सहकारी ठगी आरोपित पक्राउ

पुस ६, २०८०

आश गुरुङ

काठमाडौँ — काठमाडौंमा सहकारी ठगी गरी फरार रहेका लमजुङको सुन्दरबजार नगरपालिका-८, भोटेओडारका लिलाधर सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

भोटेओडारस्थित भक्ति नमुना माविको ५७ औं वार्षिक उत्सव तथा ४९ औं अभिभावक दिवसमा सहभागी भइरहेको बेला प्रहरीले बाहिर बोलाएर गेटबाट पक्राउ गरेको हो । पहिले एमालेमा आबद्ध उनी हाल नेकपा (एस) का केन्द्रीय सल्लाहकार सदस्य हुन् ।

काठमाडौंको टोखा नगरपालिका-९ सामाखुसीमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष सापकोटा गत भदौदेखि फरार थिए । प्रहरीका अनुसार वर्ष ७१ का लिलाधर सापकोटा विरुद्धमा काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी सम्बन्धी मुद्दा छ ।

सहकारीका उपाध्यक्ष सापकोट मुद्दा दर्ता भएलगत्तै फरार रहेकोमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोधमा लमजुङ प्रहरीले बिहीबार भोटेओडारबाट पक्राउ गरी सीआइबीमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए ।

आर्जन बचत तथा ऋण सहकारी संस्थाले १ सय ७५ जना बचतकर्ताको साढे ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको पाइएको छ । २०६५ मा स्थापना भएर सञ्चालनमा आएको यो सहकारीका सञ्चालकले बचतकर्ताले जम्मा गरेको ११ करोड ५५ लाख ४३ हजार ४ सय ६ रुपैयाँ ठगी गरेको पाइएपछि सञ्चालक समिति अध्यक्ष ४९ वर्षीय दलबहादुर आलेलाई सीआईबीले तत्कालै पक्राउ गरेको थियो ।

सञ्चालक समितिका १५ जना फरार रहेकामा लमजुङ घर भएका सापकोटा लमजुङको भोटेओडारस्थित आफ्नै घरमा बस्दै आएका थिए । सीआईबीले लामो अनुसन्धान गरेर फाइल सरकारी वकिल कार्यालयमा पठाएकोमा उनीहरुविरुद्ध साढे ११ करोड रुपैयाँ बढी बिगो मागदाबी गर्दै सहकारी ठगी कसुरमा मुद्दा दायर गरिएको थियो ।

सहकारीले विगत ५ वर्षदेखि वित्तीय विवरणहरुसमेत किर्ते गरेको पाइएको सीआईबीको अनुसन्धानले औंल्याएको यसअघि नै सार्वजनिक भइसकेको छ ।

सहकारी अनियमितता

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully