बर्दिया निकुञ्जमा बाघ देखाउने अद्भुत सीप भएकी नेचर गाइड सीतारानी चौधरीको निधनले स्थानीय पर्यटन र संरक्षण अभियानमा ठूलो क्षति पुगेको छ।
What you should know
लुम्बिनी — बर्दिया राष्ट्रिय निकुञ्जको छेउमै जन्मिएकी थिइन् सीतारानी चौधरी। बाल्यकाल जंगलको काखमै बित्यो। चराको चिरबिर, बाघको पदचाप र वनको शान्त वातावरणसँगै हुर्किंदै जाँदा प्रकृति नै उनको जीवन बन्यो। पछि त्यही प्रेमले उनलाई नेचर गाइडको परिचय दियो। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ देखाउन सिपालु, वन्यजन्तु र चराबारे गहिरो ज्ञान भएकी तथा पर्यटकलाई सहज शैलीमा जानकारी दिन सक्ने गाइडका रूपमा उनी स्थापित भइन्। बर्दिया र बाँके निकुञ्जमा उनको सिको गर्दै धेरै जना पर्यापर्यटनमा होमिएका छन् । पथ प्रदर्शकका रुपमा काम गरिरहेका छन् ।
बर्दिया निकुञ्जमा सजिलै बाघ देखाउने खुबी भएकी सीतारानी चौधरी आफन्त, साथीभाई र संरक्षणकर्मी रुवाउँदै सधैंकालागि बिदा भएकी छन् । जंगलतर्फ हतारिने उनका पाइला रोकिएका छन्। सामाजिक सञ्जालमा वन्यजन्तु र प्रकृतिका तस्बिरहरू पोस्ट हुन छाडेका छन्। उनको लौरो, दूरबिन र क्यामेराले आफ्नी प्रिय साथी गुमाएका छन्। बर्दिया र बाँकेका प्रकृतिप्रेमी, संरक्षणकर्मी र पर्यटन व्यवसायीले असाधारण नेचर गाइड गुमाएको पीडा अनुभूति गरिरहेका छन्।
बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराकी ३७ वर्षीया सीतारानीको दुई साताअघि निधन भएपछि पर्यटकीय बस्ती ठाकुरद्वारा शोकमग्न छ। केही साताअघि गाउँ नजिकैको पटुवा कुलोमा नुहाउने क्रममा लडेर उनको मेरुदण्डमा गम्भीर चोट लागेको थियो। उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिए पनि उनलाई बचाउन सकिएन।
प्रकृतिप्रतिको मोहले उनलाई सानैदेखि जंगलतिर तान्यो। १६ वर्षको उमेरमा २०६२ सालमा आधारभूत नेचर गाइड तालिम लिएकी उनले त्यसपछि सात वर्षसम्म वन–जंगलमा सिक्दै अनुभव बटुलिन्। २०६९ सालदेखि उनी व्यावसायिक नेचर गाइडका रूपमा सक्रिय भइन्।
वरिष्ठ नेचर गाइड राजन चौधरीका अनुसार सीतारानी धेरै औपचारिक शिक्षा हासिल गर्न नसके पनि अंग्रेजी भाषामा विदेशी पर्यटकलाई सहज र प्रभावकारी ढंगले वन्यजन्तुबारे जानकारी दिन सक्ने क्षमता राख्थिन्। नेपाली, हिन्दी र थारु भाषामा पनि उनको समान दखल थियो। 'उनी अध्ययनशील थिइन्। वन्यजन्तु र चराबारे तथ्यसहित जानकारी दिन सक्ने भएकाले अधिकांश पर्यटकले उनीसँगै सफारी जान चाहन्थे,' उनले भने।
उनको उपचारका लागि देशविदेशका संरक्षणकर्मी र प्रकृतिप्रेमीले आर्थिक सहयोग जुटाएका थिए। वन्यजन्तु फोटो पत्रकार राजेश ढुंगानाले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेपछि उल्लेख्य रकम संकलन भएको थियो। वरिष्ठ न्यूरोसर्जन डा. वसन्त पन्तले पनि न्यूनतम शुल्कमा शल्यक्रिया गरेका थिए। 'शल्यक्रिया सफल भएको थियो, तर उनलाई बचाउन सकिएन,' ढुंगानाले भने। उनका अनुसार सीतारानीकी १३ वर्षीया छोरी अहिले आफन्तसँग बसिरहेकी छन् र उनको शिक्षाका लागि सहयोग आवश्यक छ।
