बाँदर नियन्त्रणका विषयमा के भने प्रधानमन्त्रीले ?

यस सम्बन्धमा अध्ययन गर्न समिति बनेको र प्रतिवेदन बुझाएपछि सरकारले काम गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए ।

जेष्ठ १७, २०८३

इकान्तिपुर डेस्क

What did the Prime Minister say about monkey control?

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले बाँदर नियन्त्रणका विषयमा संसद्‌मा जवाफ दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदको जवाफ दिन तयार भएका प्रधानमन्त्री शाहले सांसद महावीर पुनको भनाइ उद्धृत गर्दै बाँदर नियन्त्रण त्यति सजिलो नभएको बताए । 

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री कार्यकक्षमा गएरै बाँदर व्यवस्थापन बारे ३ उपाय सुझाएको स्मरण गराउँदै बाँदर व्यवस्थापन कहिले भनेर प्रश्न गरेका थिए ।

त्यसको जवाफमा प्रधानमन्त्री शाहले भने, 'विश्वमा जहाँ पनि बाँदरले बाली खाने समस्या छ । कि त खेतलाई वायरिङ गर्नुपर्‍यो, त्यो निकै खर्चिलो छ । जंगललाई वायरिङ गरेर पनि राखिन्छ । मानव बस्ती जंगली जनावरलाई छुट्याएर राख्ने गरिन्छ । यस सम्बन्धमा अध्ययन गर्न समिति बनेको छ, अध्ययन भइरहेको छ ।' समितिले प्रतिवेदन बुझाएपछि सरकारले काम गर्ने उनले प्रतिबद्धता जनाए ।

बाँदर नियन्त्रणका अरु देशले कस्ता उपाय लगाएका छन् भनेर आफूहरुले अध्ययन गरिरहेको पनि उनले बताए । 'तर यो निकै पेचिलो विषय हो, तुरुन्त समाधान गर्न सकिने होइन,' उनले भने । हत्या हिंसामा नजाऔं भन्ने सोच भएर नै त्यसको विकल्पबारे सोचिरहेको उनको भनाइ थियो ।

किसानलाई बाँदरले निकै दु:ख दिने गरेको भन्दै सांसदहरुले यसअघिका संसद् बैठकमा निरन्तर आवाज उठाउँदै आएका थिए ।

इकान्तिपुर

Link copied successfully