सहकारी ऐन कसुरमा पक्राउ परेका ७ जना धरौटीमा रिहा

पुस ५, २०८०

आश गुरुङ

लमजुङ — जिल्ला अदालत लमजुङले कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकसहित ७ जनालाई धरौटीमा रिहा गरेको छ । प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले मुद्दा चलाएका ३४ जनामध्ये प्रहरी हिरासतमा रहेका ७ जना जनही ७ लाखदेखि १२ लाख रुपैयाँ धरौटी रकम बुझाएर बिहीबार तारेखमा रिहा भएका हुन् । बाँकी २७ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।

सहकारी ऐन कसुरमा पक्राउ परेका ७ जनाले अदालतमा ७२ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका हुन् । जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले ४ जनालाई जनही १२ लाख, १ जनालाई १० लाख र २ जनालाई जनही ७ लाखका दरले धरौटी माग गरेको थियो । अदालतको आदेशअनुसार कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराम शिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, तत्कालीन कर्पुरेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मिलन शर्मा दनाइँ र सम्पदा बचत तथा ऋण सहकारी संस्था तथा हालका कालिका सहकारीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया जनही १२ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

कालिका सहकारीका लेखापरीक्षक महेन्द्र शर्मा पौडेल १० लाख रुपैयाँ साथै सहकारीका सचिव कृष्णबहादुर खत्री र सदस्य हरिबाबु थापा जनही ७ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेको अदालतका श्रेस्तेदार उपसचिव भेषराज पौडेलले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेपछिको बयान, बहससँगै बिहीबार थुनछेक भएको थियो । अदालतमा मुद्दा दायर गरिएका ३४ जनामध्ये २७ जनालाई प्रहरीले खोजिरहेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले खटाएको विज्ञले गरेको अनुसन्धानमा सबैभन्दा दोषी देखिएका तत्कालीन कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र घिमिरे र उनी श्रीमती फरार छन् । मृगेन्द्रलाई सहकारी ऐन कसुर साथै ठगी कसुरमा समेत अनुसन्धान गरेर मुद्दा दर्ता भएको छ । यस्तै, सञ्चालकविरुद्ध उजुरीकर्ता तैमाया गुरुङलगायत ५ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ ।

सहकारी ऐन कसुर मुद्दामा सरकारी वकिलको कार्यालयका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता राजकुमार श्रेष्ठले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट कानुन व्यावसायीहरु वरिष्ठ अधिवक्ता यज्ञराज पौडेल, कृष्णप्रसाद अधिकारी र डा. गजेन्द्र अर्यालले बहस गरेका थिए ।

रिहा भएकामध्ये ६ जनालाई मंसिर १० र १ जनालाई मंसिर १७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सहकारी अनियमितता

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully