रेबिजबाट कसरी जोगिने ?

श्रावण २, २०८२

प्रशान्त माली

How to avoid rabies?

What you should know

काठमाडौँ — रेबिज एउटा प्राणघातक सरुवा रोग हो । बेलैमा होस पुर्‍याउन सकिएन भने यसले ज्यानै पनि लिन सक्छ । यो कुकुर, बिरालोलगायत जनावरको टोकाइबाट लाग्ने गर्दछ ।

त्यसैले तीन महिनाभन्दा बढी उमेरका सबै कुकुर तथा बिरालोलाई नजिकको पशु चिकित्सालय र पशु सेवा केन्द्रमा वार्षिक रूपमा नियमित रेबिज विरुद्धको सुई लगाउनुपर्छ । यसले रेबिज लाग्नबाट बच्न र बचाउन सकिन्छ । रेबिज रोग लागेपछि उपचार हुँदैन तर समयमै खोप लगाउन सकेमा सजिलै बच्न सकिन्छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार वार्षिक रेबिजबाट १ सय जनाभन्दा बढीको मृत्यु हुने गरेको छ । जसमध्ये ९५ प्रतिशतलाई कुकुरको टोकाइबाट रेबिज लाग्ने गरेको छ । बाँकी स्याल, ब्वाँसो, बाँदर आदि जनावरको टोकाइबाट रेबिज सर्ने गरेको छ । देशभर वार्षिक करिब ३ लाख जना कुकुरलगायत जनावरको टोकाइबाट प्रभावित हुने गरेको इडीसीडीको तथ्याङ्क छ ।

कुनै पनि कुकुर वा शङ्कास्पद जनावरले टोकेपछि तुरुन्तै साबुन पानीले १५ मिनेटसम्म टोकेको भाग राम्ररी धुनुपर्छ । त्यस पछि चाँडो भन्दा चाँडो  आवश्यक सल्लाह तथा उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ । कुनै पनि कुकुर वा जनावरले टोकेपछि खोप लिन नपर्न पनि सक्छ ।

खोप लिनु पर्ने अवस्थाहरू

– दस दिनभित्र टोक्ने जनावरमा रेबिज लक्षण देखिएमा वा प्रयोगशालाबाट रेबिज प्रमाणित भएमा । 

– टोक्ने जनावर चिनिएन, तर १० दिन भित्र मर्‍यो, मारियो वा बेपत्ता भएमा । 

– जङ्गली जनावरले आक्रमण गरी घाइते बनाएमा ।

– र्‍याल काढिरहेको जनावरको मुखमा हात हाल्दा घाउ भएमा ।

– रेबिजको लक्षण भएका व्यक्तिले टोकेमा वा आँखामा पर्ने गरी थुकेमा ।

– चमेरोले टोकेमा 

खोप लिनु नपर्ने अवस्थाहरू

– रेबिज रोगीलाई खानेकुरा दिएको, छोएको, चलाएकोमा ।

– आलो घाउ नभएको भागमा र्‍याल लागेमा । 

– पशुको मुखमा हात हाली औषधी खुवाउँदा घाउ नभएमा । 

– रोगको लक्षण देखिनु पूर्व रोगीको जुठो खाएमा ।

– रेबिज रोग लागेको जनावरको दूध पिएमा ।

– घर खेतको मूसा, छुचुन्द्रोले टोकेमा । टिटानस सुई भने लिनुपर्छ ।

रेबिज विरुद्धको खोप छाला र मासुभित्र दिइन्छ । छालाभित्र दिने भए ३ मात्रा लगाइन्छ । पहिलो कुकुर र जनावरले टोकेपछि जतिसक्दो चाँडो, दोस्रो पहिलो खोप लगाएको तेस्रो दिनमा, तेस्रो पहिलो खोप लगाएको सातौँ दिनमा लगाइन्छ । उक्त व्यक्तिलाई पुन: टोकेमा ३ महिनापछि २ मात्रा लगाउनुपर्छ । पहिलो कुकुर र जनावरले टोकेपछि जति सक्दो चाँडो र दोस्रो पहिलो खोप लगाएको तेस्रो दिनमा ।

मासुभित्र लगाइने खोप जम्मा ४ मात्रा लगाइन्छ । पहिलो कुकुर र जनावरले टोकेपछि जतिसक्दो चाँडो, दोस्रो पहिलो खोप लगाएको तेस्रो दिनमा, तेस्रो पहिलो खोप लगाएको सातौँ दिनमा, चौथो पहिलो खोप लगाएको चौधौँ दिनमा लगाइन्छ ।

तीन महिना पछि पुनः कुकुर र जनावरले टोकेमा २ मात्रा लगाउनुपर्छ । पहिलो कुकुर र जनावरले टोकेपछि जतिसक्दो चाँडो, दोस्रो पहिलो खोप लगाएको तेस्रो दिनमा ।

छालाभित्र खोप लगाइसकेपछि उक्त ठाउँमा मालिस र माड्नु हुँदैन । खोप लिएपछि सुई दिएको ठाउँमा दुख्ने, रातो हुने, चिलाउने, सुन्निने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन सक्छ ।

यी सबै खोपको असरहरू हुन । जुन अस्थायी खालको हुने, केही समयपश्चात् आफैं निको भएर जान्छ । औषधि उपचारको विरलै आवश्यकता पर्दछ ।

सरुवा रोग विषेशज्ञ डा.शेरबहादुर पुनसँगको कुराकानीमा आधारित 

प्रशान्त माली

Link copied successfully