कोरोना कहरमा राजनीतिक भेला

श्रावण २६, २०७७

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिकामा नेपाली कांग्रेसले साउन १४ गते अगुवा कार्यकर्ता भेलाको आयोजना गर्‍यो । सक्रिय सदस्यता वितरण, नविकरण र तरुण दल गठनका लागि आयोजना गरिएको भेलामा अरु पार्टीका केही कार्यकर्तालाई समेत स्वागत गरिएको थियो ।

त्यसको झण्डै १ सातापछि शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सल्लीबजारमै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र संघीय सांसद टेकबहादुर बस्नेतको उपस्थितिमा कार्यकर्ता भेटघाट कार्यक्रम राख्यो ।

कोरोना संक्रमणको त्रास कायमै रहेको बेला राजनीतिक दलहरुले कार्यकर्ता भेटघाट, छलफल, बैठक, प्रशिक्षणलगायत राजनीतिक कार्यक्रम जारी राखेका छन् । सामान्य सावधानीसमेत नअपनाई पार्टीका कार्यक्रमलाई निरन्तरता दिँदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । बन्गाडकुपिण्डेको केन्द्र सल्लीबजारमा कांग्रेस र नेकपाले आयोजना गरेका दुवै भेलामा २ सय जनाभन्दा बढी कार्यकर्ताको उपस्थिति थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गाउँ केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । गत शनिबार पार्टीका केन्द्रीय सदस्य अनुवमसिं श्रेष्ठसहितका नेता–कार्यकर्ताको उपस्थितिमा राप्रपाले कपुरकोटमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गर्‍यो । राजनीतिक दलले जभाभाबी कार्यक्रम गर्दा कोरोनाको त्रास झन बढिरहेको शारदा नगरपालिकाका रेशमबहादुर वोहराले बताए । ‘पार्टीका कार्यक्रममा सहभागी हुनेले न सावुन–पानीले हात धुन्छन्, न सेनेटाइजरको व्यवस्था नै गरिएको हुन्छ,’ उनले भने, ‘कतिपय कार्यकर्ता मास्क नलगाएरै भेलामा सहभागी हुँदा जोखिम बढ्दै गएको छ ।’ सचेतना फैलाउनुपर्ने व्यक्तिहरु नै जथाभावी कार्यक्रममा सहभागी हुन थालेपछि समुदायमा गलत सन्देश गएको उनको भनाइ छ ।  

पार्टीहरुले भेला र कार्यकर्ता भेटघाटका नाममा जथाभाबी हुल–हुज्जत बढाइरहेको बन्गाडकुपिण्डे नगरपालिकाका रेमन्तबहादुर खड्काले बताए । ‘दलका कार्यक्रममा सामाजिक दूरीको समेत ख्याल गरिँदैन,’ उनले भने, ‘समुदायमा संक्रमण फैलिए स्थिति भयाभह हुने देखिन्छ ।’

सरकारले सामुहिक भेला तथा जमघट सञ्चालन नगर्न आग्रह गरे पनि राजनीतिक दलहरुले बेवास्ता गरिरहेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन रिखाराम पुनले बताए । ‘सानो असावधानीले पनि भविश्यमा ठूलो दुर्घटना निम्तिन सक्छ,’ उनले भने, ‘बरु दलहरुले कार्यकर्ता परिचालन गरी कोरोनाबिरुद्ध सचेतना फैलाउन जरुरी छ ।’

कोरोनाको जोखिम कायमै रहेकाले जमघट र राजनीतिक भेलाको आयोजना नगर्न विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक सूचना जारी गरिरहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल बताउँछन् । उनका अनुसार सल्यानमा अहिलेसम्म २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये  २ सय ५० जना उपचारपछि घर फर्किएका छन् । ९ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

कोरोना भाइरस

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully