जनआस्था साप्ताहिक : दरबारको 'गसिप'देखि जाँचबुझ प्रतिवेदन 'लिक' सम्म

दलगत मुखपत्रबाट विद्रोह स्वरूप जन्मिएको जनआस्थाले सुरुवाती दिनदेखि नै खोजमूलक र बेनामे अर्थात् स्रोतमा आधारित पत्रकारिताको पहिचान बनाउन सफल भयो, एकातिर यसले 'निडर खोज पत्रकारिता' को छवि बनाएको छ भने अर्कोतिर 'पत्रकारिताको सीमारेखा नाघेर सनसनी' को आरोप पनि लाग्ने गरेको छ

चैत्र १२, २०८२

दया दुदराज

Jana Aastha Weekly: From palace 'gossip' to investigation report 'leaks'

What you should know

काठमाडौँ — सरकारले गुपचुप राख्न खोजेको 'जेन-जी आन्दोलन' माथि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि यसबारे अनेकन प्रश्न र बहसको सुरुवात त भयो नै । यो सँगसँगै गोप्य प्रतिवेदन सार्वजिनक गर्ने 'जनआस्था साप्ताहिक’ पनि चर्चामा आयो ।

प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सडक र सामाजिक सञ्जालबाट उठिरहे पनि सरकारले आलटाल गरिरहेको पृष्ठभूमिमा जनआस्थाले यो सार्वजनिक गरेर आफ्नो 'गोप्य सूचना ब्रेक गर्ने' पुरानै छवि र सत्तासँग नडराउने शैलीलाई पुनः बहसमा ल्याएको छ । तर, जनआस्थाका लागि 'सत्तासँग ठोक्किने' यो अभ्यास पहिलो भने होइन । किनभने यो पत्रिकाको  उदय सामान्य थिएन, जुन संस्थागत विद्रोहको उपज थियो । आउनुहोस् बुझौँ, जनआस्थाको 'पृष्ठकथा' ।

पञ्चायतको दबदबा अनि बहुदलको नौलो किरण कुरिरहेको त्यो समयमा साप्ताहिक पत्रिकाहरू नै सञ्चार जगतको मूलधार (मेनस्ट्रिम) मानिन्थ्यो । विशेष गरी २०४६ सालको राजनीतिक परिवर्तनपछि र ठूला दैनिक पत्रिकाहरूको उदय हुनुअघि साप्ताहिक पत्रिकाहरूले नै नेपाली समाज र राजनीतिलाई सुसूचित गर्ने मुख्य भूमिका खेलेका थिए ।

त्यतिबेलाको चर्चित साप्ताहिक थियो-'दृष्टि' । जुन मिसन पत्रकारिताका रूपमा सञ्चालित थियो । यसको सार्वजनिक परिचय थियो, तत्कालीन एमालेको मुखपत्र । तत्कालीन समयमा 'दृष्टि' साप्ताहिक ४९ / ५० हजार कपीसम्म छापिन्थ्यो । पत्रकार किशोर श्रेष्ठ- त्यही साप्ताहिकमा लेख्थे ।  

चर्चित मानिए पनि समाचारमा पत्रकारको स्वामित्व, लेखन स्वतन्त्रता र बाहिरबाट सम्पादक थोपर्ने जस्ता विषयमा श्रेष्ठको टोली र तत्कालीन एमाले पार्टी नेतृत्वबीच विवाद उत्पन्न भयो । ‘नयाँपेज’ अनलाइन पोर्टलमा सार्वजनिक एक अन्तर्वार्तामा पत्रकार श्रेष्ठले तत्कालीन एमाले नेता वामदेव गौतमसँगको टकरावबारे खुलाएका छन् । 

श्रेष्ठले पत्रिकालाई संस्थागत र स्वामित्वमा लैजानुपर्ने माग राख्दा गौतमले अस्वीकार गरेको प्रसंग अन्तर्वार्तामा भनेका छन् । गौतमको कुरा सुनेपछि श्रेष्ठ र उनको टोली केही पनि नलिई रित्तो हात त्यहाँबाट निस्किए । 'दृष्टि'का प्रकाशक शम्भु श्रेष्ठ र अग्निशिखाबाहेक व्यवस्थापन र सम्पादनका अधिकांश कर्मचारीहरू किशोर श्रेष्ठसँगै जनआस्थामा आए । जसमा खगेन्द्र थापा मगर, हरिश फुयाल, भिक्षु अश्वघोषलगायत थिए । यसरी पार्टीको नियन्त्रणभन्दा बाहिर रहेर स्वतन्त्र र आलोचनात्मक पत्रकारिता गर्ने उद्देश्यले जनआस्थाको जन्म भएको किशोर श्रेष्ठ बताउँछन् । रोचक कुरा त यो थियो कि, 'दृष्टि' पनि बुधबार नै निस्कने भएकोले जनआस्थाले पनि प्रकाशनको दिन बुधबार नै रोजेको थियो ।

त्यसपछि काठमाडौंका केही वडाध्यक्षहरू र साथीहरू (सुभान कुमार श्रेष्ठ, बालकृष्ण प्रजापति, कल्याण बन्धु अर्याल, धर्मरत्न तुलाधर आदि) बाट १०-१० हजार रुपैयाँ उठाएर कुल २ लाख ५० हजार रुपैयाँको लगानीमा बागबजारको रेड क्रस बिल्डिङमा अफिस खडा गरी सुरू भयो- जनआस्था । 'त्यतिबेला दृष्टिमा लेख्ने प्रकाशकबाहेकका सबै जनआस्थामा आयौँ,' श्रेष्ठ भन्छन् । 

८ मार्च (अन्तर्राष्ट्रिय नारी दिवस) को अवसर पारेर वि.सं ०५१ फागुन २४ गते सार्वजनिक गरिएको थियो । त्यसबखतको पहिलो अंकको मुख्य समाचार (कभर स्टोरी) सरकारको १०० दिनको समीक्षासम्बन्धी रहेको पत्रकार श्रेष्ठ सम्झन्छन् । यसमा गणेशमान सिंह, झलनाथ खनाललगायतका ठूला नेताहरूको शुभकामना छापिएको थियो ।

कुनै समय जनआस्थामा काम  गरेका पत्रकार सीताराम बरालका अनुसार, त्यस समयको साप्ताहिक पत्रकारितामा पार्टीगत आस्था निकै हाबी थियो । धेरैजसो साप्ताहिक पत्रिकाहरू कुनै न कुनै राजनीतिक दलसँग आबद्ध हुन्थे र उनीहरूले आफ्नो दलगत विश्वासका आधारमा समाचार वा विश्लेषण पस्कने गर्थे । ‘त्यतिबेलाको आम ट्रेन्ड के थियो भने साप्ताहिक नै मेनस्ट्रिम थिए ।

धेरैजसोमा पार्टी पत्रकारिता हाबी थियो । दैनिक पत्रिकाहरूको बाढी आएपछि साप्ताहिकहरूले समाचारभन्दा बढी विचार र विश्लेषण (भ्युज) लाई प्राथमिकता दिन थाले,’ पत्रकार बराल भन्छन्, ‘एउटा घटना घट्दा दैनिकले समाचार दिन्थे भने साप्ताहिकले टेबलमा बसेर आफ्नो विचारअनुसार कसैलाई 'ठोक्ने' वा विश्लेषण गर्ने काम गर्थे । तर हामीले (जनआस्थामा) भने तथ्यपरक समाचार (फ्याक्चुअल न्युज) लाई नै मुख्य आधार बनायौँ ।’

Jana Aastha Weekly: From palace 'gossip' to investigation report 'leaks'

दरबारको भण्डाफोर

दलगत मुखपत्रबाट विद्रोहस्वरूप जन्मिएको जनआस्थाले सुरुवाती दिनदेखि नै खोजमूलक र 'स्रोत-आधारित' पत्रकारितामा आफ्नो पहिचान बनाउन सफल भयो । विशेषगरी दरबार, नेपाली सेना र राजनीतिक शक्ति केन्द्रका संवेदनशील सूचना बाहिर ल्याउन यसले ठूलो जोखिम उठायो ।

दरबार, सेना, गुप्तचर र प्रहरी जस्ता 'बन्द' र पहुँच नहुने निकायहरूका भित्री सूचनाहरू बाहिर ल्याउन साप्ताहिक पत्रिकाहरूले मेहनत गर्थे । ती निकायभित्रका असन्तुष्ट पक्षहरूले आफ्ना कुरा बाहिर ल्याउन साप्ताहिक पत्रिकालाई नै भरपर्दो माध्यमका रूपमा प्रयोग गर्थे । बराल भन्छन्, ‘जसको पहुँचै हुँदैनथ्यो, त्यस्ता लुकेका र लुकाइएका सूचनाहरू बाहिर ल्याउने काम साप्ताहिकले गर्थे ।’

त्यतिबेला लुकाउन खोजिएको रहस्यमयी हत्याको घटना हो- 'नमिता-सुनिता हत्याकाण्ड ' ।  वि.सं. २०३८ जेठ १८ गते पोखरा भ्रमणमा गएका काठमाडौंका नमिता र सुनिता भण्डारी तथा उनीहरूका आफन्त नीरा पराजुलीको रहस्यमय हत्या र बेपत्ता प्रकरणलाई नेपालको इतिहासकै एउटा निकै बीभत्स र राजनीतिक शक्तिद्वारा दबाइएको घटना मानिन्छ ।

जेठ २४ गते बेगनास ताल घुम्न निस्किएका उनीहरूमध्ये नमिता र सुनिताको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा सेती नदी किनारमा भेटिएको थियो भने नीराको अवस्था हालसम्म अज्ञात छ । तत्कालीन पञ्चायती शासन र राजदरबारका उच्च पदस्थ व्यक्तिहरूको संलग्नता रहेको आशंका गरिएको यस काण्डमा प्रहरी अनुसन्धानलाई शक्ति केन्द्रबाटै प्रभावित पारिएको, शव परीक्षण रिपोर्टमा चलखेल गरिएको र घटनाका प्रत्यक्षदर्शी भनिएका वन रक्षक चूडामणि अधिकारीलाई समेत हिरासतमा लिई बेपत्ता पारिएको आरोप छ । 

किशोर श्रेष्ठले वि.सं. २०४८ सालमा 'दृष्टि' साप्ताहिकमार्फत ६ महिना लामो खोजमूलक रिपोर्टिङ गरी यस घटनाको पर्दाफास गरेका थिए, जसलाई पछि उनले 'दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड' नामक पुस्तकमा समेत सविस्तार प्रस्तुत गरेका छन् ।Jana Aastha Weekly: From palace 'gossip' to investigation report 'leaks'

श्रेष्ठ 'दृष्टि'मा जस्तै जनआस्थामा पनि आफ्नो स्रोतका कारण दरबारभित्रका सूचना सार्वजनिक गरेका थिए । २०५७  सालमा तत्कालीन राजा वीरेन्द्र शाहका भतिज अर्थात ज्ञानेन्द्रका छोरा पारसले सवार गाडीले किचेर संगीतकार प्रवीण गुरुङको हत्याको विषयमा पनि २०५७ मा जनआस्थाले लेखेको थियो । सो घटनापछि ५ लाख हस्ताक्षर संकलन गर्ने र त्यसलाई दरबारसम्म पुर्‍याउने काममा जनआस्थाको भूमिका थियो ।

त्यस्तै अछामको सदरमुकाम मङ्गलसेनमा माओवादीले आक्रमण गरी १ सय २९ जनाको ज्यान लिएको घटना २०५८ साल फागुन ४ गते शनिबार मध्यरातमा भएको थियो । ठीक त्यही बेला काठमाडौँमा सत्तापक्षका नेताहरू विलासी भोजभतेर र गुटबन्दीको राजनीतिमा व्यस्त रहेको पाइएपछि श्रेष्ठले २०५८ फागुन ८ गते को 'जनआस्था' साप्ताहिकमा समाचार छापेका थिए । 

यो समाचारले एकातिर अछाममा रगत बगिरहँदा अर्कोतिर राजधानीमा 'सितन र हड्डी' चपाउँदै (चुरुम-चुरुम) भोज गरिरहेका शासकहरूको संवेदनहीनतालाई निकै आक्रामक ढंगले उजागर गरेको थियो, जसले तत्कालीन समयमा ठूलो राजनीतिक हलचल ल्याएको थियो । त्यस्तै २०५९ जेठमा माओवादी नेता तथा पत्रकार कृष्ण सेनको प्रहरी हिरासतमा हत्या भएको खबर 'कृष्ण सेन : पशुपतिको खरानी' शीर्षकमा जनआस्थाले नै पहिलोपटक सार्वजनिक गरेको थियो । 

एक समय जनआस्थामा काम गरेका र अहिले 'जसनेपाल' अनलाइनका प्रधानसम्पादक रहेका अरुण बराल सम्झन्छन्- ‘हाम्रो पालामा दरबारका समाचारहरू हरेक हप्ता ब्रेकिङ हुन्थे । राजपरिवारका सदस्यहरूको व्यक्तिगत जीवनदेखि उनीहरूका भित्री कुराहरूसम्म आइरहन्थे ।’ यस्ता दरबारका सूचना र गोप्य सूचनाहरू सार्वजनिक गर्दा जनआस्थाले विभिन्न समयमा धम्कीहरू खेप्दै आएको छ । 'तत्कालीन युवराज पारस र प्रधानसेनापति प्रज्वल शमशेरले मलाई सिधै 'सुट गर्ने' वा मार्ने धम्की दिएका थिए,' श्रेष्ठले भने, 'प्रज्वल शमशेरका छोरा प्रभास शमशेर दुईवटा पिस्तोल बोकेर मलाई खोज्दै हिँडेका थिए ।'

अछाम काण्डको समाचार लेखेका कारण श्रेष्ठ माघ १६ गते (सहिद दिवस) को दिन अफिसबाटै पक्राउ गरिएको थियो । ०६१ माघ १९ को शाही कदमपछि जनआस्थाको कार्यालयमा २१ जनाको सैनिक टोली कर्नेलको नेतृत्वमा तीन हप्तासम्म बसेर पत्रिकाको प्रत्येक शब्द सेन्सर गरेको प्रसंग पनि उनले सुनाए । त्यतिबेलाका साक्षी थिए अरुण बराल । ‘माघ १९ को घटना हुँदा जनआस्थाको कार्यालयमा आर्मीको डफ्फा नै आएर बसेको थियो । जर्नेलको नेतृत्वमा आएको सो टोलीले 'यस्तो छाप्न पाइन्छ, यस्तो पाइँदैन' भनेर नियन्त्रण गर्न खोजेको थियो,’ अरुण बराल सम्झन्छन्, ‘सेनाले सामग्रीहरूमा रोक लगाउन खोज्दा सम्पादक किशोर श्रेष्ठले आर्मीका जर्नेलसँगै सिधै प्रतिवाद गर्नुभएको थियो । उनलाई सेनाले उठाएर लैजाने धम्की दिँदा र अन्य कर्मचारीहरू डराउँदा पनि उहाँ विचलित हुनुभएन । जनआस्थाले कार्टुन र कतिपय क्रिटिकल कन्टेन्टहरू छापेको थियो ।’ 

गणतन्त्र स्थापनापछि पनि जनआस्थाले धेरै समाचार निडरताका साथ प्रकाशित गरिरहेको छ । जनआस्थाले रास्वपा सभापति रवि लामिछानेको नागरिकता र पासपोर्टका विषयमा देखिएको कैफियतबारे पनि तथ्यहरू बाहिर ल्याएको थियो । सम्पादक श्रेष्ठ यही समाचारका कारण पनि आफूले  सामाजिक सञ्जालमा आरोप खेप्नुपरेको बताउँछन् । उनले सुनाए, ‘त्यो समाचार लेखेपछि मेरो स्वर्गीय आमालाई लिएर पनि सामाजिक सञ्जालमा निकै तल्लो खालको टिप्पणी भए ।’ 

