धरान उपमहानगर प्रमुखदेखि राष्ट्रिय राजनीतिमा उदाएका हर्क साम्पाङले श्रम संस्कृति पार्टीलाई संसद्मा पुर्याउँदै जनताको भरोसा र चासोलाई नयाँ उचाइमा पुर्याएका छन् ।
What you should know
काठमाडौँ — प्रतिनिधिसभाको निर्वाचनबाट जनताले नयाँ अनुहार मात्र हैन, नयाँ पार्टीलाई पनि अनुमोदन गरे । चार महिनाअघिमात्रै स्थापना भएको श्रम संस्कृति पार्टीले छोटो अवधिमै संसद्मा आफूलाई राष्ट्रिय दलको रुपमा उभ्याउनु चानचुने कुरा थिएन । तर पार्टीका ‘मियो’ हर्कराज राई (हर्क साम्पाङ)को दरिलो आत्मविश्वासले जनताको मन जित्यो । अनि मत पनि ।
प्रत्यक्ष र समानुपातिक गरी ६ सिट ल्याएको यो पार्टी बलियो प्रतीपक्षी हुनसक्छ भन्ने आँकलन धेरैको छ । सुनसरी–१ बाट ३५ हजार ७ सय ४१ मतसहित फराकिलो मतान्तरले जित हासिल गरेका हर्कसँग अपेक्षा पनि छ – ‘बालेन्द्र शाह नेतृत्वको सम्भावित सरकारलाई कडा खबरदारी गर्ने सांसदमध्ये एक हुनेछन् उनी ।’
धरान उपमहानगरपालिकाको प्रमुख हुँदा उनले छाडेका छापमध्ये एक हो – श्रम संस्कृति ।
आफैं निर्माणमा जुटेर ढुंगा बोक्ने हर्कका प्रस्तुति शैली अनौपचारिक थियो । अरु राजनीतिज्ञ जस्तो शुद्ध भाषणबाजी कहिल्यै गरेनन् उनले । बरु आफ्नै लवजमा आम मानिसजसरी प्रस्तुत भए । पहिरनमा पनि उनले आम जनताकै प्रतिबिम्ब झल्काए । यो यो शैली स्वभावलाई नागरिकहरूले रुचाए ।
के संसदमा पनि उनी यसैगरी प्रस्तुत होलान् ? जिज्ञासाजडित अनुमान यदाकदा देखिन थालेका छन् । त्यसमाथि हर्क र बालेन्द्र शाहको सम्बन्धलाई तौलिएर पनि उनलाई संसदमा हेर्न जनताहरू उत्सुक छन् ।
किनकि बालेन्द्रसँग उनको ‘लभ एन्ड हेट’ सम्बन्धको चर्चा आम नागरिकमा हुने गर्छ । बालेन्द्र काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा हर्क धरान उपमहानगरपालिकाको प्रमुख थिए ।
२०७९ सालको स्थानीय तह चुनावमा दुवैको चुनाव चिह्न थियो– ‘लौरो’ । निर्वाचित भएपछि सुरुमा दुवैबीच सम्बन्ध सुमधुर थियो । तर पछि हर्क बालेन्द्रका गतिविधिसँग चुप बसेनन् । सडक किनारका सुकुम्बासीलाई विकल्पबिनै हटाइएकोदेखि सुकुम्बासी बस्तीमा डोजर चलाइएको विषयमा उनले कडा टिप्पणी गरे ।
हर्क फेसबुकमार्फत् बालेन्द्रलाई आलोचनात्मक टिप्पणी गरिरहन्थे । बालेन्द्र प्रेमपूर्ण शब्दहरूले जवाफ फर्काइरहन्थे । त्यो क्रम अहिलेसम्म पनि जारी छ । जेन–जी आन्दोलनपछि भदौमा साम्पाङको अभिव्यक्तिको जवाफ दिँदै बालेन्द्रले लेखेका थिए, 'डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।'
२०७९ को स्थानीय चुनावमा एकै समयमा उदाएका यी दुई पात्र अब राष्ट्रिय राजनीतिमा पनि सँगै प्रवेश गरेका छन् । अब बालेन्द्र सरकारको नेतृत्व गर्दैछन् । हर्क भने बलियो प्रतीपक्षीको भूमिका निभाउने तरखरमा छन् ।
धरानमा श्रम संस्कृति बसालिरहेका हर्कले पार्टी नै कसरी खडा गर्न पुगे ? जवाफ खोज्न जेनजी आन्दोलनको समयतर्फ फर्कनुपर्छ । भदौ २३ र २४को जेन–जी आन्दोलनपछि अन्तरिम सरकार गठनको चर्चा चलिरहेको थियो । सामाजिक सञ्जालमा काठमाडौँका मेयर बालेन्द्रलाई प्रधानमन्त्री बनाउने आवाजहरू बाक्लो थिए ।
त्यही समयमा धरानका मेयर हर्क भने आफैँ अन्तरिम सरकारको नेतृत्व गर्ने आकांक्षासहित काठमाडौँ आए । उनी दाबीसहित भन्थे, ‘मलाई जनताले बोलाएर नेतृत्व सम्हाल्न आएको हुँ ।’
उनले आन्दोलनपछि प्रभावशाली मानिएका विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्ने प्रयास गरे । सडकदेखि सैनिक मुख्यालयसम्म दौडधुप बढाए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि बालेन्द्र, सुशीला कार्की र कल्याण श्रेष्ठजस्ता नामहरू प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चामा थिए ।
अन्ततः पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । हर्कले अनेक प्रयत्न गर्दा पनि सफल भएन । प्रधानमन्त्रीमा सम्भावना टरेपछि उनी संघीय मन्त्रीका लागि दौडधूप गर्न थाले । त्यो पनि सम्भव भएन । केही समर्थकहरूबाहेक सामाजिक सञ्जालमा भने ‘हर्क, धरान फर्क’ भन्ने ट्रेन्ड नै चलिरहेको थियो ।
सम्भावनाको ढोका चारैतिरबाट बन्द भएपछि उनले निराश हुँदै सरकार गठनप्रति असन्तुष्टि व्यक्त गरे । सरकारमा विदेशी शक्तिको प्रभाव रहेको आरोप लगाए । र धरान फर्किए । फर्किँदै गर्दा भने उनले एउटा हठी निर्णय गरेको थिए– पार्टी खोल्ने ।
नभन्दै श्रम संस्कृति पार्टी स्थाथना गरे । त्यही पार्टीलाई हाँकेर राष्ट्रिय दल बनाएका हर्क फेरि पाँच वर्षका लागि अब काठमाडौं आउँदैछन् । तर अब काठमाडौं आउँदा उनी एक्लो छैनन् । जनताको मत र जिताएका पार्टीका सांसदहरू साथमा छन् । अघिल्लो पटक जस्तो ‘हर्क, धरान फर्क’ भन्ने नारा यसपटक गुन्जने छैन । बरु सुनसरीकै जनताले विश्वासका साथ ‘काठमाडौँ जाऊ हर्क’ भनेर संसदमा पठाउनुको शक्ति उनीसामु छ । त्यसकारण उनलाई निराश भएर धरान फर्कने छुट पनि अब छैन ।
०००
हर्कदे १२ असोजमा निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि आवेदन दिएका थिए । १६ कार्तिकमा पार्टी आधिकारिक रूपमा दर्ता भयो । पार्टीको चुनाव चिह्न भयो- दुई हातको बीचमा माटो ।
पार्टी दर्ता गर्दा उनले झण्डा राखेका थिएनन् । उनीमाथि प्रश्नहरू बर्सिए । उनको जवाफ थियो, ‘गरिबले नाङ्गो शरीर ढाक्न नसकेको बेला करोडौँ खर्च गरेर झण्डा बनाउनु उचित हुँदैन ।’ पार्टी दर्तासँगै उनले ‘हर्कवाद’ नामक राजनीतिक अवधारणा अघि सारे । हर्ककै भनाइमा हर्कवाद कुनै विदेशी सिद्धान्त होइन । श्रम, प्रकृति, संस्कृति र माटोमा आधारित राजनीतिक सोच हो ।
हिजो धरान उपमहानगरपालिकाको प्रमुखका रुपमा मात्र चिनिने हर्कको पहिचान थप गह्रुँगो भएको छ । उनी यतिबेला राष्ट्रिय राजनतिको एक दरिलो शक्तिका रूपमा देखिएका छन् ।
000
हर्कको राजनीतिक ‘फुटप्रिन्ट’लाई पछ्याउने हो भने उनी सानो संघर्षले यहाँसम्म आइपुगेका हैनन् । सुरुवाती दिनहरूमा उनी सत्ताको आलोचना गर्दै प्रायः एक्लै पम्प्लेट लिएर सडकमा उभिन्थे । धरानको खानेपानी समस्या उनको प्रमुख अभियान थियो । यही अभियानले उनलाई स्थानीय स्तरमा विस्तारै लोकप्रिय बनाउँदै लग्यो ।
२०७६ सालको उपनिर्वाचनमा उनी धरानमा मेयरको उम्मेदवार थिए । तर चुनावमा उनले जम्मा ५ सय ४० मत पाए। काँग्रेसका उम्मेदवार तिलक राई २६ हजारभन्दा बढी मत ल्याएर विजयी भएका थिए । धेरैका लागि त त्यो हार ‘शर्मनाक’ थियो । हर्कका लागि भने त्यो अन्तिम थिएन ।
तीन वर्षपछि २०७९ सालमा भएको भएको स्थानीय चुनावमा उनी फेरि उम्मेदवार बने । उनी एक्लै माइक लिएर गाउँ गाउँ र सडकहरूमा हिँडे । आफ्नै शैलीमा भाषण गरे । मेयर बनेपछि पनि उनले त्यो शैली बदलेनन् । खानेपानी समस्या समाधानका लागि श्रमदान अभियान सुरु गरे । पाइप बोकेर हिँड्ने, आफैँ खन्ने र सर्वसाधारणलाई श्रमदानमा सहभागी गराउने दृश्यहरूले उनलाई अलग्गै किसिमको नेता बनायो ।
कहिले कुच्चिएको गाग्री बोकेर पानी माग्दै सिंहदरबार पुग्थे, कहिले श्रमदानबाटै सप्तकोशीको पानी धरान ल्याउने घोषणा गर्थे । जनताको मन जितेका हर्क पछाडि त फर्कनै परेन ।
चुनावपछि हर्क नेतृत्वको पार्टीले राष्ट्रिय राजनीतिमै यतिबेला राम्रो प्रभाव देखाएको छ । संसदमा संख्यात्मक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल हुनेछ । दोस्रो कांग्रेस, तेस्रो एमाले र चौथो नेपाली कम्युनिग्ट पार्टी हुनेछ ।
हर्क नेतृत्वको श्रम संस्कृति पार्टी पाँचौ ठूलो दल हुनेछ । संख्यामा सानो भए पनि प्रभावका हिसाबले श्रम संस्कृति पार्टी र हर्क साम्पाङलाई धेरैले बलियो प्रतीपक्षी आवाजका रूपमा हेर्न थालेका छन् ।
उनको अभिव्यक्ति शैलीले पनि जनतालाई त्यो अनुमानको सुविधा दिएको छ । यद्यपि हर्क आफैंले भने संसदमा धेरै विवेकपूर्ण कदमहरू चाल्नुपर्ने देखिन्छ ।
स्थानीय तहमा उनले निर्वाह गरेको भूमिका कार्यकारी शक्तिमा आधारित थियो । मेयरको हैसियतमा धेरै निर्णय गर्न सक्थे । अब संसदमा उनले कार्यकारी शक्तिको अभ्यास गर्न पाउँदैनन् । संसद्को अंकगणितले पनि हर्क सत्तापक्ष हुने सम्भावना देखिँदैन ।
संसदमा नीति निर्माण, कानुन निर्माण, संसदीय प्रक्रिया र दलगत समन्वयजस्ता जटिल पक्षहरू हुन्छन् । यसलाई हर्कले कत्तिको सहज बनाउन सक्लान् ? संसदीय प्रक्रिया र उल्झनहरूलाई कसरी छिचोल्न सक्लान् ? त्यो भने हेर्न बाँकी छ ।
यदि उनले आफ्नो लोकप्रियतालाई संस्थागत राजनीतिमा रूपान्तरण गर्न सके भने श्रम संस्कृति पार्टीको राजनीतिक सम्भावना अझै फराकिलो हुने सम्भावना छ । त्यसो हुन सकेन भने उनी र पार्टीको भविष्यमाथि थप चुनौती थपिनेछन् ।
धरानको गल्लीबाट सुरु भएको उनको राजनीति संसद भवनमा पुगेर कस्तो रूप लिन्छ होला ? नवीन परीक्षा सामुन्ने उभिएका हर्कमाथि भरोसासहितका जिज्ञासाहरू थुप्रै छन् । ती जिज्ञासाहरूको अवतरण कस्तो हुन्छ, प्रतीक्षाकै विषय छ ।
