कर्णाली प्रदेशका सचिवले श्रीमतीलाई निजी सचिव राखेर २५ लाख तलब बुझे

यस विषयमा बुढाथोकीसँग कुरा गर्दा श्रीमतीलाई निजी स्वकीयका रुपमा नियुक्त दिएको स्वीकारेका छन् ।

चैत्र २०, २०८२

ज्योति कटुवाल

Karnali Province Secretary receives Rs. 2.5 million salary by keeping his wife as his personal secretary

सुर्खेत — कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले आफ्नै श्रीमतीलाई निजी सचिव राखेको पाइएको छ । सचिव बुढाथोकी प्रदेश सभा सचिवालयमा नियुत्ति भएयता उनले श्रीमतीलाई निजी सचिवमा राखेर २५ लाख पाँचसय ६० रुपैया बुझेको पाइएको छ ।

श्रीमती रुक्मीना बुढाथोकीको नाममा मासिक ३४ हजार ७ सय ३० रुपैयाँ तलब भुक्तानी हुने गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

‘रुक्मीना बुढाथोकी नै सचिवज्यूको निजी सचिव हो भन्ने छ, सचिवालयका एक कर्मचारीले भने, उहाँको  हाजिर कहाँ हुन्छ, को हुनुहुन्छ थाह छैन, सचिवज्यूले बैंक खाता दिनु भएको त्यहीमा जान्छ ।’ 

यस विषयमा बुढाथोकीसँग कुरा गर्दा श्रीमतीलाई निजी स्वकीयका रुपमा नियुक्त दिएको स्वीकारेका छन् । ‘बाहिर भनेजस्तो विधिविपरीत नियुक्त गरिएको होइन । कानुनले दिएको अधिकार प्रयोग गरिएको छ,’ उनले भने । 

उनका अनुसार नियुक्ति भएयता दुई वर्षको अवधिमा रुक्मीनाको हाजिरी नियमित रहेको छ । उनले कान्तिपुरलाई उपलब्ध गराएको हाजिरी कापीमा चैत्र ३ गतेसम्मको हाजिरी रहेको छ । 

तपाईंको स्वकीय सचिव त हाजिरी नै नगरी तलब बुझ्नुहुन्छ भन्ने प्रश्न उठेको छ नि? भन्ने कान्तिपुरको प्रश्नमा उनी भन्छन्, ‘त्यो भ्रम हो । मैले उपलब्ध गराएको हाजिरी कापी हेर्नुहोस् । थाहा भइहाल्छ नि ।’

हाजिरी कापीमा रुक्मीनाको नियमित हाजिरी लगाइएको देखिए पनि उक्त कार्यालयका कर्मचारीको बयान भने भिन्न रहेको छ । कार्यालयका एक कर्मचारी भन्छन्, ‘सचिवज्यूले आफैं हाजिरी लगाएर तलब हाल्न लाउनुहुन्छ । उहाँले नियुक्त गरेको मानिस हामीले कार्यालयमा देखेकै छैनौं ।’

यसबारेमा भने बुढाथोकी आफूलाई फसाउनका लागि विरोधीहरुले भ्रम छरेको दाबी गर्छन् । तर बुढाथोकीको कामकाज भने अस्वभाविक रहेको कार्यालयका कर्मचारी बताउँछन् । उनले कार्यालयको कामकाजबारे अन्य कर्मचारीलाई थाहै नदिने गरेकोसमेत बताए । कार्यालय स्रोत भन्छ, ‘कुनै पनि कामकाजबारे अन्य कर्मचारीलाई थाहै हुँदैन । पटक–पटक अख्तियारमा उजुरी पर्दासमेत सचिवले नै आफैं कागजपत्र व्यक्तिगत रूपमा पठाउने र मागिएको जवाफ आफैं दिने गर्नुभएको छ । ६ वर्ष यता प्रदेशसभामा भएका काम अन्य कामकाजबारे पनि हामीलाई जानकारी दिइँदैन ।’

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully