काठमाडौँ — सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुर, बिरालोलगायत जनावरको टोकाइबाट घाइते भएर उपचार गराउन आउनेको संख्या बढ्दो छ । अस्पतालको तथ्यांकअनुसार २०८२ जेठमा कुकुरलगायतका जनावरको टोकाइबाट घाइते भएर १४ हजार ८ सय १४ जनाले एन्टी-रेबिज भ्याक्सिन लगाए । भ्याक्सिन लगाउने संख्या असारमा बढेर १७ हजार एक सय ९४ जना पुगेको छ ।
दैनिक सरदर ५ सयदेखि ५ सय ५० जनासम्म उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार परामर्श लिनकै लागि मात्र दैनिक १० देखि १५ जना आउने गरेका छन् । एकातिर कुकुरलगायत जनावरको टोकाइबाट घाइते हुनेको संख्या बढ्दो छ । अर्कोतिर जिल्ला र प्रादेशिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रलगायत मुलुकभरका स्वास्थ्य संस्थामा एन्टी-रेबिज भ्याक्सिनको चरम अभाव देखिएको छ ।
सरकारले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिने गरेको छ । अहिले एन्टी-रेबिज भ्याक्सिन लगाउन सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु पुग्नुपर्छ । नभए निजी अस्पताल जानुपर्ने बाध्यता छ । अर्थ मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई एन्टी-रेबिज भ्याक्सिन खरिद गर्न गत आर्थिक वर्ष १३ करोड रुपैयाँ बजेट छुट्याएको थियो । बजेट हुँदा हुँदै पनि स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले समयमा भ्याक्सिन खरिद गर्न सकेन ।
सप्लायर्सहरूको मिलेमतोमा एउटै मात्र कम्पनीले लागत मूल्य भन्दा बढाएर टेन्डर हाल्दा भ्याक्सिन किन्न नसकिएको स्वास्थ्य सेवा विभागका आधिकारीहरूको भनाइ छ । बिहीबार भक्तपुर सूर्यविनायक नगरपालिकी अस्मिता थापा छोरालाई कुकुरले खुट्टामा टोकेपछि एन्टी-रेबिज भ्याक्सिन लगाउन सुरुमा भक्तपुर जिल्ला अस्पताल पुगिन् । त्यहाँ नपाएपछि सूर्यविनायक नगर अस्पताल धाइन् । त्यहाँ पनि नपाएपछि टेकु अस्पताल पुगेकी थिइन् । टेकुमा भेट भएकी थापाले सुनाइन्, ‘यसअघि कुकुरले टोक्दा भ्याक्सिन लगाउनु परेमा जिल्ला वा नगर अस्पताल गए पुग्थ्यो,’ उनले भनिन्, ‘अहिले सास्ती भोग्नुपर्यो ।’
भक्तपुर अस्पतालका निमित्त निर्देशक डा.सुरेन्द्रप्रसाद भट्टले एन्टी-रेबिज भ्याक्सिन अस्पतालले खरिद गर्ने नभई स्वास्थ्य सेवा विभागले पठाउने गरेको तर, पछिल्लो समय पर्याप्त मात्रामा नपठाउँदा अभाव भएको बताए । ‘अस्पतालमा दैनिक ३–४ जना कुकुरलगायत जनावरको टोकाइका कारण उपचारका लागि आउने गरेका छन्,’ उनले भने, ‘सबैलाई टेकु अस्पतालमा रेफर गर्न बाध्य छौं ।’
नारायणी अस्पताल, वीरगन्जमा पनि गत वैशाखदेखि एन्टी-रेबिज भ्याक्सिनको अभाव छ । अस्पतालका अनुसार उपचार गराउन आउने दैनिक ८–१० जना बिरामी फर्कन बाध्य छन् । नारायणी अस्पताल वीरगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले स्वास्थ्य सेवा विभागमा भ्याक्सिन पटक–पटक माग गर्दा पनि उपलब्ध नगराएको गुनासो गरे । ‘अस्पताल आफैंले खरिद गर्ने व्यवस्था पनि छैन,’ उनले भने ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा.पवनजंग रायमझीले रेबिज भ्याक्सिन खरिद गर्न सम्झौता भइसकेको बताए । ‘फ्रिजजडित भ्यान एउटा मात्र भएको, त्यो पनि बाटोमा फसेकाले स्वास्थ्य संस्थामा भ्याक्सिन पुर्याउन नसकिएको हो,’ उनले भने, ‘अहिले मुलुकका पश्चिम जिल्लातिर भ्याक्सिन पठाएका छौं । त्यसपछि पूर्वमा पठाउँछौँ ।’
सरुवा रोग विषेशज्ञहरूका अनुसार रेबिज एउटा प्राणघातक सरुवा रोग हो, बेलैमा होस नपुर्याए यसले ज्यान लिन सक्छ । यो कुकुर, बिरालो तथा अन्य जनावरको टोकाइबाट लाग्ने रोग हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वार्षिक रेबिजबाट १ सय जनाभन्दा बढीको मृत्यु हुने गरेको छ । जसमध्ये ९५ प्रतिशतलाई कुकुरको टोकाइबाट रेबिज लाग्ने गरेको छ । बाँकी स्याल, ब्वाँसो, बाँदर आदि जनावरको टोकाइबाट रेबिज सर्ने गरेको छ ।
सरकारले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखा प्रमुख डा. हेमन्त ओझाले सरकारको लक्ष्यमा पुग्न कृषि तथा पुशपन्छी विकास मन्त्रालय, पशु सेवा विभागसँग सहकार्यमा राष्ट्रिय रूपमा रेबिज निवारण गर्न योजना बनाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउन स्वास्थ्य मन्त्रालयमा फाइल पेस गरिसकेको बताए ।
‘रेबिज रोग लाग्न नदिन कुकुरहरूको बन्ध्याकरण गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले भनेजस्तै ७० प्रतिशत कुकुरलाई भ्याक्सिन लगाउन सकियो भने करिब ९० देखि ९९ प्रतिशत रेबिज रोगबाट बचाउन सकिन्छ,’ उनले भने, ‘भ्याक्सिन अभाव रोक्न समयमै खरिद गरी प्रदेश आपूर्ति केन्द्रमा पठाउन स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखालाई पटक-पटक आग्रह गरेका थियौं । खरिद गर्ने जिम्मेवारी व्यवस्थापनको हो । हाम्रो होइन्।’
सरुवा रोग विषेशज्ञ डा.शेरबहादुर पुनले कुकुरलगायत जनावरले टोकेपछि प्राय:ले उपचारमा लापर्बाही गर्ने गरेको बताए । ‘प्राय: मानिसहरू कुकुरले टोकेको ४ देखि ७ महिनाको बीचमा मात्र उपचारका लागि आउँछन् । त्यही पनि रेबिजविरुद्धको भ्याक्सिन लगाउँनुपर्ने ठाउँमा टीटी खोप लगाउँछन्,’ उनले भने, ‘यसले रेबिज शरीरमा प्रवेश गर्छ । छालामुनिको भित्री तन्तु, मांसपेशी हुँदै गिदीमा पुगेपछि लक्षण देखा पर्छ । रेबिजविरुद्ध कुनै औषधि छैन । रोग लागेपछि लगभग मृत्यु प्राय: निश्चित छ ।’