नेचर गाइडका रूपमा सीतारानीको सबैभन्दा ठूलो विशेषता थियो—बाघ देखाउने अद्भुत क्षमता। बाघको चाल, बासस्थान, पदचिन्ह, दिसा–पिसाब र व्यवहारका आधारमा उनले बाघ कहाँ हुन सक्छ भन्ने अनुमान गर्थिन्। त्यसैले विदेशी पर्यटकहरू विशेषगरी उनलाई नै खोजेर सफारीमा जाने गर्थे।
चराविद् राम शाहीका अनुसार जंगलमा पर्यटकलाई सुरक्षित राख्दै वन्यजन्तु अवलोकन गराउनु सजिलो काम होइन। 'कहिलेकाहीँ वन्यजन्तुसँगको सामना निकै जोखिमपूर्ण हुन्छ। त्यस्तो अवस्थामा पनि सीतारानीले पर्यटकलाई सुरक्षित राखेर रोमाञ्चक अनुभव दिलाउन सक्थिन्,' उनले भने।
उनको यही दक्षताका कारण दोस्रो विश्वयुद्धका बेलायती पूर्वसैनिकहरूदेखि नेपाल नेचर ट्रस्ट (यूके) का डेपुटी चेयरम्यान क्रिस्टोफर उशरसम्मका पर्यटकले वर्षौंदेखि उनलाई नै आफ्नो गाइड बनाएका थिए। उशरले सामाजिक सञ्जालमार्फत उनीसँग बिताएका अविस्मरणीय क्षण सम्झँदै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सीतारानीले बर्दिया निकुञ्जभित्र सञ्चालन हुने टेन्टेड क्याम्प कार्यक्रमको समेत नेतृत्व गर्थिन्। उनी पर्यटकलाई जंगल चिनाउने मात्र होइन, संरक्षणको महत्व बुझाउने अभियानमा पनि अग्रसर थिइन्। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेका अनुसार सीतारानी वन्यजन्तु, चराचुरुङ्गी र प्रकृतिबारे उत्कृष्ट ज्ञान भएकी गाइडमध्ये एक थिइन्। 'हँसिलो अनुहार, नम्र व्यवहार र स्पष्ट व्याख्याका कारण सबैको मन जित्थिन्। यही उनको सबैभन्दा ठूलो सम्पत्ति थियो,' उनले भने।
नेचर गाइडिङसँगै सीतारानी वन्यजन्तु फोटोग्राफीमा पनि निखारिँदै थिइन्। उनले बाघ, चितुवा, गैंडा, हात्ती, चित्तल, जरायोदेखि दुर्लभ चराहरूका आकर्षक तस्बिर खिचेकी छन्। तीमध्ये धेरै तस्बिर सामाजिक सञ्जाल र विभिन्न प्रदर्शनीमा प्रशंसित भएका थिए।
उनी १५ वर्षदेखि बर्दिया निकुञ्ज प्रवेशद्वारनजिक रहेको थारु संग्रहालयमा कार्यालय सहयोगीका रूपमा पनि कार्यरत थिइन्। जीविकोपार्जनको माध्यम त्यही भए पनि उनको वास्तविक पहिचान प्रकृति संरक्षणमै थियो।
'वन, वन्यजन्तु र पर्यावरण हाम्रो साझा सम्पत्ति हुन्' भन्ने उनको भनाइ सहकर्मीहरू अझै सम्झन्छन्। सहकर्मी अनुराम चौधरी भन्छन्, 'उहाँ नेचर गाइडभन्दा पनि संरक्षणकर्मी धेरै हुनुहुन्थ्यो। बाघ र जंगल जोगिए मात्रै पर्यटनको भविष्य सुरक्षित हुन्छ भन्ने उहाँको विश्वास थियो।' अब सीतारानीले देखाएका बाघ, चिनाएका चरा, सुनाएका जंगलका कथा र संरक्षणप्रतिको समर्पण बर्दियाको जंगलसँगै लामो समयसम्म सम्झिइरहने उनका सहकर्मी बताउँछन् ।
