बाँदरले बाली नष्ट गरेपछि बागलुङ नगरपालिका–११ रायडाँडाका किसान वैकल्पिक खेतीका रुपमा अकबरे खुर्सानी र अदुवा उत्पादनमा लागेका छन् ।
What you should know
बागलुङ — बाँदर आतंकले स्थानीयले खेती लगाउन छाडेका थिए । लगाएकाहरुले पनि भित्र्याउन पाएका थिएनन् । अझै मकै, गहुँलगायतको खेती त बाँदरले खाएर हैरान थिए । त्यसैले बागलुङ नगरपालिका–११ रायडाँडामा तीन वर्षदेखि वैकल्पिक उत्पादनको खोजी भइरहेको थियो । केहीले खसीबाख्रा पाल्ने काम थालेका थिए । रायो साग र बाख्रापालनमा मात्रै लागेका किसानले यो वर्षदेखि भने अदुवा र अकबरे खेती थालेका छन् ।
बाँदरबाट जोगाउन सकिने बालीबारे सोच्दासोच्दै अकबरे र अदुवा खेतीमा आइपुगेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । चालु वर्ष यहाँ ४० हजार अकबरेका बिरुवा रोपिएको छ । ‘यो पाइलट परियोजना हो, राम्रो भयो भने आगामी बर्ष वडाभरी अकबरे लगाउने हो,’ गौतमले भने, ‘किसानको उत्पादनलाई बजारीकरणमा भने नगरपालिका र हेफर इन्टरनेसनलले साथ दिने छ ।’ हेफरले चार वर्षदेखि यहाँ पशु पालन र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।
सदरमुकामदेखि भौगोलिक रुपमा टाढा र दूध उत्पादन गरेर बजार लैजान नसकिने भएपछि किसान बाख्रपालनमा मात्रै थिए । अब व्यवसायिक कृषिमा लाग्नकालागि अकबरे र अदुवामा लागेका हुन् । यहाँका किसानले रायो साग पनि लगाएका छन् । ‘रायो साग अहिलेसम्म बाँदरले खाएको छैन,’ स्थानीय दलबहादुर थापाले भने, ‘अकबरे र अदुवा पनि जोगाउन सकिएला भन्ने लागेको छ ।’ यहाँ हाइटेक टनेल बनाएर तरकारी खेतीको पनि प्रयास भएको छ । तर बाँदरबाट जोगाउन कठिन भएपछि हाइटेकमा पनि अकबरे लगाउने तयारी भएको हो ।
पहिलो चरणमा यहाँका ७५ जना किसान अकबरे खुर्सानी उत्पादनमा लागेका छन् । ४० हजार रुपैयाँको बीउ ल्याएर ४० हजार बिरुवा उत्पादन भएको प्राविधिक राजु गौतमले बताए । ‘सानो लगानीमा धेरै उत्पादन लिन सकिने अवस्था छ, यो क्षेत्रलाई मौसमले पनि साथ दिन्छ,’ उनले भने, ‘किसानलाई बाँदरले नष्ट गरिदिने चिन्ता पनि भएन ।’ यो योजना सफल भएमा बाँदरको आतंक भएका अन्य गाउँमा पनि अकबरेको माग बढ्ने उनले बताए ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा.ऋषिराम सापकोटाले बाँदरबाट असर नपर्ने गरी किसानले दूध उत्पादनमा पनि लगानी गरेको बताए । जैमिनी नगरपालिकाको अधिकांश वडामा पछिल्लो ५ वर्षदेखि किसानले भैंसी पाल्न थालेका छन् । उनीहरुले उत्पादन गर्ने दूध बागलुङ बजार र पोखरासम्म पठाउने गरेका छन् ।
सडक यातायातबाट बढीमा एक घण्टामा बजार पुर्याउन सकिने स्थानमा दूधको उत्पादन बढाउन सकिने सापकोटाले बताए । ती किसानलाई केन्द्र र जैमिनी नगरपालिकलो उत्पादनमा आधारित अनुदान दिएका छन्। किसानले प्रतिलिटर दूधमा ५ रुपैयाँसम्म अनुदान पाएका छन् ।
बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका क्षेत्रमा बाँदरको समस्या बढी छ । काठेखोलाका किसानले पनि दूध र अदुवा खेती गर्न थालेको बताए । अकबरेको बजार सहज भए पनि अनुवाको बजार पाउन भने समस्या पर्ने काठेखोला गाउँपालिका–६ का बलराम कँडेलले बताए ।
