काठमाडौँ — मेडिकल शिक्षाको क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तयार रहे पनि सरकारको नीति नियमले अवरोध भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार आयोजना गरेको गन्तव्य गण्डकी कार्यक्रमको तेस्रो सत्र मूल सरोकार : शिक्षा, स्वास्थ्य र रोजगार कार्यक्रममा बोल्दै उनले नियमनलाई बलियो बनाएर संख्यालाई नियन्त्रण गर्ने काम गर्नु नहुने बताए ।
‘अस्पतालहरूमा नर्सको अभाव छ, त्यसतर्फ ध्यान दिऔँ,’ उनले भने, ‘कुनै एउटा मेडिकल कलेजमा लगानी गरेर म दक्ष जनशक्ति उत्पादन गर्न चाहन्थेँ, त्यसका लागि अगाडि बढ्दै थिएँ, मेडिकल शिक्षामा निजी क्षेत्रले लगानी गर्ने भनेपछि नराम्रो दृष्टिकोणले हेरियो ।’ त्यसैले दक्ष जनशक्ति तयार गरेर अवसर दिनुपर्ने उनको भनाइ छ ।
‘राम्रो अवसर दिन सक्छौँ भने यही दिऔँ , होइन भने दक्ष जनशक्ति तयार भयो भने विदेश जान्छन्,’ उनले भने, ‘त्यसका लागि मेडिकल शिक्षाको क्षेत्रमा सक्छ, सरकारले लगानी गरोस्, बढाओस्, होइन भने निजी क्षेत्रलाई उत्प्रेरित गरेर दक्ष जनशक्ति तयार गर्न उत्प्रेरित गर्नु पर्छ ।’ तर सरकारको नीति अवरोध गर्ने खालको रहेकाले यो तुरुन्त परिवर्तन गर्नु पर्ने उनको भनाइ छ ।
‘केही समयअघि सरकारले अध्यादेशमार्फत धेरै ऐनहरू परिवर्तन गरेको छ, निजी क्षेत्रले त्यसको स्वागत गरेको छ,’ उनले भने, ‘त्यसैले फराकिलो हिसाबले निजी क्षेत्रलाई उत्प्रेरित गर्नु पर्छ, यसको मतलब पैसा कमाउने लाइसेन्स मात्र दिने भनेको होइन, नियमन गरी निजी क्षेत्रलाई पनि लगानी गर्न उत्प्रेरित गर्नु पर्छ ।’
