कांग्रेस महाधिवेशन : हिमालपारि सर्वसम्मत

आश्विन १७, २०७८

कान्तिपुर संवाददाता

पोखरा — कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मुस्ताङ र मनाङका जिल्ला नेतृत्व सर्वसम्मत चयन भएको छ । मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत चयन भएका छन् । उनी पूर्वमन्त्री एवं संविधानसभा सदस्य पनि हुन् । मुस्ताङका ५ वटै स्थानीय तहका क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यहरूको सहमतिमा सभापतिसहित २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

उपसभापतिमा विजय हिराचन, महिला उपसभापतिमा ढोका गुरुङ, सचिवमा विकल शेरचन, छेवाङ नर्वु गुरुङ, सहसचिव नम्डुल गुरुङ र सोमल हिराचन, कोषाध्यक्षमा गणेश शेरचन चुनिए । शुक्रबार सुरु जिल्ला अधिवेशनले शनिवार बिहान सबै पदमा सर्वसम्मत गरेको हो ।

नवनिर्वाचित जिल्ला सचिव विकल शेरचनका अनुसार २५ जना महाधिवेशन प्रतिनिधि, २५ सदस्यीय प्रदेश समिति, १६/१६ जना प्रदेश प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको हो । यसअघि असोज ९ मा भएको पालिकास्तरीय अधिवेशनले पनि मुस्ताङका सबै ५ वटै पालिकामा १ सय ५८ जना निर्विरोध निर्वाचित भएका थिए । नवनिर्वाचित जिल्ला अध्यक्ष थकाली केन्द्रमा रामचन्द्र पौडेल पक्षधर मानिन्छन । तर उनले जिल्लामा गुटको राजनीतिबाट अलग रहेको दाबी गर्दै आएका छन । 

यसैगरी कांग्रेस मनाङको सभापतिमा शंकर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबारको जिल्ला अधिवेशनले उनलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । मनाङमा वडा अधिवेशनअगावै सबै तहको नेतृत्व सर्वसम्मत चयन गर्ने टुंगो लागिसकेको थियो । सोहीअनुसार शनिबार जिल्ला अधिवेशन भएको हो । 

क्षेत्रीय सभापति सर्वसम्मत

गोरखाका दुईवटै संघीय निर्वाचन क्षेत्रको नेतृत्व सर्वसम्मत रूपमा टुंगिएको छ । महाधिवेशन प्रतिनिधिका लागि भने आकांक्षीको संख्या धेरै भएपछि मतदान प्रक्रिया सुरु गरिएको छ । दुई निर्वाचन क्षेत्रका ५० जना महाधिवेशन प्रतिनिधिका लागि १ सय १९ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर १ का सभापतिमा नारायण लामिछाने सर्वसम्मत चयन भएका छन् । क्षेत्र नम्बर १ को सचिवमा शरण श्रेष्ठ र रोसन श्रेष्ठ सर्वसम्मत चयन भए । पुष्कर गुरुङ र विमल रम्तेल सर्वसम्मत रूपमा सहसचिव निर्वाचित भएका छन् । 

  त्यस्तै क्षेत्र नम्बर २ मा सभापति गोविन्द गुरुङ निर्विरोध चयन भए । सचिवमा रूपबहादुर गुरुङ र सरोज देवकोटा चयन भएका छन् । सहसचिवमा भने सात जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन क्षेत्रमा विजयी बनेका सभापति संघीय निर्वाचन क्षेत्रको उपसभापति बन्ने प्रावधान छ । चार वटै प्रदेश निर्वाचन क्षेत्रको भने यसअघि नै नेतृत्व टुंगिसकेको छ । सहमतिबाट नटुंगिएको सहसचिव, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि शनिबार बिहानबाट मतदान जारी छ । २५ जना महाधिवेशन प्रतिनिधि छनोट हुने क्षेत्र नम्बर १ मा ५८ जनाको उमेदवारी परेको छ ।

क्षेत्र नम्बर २ मा २५ जना महाधिवेशन प्रतिनिधिका लागि ६१ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा क्षेत्रीय सभापति भने पदेन महाधिवेशन प्रतिनिधि हुने प्रावधान रहेको जिल्ला निर्वाचन अधिकारी देवबहादुर महतले बताए । खुल्लातर्फ १४ जना, समानुपातिकतर्फ १० र अल्पसंख्यक वा अपाङ्गता वा मुस्लिम समुदायबाट १ जना गरी २५ जना एक निर्वाचन क्षेत्रको महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । जिल्ला अधिवेशन भने असोज १८ गते हुनेछ । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully