प्रदेश प्रमुखज्यू समक्ष पेश भएपछि निर्णय होला,' ती कर्मचारीले भने।

सचिव बुढाथोकीमाथि दोहोरो सुविधा लिएको, सार्वजनिक कोषको दुरुपयोग गरेको र नियमावली उल्लंघन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परेका थिए। 

खासगरी निजी सचिवमा श्रीमती नियुक्त गरी तलब लिएको विषय सार्वजनिक भएपछि विवाद झन् बढेको थियो। सचिवालयका अनुसार उनले २०८१ असारसम्म दोहोरो सुविधा लिएका थिए भने २०८१ साउनदेखि उनको खाता रोक्का गरिएको थियो। 

२०७६ जेठ १२ मा प्रदेश सचिव नियुक्त भएका बुढाथोकी २०८१ जेठ १३ मा दोस्रोपटक सोही पदमा दोहोरिएका थिए। प्रदेशसभाका एक कर्मचारीका अनुसार कार्यालयभित्रका उनका कामकाज पारदर्शी थिएनन्। 

‘कुनै पनि कामकाजबारे अन्य कर्मचारीलाई जानकारी दिइँदैन। रकम फिर्ता गरेको कागजपत्रसमेत हामीले पाएका छैनौँ। अख्तियारमा जवाफ दिने काम सचिवज्यूले व्यक्तिगत रूपमा गर्ने गर्नुहुन्थ्यो,’ उनले बताए। राजीनामासँगै प्रदेशसभामा सचिवको पद रिक्त भएको छ। आगामी नियुक्ति र प्रक्रिया भने सचिवालयमार्फत अगाडि बढ्ने स्रोतले जानकारी दिएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully