लमजुङ कांग्रेसको महासमिति सदस्य निर्वाचन अनिश्चित

मंसिर १३, २०७८

कान्तिपुर संवाददाता

लमजुङ — कांग्रेस लमजुङको महासमिति सदस्य निर्वाचन अनिश्चित बनेको छ । मंसिर ८ मा जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचनको मतपरिणाम सार्वजनिक भइसके पनि महासमिति निर्वाचनको छनक छैन ।

जिल्ला अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि छानिएपछि तत्कालै अगाडि बढाउनुपर्ने महासमिति निर्वाचन प्रक्रिया हालसम्म पनि अघि बढेको छैन । प्रक्रिया अघि बढाएमा निर्वाचन गर्नुपर्ने अवस्था आउने र सकेसम्म सहमतिको आधारबाट महासमिति सदस्य छान्ने गरी छलफल अघि बढाइएको नेताले बताएका छन् ।

कांग्रेसको विधानअनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट २ महिलासहित ७ प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट ४ जना प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा केन्द्रीय महासमिति सदस्य निर्वाचित गर्नेछ । विधानअनुसार २७ महाधिवेशन प्रतिनिधिबाट ११ जना महासमितिमा छानिनेछन् । सर्वसम्मत हुन नसकेमा निर्वाचनका लागि प्रतिनिधि छानिएकाले पुनः मतदान गर्नुपर्ने हुन्छ । यो झन्झटबाट मुक्त हुन कांग्रेसले सहमतिको आधारमा महासमिति छान्न छलफल अघि बढाएको जनाएको छ । २७ जना महाधिवेशन प्रतिनिधिमा १० जना संस्थापन अर्थात् देउवा पक्ष र १७ जना संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला पक्षधरलगायत छन् ।

महासमिति सदस्य छान्ने काम तुरुन्तै बढाउनुपर्ने भए पनि निर्वाचन प्रक्रियामा थाकिएकाले सहमतिको आधार तयार गर्न स्थगित गरिएको कांग्रेस निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताए । ‘यसअघिका सभापति र नवनिर्वाचित सभापतिसँग छलफल गर्दा एकपटक सहमतिको प्रयास गर्ने र सफल भए घोषणा गर्ने, नभए चुनावी प्रक्रियामा अघि बढ्ने भन्नुभयो । त्यहीअनुसार छलफलको जिम्मा उहाँहरूलाई दिएको छु,’ उनले भने । 

नवनिर्वाचित सभपाति डा. टकराज गुरुङले जिल्ला अधिवेशन सकिएलगत्तै महासमिति सदस्य चुनिहाल्नुपर्ने भए पनि महाधिवेशन प्रतिनिधि सबै काठमाडौं गइसकेको र प्रदेश अधिवेशनपछि छलफल अघि बढाइने बताए । महाधिवेशन प्रतिनिधिबाट महासमिति सदस्य छान्नुपर्ने भएकाले यो कार्य जटिल भएको र महाधिवेशन प्रतिनिधिबीच नै छलफल गरेर सकेसम्म सहमतिबाट महासमिति सदस्य छानिने उनले बताए ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully