निषेधाज्ञाका कारण धेरैमा मानसिक तनाव
तनहुँ — एक किशोरीलाई उपचारका लागि असार १४ मा दमौली अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्रमा ल्याइयो । १८ वर्षकी उनी श्रीमान्बाट पीडित भई आत्महत्या गर्ने अवस्थामा पुगेपछि प्रहरीले उद्धार गरी केन्द्रमा ल्याएको थियो ।
मानसिक तनावबाट गुज्रिएकी उनी आत्महत्यासम्म गर्ने अवस्थामा पुगेकी केन्द्रकी फोकल पर्सन हममाया पुनले बताइन् । ‘विवाहको २ वर्षपछि श्रीमान्को माया, हेरचाह नपाएका कारण तनावमा रहिछन्,’ पुनले भनिन्, ‘पीडा सुनिदिने कोही नभएपछि डिप्रेसनमा गई आत्महत्या गर्ने स्थितिमा पुगेकी रहिछन् ।’
यसैगरी, असार ६ मा ५ वर्षीया बालिकालाई उनकै १५ वर्षीय धर्मदाइले यौनजन्य दुर्व्यवहार गरेपछि पीडितलाई प्रहरीले केन्द्रमा पठायो । गत वर्षको असार २० सम्म प्रहरीमार्फत ४५, आफैं ५, आफन्तबाट २९, संघसंस्थाबाट ३ गरी ८२ जनाले केन्द्रबाट सेवा लिएका छन् । जसमा ७२ महिला र १० पुरुष छन् । उनीहरूमा २१ जना १४ वर्षसम्मका, १३ जना १५–१८ वर्षका, ४२ जना १९–४९ वर्षका, १ जना ५०–६० वर्षका र ५ जना ६० वर्षमाथि उमेर समूहका रहेको केन्द्रले जनाएको छ ।
‘१४ वर्ष मुनि र १९ देखि ४९ वर्ष उमेर समूहका बढि उपचार तथा परामर्शका लागि आएको देखिन्छ,’ उनले भनिन्, ‘कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मानिस आफ्नो दैनिक क्रियाकलापबाट अलग भई घरमै बस्नुपरेका कारण धेरैमा मानसिक तनाव उत्पन्न भएको देखिन्छ । कतिपय घरमै बस्दा हिंसाजन्य क्रियाकलापबाट पीडित बनेको पाइएको छ ।’
हिंसापीडित महिला, पुरुष तथा बालबालिकालाई उपलब्ध गराएको निःशुल्क मनोसामाजिक परामर्श तथा उपचार सेवा प्रभावकारी रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुनिल पौड्यालले बताए । उनले भने, ‘सेवाग्राहीलाई उनीहरूको अवस्था हेरेर एक हजार ५ सयदेखि ८ हजार रुपैयाँसम्म यातायात खर्च पनि व्यवस्थापन गराउने गरेका छौं ।’
केन्द्रले आर्थिक वर्ष २०७७/७८ मा ८८ हजार रुपैयाँ सेवाग्राहीलाई उपचार खर्च उपलब्ध गराएको थियो । केन्द्रबाट आर्थिक वर्ष २०७५/७६ मा ७१, २०७६/७७ मा ४९ जनाले सेवा लिएका थिए । ‘प्रत्येक वर्ष हिंसामा पर्नेको संख्या बढेको देखिन्छ’, पुनले भनिन्, ‘समाजमा यस्ता हिंसा पहिलेदेखि नै रहेको र पछिल्लो समय उपचार हुन्छ भन्ने सचेतना फैलिन थालेपछि पीडित स्वयं उपचारको दायरामा आउनुहुन्छ ।’
