सडकमा पुग्ने अधिकांश बालबालिकाको मूल कारण पारिवारिक विखण्डन, घरेलु हिंसा, गरिबी र अभिभावकको बेवास्ता हो । कतिपय बालबालिका घरभित्रै हिंसा सहन नसकेर भाग्छन् त कतिपयलाई जीविकोपार्जनकै बाध्यताले सडकमा ल्याउँछ।
What you should know
धरान र काठमाडौं — घरभित्रै निम्तिने निरन्तरको झगडा र असुरक्षित वातावरणबाट दिक्क बनिरहेका थिए, धरानका विनय (नाम परिवर्तन) । कतिसम्म भने उनले घरै छाड्ने निर्णय लिनुपर्यो । आठ वर्षकै उमेरमा उनी सडकमा आइपुगे ।
आफ्ना बालसखा परिवारको न्यानो काखमा निदाउँदा विनयको रात चिसो भुइँ र सडकपेटीमा बित्न थाल्यो । सुरुवाती दिन चकमन्न रात, भोक र अपरिचित मानिसले उनलाई त्रसित बनाउँथे । बिस्तारै आफूजस्तै अन्य सडक बालबालिका भेटाए अनि मात्र उनको अलग संसार बन्न पुग्यो । ‘साथीहरू भएपछि सडक रमाइलो लाग्न थाल्यो,’ विनय सम्झन्छन् ।
उनीहरू दिनभरि भानुचोक बजार छेउ, बसपार्क र सडक वरपर घुम्थे । कसैसँग पैसा माग्ने, साना सामान बोकिदिने र फोहोर संकलन गरेर केही रुपैयाँ कमाउँथे । कमाएको पैसाले खाना किन्थे । बिस्तारै त्यो पैसा कुलतमा खर्च हुन थाल्यो । विनयको हातमा कापी र कलमको साटो ‘ड्रेन्डाइट’ हुन थाल्यो ।
सडकको जीवनले उनलाई स्वतन्त्रताको अनुभूति दिएको थियो । रोक्ने वा सम्झाउने कोही थिएन । आफूखुसी हिँड्न, सुत्न र साथीहरूसँग समय बिताउन पाउनु नै उनका लागि स्वतन्त्र जीवन थियो । तर, यही स्वतन्त्रताले उनलाई जोखिम, हिंसा र कुलततर्फ पनि धकेलिरहेको थियो । उनका अनुसार घरमा बुबाआमा, भाइ भए पनि वास्ता नगर्ने र भेदभाव गर्ने व्यवहारले परिवारसँग टाढिँदै थिए । ‘आमाको मृत्युपछि बुबाले अर्को विवाह गर्नुभयो । मलाई कान्छी आमाले कहिले माया गरिनन् । सधैं कुट्ने, काम लगाउने र पढाइमा समेत भेदभाव गर्नुभयो । भाइ बोर्डिङ स्कुल म सरकारीमा जान्थें,’ उनी सम्झिन्छन्, ‘मलाई पनि भाइलाई जसरी माया दिए हुन्थ्यो भन्ने लाग्थ्यो । मानसिक तनाव दिने गर्न थालेपछि घरबाट निस्किएँ ।’
विनय पहिलो पटक ९ वर्षको उमेरमा इटहरीस्थित भ्वाइस अफ चिल्ड्रेन पुगेका थिए । सडक बालबालिकाको संरक्षण र पुनःस्थापनाका लागि काम गर्ने उक्त संस्थाले सडकबाट उद्धार गरेर सुरक्षित वातावरण दिन खोजेको थियो । तर संस्थाको जीवन उनलाई सहज लागेन । ‘त्यहाँ बस्दा कैद भएजस्तो लाग्थ्यो,’ उनी सुनाउँछन् ।
सडकको खुला वातावरणमा अभ्यस्त भइसकेका उनलाई संस्थाको नियम र अनुशासन स्विकार्न कठिन भयो । समयमै उठ्नुपर्ने, पढ्नुपर्ने र नियमित तालिकामा बस्नुपर्ने उनका लागि नयाँ अनुभव थियो । संस्थामा एक वर्ष बसेर उनको व्यवहारमा सुधार भएपछि पुनःस्थापनाका लागि घर पठाइयो । तर केही दिनमै उनी पुनः सडकमा निस्किए । घरको व्यवहार सुध्रिएको थिएन । यसरी उनी धेरै पटक संस्थाबाट घर र घरबाट फेरि सडकमा नै पुग्थे ।
