त्रिवि शिक्षण र मनमोहन अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गतका सबै सेवा पुन: सुरु

गत वर्ष माघदेखि रोकिएको सरकारी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बिहीबारबाट पुनः पूर्ण सञ्चालन भएपछि देशभरबाट उपचारका लागि आउने हजारौं बिरामीले राहत पाउने भएका छन् ।

श्रावण ८, २०८३

अर्जुन पौडेल

All services under health insurance resume at TU Teaching and Manmohan Hospitals

What you should know

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले गत माघदेखि बन्द गरेको सरकारी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बिहीबार पुनः सुरु गरेका छन् ।योसँगै देशभरबाट उपचारका लागि ती अस्पतालमा पुग्ने हजारौँ बिरामीले राहत पाउने भएका छन् ।

सरकारले लामो समयदेखिको उपचार बापतको सोधभर्ना नदिएको भन्दै त्रिवि र मनमोहनसहितका देशभरका धेरै अस्पतालले सेवा बन्द गरेका थिए । सेवा बन्द हुँदा उपचारको लागि ती अस्पतालमा पुग्ने हजारौं विपन्न नागरिक स्वास्थ्य सेवाबाट बञ्चित भएका थिए । गम्भीर प्रकृतिका बिरामी अन्य अस्पतालमा बीमामार्फत निःशुल्क सेवा पाइन्छ कि भनेर भौतारिन वा सोही अस्पतालमा शुल्क तिरेर सेवा लिन वा उपचार नै नगराई रोग बोकेरै फर्कन बाध्य भएका थिए ।

'त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अन्तरंग सेवा पुनः सुरु गरेको जानकारी पाएका छौं,' स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले भने, 'यी २ अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गर्दा धेरै प्रभावित भएका थिए ।'

हामीले सेवाको शुल्क पुनरावलोकन गरेका छौं र यस वर्षको माघसम्मको सबै बाँकी शोधभर्ना गर्नु पर्ने रकम भुक्तानी पनि गरिसकेका छौँ । यी अस्पतालहरूले यसअघि बहिरंग सेवा सुरु गरिसकेका थिए अब भने अन्तरंग सेवा पनि सञ्चालनमा ल्याएका छन् ।-विकेश मल्ल, सूचना अधिकारी, स्वास्थ्य बीमा बोर्ड शिक्षण अस्पताल प्रशासनले पेस गरेका बीमा दाबीमध्ये ५० प्रतिशत मात्रै बोर्डले स्वीकृत गर्ने गरेको र सेवा शुल्क पनि पुनरावलोकन नगरेको गुनासो गर्दै आएको थियो । 'हामीले सेवाको शुल्क पुनरावलोकन गरेका छौं र यस वर्षको माघसम्मको सबै बाँकी शोधभर्ना गर्नु पर्ने रकम भुक्तानी पनि गरिसकेका छौँ,' मल्लले भने, 'यी अस्पतालहरूले यसअघि बहिरंग सेवा सुरु गरिसकेका थिए अब भने अन्तरंग सेवा पनि सञ्चालनमा ल्याएका छन् ।'

उपत्यका बाहिरका केही अस्पतालले पनि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पुनः सेवा सुरु गरेको अधिकारीहरूले जनाएका छन् । तर सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसहित केही अस्पतालले भने बहिरंग सेवा मात्र सुरु गरेका छन् । ती अस्पतालहरूले स्वास्थ्य बीमा बोर्डले तोकेको हालको दरमा सेवा प्रदान गर्न सम्भव नभएको बताएका छन् । 'स्वास्थ्य बीमा बोर्डले तोकेको दरमा सेवा दिने हो भने हामी अस्पताल सञ्चालन गर्न र सेवा टिकाइराख्न सक्दैनौं,' अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. रविन्द्र भक्त तिमलाले भने, 'हामीले आफ्नै स्रोतबाट अस्पताल चलाउनुपर्छ । सरकारले तोकेको मूल्यमा सेवा दिँदा हामी घाटामा जान्छौँ ।'

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा रोकिएपछि विभिन्न तप्काबाट सरकारको व्यापक आलोचना भएको थियो भने यस विषयमा संघीय संसद्‌मा समेत प्रश्न उठाइएको थियो । त्यस्तै विज्ञहरूले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने संवैधानिक व्यवस्थाप्रति सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाएका थिए ।

बोर्डका अधिकारीका अनुसार यस वर्षको माघ महिनासम्म अस्पतालहरूलाई तिर्न बाँकी २५ अर्ब रुपैयाँ भुक्तानी गरिसकिएको छ ।गत आर्थिक वर्षको बजेटमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको थियो भने रोकिएको सेवा सञ्चालन गर्न थप १५ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो ।

यसअघि बोर्डले माघमा बहिरंग सेवाको सीमा प्रतिव्यक्ति र परिवारका सदस्यका लागि १ लाख रुपैयाँबाट घटाएर २५ हजार रुपैयाँ कायम गरेको थियो ।बढ्दो आर्थिक भार देखाउँदै बोर्डले वैशाखमा निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको बहिरंग सेवा पनि रोकेको थियो।

सरकारी अनुदानबाट सञ्चालन भइरहेका वीर अस्पताललगायत सरकारी अस्पतालले समेत स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आंशिक सेवा मात्र दिइरहेका थिए ।ठूला अस्पतालमा शल्यक्रियासहितका कतिपय सेवा बीमा सुविधा प्रयोग गर्ने बिरामीले पाउन सकेका थिएनन् । 

बोर्डका अधिकारीहरूले निजी अस्पतालमा अन्तरंग सेवा पुनः सञ्चालन गर्ने वा बहिरंग सेवाको सीमा बढाउने नीति भने अझै परिवर्तन नगरिएको बताएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरेको प्राथमिकताप्राप्त कार्यक्रम हो । यसअन्तर्गत पा“च जनासम्मको परिवारले ३५०० रुपैयाँ प्रिमियम तिरेर औषधि, परीक्षण र परामर्शसहितको उपचार सुविधा पाउँछन् ।परिवारका एक सदस्यले वार्षिक १ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रयोग गर्न सक्छन् वा उक्त रकम बराबरको सेवा सोही परिवारका पाँच सदस्यबीच बाँड्न पनि सकिन्छ । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले थप प्रत्येक सदस्यका लागि ७०० रुपैयाँ तिरेर थप २० हजार रुपैयाँ बराबरको सुविधा लिन सक्छन् । 

बीमामा आबद्ध व्यक्तिले परिचयपत्र देखाएर तोकिएका स्वास्थ्य संस्थाबाट सेवा लिन सक्छन् । स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापतको खर्च स्वास्थ्य बीमा बोर्डले शोधभर्ना गर्ने गर्छ ।

दीर्घरोगीका लागि सरकारले २ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउँछ ।बोर्डका अधिकारीका अनुसार गत आर्थिक वर्षसम्म दीर्घरोगीका लागि ५० करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको छ ।

सरकारले गरिबीको रेखामुनि रहेका २६ जिल्लाका नागरिक, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, एचआईभी संक्रमित व्यक्तिका परिवार, अपांगता भएका व्यक्ति, कुष्ठरोगी तथा बहुऔषधि प्रतिरोधी क्षयरोगीका लागि बीमा प्रिमियमसमेत तिर्दै आएको छ ।

हाल स्वास्थ्य बीमा कार्यक्रममा आबद्धमध्ये करिब ५५ प्रतिशत नागरिकको प्रिमियम सरकारले नै तिर्दै आएको छ ।

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Link copied successfully