Jana Aastha Weekly: From palace 'gossip' to investigation report 'leaks''सीमारेखा नाघेको सनसनी' 

राज्यसत्तालाई असहज बनाउने यी खुलासाहरूको मूल्य जनआस्था र यसको नेतृत्वले महँगो रूपमा चुकाउनुपर्‍यो । तत्कालीन शक्तिशाली व्यक्तिहरूबाट ज्यान मार्ने धम्की आउने, कार्यालयमै छापा मारिने र सैनिक निगरानी बढाउने क्रम चलिरह्यो । तर, जनआस्थाको यात्रा सधैँ निर्विवाद भने रहेन । यसको छवि एकातिर 'निडर खोज पत्रकारिता' को छ भने अर्कोतिर 'सीमारेखा नाघेको सनसनी' को आरोप पनि सँगसँगै  लाग्ने गरेको छ ।  

जनआस्थाको पत्रकारिताको मूल्य मान्यताको सीमारेखा नाघेको सनसनीपूर्ण घटनामध्यको एक हो- कलाकार श्रीषा कार्कीको आत्महत्या ।  २०५९ साल असोज २३ गते बुधबार, जनआस्था साप्ताहिकले ‘फ्रन्ट पेज’मा ‘फिल्म नगरीको रंगीन रात’ शीर्षकमा एउटा स्टोरी छापिएको थियो । जनआस्थाका पत्रकारद्वय विश्वमणि सुवेदी र यादवप्रसाद पाण्डेले लेखेको उक्त सामग्रीमा नेपाली फिल्म क्षेत्रमा हुने गरेको  ‘लभ अफेयर्स’ आदिको बारेमा खोज खुलासा गरेजसरी लेखिएको थियो ।

सो समाचारमा कार्कीको अर्धनग्न तस्बिर पनि प्रकाशित भएको थियो । यो तस्बिर प्रकाशित भएको चौथो दिन अर्थात ०५९ असोज २७ गते कार्कीले आत्महत्या गरिन् ।  सोही समाचारका कारण कार्कीले आत्महत्या गरेको आरोप जनआस्थाले लामो समयदेखि खेप्दै आएको छ । 

यो घटना यतिमै सकिएन । उक्त समाचार लेख्ने दुवै पत्रकार २०५९ माघ पहिलो साता पक्राउ परे । ‘समाचार लेखेकै कारणले २०५९ माघ २/३ गते जस्तो लाग्छ यादवजीलाई सिंहदरबार हिरासतमा लगेर राखियो,’ विश्वमणि सुवेदीले त्यो दिन सम्झिदै कान्तिपुरसँग भने, ‘ज्यान मुद्दा लगाउने भनिएको थियो तर सात दिन हिरासतमा बसेपछि तत्कालीन महान्यायधिवक्ता सुशील पन्तले मुद्दा खारेज गर्ने निर्णय गर्नुभयो । अनि हामी रिहा भयौँ ।’

जनआस्था यही समाचारका कारण पटक-पटक आलोचित हुँदै आएको छ । ‘म दुई वर्षसम्म भूमिगत हुनपर्‍यो,’ श्रेष्ठ सम्झन्छन्, ‘तर त्यही समाचारका कारण आत्महत्या भएको हो भन्ने कुनै प्रमाण छैन । तर म बारम्बार यही कुराले आलोचित हुने गरेको छु ।’ श्रेष्ठले पोस्टमार्टम रिपोर्टमा समाचारकै कारण मृत्यु भएको नदेखिएको भन्दै आरोपको प्रतिरक्षा गर्दै आएका छन् । 

Jana Aastha Weekly: From palace 'gossip' to investigation report 'leaks'

पत्रकार 'उत्पादन केन्द्र'