अहिले विनय २० वर्षका भए । तर उनको जीवनमा धेरै परिवर्तन आएको छैन । बाल्यकालमा सुरु भएको सडकको यात्रा अझै पूर्ण रूपमा अन्त्य भएको छैन । उनी अझै सडकमै गुजारा चलाइरहेका छन् । सडकमा खसेका प्लास्टिक बोतल टिप्ने काम गर्छन् । आम्दानीको हिस्सा लागूऔषधमा पनि लगाउँछन् ।
विनयजस्तै रोमन कार्की (नाम परिवर्तन) पनि पारिवारिक विखण्डन र गरिबीका कारण सडकमा आउन बाध्य भए । कोरोनाको समय उनका बुबाको मृत्यु भयो । बुबाको अनुपस्थितिपछि घरको अवस्था झन् कठिन बन्दै गयो । आमाले परिवार चलाउन धेरै संघर्ष गर्नुपर्यो । केही समयपछि उनले दोस्रो विवाह गरिन् । नयाँ परिवार त बन्यो तर रोमनको जीवनमा भने नयाँ संघर्ष सुरु भए ।
बुबाको मृत्यु र आमाले अर्को विवाह गरेपछि घरमा आफूभन्दा २ वर्ष सानी बहिनीको पनि जिम्मेवारी उनको काँधमा आइपुग्यो । घरमा वृद्ध हजुरआमा (बोजु) समेत थिइन् । छाक टार्न सकस भएपछि उनी ११ वर्षको उमेरमा सडकमा निस्किए । बाटोमा भेटेका मान्छेसित पैसा माग्न थाले । सुरुमा दिनभर ५ सय रुपैयाँ कमाएको उनी बताउँछन् । कक्षा ५ मा पढ्दै सडकमा निस्किएपछि विद्यालय पनि जान बन्द भयो । आफूजस्तै साथीहरू भेटेपछि उनलाई पनि सडक नै रमाइलो लाग्न थाल्यो । उनका अनुसार साथीहरूसँग मिलेर एक सय रुपैयाँमा ‘डेन्टलाइट’ किन्ने अनि दिनभर सुँघ्ने गर्थे ।
यही क्रममा उनी संस्थासम्म पुगे । संस्थाका कर्मचारीले उनलाई सडकबाट उद्धार गरी सुरक्षित स्थानमा लगे । त्यहाँ उनले लामो समयपछि पहिलो पटक नियमित खाना, सफा कपडा र सुरक्षित ओछ्यान पाए । उनीसँगै बसेका अरू साथी पनि थिए । उनीहरूबीच अनुभव साटासाट हुन्थ्यो । संस्थाले उनलाई विद्यालयसँग जोड्ने प्रयास गर्यो । केही समयपछि संस्थाले परिवारसँग समन्वय गरी घर फर्कायो । उनी बोजु र बहिनीलाई भेट्न उत्साहित थिए । घर फर्किएपछि फेरि उनी गरिबी र आर्थिक अभावको संकटमा परे । संस्थाले विद्यालयको शुल्क, लत्ताकपडा, कापी, कलम दिइरहन्थ्यो । तर घरको आर्थिक अवस्था कमजोर भएकाले उनी पुनः सडकमा नै पुगे ।
सडकबाट उद्धार गरी पुनः संस्थामै लगियो । त्यहाँ बसुन्जेल राम्रै भए पनि घरमा व्यवस्थित वातावरण नहुँदा बाटोमै आउनुपर्ने अवस्थाले उनको बाल्यकाल संघर्षपूर्ण रह्यो । अहिले पनि उनी सडकमै गुजारा चलाइरहेका छन् । लागूऔषधको लतले कहिले प्लास्टिकका बोतल टिप्छन् त कहिले मजदुरी गरेर खर्च चलाउँछन् ।
पारिवारिक विखण्डन, गरिबी, अभिभावकको माया नपाउँदा विनय र रोमनजस्ता बालबालिका सडकमा आएर लागूऔषधको लतमा फस्ने गरेका छन् । त्यस्ता बालबालिकाको संरक्षणका लागि विभिन्न संघसंस्थाले उद्धार तथा पुनःस्थापना गरे पनि धेरै त फेरि सडकमै फर्कने गरेको पाइएको छ ।
१४ वर्षीय रोशन (नाम परिवर्तन) को अवस्था पनि उनीहरूको जस्तै हो । अहिले उनी धरानका सडकमा साथीहरूसँग रात बिताउँछन् । गाडी सफा गर्दैर्, प्लास्टिक र बोतल टिप्दै दिन बिताउने उनी राति बन्द भएका पसलको पेटीमा सुत्छन् । रोशन ५ वर्षको हुँदा बुबाआमा छुट्टिएका थिए । बुबाले दोस्रो विवाह गरेपछि उनी आमासँग बस्न थाले । उनलाई हजुरआमाको जिम्मा लगाएर केही महिनापछि आमाले पनि अर्को विवाह गरिन् । केही समयपछि हजुरआमाको पनि मृत्यु भयो । त्यसपछि उनी आफन्तको घरमा पुगे । त्यहाँ मायाभन्दा बढी गाली र काम मात्रै पाइन्थ्यो । ‘खाना पनि राम्रोसँग दिनु हुन्नथ्यो, धेरै कराउँथे । त्यसपछि म भागेर सडकमा आएँ,’ उनले भने ।
कहिले भोकै बस्नुपर्थ्यो, कहिले होटलमा बचेको खाना मागेर खानुपर्थ्यो । उनले सडकमा दुर्व्यवहार, कुटपिट र लागूऔषधको जोखिम पनि धेरै देखेका छन् । केही महिनाअघि उनलाई संस्थाले उद्धार गरेर संरक्षणमा राखेको थियो । त्यहाँ खाना, बस्ने व्यवस्था र पढाइको अवसर पनि थियो । तर केही समयपछि फेरि सडकमा फर्किए । ‘त्यहाँ नियम धेरै थियो, गेटबाहिर निस्कन पाइँदैनथ्यो र साथीहरू पनि सडककै थिए, त्यसैले फेरि भागेर गएँ,’ उनले सुनाए ।
गएको वैशाख दोस्रो साता बालबालिका खोजतलास समन्वय केन्द्र, स्थानीय तह, प्रहरी र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त टोलीले काठमाडौंका सडक बालबालिकाको स्थलगत सर्वेक्षण गरेको थियो । पशुपति क्षेत्रमा १०४ नम्बर लेखेको गाडी देख्नेबित्तिकै केही बालबालिका पसलको छेउमा त कोही भीडभित्र लुके, केही टाढैबाट फर्किए । कतिपय बालबालिका टोलीनजिक पुग्दा बोल्नसमेत मानेनन् । सर्वेक्षणका आधारमा केन्द्रले तयार गरेको प्रतिवेदनअनुसार पशुपति मन्दिर क्षेत्रमा दैनिक २० देखि ३० जनासम्म बालबालिका माग्दै हिँडेको भेटिएका थिए ।
पशुपति मन्दिर परिसरमा भेटिएका धादिङका १४ वर्षीय बालक माग्दै हिँडिरहेका थिए । सानैमा आमाले छोडेको र बुबाले दोस्रो विवाह गरेपछि आफू बेवास्तामा परेका कारण यहाँ पुगेको ती बालकले बताए । घरमा खान, लाउन गाह्रो भएकाले साथीहरूसँग काठमाडौं आएको बताउने ती बालक हाल केन्द्रको संरक्षणमा छन् ।
बौद्ध चुच्चेपाटीबाट उद्धार गरिएका मकवानपुरका १३ वर्षीय बालकको सडकमा माग्दै हिँड्ने, लागूऔषध सेवन गर्ने र सडकमै रात बिताउने दैनिकी बनिसकेको थियो । उद्धारपछि केन्द्रले गरेको सोधपुछमा उनले सानैमा आमाले छोडेर गएको र ज्यालादारी काम गर्ने बुबाले पनि राम्रोसँग हेरचाह नगरेको बताएका थिए ।
स्वयम्भू क्षेत्रबाट उद्धार गरिएकी रोल्पा स्थायी घर बताउने १७ वर्षीया बालिकाले पनि आफू सडकमा पुग्नुको कारण पारिवारिक विघटन रहेको बताएकी छन् । आमाले दोस्रो विवाह गरेको, बुबाले वास्ता नगरेको उनले बताएकी छन् । उद्धारपश्चात् उनी अहिले धेरै बोल्दिनन् । सोधेका प्रश्नको छोटो जवाफ दिन्छिन्, धेरैजसो समय एक्लै बस्छिन् । सडकमा कहिलेदेखि बस्न थालेकी हुन् भन्ने उनले खुलाएकी छैनन् ।
सिन्धुलीका १५ वर्षीय बालक ३ वर्षदेखि सडकमा कवाडी संकलन गर्दै आइरहेका थिए । वैशाख दोस्रो साता बनेपाबाट उनको उद्धार गरियो । उनले बुबाले मदिरा सेवन गर्ने, आफूलाई माया नगर्ने र लगातार बेवास्ता गर्ने गरेको बताएका छन् । घरमा असुरक्षित महसुस भएपछि सडकमा पुगेको उनको भनाइ छ ।
नयाँ बसपार्कबाट उद्धार गरिएका सुनसरीका १३ वर्षीय बालकको अवस्था पनि उस्तै छ । आमाले दोस्रो विवाह गरेपछि उनी सडकमा आइपुगेका हुन् । सडकमा माग्ने, चोरी गर्ने र लागूऔषध सेवन गर्ने समूहसँग उनी मिसिएका थिए ।
केन्द्रका संयोजक सन्तोष अधिकारी अभिभावक आमाबुबाको बेवास्ता तथा अर्को बिहे, परिवारमा तनाव र स्नेह अभावले बालबालिका सडकमा पुग्ने गरेको बताउँछन् । पशुपति क्षेत्रलगायत गौशाला, नयाँ बसपार्क, चाबहिल, ग्वार्को, कुमारीपाटीलगायत १५ स्थानमा १ सय ९१ बालबालिका पाइएको थियो । जसमा केही अभिभावकविहीन थिए भने कोही परिवारसँगै बस्ने गरेका छन् ।
स्थलगत सर्वेक्षणमा धेरैजसो व्यक्ति भारतीय मूलका वा गैरनेपाली नागरिक रहेको देखिएको अधिकारीले बताए । अभिभावकविहीन बालबालिकालाई बाल संरक्षण गृहमा संरक्षित गरिएको उनको भनाइ छ । धेरैले आफ्नो वास्तविक पहिचान खुलाउन चाहेका छैनन् । ‘हामीलाई देख्नासाथ धेरै केटाकेटी भागे, भेटेर कुराकानी गर्न खोज्दा पनि बोल्न मानेनन् । कोही एक्लै त कोही परिवारसँगै माग्दै पनि हिँडेको पाइएको छ,’ अधिकारी भन्छन् ।
स्थानीय तहको नक्कली सिफारिसपत्र देखाउने, आर्थिक अवस्था कमजोर रहेको कागज देखाएर पैसा उठाउने प्रवृत्ति पनि फेला परेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । केही बालबालिका समूह बनाएर काठमाडौं उपत्यकाका मन्दिर र सार्वजनिक स्थलमा पुग्ने तथा केही दिनपछि अन्यत्र सर्ने प्रवृत्ति पनि देखिन्छ । बालबालिकाको पहिचान, उद्धार, संरक्षण, पुनःस्थापना, शिक्षा, स्वास्थ्य उपचार, मनोपरामर्श, सीप विकास तथा पारिवारिक पुनर्मिलनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने सुझाव प्रतिवेदनमा छ ।
सडक बालबालिका विशेष संरक्षण निर्देशिका २०८२ अनुसार अस्थायी संरक्षण केन्द्र, सामाजिकीकरण केन्द्र, सेवा प्रदायक संघ संस्था र लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र तोकिएको छ । जसमा बालबालिकाका सेवा सुविधा र सुधारका लागि प्राप्त स्रोत साधन र व्यवस्था तथा परिचालन गर्नुपर्ने व्यवस्था छ । बालबालिकाको उचित आवासदेखि पोषणको व्यवस्था गर्नुपर्ने मापदण्ड छ । तर मापदण्डअनुसार अस्थायी केन्द्रहरू सञ्चालन गर्न नसक्दा सडक बालबालिकालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न पर्याप्त बजेट, भौतिक संरचना अभावले व्यवस्थापनमा चुनौती देखिएको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताए ।
उनका अनुसार सडक बालबालिकाका लागि सञ्चालन गरिएका अस्थायी संरक्षण सेवा केन्द्रहरूको भौतिक संरचना र व्यवस्थापन पूर्ण रूपमा सरकारको नियन्त्रणमा छैनन् । ‘संस्थाको भौतिक संरचना जस्तो छ, त्यसैमा काम भइरहेको छ । हामीले वार्षिक कार्यसम्पादन सम्झौतामार्फत केही रकम छुट्याउने गरेका छौं तर त्यो पर्याप्त छैन,’ उनले भने, ‘बालबालिकाको पोषण, संरक्षण र सुधारका लागि निश्चित बजेटबाहेक आफ्नो विज्ञताका आधारमा पनि काम गर्नुस् भनेर संस्थालाई छाड्ने गरेका छौं ।’
संरक्षणमा राखिएका कतिपय बालबालिका पर्खाल फोडेर, गेट तोडेर वा लुकीछिपी भाग्ने गरेको उनी बताउँछन् । ‘सडकबाट उद्धार गरेका बालबालिकाको मानसिक अवस्था बुझेर उनीहरूलाई केन्द्रमा टिकाउन नसक्नु नै मुख्य कमजोरी देखिन्छ,’ उनले भने । उनका अनुसार हाल सडक बालबालिकाको व्यवस्थापनमा वार्षिक करिब ३ करोड रुपैयाँ खर्च भइरहेको छ । प्रभावकारी व्यवस्थापन, पुनःस्थापना र दीर्घकालीन सुधारका लागि कम्तीमा १५ करोड रुपैयाँ आवश्यक पर्छ ।
भ्वाइस अफ चिल्ड्रेनकी कर्मचारी लीला भुजेलका अनुसार सडकमा पुग्ने अधिकांश बालबालिकाको मूल कारण पारिवारिक विखण्डन, घरेलु हिंसा, गरिबी र अभिभावकको बेवास्ता हो । कतिपय बालबालिका घरभित्रै हिंसा सहन नसकेर भाग्छन् भने कतिपयलाई जीविकोपार्जनकै बाध्यताले सडकमा ल्याउँछ ।
उनका अनुसार केवल उद्धार गरेर संस्थामा राख्दैमा समस्या समाधान हुँदैन । उनले भनिन्, ‘बालबालिकालाई पुनःस्थापना गर्न परिवारको वातावरण सुधार, मनोसामाजिक परामर्श, शिक्षा र दीर्घकालीन संरक्षण आवश्यक हुन्छ, नत्र उनीहरू फेरि सडकमै फर्किन्छन् ।’ बाल अधिकारकर्मी मिलन दर्नालले अभिभावक हुँदाहुँदै सडकमा आउन बाध्य बालबालिकालाई राज्यबाट संरक्षण पाउने हक भएकाले तीन तहकै सरकारले व्यवस्थापनमा सोच्नुपर्ने बताए ।
