'रुसी सेनाबाट भागेर होइन, करार सकेर फर्किन्छु' भन्थे विनोद, सुटुक्क अस्ताए

सिर्जना विनोदलाई कसरी नेपाल फर्काउने भन्ने सोचिबस्थिन् ।  विनोद भने भागेर हिँड्दा नेपालीकै बेइज्जत हुने सन्देश जाने ढिपी कस्थे ।  ‘यहाँ हामीलाई तेरो नेपाली भाग्यो भन्छ । मोबाइल दिँदैन, खोसेर लैजान्छ,’ विनोद सुनाउँथे, ‘भागेर होइन, करार सकेर नै फर्किनेछु ।’

माघ १४, २०८१

होम कार्की, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

Vinod used to say, 'I will return after completing the contract, not by running away from the Russian army'

काठमाडौँ — १४ वर्षीय कृष्ण सुनुवार कोठाबाट भित्र-बाहिर गरिरहेका थिए । एकछिन भित्र पस्थे, पुलक्क हेर्थे । फेरि फुत्त बाहिर निस्किन्थे । उनी बसिरहेको टहराको सानो कोठाभित्र पराल बेरेर तीन जनाले मान्छेको आकार निकाल्दै थिए । एकैछिनमा टाउको बन्यो, हेर्दाहेर्दै हात र खुट्टा पनि । अनि त्यही आकारमाथि जौको पिठोको बाक्लो लेदो लिपेर कृष्णका बुवा विनोदबहादुरको शवको प्रतिरूप बनाइयो ।

यी सबै काम चलुन्जेल कृष्णको मन स्थिर थिएन ।  टहराको सामुन्ने साँघुरो आँगनमा ‘शव’ राख्न हरियो बाँसको खट राखिएको थियो । ‘शव’  बनाइरहेको कोठा भने विनोदकै थियो । 

रुसको नियन्त्रणमा रहेको युक्रेनको डोनेत्स्क क्षेत्रमा खटिएका ३७ वर्षीय विनोदबहादुर गत मंसिर ३० गतेबाट सर्म्पकविहीन भएका थिए । विनोदका साथीहरूले शनिबार उनी मारिएको पुष्टि गर्दै कीर्तिपुरमा बस्ने परिवारमा खबर पठाए । त्यही सूचनाका भरमा विनोदको परिवार र आफन्तले दाहसंस्कारका लागि परालको शव बनाए । 

Vinod used to say, 'I will return after completing the contract, not by running away from the Russian army'

मलाङ गाउँपालिका-७ जेसे, ओखलढुङ्गाका स्थायी बासिन्दा विनोदकी ६२ वर्षीया आमा नरमाया, ३४ वर्षीया श्रीमती सिर्जना, १४ वर्षीय छोरा कृष्ण कीर्तिपुरमा जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएका छन् । ‘बाबु, यो तिम्रो बुवाको शव हो । अब तिम्ले बिस्तारै उचालेर बाहिर लैजानुपर्छ,’ कृष्णका ठूल्बा शेरबहादुरले अह्राए । कृष्णले टाउकोपट्टि र आफन्तले खुट्टातिरको भाग समातेर परालको शव कोठाबाट बाहिर ल्याए, अनि खटमा राखे ।  शवलाई सेतो कपडा लपेटियो, त्यसमाथि विनोदको तस्बिर पनि राखियो । तस्बिर भने नेपाली सेनामा काम गर्दाताकाको राखिएको थियो । सबै विधि पुर्‍याएर पशुपति आर्यघाटमा लगेर सोमबार विनोदको अत्येष्टि गरियो ।

Vinod used to say, 'I will return after completing the contract, not by running away from the Russian army'नेपाली सेनाबाट राजीनामा दिएलगत्तै विनोद गत वर्ष असोज १७ गते रुस पुगेका थिए । ‘यो टिकटकले गर्नुगर्‍यो । रुसी सेनामा सुविधा नै सुविधा छ । लाखौँको तलब छ । खान बस्न राम्रो छ । यो सूचनाबाट उहाँलाई छोयो । यहाँको जागिर छाडेर जानुभयो,’ श्रीमती सिर्जनाले कान्तिपुरसँग भनिन्, ‘सुरुमा पहिलो क्याम्पमा त सबै राम्रो रहेछ । जब दोस्रो क्याम्पमा जानुभयो । हामीले वास्तविकता थाहा पायौँ । हाम्रो त्यतिखेरबाटै सात्तो गयो ।’

राम्रैराम्रो मात्रै खबर छाइरहेको रुसी सेनाको खतराबारे मंसिरबाट दु:खै दु:खको कुरा मात्रै सुन्नुपर्‍यो । ‘मंसिरबाट टिकटकमा नराम्रो समाचार आउन थल्यो । मैले मिल्छ भने नेपाल फर्कनुपर्छ भनेर सम्झाउन थालेको थिएँ,’ सिर्जनाले भनिन् । विनोद ८ लाख खर्चेर आइसकेकोले केही समय पर्खने निधोमा पुगेका थिए । ‘अब दु:ख भए पनि सुख भए पनि हेर्दै जाऔं । धेरै दु:ख भयो भने सोच्नुपर्ला,’ विनोदले श्रीमतीलाई सान्त्वना दिएका थिए ।

Vinod used to say, 'I will return after completing the contract, not by running away from the Russian army'गत वर्षको माघ महिनातिर उनले गहभरि आँसु पार्दै आफूहरू निकै कठिन र जोखिम अवस्थामा रहेको बताए  ।  ‘अब टेन्सन नगर । कमाएर आउँछु कि मर्छु भनेर घरबाट हिँडेको हुँ । तिमी राम्रो गरेर बस्नु । दुखः सुख गरेर खान पुग्छ । म आउन सके पनि–नसके पनि पैसा मिलाउनू,’ उनले भनेका थिए,‘जिन्दगीभर म साथमा नभए के भो त  ? पैसा भइहाल्छ । पैसाले बाँच्ने आधार हुन्छ । छोरालाई आफ्नो आय श्रोत अनुसार पढाउनू ।’

Vinod used to say, 'I will return after completing the contract, not by running away from the Russian army'सिर्जनाले विनोदलाई युद्धको भूमरीबाट निकाल्न अनेक उपाय खोजिन् । युद्ध मैदानबाट निरन्तर आइराख्ने फोटो र भिडियोले उनलाई बेचैन बनाउँथ्यो  ।‘उहाँले फोटो र भिडियो सबै पठाउँदा मलाई सहनै नसक्ने बनाउँथ्यो । कहिले खाना पाइनँ भन्नुहुन्थ्यो । एक बोतल पानी पनि किनेर खाने ठाँउ छैन भन्नुहुन्थ्यो,’ सिर्जनाले भनिन्,‘भागेर पनि आउने सक्ने अवस्था बनेन । भागेकाहरूलाई समातेर ल्याउँदा दिनभर बंकर खन्न लगाउँथ्यो । बेलुका भएपछि कुटेको खबर आउँथ्यो । यसले गर्दा मलाई एकदमै पीडा हुन्थ्यो ।’

विनोदले युक्रेनसँग कति वटा लडाइँ लडे भन्ने सिर्जनालाई केही थाहा छैन । ‘पहिलो पटक ७ दिनका लागि जानुभयो । त्यसपछि १० दिन, १४ दिन,  १६ दिन गरी बढाउँदै गइरहेको थियो,’ उनले भनिन्,‘त्यसरी जोगिएर आएपछि केही दिन मात्रै क्याम्पमा आरामका लागि राखिएको हुन्थ्यो ।’ 

हरेक पटक युद्ध मैदानबाट फर्केर आएपछि सिर्जनालाई उत्साहित हुँदै फोन गर्थे विनोद, ‘बाँचे है बूढी, म बाँचे । ठूलो कालबाट जोगिएर आएँ । यसपालि साथीहरू यति जना गुमाइयो । तानेर ल्याउन सकिएन । माथिबाट बम बारुद बर्सिरहन्छ । जोखिमै मोलेर भए पनि युद्धमा घाइते नेपाली साथीभाइलाई पनि ल्याउनुपर्छ ।’

Vinod used to say, 'I will return after completing the contract, not by running away from the Russian army'युद्धमैदानबाट हरेक पटक फर्किँदा विनोदसँग सिर्जनालाई सुनाउने केही न केही साहसी कथा हुन्थे । ‘यसपालि त एक पाइलाले ज्यान जोगियो । मेरो टाउकोबाट गोली झर्‍यो । के भाग्यले बाँचियो,’ उनी सुनाउँथे । सधैँ कहालीलाग्दो कथा सुन्दा सिर्जनालाई भक्कानो छुट्थ्यो । सिर्जना विनोदलाई कसरी नेपाल फर्काउने भन्ने सोचिबस्थिन् ।  विनोद भने भागेर हिँड्दा नेपालीकै बेइज्जत हुने सन्देश जाने ढिपी कस्थे ।  ‘यहाँ हामीलाई तेरो नेपाली भाग्यो भन्छ । मोबाइल दिँदैन । खोसेर लैजान्छ,’ विनोद सुनाउँथे, ‘भागेर होइन, करार सकेर नै फर्किनेछु ।’

Vinod used to say, 'I will return after completing the contract, not by running away from the Russian army'गत कात्तिकमा पहिलो वर्षको करार पनि सकिएको थियो । रुसकै पासपोर्ट पनि बनिसकेको थियो । युद्ध मैदानबाट बाहिर निस्कन पाउने गेटपास पनि रुसी सेनाले दिइसकेको थियो । मस्को आएर हारहिसाब बुझ्ने र छिट्टै नेपाल फर्किहाल्ने भनी सुनाउँथे । बिदामा आउनुपहिले एक पटक लड्न जानुपर्ने खबर पठाएका गिए । ‘अब एकलट अगाडि गएर आएपछि कमान्डरले बिदा दिन्छु भनेको छ । एक महिनाको बिदा दियो भने नेपाल आउने हो,’ उनले भनेका थिए,‘१० लाख रुबेल भत्ता आएको छैन । मस्कोमा गएर खोजी गर्छु ।’

Vinod used to say, 'I will return after completing the contract, not by running away from the Russian army'गत कात्तिक ३० गते राति फेरि युद्ध मैदानमा गए विनोद । ‘युद्ध मैदानमा सधैँ राति नै जानुहुन्थ्यो । राति नै क्याम्पमै फर्कनुहुन्थ्यो । यसपटक भने उहाँ सुटुक्क जानुभयो,’ सिर्जनाले भनिन्,‘उहाँ फर्किएको खबर कुरिबसेँ । म्यासेज छोड्दा पनि रिप्लाई भएन । १५ दिनभन्दा बढी कहिले बस्नु भएको थिएन । आज, भोलिभन्दा भन्दै २० दिन नाघ्यो । त्यसपछि खोज्न थालेँ ।’ विनोदकै 'म्यासेज' पर्खिबसेकी सिर्जना शनिबार बेलुका भने मर्माहत हुने खबर पाइन् ।  ‘विनोद दाइको खबर सुखद छैन । उहाँ बित्नु भएको पुष्टि भयो,’ साथीभाइले विनोद नरहेको खबर पठाए । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

तस्बिर तिमिल्सेना कान्तिपुरका फोटो पत्रकार हुन् । उनी फोटो विभागका संयोजक हुन् ।

Link copied successfully