प्रशंसा र आलोचनाबीच पनि जनआस्थाले धेरै पत्रकारहरू पनि उत्पादन गरेको छ । जनआस्थाको सुरुवाती यात्रामा वैचारिक र बौद्धिक व्यक्तिहरूको ठूलो उपस्थिति थियो । स्व. कमल कोइराला, स्व. रमेश विकल, स्व. प्रेमसिंह धामी, स्व. भिक्षु अश्वघोष र स्व. सुरेश मानन्धर जस्ताको संलग्नताले यसलाई सूचनाको स्रोत मात्र होइन, एउटा बौद्धिक मञ्चको रूपमा समेत स्थापित गरेको मानिन्छ । 

त्यस्तै, प्रदीप नेपाल जस्ता राजनीतिक र पत्रकारितामा दख्खल राख्ने व्यक्तित्वहरूले यसको प्रभावकारितालाई अझ विस्तार गरे । उनीहरूको मार्गदर्शन र जनआस्थाको आक्रामक समाचार शैलीले पत्रकारहरूलाई तथ्यको भित्री तहसम्म पुग्न सधैँ प्रेरित गरिरह्यो । आजको नेपाली मूलधारको पत्रकारितालाई नियाल्ने हो भने यसमा जनआस्थाकै ‘उत्पादन’ हरूको उपस्थिति ठूलो देखिन्छ । 

कान्तिपुरका पूर्व प्रधान सम्पादक सुधीर शर्मा र नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलदेखि अन्नपूर्ण पोस्टका पूर्व सम्पादक राजाराम गौतमसम्मको व्यावसायिक जग यहीँबाट सुरु भएको थियो । एक समय अनलाइनखबरका सम्पादक रहेका अरुण बराल (हाल जसनेपालका प्रधानसम्पादक) र सीताराम बराल, मातृका पौडेल, परशुराम काफ्ले, सीताराम भट्टराई, चुडामणि भट्टराई, टीकाराम राई, विनोद ढुङ्गेल, माधव ढुङ्गेल जस्ता पत्रकार पनि जनआस्थाको 'स्कुलिङ'बाट पत्रकारितामा अघि बढेका हुन् ।  

Jana Aastha Weekly: From palace 'gossip' to investigation report 'leaks'

'भीडको मनोविज्ञान' र पुनः स्थापित बहस

यसरी विभिन्न आरोह र अवरोहबीच जनआस्था आज पनि बजारमा खोजिने पत्रिका हो । जहाँ लुकाउन खोजिएका र सनसनीखेज समाचार प्रकाशित हुन्छन् । अध्यक्ष श्रेष्ठका अनुसार जनआस्थामा हाल काठमाडौंमा मात्रै १९ जना पत्रकार कार्यरत छन् । तर  समयसँगै चुनौतीका स्वरूपहरू फेरिएका छन् । श्रेष्ठको बुझाइमा, ‘पहिले सत्ता डराउँथ्यो, अहिले भीड हाबी छ ।’

सामाजिक सञ्जालले निर्माण गर्ने 'मोब साइकोलोजी' (भीडको मनोविज्ञान) ले कुनै एउटा घटनालाई आधार बनाएर व्यक्तिलाई स्थायी रूपमै दोषी करार गर्ने प्रवृत्तितर्फ उनको संकेत छ । पत्रकारिताको सबैभन्दा ठूलो पुँजी 'विश्वास' भएको र त्यसलाई स्रोत र पाठक दुवैमा जोगाउनुपर्ने उनी बताउँछन् ।

अहिले 'जेन-जी' आन्दोलनको प्रतिवेदन सार्वजनिक गरेर जनआस्थाले राज्यलाई पारदर्शी बनाउन सूचनाको हकको प्रयोग गर्दै आफूलाई पुनः स्थापित गर्न खोजेको देखिन्छ । जनआस्थाले यो सूचना आफ्नो स्रोतसँगको विश्वसनीयताका कारण प्राप्त गरेको श्रेष्ठको दाबी छ । तर, सँगसँगै स्रोतको विश्वसनीयता, सूचना सार्वजनिक गर्ने समय र त्यसले सिर्जना गर्ने राजनीतिक प्रभावबारे पुराना प्रश्नहरू पनि सतहमा आएका छन् ।

दया दुदराज कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully