दोहोरो सुविधाबापत लिएको पैसा फिर्ता गरेसँगै उनी तेस्रो पटक सचिव बन्ने दाउमा समेत छन् ।
सुर्खेत — कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले दोहोरो सुविधा लिएको आरोप लागेपछि ३१ लाख ६९ हजार ९ सय २३ रुपैयाँ फिर्ता गरेका छन् । उक्त रकम फिर्ता गरेसँगै उनी तेस्रो पटक सचिव बन्ने दाउमा छन् । सचिव जीवराज बुढाथोकीमाथि दोहोरो सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परेपछि उनले पैसा फिर्ता गरेका हुन् । सचिवालयका अनुसार, यो रकम उनले २०८१ असारसम्म बुझेका थिए । बुढाथोकीको खाता २०८१ साउनदेखि रोक्का रहेको छ ।
प्रदेश सभाको सचिव पदमा रहँदा तलब, भत्ता तथा अन्य सुविधाहरू दोहोरो रूपमा बुझेको अख्तियारमा उजुरी परेको थियो । २०८२ जेठ १४ गते निवृत्तिभरण व्यवस्थापनको कार्यालयमा पेन्सन बेरुजु दाखिला बापत ३१ लाख ६९ हजार ९ सय २३ रुपैयाँ फिर्ता गरेका हुन् । स्रोत निवृत्तिभरण व्यवस्थापन कार्यालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको बैंक खाता नं १०००१००२०००१०००० नम्बरमा सचिव बुढाथोकीले आफैंले रकम जम्मा गरेका छन् ।
बुढाथोकीको नियुक्ति प्रदेश सभाको सचिवका रूपमा २०७६ साल जेठ १२ मा भएको थियो । दोस्रो नियुक्ति २०८१ जेठ १३ मा भएको थियो । उनको कार्यकालमा, निजी सचिवमा आफ्नै श्रीमतीलाई राखेर तलब भुक्तानी गरेको खुलासा भएपछि आलोचना भएको थियो । उजुरीकर्ताले बुढाथोकीले दोहोरो सुविधा लिएको, सार्वजनिक कोषको दुरुपयोग गरेको, र नियमावली उल्लंघन गरेको आरोप लगाएका थिए ।
प्रदेशसभाका एक कर्मचारीले भने कार्यालयको कामकाजबारे अन्य कर्मचारीलाई थाहै नदिने गरेको बताए । 'कुनै पनि कामकाजबारे अन्य कर्मचारीलाई थाहै हुँदैन यो रकम जम्मा गरेको कागजपत्रपनि हामीसँग प्राप्त भएको छैन । अख्तियारमा उजुरी पर्दासमेत सचिवले नै आफैं कागजपत्र व्यक्तिगत रूपमा पठाउने र मागिएको जवाफ आफैं दिने गर्नुभएको छ । ६ वर्षयता प्रदेशसभामा भएका काम अन्य कामकाजबारे पनि हामीलाई जानकारी दिइँदैन,' उनले भने ।
