आचारसंहिता पालना फितलो

वैशाख २९, २०७९

कान्तिपुर संवाददाता

म्याग्दी — मौन अवधि सुरु भए पनि राजनीतिक दलका कार्यकर्ताले आचारसंहिताविपरित सामाजिक सञ्जालबाट प्रचार–प्रसार रोकेका छैनन । निर्वाचन आयोगले मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापामा दल र उम्मेदवारको प्रचार प्रसार गर्न नपाईने र मौन अवधि अघि राखेका राजनैतिक दल र उम्मेदवारको प्रचार सामग्री हटाउनुपर्ने जनाएको छ । तर यहाँका राजनैतिक दल, तिनका नेता, कार्यकर्ता र उम्मेदवारका फेसबुक पेजबाट निरन्तर चुनाव प्रचार प्रसार गरिरहेका छन् ।

 ‘राजनैतिक दल, र उम्मेदवारले भन्दा उनीहरूका कार्यकर्ताले मौन अवधिमा आचारसंहिताविपरीत सामाजिक सञ्जालको ब्यापक प्रयोग जारी राखेका छन्’ राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका कोषाध्यक्ष निरमायाँ मिजारले भनिन, ‘प्रवासमा रहेका दलका कार्यकर्ताले अझ वढी उम्मेदवारविरुद्ध लान्छनायुक्त स्टाटस लेखेर सामाजिक सञ्जालमा राख्ने गरेको पाइन्छ ।’

बजारमा तडक–भडक र कोलाहल भने रोकिएको छ । बाहिर देखिने होहल्ला र तडकभडक नदेखिए पनि उम्मेदवारले गाउँमा युवा जम्मा पार्ने र मदिरा खुवाउने, मतदातालाई प्रभावित पार्ने गरेका छन । मतदान मिति नजिक आउँदा समुदायमा दलका कार्यकर्ताबीच मुठभेडको जोखिम बढेको सुरक्षा निकायले जनाएको छ । 

 त्यसैबीच मौन अवधिमा राजनैतिक दलले कार्यकर्ता भेला गरी मतदान एजेन्ट सम्बन्धी तालिम पनि आयोजना गरेका छन् । मतदान, मतगणनामा खटिने एजेन्टलाई चुनावी रणनीति सिकाउने काम भैरहेको दलहरूले जनाएका छन । नगरपालिकाको बेनीमा र गाउँपालिकाहरूले पालिका मुकाममा कार्यकर्ता भेला गरी एजेन्ट तालिम सञ्चालन गरिएको मुख्य दलहरूले जनाएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully