छोराछोरी सानै छँदा अर्को विवाह गरी श्रीमान् लापत्ता भएपछि हर्कमायाले आफ्नो जीवन नै सन्तानको खुसीमा समर्पित गरिदिइन्, अहिले किरणलाई लाग्छ, सन्तानको खुसीका लागि आँसु पिएर बाँच्न सक्ने आमा नै साक्षात् भगवान् हुन्
काठमाडौँ — केही कसैले फुटबललाई आफ्नो करिअर बनाउनु छ भने उनका लागि पछ्याउन लायक नेपाली खेलाडी हुन सक्छन्, किरण लिम्बू । उनी भए, नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनि गोलरक्षक । नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी ।
किरणले नेपालका लागि एक सयभन्दा बढी खेल खेलिसके । जति बेला उनले संन्यास लिनेछन्, त्यति बेलासम्म अनेक कीर्तिमान उनको नाममा भइसक्नेछ । तर यी कीर्तिमान उनलाई पछ्याउनुपर्ने खास कारण भने हैन । बरू हो त उनको अनुशासित व्यक्तिगत जीवन ।
नेपाली फुटबलमा किरणको खेल जीवन देखेर ईर्ष्या गर्ने पनि होलान्, तर उनको सादा, संयमित र पारिवारिक जीवनको सराहना त गर्नै पर्छ । ‘यो सबैको कारण अरू कोही नभएर हाम्री आमा नै हुन्,’ किरण भन्छन्, ‘म जे छु, जस्तो छु, त्यो सबै आमाकै कारणले भएको हुँ । आमाले आफ्नो त्याग र तपस्यामा अलिकति मात्रै कमी गर्नुभएको भए पनि कम्तीमा म आज यो स्थानमा हुने थिइनँ, त्यसैले सबै श्रेय आमालाई नै जान्छ ।’
केही हदसम्म उनको यो भनाइ सिनेमा पाराकै छ । अचेल किरण ललितपुरको इमाडोलमा आफ्नै घरमा बस्छन् । आमा हर्कमाया राई घरको मूल भइन् नै, सँगै श्रीमती कञ्चन निरौला र सानो छोरा कियान । सानो परिवार, सुखी परिवार । अझ किरणले आजभोलि व्यवसायमा पनि हात हालिसके । मध्य बानेश्वरको लाखेटोलमा ‘कफी टाइम’ खोलेका छन्, साथी मानसजन राजभण्डारीसँग मिलेर । बाहिरबाट हेर्दा लाग्छ, सबथोक पुगेकै छ ।
किरणको जीवन यति सजिलो र सिधा कहाँ थियो र ? ‘मेरी आमाले आफ्नो जीवनको अधिकांश समय भोगेको भनेकै दुःख, पीडा र अभाव मात्रै हो । यति धेरै कष्ट उहाँले कसरी सहनुभयो र हामीलाई यहाँसम्म पुर्याउनुभयो होला ? त्यो सम्झँदा पनि अचम्म लाग्छ । त्यसैले त म आफ्नी आमालाई भगवान् मान्छु । साँच्चै भगवान् छन् भने ती हाम्रै आमा हुन् । कोही कसैले आमाविरुद्ध तीतो शब्द बोल्दा मात्रै पनि कसरी भन्न सकेको होलाजस्तो लाग्छ ?’ किरण भन्छन् ।
घरमा एउटा नियमजस्तै छ, बिहान र बेलुकाको खाना आमासँगै खानुपर्ने । आमा फेरि एकछिन् चुप लागेर बस्ने खालकी छैनन्, यताउता गरिरहनुपर्ने । किरणलाई जहिले पनि लागिरहन्छ, ‘आमालाई केही नपुग पो छ कि ? कतै केही त भएन ? साँच्चै किन यस्तो त ?’ कथा यसरी सुरु हुन्छ । जति बेला किरण १२ वर्षका थिए, उनले सम्भवतः पहिलोपल्ट महसुस गरे, आमा एक्ली छन्, बुबाले उनलाई छाडेको धेरै वर्ष भइसकेको थियो ।
घरमा एक जना दिदी थिइन् । बुबाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग थिएन । जति बेला छोराछोरी हुर्कंदै थिए, आमाको उमेर पनि धेरै भएको थिएन, भर्खरकै थिइन् । उनले १६/१७ वर्षमै विवाह गरेकी थिइन्, मागीबिहे थियो, त्यो । आफ्नो नामको सम्पत्ति केही थिएन । धनकुटाको राजारानी भन्ने ठाउँबाट केही टाढाको गाउँमा किरणको मामा घर छ । श्रीमान्को साथ नभए पनि हर्कमायाले निर्णय गरिन्, आफ्ना सन्तानलाई गाउँमै राख्नुहुन्न, नत्र राम्रो शिक्षाबाट टाढा हुन्छन् ।
त्यसैले उनीहरू राजारानी आइपुगे र त्यहीं एउटा कोठा भाडामा लिएर सानो चिया पसल थापिन् । त्यसताक चरम आर्थिक संकट त थियो नै, विकासको नाममा केही थिएन, त्यसैले पनि जीवन कष्टकर थियो । रासनका लागि धरान गएर फर्किन पनि दुई/तीन दिन लाग्थ्यो । त्यो पसलले मात्र परिवारको गर्जो टर्ने अवस्था थिएन, त्यसैले हर्कमाया एक्लैले जमिन जोड्न खासै सकिनन् । अर्काको जग्गा लिएर खेती गरेको पनि किरणलाई धूमिल याद छ । किरणलाई आफैंले हलो जोतेको भने राम्रैसँग याद छ । ‘आमाले पनि हलो जोत्नुहुन्थ्यो,’ अहिले किरण सम्झिन्छन्, ‘हामी त सानै थियौं, आमा बिहान चारै बजे जंगल जानुहुन्थ्यो, घाँस दाउरा बटुल्न । अरू भने छक्क पर्थे, कसरी एक्ली महिला त्यसरी जंगल जान सकेको भनेर ।’
किरणलाई आमाले डोकोका डोको स्कुस बेचेको पनि याद छ । आफ्ना आमाबुबा किन छुट्टिए, त्यसबारे किरणलाई राम्रोसँग सम्झना छैन । बुबा पुलिसमा जागिरे थिए, त्यसैले बाहिर बाहिर पोस्टिङ भइरहन्थ्यो । यसै क्रममा अन्यत्र नै अर्को विवाह गरेर बसे । हर्कमाया र आफ्ना दुई सन्तानलाई हेर्दै हेरेनन् । हर्कमाया पक्कापक्की गाउँले थिइन्, श्रीमान् कहाँ कसरी छन्, त्यो पनि हेक्का राख्न सकिनन् । किरणले सुनेअनुसार उनकै जन्मका बेलासम्म बुबा आएका थिए, त्यसपछि फर्केर आएनन् ।
त्यति बेला किरणलाई बुबासँग ठ्याक्कै भेटेको पनि सम्झना छैन । ‘एकपल्ट सानोमा बोलबम जाँदा भेटेको जस्तो लाग्छ, तर खासै केही पनि सम्झना छैन,’ उनी भन्छन् । अहिले आएर किरणले आफ्ना बुबालाई एक/दुईचोटि भेटेका भने छन्, तर खासै बोलचाल छैन । ‘अर्की आमा ल्याएर पनि हामीलाई हेरेको भए, कुरा अर्को हुने थियो,’ किरण भन्छन्, ‘हामीले त खालि आमाको संघर्ष मात्रै देख्यौं । आमाले पाएको दुःखमाथि दुःख मात्रै देख्यौं ।’
किरण सानैमा फुटबल भनेपछि हुरुक्कै हुने खालका थिए । आफूले थाहा पाएदेखि कुनै न कुनै रूपमा फुटबल खेलिरहे । अन्ततः फुटबलले नै उनलाई अर्को जीवन दियो । किरण भर्खर १४ वर्षका थिए, धनकुटाबाट काठमाडौंको एन्फा एकेडेमीका लागि छानिए । २०५५/०५६ तिरको हुनुपर्छ, स्कुल फुटबलबाट उनी सिधै एकेडेमी पुगे । त्यसपछि उनको उकालो लागेको खेल जीवन उकालो मात्रै लागिरह्यो ।
फुटबलकै कारण उनी काठमाडौं छिरे, आमा उतै गाउँतिरै रहिन् । त्यति बेला किरणले राम्रोसँग थाहा पाए, आमाले साँच्चै दुःख पाएकी रहिछन् । धेरैपछि एक दिन किरणले आमालाई सोधेछन्, ‘तपाईंले अर्को विवाह किन नगर्नुभएको ? उमेर पनि थियो नै ?’ फेरि किरणलाई के पनि लाग्छ भने आमाले अर्को विवाह गरेको भए,
आफ्नो जीवन त नारकीय हुन्थ्यो । आफ्ना छोराको त्यो प्रश्नमा हर्कमायाको उत्तर हुन्थ्यो, ‘मेरा एक–एक जना छोरा, छोरी थिए । मलाई लाग्थ्यो, यिनीहरूलाई जसरी पनि राम्रोसँग पढाउँछु र ठूलो मान्छे बनाउनेछु । यत्तिको आँट थियो । त्यसैले मैले यो जीवन रोजें ।’ भनेपछि हर्कमायाले आफ्ना छोराछोरीकै लागि भनेर आफ्नो व्यक्तिगत जीवनलाई महत्त्व दिइनन् । बरु असाध्यै धेरै संघर्ष गरिन् । ‘यही कारणले त हो म आमा भनेपछि नतमस्तक हुने,’ किरण थप्छन् ।
उनलाई फेरि लाग्छ, आफ्नी आमामा यत्तिको आँट पो कसरी आयो ? रगतमै थियो कि ? उनले यही प्रश्न पनि आमालाई गरेका रहेछन् । उत्तर थियो, ‘तिमीहरूको अनुहार हेरेर होला ।’ यसबीच उनीहरूलाई मामाघरको भने पूरापूर समर्थन रह्यो, किरण जन्मेकै मामा घरमा हो । मामा दुई जना । किरण काठमाडौं छिरेयता पनि हर्कमायाको दुःखका दिन सकिएका थिएनन् । किराना पसल चलाएर दुःख गर्दै एउटा टिनको छाप्रोसम्म बनाएकी रहिछन् ।
‘मैले काठमाडौंमा क्लबबाट फुटबल खेल्न थालेपछि पैसा पनि कमाउन थालेको थिएँ, तर यसबीच पनि आमाले कहिले पनि मलाई पैसा चाहियो भन्नुभएन । आमाले आफैं काम गरेर खर्च चलाइरहनुभएको थियो । उहाँ एउटा कुरा भने जहिले पनि भन्नुहुन्थ्यो, आफूले कमाएको पैसा बचत गर्नुपर्छ । उहाँले यो कुरा बारम्बार दोहोर्याएर नै भन्नुभयो,’ त्यसैले किरणले आफूले कमाएको जति सक्दो बचत गरे, खर्च नै गरेनन् । खर्च नै नगरेकाले खराब बानी पनि बसेन ।
त्यसमाथि उनलाई त्यति बेलाका थ्रीस्टार क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठले पनि उत्तिकै सहयोग गरे । ‘त्यति बेला ललित सरले मप्रति अभिभावकको जस्तो जिम्मेवारी निभाउनुभयो, त्यसैले पनि मलाई धेरै सजिलो भयो । मैले कमाए जति पैसा बचत नै गरें ।’ यो समय कम्तीमा १० वर्षभन्दा केही बढी रह्यो, किरण एक्लै काठमाडौंमा थिए । उता आमा एक्लै गाउँमा । यसबीच किरणले आफैं बुझेर अलिअलि पैसा भने गाउँ पठाउँथे ।
अहिले किरणलाई लाग्छ, आफ्नो सुरुआती जीवनले उनलाई पैसा जोगाउन सिकायो । ‘मलाई आफ्नो जिम्मेवारी त्यही बेला थाहा भइसकेको थियो, त्यसैले कहिले पनि यताउता हुने काम गरिनँ ।’ यसबीच किरणलाई के लाग्छ भने, आफू एन्फा एकेडेमीमा प्रवेश गर्नु पनि जीवनकै एक निर्णायक मोड रह्यो । फुटबल खेलेर नै उनले कसरी अनुशासनमा बस्नुपर्छ, त्यो पनि सिके । उनको एउटै उद्देश्य थियो, जसरी भए पनि राम्रो खेलाडी हुने ।
किरणले सन् २००८ मा नेपालका लागि डेब्युको अवसर पाए । प्रतियोगिता थियो, कम्बोडियामा भएको एएफसी च्यालेन्ज कप छनोट । उनलाई जर्मन प्रशिक्षक थोमस फ्लाथले पहिलो पटक नेपालका लागि खेल्ने अवसर दिए, त्यो पनि सुरुआती ११ मै । यो डेब्यु भने सुखद् रहेन, उनी मैदानमा २३ मिनेट मात्रै टिके । विपक्षी खेलाडीसँग जुध्ने क्रममा उनलाई गम्भीर चोट लागेको थियो, बंगाराको शल्यक्रिया नै गर्नुपरेको थियो । उनलाई त्यति बेला लागेको थियो, सायद अब खेल जीवन अगाडि बढ्ने छैन । तर हरेस भने खाएनन्, खेल्न छाडेनन् ।
तीन वर्षपछि सन् २०११ मा उनी फेरि नेपाली टिममा फर्के । पोखरामा भएको भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा उनलाई प्रशिक्षक ग्राहम रोबर्ट्सले दोहोर्याएर मौका दिए । त्यसपछि के भयो, त्यो सबैलाई थाहा छ । उनले पहिलो पटक नेपालको कप्तानी सम्हालेको भने सन् २०१८ मा हो, जति बेला बंगलादेशमा साफ च्याम्पिनयसिप भएको थियो । भुटानविरुद्धको खेलमा उनले पहिलो पटक कप्तानको ‘आर्म ब्यान्ड’ लगाए ।
यसबीच, किरणले विदेशमा गएर पनि खेले, खेलेरै राम्रोसँग कमाए र इमाडोलमा घर पनि बनाए । अहिले त्यही घरमा आमासँग बस्न पाउँदा किरण खसाध्यै खुसी छन् । श्रीमती कञ्चनले पनि आमालाई जसरी आदर र माया गर्छिन्, त्यसप्रति पनि उनी उत्तिकै कृतज्ञ छन् । घरमा हुँदा किरणलाई जत्तिखेर पनि आमासँग कुरा गरिरहनुपर्छ । यो कुराकानीमा अब त उत्तिकै सहभागी हुनेमा कञ्चन पनि भइन् । यसबीच पुरानो दिनका कुरा हुन्छ अनि भविष्यबारे ।
आमा हर्कमाया अहिले ६३ वर्षकी भइन्, उत्तिकै फूर्तिली छन् । घरको छेउमै रहेको सानो जग्गामा पनि केही न केही फलाइरहेकै हुन्छिन् । बत्ती आफैं काटिरहेकी हुन्छिन् । घरको सक्दो सरसफाइ पनि गरिरहेकै हुन्छिन् । स्वास्थ्य पनि उत्तिकै राम्रो छ । ‘गाउँतिर असाध्यै धेरै काम गरेको हुनाले पनि उहाँको स्वास्थ्य दरिलो रहेको हुनुपर्छ,’ किरण भन्छन् । अब त उनलाई धेरै सुख भएको लाग्छ र यसका लागि उनी फुटबललाई नै श्रेय दिन पनि बिर्संदैनन् ।
‘मलाई फुटबलले सबथोक दिएको छ, त्यसैले मैले नेपाली फुटबललाई कहिले पनि गाली गर्न सक्दिनँ, कहिल्यै नराम्रो मान्दिनँ,’ किरणको निचोड छ । किरणको प्रगतिमा हर्कमाया खुसी नहुने कुरै भएन, अहिले पनि उनी आफ्नो छोराले बचत गरोस् भनिरहेकी हुन्छिन् ।
